नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मृत्युको सम्मुखबाट जीवनको सन्देश

 

तिमीलाई भेटिपछि
मलाई जिन्दगीका भूलहरू सच्याउन मन लागेको छ ।

٭٭٭

सप्रेम स्वीकारेपछि पीडा पनि खुसी बन्दो रहेछ
दुःख पनि साथी हुँदै रहेछ

सान्दर्भिक पोस्ट

٭٭٭

सबै आगो जलाउनका लागि मात्र हुँदैनन्
जल्नु र जलाउनुको प्राप्ति केवल खरानी हो

٭٭٭

जीवनको शाश्वत सौन्दर्य तात्नु र सेलाउनुमा होइन
बलिरहनुमा छ
उज्यालो छरिरहनुमा छ
उमेरको आँधीबेहरीमा ननिभ्ने दियोलाई
म जीवन भन्छु

٭٭٭

तरबार हो तिम्रो हेराइ
झिम्कियो परेली कि म छिनिहालेँ

٭٭٭

सम्बन्ध फेरिँदैमा के दुःखको अनुहार फेरिएको छ र?
दुःख पनि फिका र गाढा हुँदो रहेछ

٭٭٭

मान्छे नाङ्गिन किन साँझ रोज्छ सधैँ
र रोज्छ त्योभन्दा गहिरो रात

٭٭٭

मानिस आफू चोइटिएर जोगाइरहेछ ईश्वर

٭٭٭

जीवनभन्दा शाश्वत रङ
र दुःखभन्दा कालजयी चित्र
अहँ, अरू हुँदै हुँदैन रहेछ

٭٭٭

यी हरफ हुन् कवि मणि लोहनीका, उनको पछिल्लो कवितासङ्ग्रह “मृत्युको अघिल्तिर” मा सँगालिएका विभिन्न कविताबाट टिपिएका । यसभन्दा पनि अघि, २०६२ सालमा प्रकाशित उनको “मलामी साँझ” को सन्दुक खोल्ने हो भने पनि चाङका चाङ भेटिन्छन् यस्तै प्रेमिल, हृदयस्पर्शी र मस्ष्किभेदी सूक्तिहरू, जसले मणि लोहनीलाई समकालीन युवा कविहरूमा एउटा छुटाउनै नहुने नाम बनाइदिएका छन् ।

बेलायती कवि मिथ्यू आर्नोल्डले जुन कुरालाई टचस्टोन अर्थात् कसी माने, सायद यस्तै यस्तै हरफ भएका कवितालाई हुनुपर्छ । हामी कविताको वृत्तमा काम गर्नेहरूका अगाडि पनि मानक, कसी वा उदाहरण उद्धृत गरिरहनुपर्ने समय आइरहन्छ । र त्यस्तो मोडमा हाम्रो डुङ्गा तार्ने हरफ पनि यस्तै यस्तै नै हुने गर्छन् । अखिर, जति जुग, र जतिपल्ट भनिरहे पनि “मानिस आफू चोइटिएर जोगाइरहेछ ईश्वर” भन्नेजस्ता हरफहरू कहिले पुराना हुनु? कहिले अमानक हुनु ?

कवि मणि लोहनी पेसाले पत्रकार भएपनि हृदयले कवि हुन् । उनको कबिर दुई दशक लामो कवितायात्रामा उनले सधैँ अग्रज र माझिएका कविहरूको सान्धित्य रोजे । सधैँ आफ्नै वयका भए पनि अब्बल र निर्भीक कविहरूको सङ्गत रोझेँ । आफूलाई कविताकै काम र कार्यक्रमहरूमा जोडिरहे, र आफ्ना लागि सधैँ कविताको एउटा अव्यक्त र अघोषित स्कुल खडा गरिरहे । कलाकारहरूसँग बसे, कला खिपिरहे । फलस्वरूप, सकमालीन नेपाली कविताको क्यान्भासमा आफैँलाई एउटा अपरिहार्य र गाढा रङ बनाउन सफल भए ।

