नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अश्वत्थामा हतोहतः मिथकीय पुनर्सिर्जन

समीक्षक

युग बोल्ने संवाद

उर्वशी – हेर पुरूरवा ! तिमीले नारीहृदयलाई चिनेकै रहेनछौ । नारी जोडेर जति रमाउँछे तोडेर पनि ऊ त्यत्ति नै प्रफुल्लित हुन सक्छे । संयोग र वियोग शब्दमा लोकले विपरीत अर्थ देख्ला, तर मेरो निम्ति यी दुवै विपरीत स्थिति मात्र हुन् (पृ‌ २४) ।

+++

उर्वशी – …पुरुषलाई जायाको स्वार्थले जाया प्यारी लागेकी हुँदिन । यो त आआफ्नो स्वार्थ हो जसलाई हामी प्रेमको संज्ञा दिएर आफैँलाई भ्रममा पारिरहेका हुन्छौँ (पृ‌ ‌.२५) ।

+++

सनातन पुरुष – म जन्मिरहेँ, म मरिरहेँ । म मरिरहेँ, फेरि जन्मिरहेँ । प्रत्येकपल्ट मेरै शक्तिशाली रूपहरूले मेरै कमजोर रूपहरूमाथि प्रभुता जमाए, शासन गरे, हुकुम चलाए ! समय ! तैंले पनि मान्छेहरूका तिनै कठोर र शक्तिशाली प्रतिनिधिहरूलाई साथ दिँदै आएको छस् (पृ. ३६) ।

+++

दलाल – हजुर, सानो मुख ठूलो कुरा ! अङ्ग्रेजी भाषामा अति मीठो गरी, सभ्य लबजमा मलाई ‘कमिसन एजेन्ट’ नभए ‘ब्रोकर’ भन्ने गरिन्छ । तर नेपालीमा मेरो नाम र काम बुझाउने शब्द अलि खस्रो लाग्छ म आफैँलाई-‘दलाल ।’ जति मिठास घोलेर उच्चारण गरे पनि ‘दलाल’ शब्दभित्र दलालीको अनुगुञ्ज रहन्छ-रहन्छ । हजुर ! सानो मुख ठूलो कुरा … (पृ. ७७) ! }

+++

(अश्वत्थामा हतोहतः २०५० माघमा तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित नाटक हो र लेखक हुन्- अविनाश श्रेष्ठ । यसमा दुई शक्तिशाली नाटक छन्- (क) समय, समय अनि समय र (ख) अश्वत्थामा हतोहतः । )

पाठकीय प्रक्षेपण

{असङ्ख्य अर्धसत्य झेल्दै विसङ्गतिहरूसित जुझ्न प्रत्येक युगमा अश्वत्थामा देखा पर्छन् । तर ती अश्वत्थामाहरूलाई हामी चिन्दैनौँ पाठकवृन्द (दर्शकवृन्द-लेखक) ! ती स्वयम् सताइएका हुन्छन्, तर समयले प्रत्येक अभाव, शोषणका घाउहरू तिनैलाई बोकाएर अभिशप्त तुल्याउँछ । तिनीहरूमाथि नै अन्यायको बज्र खस्छ र तिनीहरू नै दण्डित बन्छन् । आउनुहोस्, पाठकवृन्द (दर्शकवृन्द-लेखक) ! हामी आजको संसारका गल्ली-गल्ली, टोल-टोलमा यस्ता उपेक्षित अश्वत्थामाहरूलाई खोजौँ ‌…}

+++

१. कृतिभित्रका दुवै नाटक, (क) ‘समय, समय अनि समय’ र (ख) ‘अश्वत्थामा हतोहतः’ प्रयोगवादी नाटक हुन् । नाटककारले आजको मान्छेको नियति देखाउन प्राचीन र अर्वाचीन (इतिहास प्रदत्त) पात्रसँग सम्बन्धिक कथा (जसलाई हामी मिथकसँग जोडौँ) लिएका छन् ।

