नेपाली साहित्यको सम्पूर्ण पत्रिका

भातृद्वन्द्वको कहरमा महारानी

रमा अधिकारी

मिथकहरूको एउटा आर्किटाइप अर्थात अद्यरूप भाइवीचको द्वन्द्व धेरै मिथक र इतिहासको प्रसङ्गहरूमा पाइने एउटा विषय हो । मिलानका राजा एन्टोनियो र प्रोस्पोरोको कथा, डेन्मार्कका राजा हेम्लेट र क्लाउडिउसको प्रसङ्ग, निसदका राजा नल र पुस्करको कुरा होस् वा महाभारत र रामायणका प्रसङ्ग हुन् — भाइभाइबीचको द्वन्द्व, र त्यसको चपेटमा परेका आम जनता, महिला तथा बालबालिकाको जीवन कथा कारूणित बन्दै आएका प्रसङ्गले इतिहास र मिथकहरू भरिएका छन् । ती इतिहास र मिथकहरूको नवइतिहासवादी विपठनले उक्त द्वन्द्वहरू आफ्ना कतिपय सङ्कथनको गर्तमा लुकाएको सत्यहरूलाई अगाडि ल्याइदिन्छ र नयाँ सत्यहरू स्थापित गरिदिन्छ ।

सान्दर्भिक पोस्ट

यस्तै भातृद्वन्द्वको जगमा उभिएको ऐतिहासिक कथा बोकोको छ पोखराका स्रस्टा चन्द्रप्रकाश बानियको उपन्यास महारानी । २०७६ सालमा शिखा प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको कार्यपीठिका तत्कालीन बाइसे–चौबिसे अन्तर्गतको पर्वत राज्य हो । इतिहास, मिथक र काल्पनिकताका गतिलो सम्मिश्रण यस उपन्यासको माध्यमबाट लेखकले तीन शताब्दिअघिको इतिहासलाई उजागर गर्दै तत्कालीन बाइसेचौबिसे राज्यमध्येको एक, देउपुर राजकुमारी विश्वप्रभा कसरी आजपर्यन्त महारानी का रूपमा पूजित र सम्मानित छिन् भन्ने कुरा विभिन्न श्रोत तथा माध्यमबाट सूचना सङ्कलन गरी सत्यतथ्य पत्ता लगाई आख्यानीकृत गरेर निकै रोचक ढङ्गले प्रस्तुत गरेका छन् । यस उपन्यासमा उनले तीन शताब्दिअघिको बोलीचालीको भाषा प्रयोग गरेका छन् भने त्यस युगको राजनीति, रीतिरिवाज, धर्मसंस्कृति, परम्परा, चालचलन, कानुन, स्त्री–पुरुष सम्बन्ध, प्रेम, राजा–रैति सम्बन्ध अर्थतन्त्र, कूटनीति आदिका बारेमा निकै कुशलतापूर्वक प्रस्तुत गरेका छन् ।

कथावस्तु, मूलरूपमा भाइहरूबीच राज्य विभाजनको कलह, र यसैसँग जोडिएर आएको खण्डित प्रेम र विवाहको जगमा टेकेको छ । सत्ताको यस चक्रमा, र पुरुष अहमको जाँतोमा पिसिएर महिला र उनीहरू प्रेम कसरी बली चढाइन्छ, त्यो कथाका सार तत्व हो । कथाअनुसार प्रतापी नारायण मल्लले २०००० घरधुरी भएको पर्वत राज्यलाई आफ्ना तीन भाइ छोरा र दुई भतिजाममा अंशवण्डा गरेपछि पर्वत राज्य १६०० घरधुरीमा सीमित भएको थियो । सो पर्वत राज्य प्रतापी नारायणले आफ्ना सर्वप्रिय माहिला सुपुत्रलाई दिएका थिए । यसै वंशमा अन्य राजा राज्य गर्दै गए । भाइभतिजा मिलेर वरिपरि चारै किल्ला बाँधी पर्वत राज्य शक्तिशाली र सुरक्षित बनाउन खोजे, र लामो समय सुरक्षित पनि रह्यो । पछि उनै प्रतापी मल्लका दरसन्तान राजा घनश्याम पर्वतका राजा भए । उनका दुई रानीमध्ये जेठी रानी लम्जुङकी राजकुमारी गुलबदन तथा कान्छी जुम्लाकी जयन्ती भए । गुलवदनका छोरा मलेवम जन्मले जेठा र कान्छी रानी जयन्तीका छोरा भद्रिवम गर्भले जेठा थिए । कान्छी रानीले जेठी रानी गुल्वदनका अगाडि त्यति मानमनितो नपाएको महसुस गरी गर्भिणी अवस्थामै जुम्ला गई बसिन् । मद्रिवम मावली घर यानि जुम्ला दरबारमै हुर्किए । जन्मले जेठा भएका कारण मलेवम युवारज घोषित भएपछि भद्रिवम पनि जुम्लाबाटा झिकाइयो ।