२०७६ मा छापिएको कवितासङ्ग्रह हो “मृत्युको अघिल्तिर” । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । सङ्ग्रहित बत्तीस कवितालाई तीन खण्डमा विभाजित गरिएको छ— देशका नाममा, प्रेमको लय र जीवनको उज्यालो ।

यी खण्डहरूमा प्रवेश गर्नु र कवि मणि लोहनीको जीवनदृष्टिबारे लेख्नुअघि उनको कलाकारिताका केही पक्षको चर्चा गर्नु मनासिब ठान्छु । मणि लोहनीभित्रको कविताशल्पी माथि उल्लेख गरिएजस्ता सूक्तिहरूको अविष्कारमा विश्वास राख्दछ । आखिर, कविता जति लामा लेखे पनि र तिनमा भावनाको जति नै शक्तिशाली उभार थुपारे पनि पाठकले अन्ततोगत्वा हृदयको सन्दुकमा राख्ने यिनै सूक्ति हुन् । यी बिना कविताको आयु लामो हुन सक्दैन, र कविता एक पाठ वा एक वाचनपछि स्वतः मरेर जान्छ ।

मणि लोहनीलाई यो जोखिम थाह छ । त्यसैले उनी, आफ्ना कविताको अन्तर्यमा कहीँ न कहीँ, समयको पर्खाल चिरेर माथि उठ्ने पीपलहरू उमार्छन् । उनको अर्को खुबी भनेको अतिप्रयोगबाट खुइलिँदै गएका र अर्थको ह्रास खेप्दै गएका बिम्व, प्रतीक वा उपमाको प्रयोगबाट निवृत्ति लिँदै, एक साधकलके जस्तो नयाँ र रोमाञ्चकारी उपमाको खोजी गर्नु हो । उदारहणका लागि, उनले कवितामा प्रयोग गरेका यी विम्ब, प्रतीक र उपमाहरूलाई हेरौँः

हस्तरेखाजस्तो आफैँमा टाँसिएको गरिबी
(गणतन्त्र नेपाल)

मानिसको उत्खननको प्रयास गरिरहेका तमाम सपनाहरू
(परिचयको खोजी)

बन्द ढोकाको सम्यक साक्षीजस्तो
तिमीले ओडिरहेको पछ्यौरीसँग डर लाग्छ मलाई
(सम्यक साक्षी)

मान्छेहरूलाई धैर्य सिकाउने त्यो चौतारो
(मृत्युको पहिरो)

अँजुलीमा लिएको पानीजस्तो
थाहै भएन कुन बेला सकिएछ उमेर !
(इच्छामृत्यु)

टिनएज केटाको ओठमा बलजफ्ती झुन्डिएको
राष्ट्रिय गानको कुनै हरफजस्तै
आधा भत्किसकेको घर
(जन्म उत्सव)

माथि उल्लेखित तीन खण्डमा पहिलो हो “देशको नाममा” । यस खण्डमा २०५९ देखि २०७२ भित्र लेखिएका आठ कविता छन् । नेपालमा यो समय खण्ड भनेको गणतन्त्रको माग बुलन्द भएको, शान्ति सम्झौता भएको, दोस्रो जनआन्दोलन भएको, राजतन्त्र फालिएर गणतन्त्र भित्रिएको, संविधानसभाको चुनाव भएको, नयाँ संविधान लेखिएको र भूकम्पले देश थिलथिलो भएको समय हो । यस समयमा जवान भएको कुनै कविले कविता लेख्नु, र त्यो कविता देश र राजनीतिको छायाबाट पृथक हुनु असम्भव नै छ ।