२. हामी मिथक बाँचिरहेका छौँ । यद्यपि ‘हट केक’का रूपमा नआएसम्म त्यसमाथि ‘वहश’ गर्दैनौँ अथवा हाम्रो ‘समझमा’ त्यो पर्दैन । हामी हुनुको मिथकीय यात्रामा होइन नहुनुको मिथकीय जात्रामा छौँ ।

३. प्रसिद्ध मनोविज्ञानी सिग्मण्ड फ्रायडले भनेजस्तो अचेतनमा पुग्ने राजमार्ग नै मिथक हो । जब सर्जक कुनै सिर्जनाका माध्यमबाट बाहिर निस्कन्छ सँगै अचेतन मन पनि बाहिरिन्छ अर्थात् उसको लेखनीका माध्यमबाट हामी अचेतनतर्फको यात्रा गर्न पुग्छौँ ।

४. अझ मिथकबारे अर्का अग्रणी मिथकाचार्य कार्ल गुस्ताभ युङ्ग।जुङ्गको धारणा गजब छ । उनी भन्छन्, ‘मिथकले सामूहिक अचेतनलाई प्रस्तुत गर्दछ । मिथमा मानिसका आशा, मूल्य, दुर्बलता तथा आकाङ्क्षाको सामूहिक प्रक्षेपण हुन्छ ।’

५. मिथकमाथिको केही पङ्ति यस पङ्तिकारले कान्तिपुरमा ‘भष्मासुरको नलीहाड’ शीर्षक (हेर्नू, २०७७, वैशाख २२) मा कोरेको छ र अरूले पनि कोरेका छन् । अब फेर पक्रौँ-अश्वत्थामा हतोहतःको । नाट्यसर्जक श्रेष्ठको ‘अविनाश’ नाट्ययात्रा युङ्गको विचारसँग सहमत छ (यो मेरो दाबी हो ।) । तथापि उनले कुन दृष्टिकोण लिएर नाटक जन्माए, त्यो लेखक स्वयम्‌लाई ज्ञात होला । हामी त पाठको आधारमा बोल्ने न हो ।

६. कृतिभित्रको कथाको तागत नै पूर्वस्थापित मिथकको पुनर्सिर्जनद्वारा आधुनिकताको तथ्य पुष्टि गर्नु हो । उनले पूर्वीय तथा पाश्चात्य जगत्‌का स्थापित चरित्र र तिनले बाँचेको युगलाई वर्तमान समयसँग बाँच्दै गरेका पात्रहरूसँग अन्तर्सम्बन्धित तुल्याएका छन् । अर्थात् एउटा युगको कथा र चरित्रलाई अर्को युगका कथा र चरित्रसँग आरोपित गराइएको छ । यसो गर्दा यहाँ प्रयोग गरिएको ‘टेक्निक’ (प्रविधि) फरक छ । मूल कथा अर्धसत्य र सत्यको नजिक छ भने परिवर्तित कथा (नाटक) सत्यसँग निकट छ ।

७. यहीँनेर एउटा कुरा प्रस्ट पारौँ, जति पनि सर्जकले मिथकको सहारा लिन्छ, उसले स्थापित (जुन प्रथम सत्यका रूपमा रहेका हुन्छन्, जस्तो कि अश्वत्थामाको वास्तविकता वा हिटलरको वास्तविकता) सत्यबाट हुबहु नलिएर त्यसलाई आफ्नो लेखनीको सहायक मान्दछ अथवा यसो भनौँ मूल विषयलाई आजको समयसँग सापेक्षित गर्छ र प्रतीकात्मक रूपमा त्यसको प्रयोग गर्छ । अश्वत्थामा हतोहतःका दुवै नाटकमा यही भएको छ ।

विद्वान् साक्ष्य

८. मोहनराज शर्मा भन्छन् – अश्वत्थामा हतोहतः नाटकमा पौराणिक अश्वत्थामालाई अगाडि ल्याएर अभिशप्त मानव र मानवीयताको खोजी गरिएको छ । शर्मा मान्दछन्, नाटकले जीवनका नानारङ्गी विद्रूपहरूको सक्कली अनुहार देखाएको छ (नाटककै परिशिष्ट ‘क’) ।