मलेवम युवराज घोषणा भएपछि छिमेकी राज्यहरू आफ्नी राजकुमारी पर्वतको हुनेवाला महाराजलाई दिन लालायित भए । यसै क्रममा छिमेकी राज्य देउपुरकी राजकुमारी विश्वप्रभा र खाँचीकी राजकुमारी महलवसन्ताको डोली भित्र्याइयो । विवाहको राम्रो साइत नजुरेकाले दुई वर्षपछि मात्र विवाह सम्पन्न हुने र त्यस अवधिमा राजकुमारीहरूको शिक्षादीक्षाको प्रवन्ध पनि दरबारमै हुने प्रचलन थियो । पहिला पहिला जन्ती लिएर अन्य राज्यमा जाँदा बाटैमा राजकुमारको हत्या र लुटपाट हुने गरेकोले बेहुली पक्षबाट डोला भित्र्याई राम्रो साइत जुरेपछि राजदरबारमै बिहे गर्ने चलन सुरु भयो । यिनै दुई वर्ष अवधिमा राजकुमारी विश्वप्रभा र मलेवमको गहिरो प्रेम सम्बन्ध स्थापित भयो ।

मलेवम युवराज घोषणा भएपछि, जुम्लाको राजा र अन्यको उक्साहटमा भद्रिवम आफू राजा हुन पाउनुपर्ने नत्र भाईअंश मात्रै भए पनि पाउनुपर्ने कुरामा अड्डी लिए । उता महाराज घनश्यामले महाभारत र पुराणका उदाहरण दिएर भद्रिवमलाई सम्झाउने कोशिस गर्छन् । भने, “गर्भले जेठो तिमी नै हौ । जन्म पनि पहिल्यै भैदिएको भए र मैले मलेवमलाई राज्य दिन खोज्याको भए पो अन्याय हुन्थ्यो । सातै महिनामा जन्मेर पनि बाँच्याका हुनाले गादीको पहिलो हकदार बन्ने अवसर मलेवमले पाए । त्यसमा मेरो के दोष छ र?” तर सानैदेखि जुम्ला दरबारको संस्कार पाएका भद्रिवम आफूले पनि राजपाठ पाउने कुरामा अड्डी लिइरहे । यसैबीच अरू पनि जयजन्म भएकोले महाराज घनश्यामका छ भाइ छोरा भए । राज्यलाई छ भागमा अंशबन्डा गर्दा ६ टुक्रा हुने भएकाले उनी त्यसो गर्न राजी भएनन् ।