कवि मणि लोहनी पनि त्यस बेला जवानीको मध्यधारमा आफैँलाई हेलिरहेको एक उत्साही, संवेदनशील र स्वतन्त्रताप्रेमी पत्रकार र कवि भएकाले, यस समयका उनका कवितामा देश र राजनीतिको प्रभाव पर्नु स्वाभाविक हो । त्यसैले, यस खण्डका उनका कवितामा एकताको अपिल, विभाजनको विरोध, स्वतन्त्रताको खोजी, सरकारको विरोध, परिचयको खोजी, तीता समाचार, शिशु गणतन्त्रको भविष्य, भूकम्पको कहर आदि विषय समेटेका छन् । यस खण्डका कविता अखबारी विषयबाट बढी प्रभावित छन्, र यस समयका धेरैजसो कवि र आम नागरिकले भन्दै ल्याएको विषयलाई काव्यिक भाषामा भनिएको छ । त्यसैले शिल्पपक्षमा सुन्दर भए पनि यस खण्डका कविता कथ्यपक्षका हिसाबले मौलिक लाग्दैनन् । यिनको लम्बाइका कारण पनि पुनरावृत्ति दोष यी कवितामा थुप्रै भेटिन्छ । यिनमा मणि लोहनीभित्रको पत्रकार बढी हावी भएको पाइन्छ ।

दोस्रो खण्ड, “प्रेमको लय” कवि मणि लोहनीको पेटेस्ट लयले पुलकित छ । २०५५ देखि २०७२ सम्ममा यी कवितालाई बढो सचेतताका साथि राजनीतिबाट जोगाएर समायातीत बनाउने कोशिस गरिएको छ । यसमा सङ्ग्रहित तेह्र कोमल, हृदयसंवेद्य र जीवनबोधी कवितामा जताततै कवि मणि लोहनीको स्वभाव भेटिन्छ ।

धेरैजस्तो कविता एउटा रिक्तताबाट उठेका छन् — कोही छुट्नुबाट, केही गुम्नुबाट, मृत्युको आभासबाट, एकाकीपनबाट, प्रेमको अभावबाट अथवा यस्तो कुनै विसङ्गत समयबाट, जसलाई सबैभन्दा टडकारो कुनै सङ्गति चाहिएको छ । कुनै उज्यालो चाहिएको छ । “जीवनको रित” र “छोडेर जानेलाई” मूलतः विछोडकै पृष्ठभूमिमा उभिएका कविता हुन् । सँधै सँगै हुन नसक्नुको यथार्थलाई सामान्यीकृत गरिएको छ, र सहयात्रा, कुनै न कुनै मोडमा पुगेर सिद्धिनुको नियतिलाई स्वीकार गरिएको छ । तिक्त हो, तर यो स्वीकारोक्ति सत्य पनि हो । “सम्यक साक्षी” मा कृत्रिमताको बर्कोले छोपेका सबै रहस्य उदाङ्गो पारेर गरिने प्रेमको अनुभूति समेटिएको छ भने “प्रेमको कन्फेसन” मा हराएको प्रेमको लय पुनः भेट्टाउनु, र त्यसैमा एकाकार भएर बाँच्नुको सौन्दर्य प्रस्तुत गरिएको छ । “सम्बन्धको पाठशाला” यसै खण्डभित्रको अर्को सुन्दर कविता हो, जसमा प्रेमलाई उज्यालो र ज्ञानोदयको श्रोत मानिएको छ ।

कवि वर्सवर्थले प्रेमीमा साथी, गुरु र दार्शनिक सबै देखेजस्तो कवि मणि आफ्नो प्रेमलाई सम्बन्धका सबै पक्षको पाठशाला देख्छन् । कवितामा व्यक्त यस्तो विचारले सम्बन्धहरूलाई निधिको रूपमा स्वीकार्न र बचाएर राख्न प्रेरित गर्दछ । क्षणिक आवेगको अगोमा सबै सम्बन्धका मृदु मुनाहरू जलाइदिने प्रवृत्तिलाई निरुत्साहित गरिदिन्छ । “साँझहरू” कविताको स्वरूपमा एउटा रोमाञ्च हो । फगत एघार हरफमा भ्रम र मृगतृष्णाको महाकाव्य समेटिएको छ ।