९. मूल नाटक अश्वत्थामा हतोहतःमाथि दृष्टिगोचर गर्दै मोराश भन्छन् – कृष्ण आदि पौराणिक पात्रहरू दलाल आदि सामान्य जीवनका पात्रहरूमा रूपान्तरित हुन्छन् र तिनले वर्तमान विसङ्गतिको कटु उद्घाटन गर्छन् । यो नाटक मूलतः ‘किसान/अश्वत्थामा/अभिशप्त मानव’को कथा हो ।

१०. मोराशको कथनले आजको दलाल वृत्ति बाँचेका मान्छेको ‘सलह’ प्रवृत्तिलाई छर्लङ्ग पार्दछ । जोसँग हामी दिनहुँ जुधिरहेका छौँ । जुन तथ्यलाई बुझ्न तपाईँ नाटकको मूल पाठमा पुग्नुपर्छ (पुग्नोस्, जिज्ञासा शमन हुनेछ ) ।

११. डा. केशवप्रसाद उपाध्यायले अश्वत्थामा हतोहतःमाथि गरेको टिप्पणी यस्तो छ, उनले (श्रेष्ठले) आफ्ना नाटकमा हिटलर र मुसोलिनीजस्ता मानवताका शत्रु र दुर्योधनजस्ता जाली र झेलीको मात्र नभएर मानवता, सत्य र धर्मका पालक र रक्षक मानिएका युधिष्ठिर र कृष्णका दोष र दुर्बलतालाई समेत देखाएर आफ्नो निष्पक्ष आलोचनात्मकता प्रदर्शित गरेका छन् तापनि उनले श्रद्धेय दैवी व्यक्तित्वका रूपमा आराध्य रहिआएका कृष्णका चरित्रको जेजस्तो विरूपण गरेका छन्, त्यो आस्थाशील दर्शक-पाठकका लागि सुपाच्य नहुने देखिन्छ (नेपाली नाटक र नाटककार, पृ २७८) ।

१२. उपाध्यायको भनाइबाट यो बुझिन्छ कि नाटककारको विनिर्माण विगत र आगतको बीचमा वर्तमानको संशयलाई मुक्त गर्नुमा भएको छ । हामी आज जे भोग्दै छौँ अभिशप्त रूपमा भोग्दै छौँ । हाम्रो नियति अश्वत्थामाको भन्दा कम छैन । विनाकारण श्रापित भएर भौतारिरहेका छौँ । बाँच्नु र भौतारिनु हाम्रो नियति बनेको छ । हामी बाँचिरहेका छौँ, ‘मिथ अफ सिसिफस’को मूल चरित्र सिसिफस भएर या त बाँचिरहेका छौँ अश्वत्थामा भएर । दुवै मिथकीय चरित्र हुन् र तिनको जीवन नियति फरक भूगोलमा झण्डै समान छ ।

१३. मार्क सोरर नामका विद्वान् भन्छन्- मिथक ठूलो नियन्त्रक बिम्ब हो ‌…जसले सामान्य जीवनका तथ्यलाई दार्शनिक अर्थ दिन्छ (उद्धृत-कृष्ण गौतम, आधुनिक आलोचनाः अनेक रूप अनेक पठन, पृ. १२१) । नाटककारले पनि त्यही गरेका छन् । मिथकीय बिम्बले सामान्य जीवनको तथ्योद्‍घाटन गरेका छन् । जुन तथ्य गौतमले रिचर्ड चेजले नोट्स अन दि स्टडी अफ मिथबाट लिएका छन् ।