भद्रिवम भने आफूले राज्य नपाए विश्वप्रभासँग आफ्नो विवाह गरिदिनुपर्ने र त्यसो भयो भने आफूलाई राज्यको अंश नचाहिने नयाँ मागका साथ आइपुगे । विश्वप्रभा भने उनका दाइ मालेवमसँग प्रेममा थिइन् र विवाह पनि तय भएको थियो । भद्रिवमले यस्तो माग राख्नुको कारणचाहिँ मलेवमले राजकुमारी त्यग्न सक्दैन् र राजपाठ नै त्यागी भद्रिवमलाई सुम्पिदिन्छन् भन्ने हो । मलेवम र विश्वप्रभाले बरू राजपाठ नै त्याग गर्ने तर आफूहरू छुट्टिन नसक्ने कुरा व्यक्त गरे । महाराज घनश्यामले भने विश्वप्रभालाई भद्रिसँग बिहे नगर्दा पर्वत राज्यले धेरै हानी–नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ भनी उनलाई भद्रिसँग बिहे गरिदिन राजी गराउन कोशिस गरे । विश्वप्रभाले बरू आफू आत्मदाह गर्ने वा देउपुरै फर्किने तर भद्रिवमसँग बिहे गर्न नसक्ने कुरा बताइन् । भनिन्, “दुई प्रेमीहरू सगोलमा साझा मृत्युवरण गर्न सक्छन् तर छुट्टिने सल्लाह गर्न सक्दैनन् ।” तर राज्य र प्रजाका हितका लागि बाध्य भएर अन्त्यमा उनले यो प्रस्ताव स्वीकार गर्छिन् । उनी राज्यको अखण्डता र सुरक्षाका लागि आफ्नो प्रेमको बलिदानी दिन तयार हुन्छिन् । यद्यपि, यसलाई उनी सजया ठान्छिन् । भनिन्, “ धिक्कार छ छोरीको जुनिकन ! जन्म दिन्या मातापिताले छोरीको इच्छा चाहना क्या छ भनी एक वचन नसोधिकन बिरानो ठाउँमा पठाइदिस्यो । पर्वतले डोला स्वीका¥यापछि आफ्नो कर्तव्य पूरा भएको ठानिस्यो । माथिबाटै दैवले जोडी बनइकन पठाउँदा सकभर राम्रो होला, नभया जस्तो पनि सहुँला ब्यहोरुँला, आफ्नो कर्म उस्तो भनिकन चित्त बुझाउँला भनियो । दैवसंयोगले राजकुमार मलेवमसँग दिल बस्यो, मन मिल्यो । हिजो आमा बुवाबाट भयाको उपेक्षा बिर्सियो । पर्वतलाई आफ्नो सर्वस्व ठानियो । तर पर्वतले म निर्दोसकन सजाया दिन्या भयो । मन मिल्याका जोडी टुटाइकन सजाय नै त हो ।”

भद्रिवमको विवाह विश्वप्रभा र मलेवमको विवाह महलवसन्तासँग भयो । महाराज घनश्याम राजपाठ मलेवमलाई सुम्पेर काशीतिर हिँडे । भद्रि सर्तअनुसार बेनी नजिकै रहेको ज्यामरुक डाँडामा महल बनाई विश्वप्रभासँग बस्न थादले । भद्रिको अर्को विवाह पहिले नै नलिनीसँग पनि भएको थियो र दुवैको प्रेमिल सम्बन्ध पनि भयो । विश्वप्रभासँग उनको कुनै लगाव थिएन न त विश्वप्रभावको उनीप्रति कुनै प्रेम र समर्पण भाव थियो ।
भद्रिवम ज्यामरुक डाँडामा बसी आफ्ना समर्थकहरूसँग साँठगाँठ गरी पर्वत राज्यका विरुद्ध षडयन्त्र रच्न थाले । पर्वतका राजाले गर्मीमा ढोलढाना र जाडोमा बेनी गरी दरबार सारिरहन्थे । बेनी सरेका बेला आक्रमण गर्न सजिलो होस् भन्नका लागि पनि भद्रिवम ज्याम्रुक बस्दैआएका थिए । शरीरले आफू भद्रिकी भए पनि मन, वचन र कर्मल सधैँ मलेवम र पर्वत राज्यका हितमा काम गर्ने वचन दिएकी राजकुमारी विश्वप्रभा भद्रिलई त्यसो नगर्न सम्झाउँछिन् । भद्रि भने “आफू राजकुमार भइकन राजा बन्ने सोच राख्नु जायज हो” भनी षडयन्त्र रचिरहन्थे । यो सूचना विश्वप्रभाले मलेवमलाई दिए । भद्रिले दाजु मलेवमको हत्या गरी राजपाठ आफ्नो हातमा लिने षडयन्त्र पूरा नहुँदै मलेवमले भद्रिवममाथि आक्रमण गर्न लगाई उनका सहयोगीसहित उनको हत्या गरिदिए ।