पानीमा हल्लिरहेको चन्द्रमा समाउन खोज्नु, र कसैको मस्त जोवनलाई अवरुद्ध पार्न खोज्नुको निरर्थकता यस कविताको मूल कथ्य हो । कविताले कलेरिजको “कुब्ला खाँ” को याद दिलाउँछ, जसमा बाहिर घाम लागेको छ, भित्र बरफका भित्ताहरू छन्, र त्यहाँबाट हेर्दा बग्दै गरेको आल्फ नदीमा त्यस दरबारको छाया ढलपल ढलपल गरिरहन्छ, र क्षणभङ्गुरताको आवाज सुनाइरहन्छ । यसै खण्डमा छ उनको अर्को कविता “प्रेम शास्त्र” जुन्, कविताको बुनोटको दृष्टिले, यसको घनत्वको दृष्टिले, कलापक्षको दृष्टिले र कथ्य पक्षको दृष्टिले, कमसेकम मेरो दृष्टिमा यस सङ्ग्रहको उत्कृष्टतम कविता हो, र एक वल्र्ड–क्लास कविता हो । प्रेमको वास्तविक अर्थ शारीरिक अनुभूतिभन्दा धेरै माथि, जीवन र ज्योतिको अविष्कारमा गएर पुलकित हुन्छ भन्ने कथ्य बोकेको यो कविता एउटा समाधिको छेउछाउको ज्ञानबोधजस्तो लाग्छ । यस कवितामा कवि लोहनी सदैव बाँचिरहनेछन् ।

यसै खण्डका अन्य कवितामा “हृदयको सन्दुक” द्वन्दको समयमा हुर्कन खोजेको एउटा असफल प्रेमको कथा बोकेर आएको छ । आफ्नै दाजुको कुनै साथी, सम्भवतः कुनै छापामारसँग प्रेममा रहेकी एक किशोरीको आपबिती हो यो कविता, जसमा आफ्नै दाइले मारिदिएपछि उक्त छापामार प्रेमी गुमाएर, अर्को मन नपरेको कुनै पुरुषसँग बिहे गर्न बाध्य भएको र बलात्कृत हुन अभिषप्त भएको दारूण यथार्थ लेखिएको छ । यसो हुँदा पनि, हृदयको सन्दुकमा लुकाइरहेको पूर्वप्रेमीको माया सुरक्षित रहेको जिकिरले अमर प्रेमको एउटा हठी, शाश्वत र दृढ स्वभाव उद्घाटित भएको छ । “जीवनको भीख” प्रेमका बलिष्ट ज्वारभाटाको अभिव्यक्ति हो भने “मृत्युको पहिरो” विविध द्वन्दहरूका बीच एक्लिँदै गएका प्रेमीहरूको एकान्तबोधको कथा हो ।

यस्तै रिक्तताको भाव “हामी कसैका पनि होइनौँ” शीर्षकको कवितामा पनि आएको छ, जसले, सारमा, हामी साथै भए पनि एक्ला नै हौँ भन्ने सत्य उद्घाटित गर्दछ । यस खण्डको अन्त्यमा राखिएको कविता हो “सम्झना साँझ” जसमा प्रेमीको अभावको पूर्ति खोज्दै ठमेलमा कोस्मेटिक र क्षणिक सुख खोज्न हिँडेको एउटा प्रेमीको मनोवाद प्रस्तुत गरिएको छ । ठमेलको रङ्गीचङ्गी भुलभुलैया तथा प्राकृतिक–अप्राकृतिक यौनक्रीडाका बीचमा कतै पनि आफूले खोजेको आत्मिक तृप्ति नपाएको स्वीकारोक्ति यस कवितामा छ । भनिएको छ,

उमेरको आवेग
र शारीरिक आकर्षणभन्दा पर
मैले खोजेको जीवनको शाश्वत सौन्दर्य त तिमी रहेछौ
तिम्रो अनुपस्थितिमा
सधैँ एकादेशको कथा बन्छ समय ।