१४. ‘समय, समय अनि समय’ मा मानिस र समयबीचको द्वन्द्व प्रस्तुत गरिएको छ । आज मान्छे समयसँग जुधिरहेको छ । सदैव समय, समय अनि समयसँग मान्छे उसैगरी जुधिरहन्छ । यो लीला अनन्तः यात्रा हो । तथापि समयभन्दा बाहिर मान्छे जान सक्दैन । समय प्राकृतिक चक्र हो । जब मान्छे प्रकृतिको उल्लङ्घन गर्न थाल्छ तब ब्रह्माण्डमा अनेकौँ सङ्कटहरू जन्मन्छन् (जस्तो कि आज हामी भोगिरहेका छौँ – कोभिड १९ उर्फ कोरोना भाइरस) । सङ्कटबाट मोचन हुनु भनेको प्रकृति वा सृष्टिचक्रबाट भाग्नु होइन ती तत्त्वसँग आत्मीय सम्बन्ध स्थापित गर्नु हो । समाहित हुनु हो । अझ भनौँ डार्बिनको जीववादी सिद्धान्तसँग परिचित हुनु हो ।

१५. ‘समय, समय अनि समय’ नाटकमा मानव जगत्‌ले विभिन्न कालखण्डमा भोग्नु परेका दुःखद्, त्राटक (त्रासद), अमानवीय घटनाहरूको वर्णन छ । ती घटनाको चित्रण गर्नका लागि सोही अनुरूप पात्रको रूपान्तरण भएको छ । समान प्रवृत्ति बोकेका पात्रहरूलाई विभिन्न कालखण्डको प्रतिनिधि बनाएर रङ्गमञ्चमा उतारिएको छ ।

१६. ‘समय, समय अनि समय’ नाटक पढ्दा यस्तो लाग्छ, बी.आर. चोप्राकृत भारतीय टेलिशृङ्खला ‘महाभारत’का समयद्रष्ट्रा स्वयम् उपस्थित छ र बोलिरहेको छ-‘मे समय हूँ’ । र उसैको निर्देशनमा सबै कुरा अगाडि बढ्दै छ । यहाँ समय नाटकको मुख पात्र हो अर्थात लेखकीय दृष्टिकोण प्रक्षेपण गर्ने पात्र हो अर्थात ऊ द्रष्टा हो । पात्रहरूको रूपान्तरण नाटकको खास शक्ति हो । कृष्णलाई हिटलर र विक्कीमा, युधिष्ठिरलाई गान्धी र विनयमा, भीमसेनलाई मुसोलिन र राजेशमा, यमलाई पुरूरवा, शेखर र अमरमा, यमीलाई उर्वशी, नीरा र भावनामा रूपान्तरण गरिएको छ र समयको नियति संवाद गर्न लगाइएको छ । कालक्रमलाई हेर्दा यहाँ पौराणिक, ऐतिहासिक र आधुनिक (समसामयिक) युगजीवनका संवाद शृङ्खला तत्‌तत् समयको युगबोध गर्नका लागि उपस्थित भएको छ ।

निचोड भनौँ क्यार !

१७. नाटक रचना गर्नु मात्र ठूलो कुरा होइन । नाटकको पूर्णता मञ्चमा पुगेपछि र प्रेक्षकले ग्रहण गरेपछि हुन्छ । यस मानेमा श्रेष्ठकृत दुवै नाटक बारम्बार मञ्चन भएको देखिन्छ । उनले रङ्गकलामा विशेष ध्यान दिएका छन् । जसले गर्दा नाटक थियटर।रङ्गमञ्चमा प्रस्तुत गर्न सहज भएको छ । अर्थात् भाव साधारणीकरण {भाव ग्रहण गर्ने सन्दर्भ- (क) पूर्वमा रसानन्द।रसको आनन्द।पाठ पढेपछि वा दृश्य हेरेपछि प्राप्त हुने आनन्द र (ख) पश्चिममा अरस्तुको विरेचन सिद्धान्त (जसलाई तपाईँ केही समयपछि युट्युबमा सुन्न तथा पढ्न सक्‍नुहुनेछ)।मनमा रहेको विकार रेचन हुनु वा बाहिर निस्कनु अथवा आनन्द प्राप्ति वा शुद्धीकरणको अवस्था} प्रकृयामा आएको छ । पाठ पढेपछि त्यसले पाठकमा एक न एक प्रकारको छाप छाड्नुपर्छ र सरकारले गर्ने सम्पत्ति शुद्धीकरणजस्तै भावक वा पाठकको मनको पनि शुद्धीकरण कृति वा पाठको रचनापछि आवश्यक हुन्छ । नत्र भने त्यस्तो रचनालाई लेखकीय आत्मरतिबाहेक केही भन्न सकिँदैन ।