यसरी राजकुमारी विश्वप्रभाले पर्वत राज्यको रक्षा गरेकी र आफ्नो प्रेम, खुसी, परिवारलगायत सर्वस्व आहुति दिएकी हुनाले राजा मलेवमले सम्मानस्वरूप उनलाई “महारानी” घोणा गरी “राजमाता” का रूपमा सम्मान दिई नवनिर्मत महलमा बस्न अनुरोध गरे । आफ्नै परिवारको हत्या गराएकोमा विश्वप्रभालाई अपराधबोध पनि हुन्छ र उनी सुटुक्क दरबारबाट निस्किन्छिन् र सन्यासिनी बनिन् । उनैको बलिदानीको सम्मानस्वरूप मलेवमले उनलाई राजमाताको सम्मान दिन्छन् र महारानीको पदवी दिए । पछि गोडधुप गर्दा, महारानीलाई समेत धूपध्वजा, अक्षता दिन सुरु गरेको र त्यही चलनले “देउती” बाट देवी भगवती हुँदै पर्वत राज्यको अखण्डताको निम्ति आफ्नो सर्वस्व बलिदान दिने महान धिरोदत्त वीराङ्गना राजकुमारी विश्वप्रेभाले देवीको सम्मान पाइन् र आजपर्यन्त “महारनी”को नामले पूजित छन् ।

यस उपन्यासका महŒवपूर्ण पात्रमा राजा घनश्याम, रानी गुलवदन, युवराज मलेवम, राजकुमार भद्रिवम, राजकुमारी विश्वप्रभा र अर्का एकजना काजी सुमन्त बानियाँ हुन् । महाराज घनश्याम न्यायप्रेमी, राज्यका हरेक निर्णयरू सबैको सल्लाह लिएर मात्रै गर्ने स्वभावका छन् । उनलाई नीतिनियम, परम्परा, संस्कार, कानुन सबैका बारेमा विज्ञहरूसँग सल्लाह लिएरमात्रै कमद चाल्ने, दयालु स्वभावका भनेर देखाइएको छ । महारानी गुलवदन पनि सहनशील, दयालु, सबैलाई समान व्यवहार गर्ने, पचासको उमेरमा पनि पैँतीसकी जस्ती देखिने सुन्दर छिन् । अर्का पात्र सुमन्त बानियाँ गोरो वदन, उन्नत ललाट, चिम्कला आँखा, बलिष्ठ शरीर, हेर्दा खाइलाग्द भर्खरकै तन्नेरी तर ज्ञानगुन, इतिहास, पुराण, कूटनीति सबैमा पोख्त छन् । उनी मानिसमा रहेका अन्धविश्वास र भ्रमहरूको निवारण सत्यतथ्य र ज्ञानगुनका कुरामार्फत् गर्छन् । उनले समाजमा व्याप्त कतिपय झुटा मनगडन्ते किम्बदन्ती र लोकोक्तिहरूको चिरफार गरेका छन् । तर सुमन्त काजी भएपछि चैँ उनको उपस्थिति कम देखाइएको छ । नत्र, भद्रिवम हत्याको पनि अन्य कुनै सरल उपाय सुझाउन सक्थे कि? मलेवम र भद्रिवमको चाहिँ लेखकले चरित्र चित्रण गर्न छुटाएका छन् । उनीहरूलाई एकैचोटि अठार–उन्नाइस वर्षका भएर प्रस्तुत गरिएको छ । मुख्य पात्र र खलपात्र भएपनि त्यस्तो विवरण कहीँ छैन दुवै राजकुमारहरूको । राजकुमारी विश्वप्रभा भर्खर फक्रन लागेको कमलको फूलजस्तो यौवना, सुन्दर, कलात्मक शारीरिक ढाँचा भएकी, व्यवहारमा छरिती, बोलीमा कोकिलकण्ठे, मधर, निडर, जिज्ञासु र स्पष्ट वक्ता हुन् ।