मणि लोहनीको पेटेन्ट शैलीका भनिएका, यस दोस्रो खण्डका कविताले मणि लोहनी प्रेम र सम्बन्धका उस्ताद हुन् भन्ने कुरा स्थापित गर्दछ । सम्बन्धहरू, प्रेमका र बोछोडका तथा यिनैसँग गाँसिएर आउने मृदु आशाका, निराशाका, उत्साहका, विछोडका, रोमाञ्चका र तिक्तकताका सूक्ष्म र अति नै संवेदनशील तन्तुहरूमाथि उनीभित्रको कविको पकड ज्याद्रो छ । बाहिरको होहल्ला, समाचार, अखबार र घटनाका बासी कुराहरूको जगका बलात् बनाइने कवितामा भन्दा भित्री, अदृश्य, रुमानी र कोमल विषयहरूको रङमा घोलिएका उनका जीवनबोधी, सूक्तिमय र दार्शनिक कवितामा कवि मणि लोहनीको जादुगरी बढी कारगर छ ।

सङ्ग्रहको अन्तिम खण्ड हो “जीवनको उज्यालो”, जसभित्र एघार कविता समेटिका छन् । यस खण्डका कविताको हाँच दोस्रो खण्डका कविताको जस्तै रुमानी, अन्तरमुखी, हृदयसंवेद्य र भावप्रधान कविताकै हो, जसमा मणि लोहनीलाई महारथ प्राप्त छ । यसमा समेटिएका धेरैजसो कविता मृत्यु र पीडाबोधबाट अनुप्राणित छन्, तर पनि तिनी उज्यालोको पक्षमा छन्, सकारात्मकताको पक्षमा छन्, जीवनको पक्षमा छन् । शीर्षकैले पनि बताउँछ, “मृत्युको अघिल्तिर”, तथा “इच्छामृत्यु” त मृत्युकै बोधबाट अनुप्राणित कविता हुन् ।

पहिलोमा आफू कविता लेखेकै कारण वा प्रेम गरेकै कारण मारिने सङ्केतको पूर्वाभास पोखिएको छ, तर पनि कविता लेख्न र प्रेम गर्न नछोड्ने एउटा अव्यक्त अठोट कविताको अन्तर्यमा छ । यो एउटा कविको आन्दोलन हो, घोषणा हो । खण्डको उत्कृष्टतम कवितामध्येको एक “इच्छामृत्यु” मा, उमेर ढल्किएपछि आफूले खण्डखण्ड बाँचेको जीवनको निरर्थकताको बोध भएको छ कविलाई, र उनी अस्ताउँदै गरेको सूर्यसँग इच्छामृत्युको कामना गरिरहेका छन् ।

हृदयभेदी बिम्व, उपमा र सूक्तिले भरिएको यस कविताले प्रत्येक पाठकलाई आफूमा अन्तर्घुलत गराउने सामथ्र्य राख्दछ, र बितेर गएको निरर्थक र प्रमणहीन समयको बोध एक झटकामा गराउन सक्छ । यसै खण्डमा छ अर्को कविता “दर्शनढुङ्गा” जो कवि मणि लोहनीको काव्यिक पहिचान पनि बनिसकेको कविता हो । २०६३ मा लेखिएको, र लेखिएपछि निरन्तर रूपमा यात्रारत रहेको यो कविता मणि लोहनीको अर्को काव्यिक उत्कर्ष हो । यस कविताले सम्भवतः कुनै कवि वा कलाकारलाई सम्बोधन गर्छ, जसले आफू अभाव र विरोधाभासको बीचमा बाँचेर पनि कालजयी, स्थिर र जाज्वल्यवान् विचार, सूक्ति वा उज्यालो दिएर गएको छ ।

कवितामा दर्शनढुङ्गालाई जसरी एक रूपक अलङ्कारको रूपमा प्रयोग गरिएको छ, त्यसलाई दुई कोणबाट बुझ्न सकिन्छ । पहिलो, यसमा सम्बोधित सर्जकको सङ्घर्षको कठोरता दर्शनढुङ्गाजस्तै कठोर छ, र ती अभाव, दुःख र सङ्घर्षलाई दर्शन ढुङ्गा ठोकेजस्तै गरी ठोकेर उमार्नु छ, सिर्जनाको उज्यालो । दोस्रो, त्यो सर्जना आफैँ दर्शनढुङ्गा हो, जो कालातीत छ, उज्वल छ र प्रेरक छ । यसै कविताले, क्षेपकको रूपमा अनेक कवि, कलाकारहरूको सङ्घर्षकथा पनि बोकेको, जो यस्तै यस्तै अभाव खेपेर भोक, पीडा र रगतले दर्शनढुङ्गाजस्ता अक्षरहरू बनाउँछन्, जसको प्रयोग वा दुरूपयोग क्रान्तिकारीहरू, नेताहरू, प्रेमीहरू वा आम जनता गरिरहन्छन् । यो कविता ती सबै महानतम आत्माहरूप्रतिको कृतज्ञता हो, जसले आफू समिधा बनेर पनि संसारलाई उज्यालो नै दिएर गए ।

“जन्म उत्सव” यसै खण्डको अर्को कविता हो, जसमा जन्म उत्सवको उन्मादमा आमाको प्रसव बिर्सनेका लागि एउटा गतिलो झापड छ । कविताभरि कवि जन्मको उत्सवभन्दा पनि पच्चीस वर्षअघि आफूलाई जन्माउने आमाको पीडाबाट संवेदित छन् । क्षविक्षत बनिसकेको आफू जन्मेको गोठ र त्यसवरिपरि छरिएका सबै भग्न अवशेषहरूले आमाको, वेदनाको र प्रसवको सम्झना झल्झली बल्झाइदिएको छ । कवितामा सबै सबै छ, छैन त केवल “उत्सव” छैन ।

“उज्यालो दर्शन” मा पनि अनेक चिसो र अँध्यारोका बीचमा पनि आमा भएकै कारण सबैतिर उज्यालो, सपना, सफलता, खुसी, सम्बन्ध र एक निस्फिक्री यात्रा सम्भव भएको कुरा भनिएको छ । “धर्मध्वनि” को सार हो — मान्छे नभएको भए ईश्वर हुने थिएन, र मानिसले आफू चोइटिएर पनि ईश्वर बचाइरहेको छ । तर पनि अहम प्रश्न अर्को छ — के मानिस आफैँमा सङ्लो र सक्षम हुन सक्दैन? उत्तर कतै पनि छैन । सङ्लो र सक्षम ईश्वरको कल्पना र निर्माण दुवै गर्न सक्ने मान्छे आफू भने, खण्ड खण्ड, आफैँले बनाएको ईश्वरको शरणमा जान किन अभिषप्त छ ?

“उज्यालो यात्रा” मा सार्थक जीवनको यात्राका लागि साहसको उपादेयतामाथि जोड लिइएको छ भने “डिलिट दुःख” डिजिटल समयका शब्दहरूसहित मान्छेको सबै दुःखको एकमुस्ट निवारणको कुनै जादूवी फोर्मुलाको संभावनाको कल्पना गरिएको छ । “एक आँखा संसार” मा कुनै सर्वशक्तिमान् “तिमी” को कल्पना गरिएको छ, जसका उघ्रिएका आँखाले जीवन र जगतमा सन्तुलन स्थापित गरिरहेको छ, र त्यस अपरिभाषित तिमीले आँखा चिम्लियो भने सबै लय भङ्ग हुने शंसय प्रकट गरिएको छ । यो अपरिभाषित तिमी प्रेमी हुन सक्छ, ईश्वर हुन सक्छ, श्रष्टिको परिचालक ऊर्जा हुन सक्छ अथवा उदात्त प्रकृति हुन सक्छ । यो पाठककै कल्पनामा छोडिदिएका छन् कविले । “शरीर योग” सङ्ग्रहको अन्तिम कविता हो, जसको तर्क हो, आफूलाई ध्यानदृष्टिले पढ्न सकियो भने आफ्नो पूर्णताको बोध सहजै गर्न सकिन्छ । अज्ञानताको जगबाट हेरियो भने अपूर्ण देखिन्छ ।