भाषिक दृष्टिले हेर्दा मध्ययुगीन, मल्लवंशीय भाषा यस उपन्यासमा प्रगोग गरिएको छ । “उसैकन, भन्याका, अह्रायाको, ग¥याका, गादी, पाइन्या, भन्यादेखिन् पन्र्या जस्ता भानुभक्तीय साहित्यमा पनि पाइने शब्दहरूको प्रयोग छ । विभिन्न तहतप्काका तथा विभिन्न उमेर–समूह र पेसाका पात्रहरू खडा गरी लेखकले यस उपन्यासमा तीन शताब्दिअघिको बोलीचालीको भाषा प्रयोग गर्ने कोशिस गरेका छन् र पनि कतिपय ठाउँमा कृयापदहरू फरक परेका छन् । फेरि बाइसे राज्यका मानिस भद्रि, कमल जैशी आदिको भाषा र चौबिसे राज्यका मानिसका भाषा तथा आम रैतीदेखि राजासम्मको भाषा उस्तै छ । खासै फरक देखिँदैन । सर्वदर्शी समाख्याताले प्रयोग गरेका एकाध अङ्ग्रेजी शब्द पनि भेटिन्छन्, जो त्यस समयको परिवेशमा सटिक बस्दैनन् । हिज्जमेमा पनि केही त्रुटि छन् ।

लखेकले कतिपय अन्धविश्वास, झुटा भ्रम र किंवदन्तीको चिरफार गरी सही र साँचो पत्ता लगाई भ्रम चिर्ने प्रयास गरेका छन् । राजामहाराज र ठूलाबडाहरूले कसरी आफ्नो फाइदाका लागि झुटा मिथक निर्माण गर्दारहेछन् र अनपढ सोझा सादा जनताले त्यसलाई साँचो मान्दा रहेछन् त्यो यस उपन्यासले बताउँछ । उदाहरणका लागि बागलुङको देवता पुला जान नमानेको प्रसङ्ग, महाराजले अन्द्राभुँडी बाहिर निकालेर धुने गरेको प्रसङ्ग आदि कालान्तरमा ती सबै किंवदन्तीका रूपमा स्थापित भए । राजाहरूले आफ्नो स्वार्थ या राज्यको हितका लागि थर गोत्र फेरेको, जनै लगाउन थालेको आदि प्रसङ्ग त इतिहासमा सर्वविदितै छ । यहाँ पनि त्यस विषयमा चर्चा गरिएको छ । प्राचीन शब्दावलीहरू पनि प्रसस्त ठाउँमा प्रयुक्त भएकाले त्यस समयमा प्रयोग हुने शब्दावलीको प्रसस्त जानकारी यस उपन्यासबाट प्राप्त हुन्छ । इतिहासका कतिपय बाझिएका कुरा, तिथिमिति नमिलेका कुरा तलसिलका कुरा भए । अन्यथा, लेखकले यस उपन्यासलाई अत्यन्तै सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । शिल्पपक्षमा खोट लगाउने ठाउँ छैन । उपन्यास सरु गरेदेखि अन्त्य नहुन्जेलसम्म एकपछि अर्को घटनाक्रमले पाठकलाई तानिरहन्छ । कौतुहलता कायम राख्दछ । पट्टेरलाग्दो नेपालको मध्ययुगीन इतिहास पनि लेखकले विभिन्न पात्र र परिवेश सिर्जना गरी अत्यन्तै रोचक बनाएका छन् ।

प्रतिक्रिया
Loading...