समग्र मूल्याङ्कनमा मणि लोहनीबारे केही कुरा स्पष्ट भन्न सकिन्छ । सो के भने, दुई दशकभन्दा लामो कवितासाधनापछि कवि मणि लोहनी आफ्नो काव्यिक उत्कर्षको अघिल्तिर उभिएका छन् । उनको कवितामा दर्शन र चिन्तनको एउटा दुर्लभ संयोग पाइन्छ, र कामेल अभिव्यक्तिका माध्यमबाट उनी आफूलाई प्रभावशाली ढङ्गबाट प्रस्तुत गर्न सक्छन् । समान्य लाग्ने तर कहिल्यै पनि नसोचिएका वा ध्यान नदिइएका यथार्थ उनी पस्किन्छन्, र धेरैबेर सोच्न बाध्य पारिरन्छन् । उनका कवितामा प्रेमै प्रेम छ, उज्यालो छ, धैर्य छ, समाता छ र सङ्गति छ । यो उनको विश्वदृष्टि हो ।

तर पनि, उत्कर्षतिरको यात्रामा जाने लञ्चपेडमा उभिएको कविले कुन र कस्तो गतिमा उडान भर्दा गन्तव्यमा पुगिन्छ, त्यो बुझ्नु नितान्त जरूरी छ । हाम्रो समयको एउटा लोभलाग्दो कवि काव्यिक उत्कर्षको हेलिपेडमा अवतरण गरेको चेर्न चाहनु हाम्रो सामूहिक स्वार्थ हो । त्यसैले केही मूल्याङ्कन र टिप्पणी वाञ्छनीय छन् । पहिलो, कवि मणि लोहनी हृदयका कवि हुन् । हृदयको पटबाट उनले जीवन, प्रेम र सम्बन्धहरूका तन्तुमा सङ्गीत भर्न सक्छन् । उनले यसै बाटोमा आफूलाई खोजिरहनु जरुरी देखिन्छ । पेसाले पत्रकार हुन्, त्यसैले समाचार, घटना, सरकार, नाराआदिले पनि उनलाई छुन्छ ।

तर, यी कुरा अरूले पनि लेखिरहेका छन् भनेर कतिपय भाव र तरङ्गहरूलाई कवि मणि लोहनीले छोड्न वा बिर्सन सक्नुपर्छ । यसो भनिरहँदा समय र राजनीतिमाथि कविता लेखिनु हुन्न भनिएको होइन । तर यस सङ्ग्रहको प्रथम खण्डमा आएका धेरैजसो कवितामा अखबारी कुरा, नारा र तात्कालीक आक्रोश बढी, र सूक्तिमयता, विम्बात्मक अभिव्यक्ति र घनत्वपूर्ण र जादुवी हरफ कम भेटिएको त पक्का हो । यो कवि मणि लोहनीको लोभ र कमजोरीको उपज हो । यस प्रकारका कवितामा उनको असली कवित्व खासै भेटिँदैन । यस्ता कवितामा जोखिम र विरोधाभास कसरी र कहाँ पुगेर आइदिन्छ, कहिलेकाहीँ थाहा पनि हुँदैन । उदाहरणमा हेरौँ “मानचित्रमा उभिएर” शीर्षकको कविता ।

आजको समय विविधताको उत्सव मनाउँदै एकतामा गाँसिनुपर्छ भन्ने छ, जब कि कविताले एकताका नाममा सबै विविधतालाई निषेध गरेको जस्तो लाग्छ । यसै पनि उत्तारआधुनिक समय विविधताको हो । यस दृष्टिले कविता पश्चगामी पनि छ । दोस्रो, हामीले पुज्ने मन्दिर, घुमाउने माने, भाक्ने देउराली र बुद्ध भेटेको गुम्बा “यही” हो भनिरहँदा, यति धेरै नाम, पन्थ र देवलायको नाम उल्लेखित भयो, जसले एक होइन “अनेक” को सङ्केत गर्दछ । अनेक भएरै त यति धेरै धर्म, भवगान् र देवालय बने, होइन र?

र अर्को, नक्साभित्रका धर्का मेटाइदिए र सिमाना मेटाइदिने कुरा छ, जुन न सम्भव छ, न मान्य छ कसैलाई न नै व्यवहारिक छ । भावावेशमा कविले कठोर यथार्थको उपस्थितिलाई कसरी बिर्सन्छ, यो त्यसैको उदाहरण हो । हामीले, यी विविधता र अपरिहार्य र अनिवार्य विभाजन रेखाहरूको स्वीकाराक्तिसहति एकता, समता र सङ्गति खोज्नुको विकल्प छैन । यो एउटा उदाहरण मात्रै हो । विचारधारा, सिद्धान्त र विश्वासको वैविद्य भएको विषयमा कविताले तर्क गर्नुपर्ने हुन्छ । तर यो मेलो कवि मणि लोहनीको हो जस्तो देखिँदैन ।

अर्को कुरा, मणि लोहनीको क्षमताको कविले कविताको भाषालाई अत्यन्तै कम्पेक्ट, घनत्वपूर्ण र ओजिलो बनाउनु जरूरी देखिन्छ । उनले “प्रमेशास्त्र”, “दर्शनढुङ्गा” र “इच्छामृत्यु” र “साँझहरू” को जस्तो निखान अन्य कवितामा किन दिन सकेनन् ? यो उनैलाई थाह छ । उनका कविताको लम्बाइ पनि उनको दुस्मन हो । लामो बनाउने क्रममा पुनरावृत्ति दोष, व्याख्या, विश्लेषण र सपाट गद्यको गर्तका कविता फस्न सक्छ । यसै गर्नेहुँदा “सौन्दर्यको आकार” शीर्षकको कवितामा उनी आफ्ना मिल्ने कतिपय कवि साथीहरूको नाम कवितामा घुसार्नकै लागि घुसार्न पुगे । ती कवि त खुसी भए नै होला, तर यस्तो बलात् घुसपैठले कवितालाई पटक्कै न्याय गरेको देखिँदैन ।

कतिपय ठाउँमा कविले पाठकलाई विश्वास नगरेको, र विम्बहरूको अनावरण उनीहरू आफै गर्न सक्छन् भन्ने नठानेको पनि प्रतीत हुन्छ । पाठकको क्षमतामाथि विश्वास नगर्नु कविको कमजोरी हो । “साँझहरू” शीर्षकको कविताको मूल विषय भ्रम र क्षणभङ्गुरताको हो । यसमा कविले “तिम्रो मदमस्त यौवन र पानीमा हल्लिरहेको चन्द्रमा समात्न खोज्ने मेरो मूखर्ता दुवै उस्तै हुन्” भनिसकेपछि “भ्रमपूर्ण र क्षणभङ्भुर” भनेर व्याख्या किन गरे होलन्? कलेरिजले त कुब्ला खाँले आफ्नो दरबारको छाया आल्फ नदीमा ढलपल पलपढ देख्छु भनिरहँदा व्याख्या गरेनन् नि?

अर्को, कतिपय कथनहरू सपाट र बेमेल लाग्छन् । उदाहरणका लागि “मृत्युको पहिरो” शीर्षकको कवितामा “मीतजस्ता सग्ला कुवा र ढुङ्गेधाराहरू” भनिएको छ । के सबै मित सधैँ सग्ला होलान्? “जन्म उत्सव” मा भिनएको छ, “गोठका भित्ताहरूमा प्रचलित सङ्गीतको कुनै धुनजस्तो,” जबकि गोठका “भित्ता” मा कुनै धुन प्रचलित हुने कुरा सटिक बस्दैन । पुस्तकमा भाषिक त्रुटि धेरै छन्, र सम्पादनपक्ष फितलो छ । “यहिबेला, शताब्दीऔँ, गुँरास, एकाङ्कीपन, धूवाँ, गहिराई, कमाई, हुल, गिनिपिक, रहश्य, आफूलाई” यस्ता त्रुटिका केही झलक हुन्, जो नहुनुपर्ने थियो ।

प्रतिक्रिया
Loading...