१८. नाटकले नाटक उभिएको पृष्ठभूमि र समयलाई राम्रोसँग स्पर्श गरेको छ । फलतः नाटकको रचनागर्भ ४० को दशकको उत्तरार्ध भए पनि आज पनि यसको कथावस्तु उत्तिकै दमदार छ । यही हो लेखकीय अस्तित्व दाबी गर्ने एक मात्र संयन्त्र । कुनै समय ‘वाह ! वाह !’ भए पनि समाजपरक समालोचक हिडोल्फ एप्पोलाइट टेनले भनेजस्तो युग, जाति र परिवेशलाई स्पर्श गर्न सकेन भने ‘वाह’ पछि ‘स्वाह’ निश्चित छ ।

१९. यो एउटा दृष्टिकोण हो । कर्मकाण्डीय पद्धतिबाट मुक्ति हो । मैले कथानक, चरित्र, परिवेश, संवाद आदि शैलीविज्ञानी कृति समीक्षा पद्धति यहाँ प्रयोग गरिनँ । त्यसरी गरेको समीक्षा मेरो पुस्तकमा उल्लेख छ । आवश्यक भए प्रदान गर्नेछु ।

२०. समीक्षा।समालोचना पद्धतिलाई फरक-फरक कोणबाट विमर्श गर्ने एउटा असली समीक्षक।समालोचकको नाउँ सुटुक्क भनूँ-कृष्ण गौतम । उनी निवृत्त नेपाली विषयका प्राध्यापक हुन्, तर उनको भाषिक ज्ञान र समालोचना पद्धति देखेर तीनछक पर्छु । हामी केही विषयमा केही बोल्यौँ भने लङ्का पुग्ने गरी डङ्का पिट्छौँ – क्या दियो यार ! हामीमा राम्रोसँग विषयलाई केलाएर र तुलना गरेर समालोचना गर्ने परिपाटी ज्यादै न्यून छ तथापि गौतम गृहमा चुपचाप बस्छन् र काम गरिरहन्छन् । उनका ११ थान समालोचनाका जडी किताब प्रकाशित छन् । यो कुरा किन गरेको विषयान्तर गरेर ? उत्तर दिऊँ – यो जरुरी छ । हामी नदेखेका कुरा खोज्न सिक्नुपर्छ । तब नि सिकाइ । पढ्नोस् गौतमकृत समालोचना खोजेर । सिद्धान्त र व्यावहारको गजबको फ्युजन छ ताकि धेरै कन्फ्युजन दूर हुनेछन् ।

२१. एउटै कृतिलाई फरक-फरक कोणबाट अध्ययन गर्ने कुरामा हामी सबै ज्ञानी छौँ । मेरो धारणा र तपाईँको धारणा विल्कुलै फरक पाटोमा दौडन सक्छ । गौतमले यो कुरा २०५० सालमै पुष्टि गरे- ‘आधुनिक आलोचनाःअनेक रूप अनेक पठन’ नामक कृति प्रकाशन गरेर । यसमा उनले बालकृष्ण समकृत नाटक ‘प्रह्लाद’को अनेक (बहु) पठन गरेका छन् ।

२२. यस्तै पठन अश्वत्थामा हतोहतःमा गर्न सकिन्छ । यो सम्भावना तपाईँहरूलाई । यसका लागि उपयुक्त पठन हुनेछ – अन्तरअनुशासनात्मक पठन (एउटै कृतिमा धेरै विधा।अनुशासनको मिश्रण हुनु) ।

अन्तिममा अश्वत्थामाको एउटा संवाद –

“दुःखहरूलाई घाउहरूलाई, विभीषिकाहरूलाई सङ्ग्रालयमा सजाएर रमाउने ए पङ्गु मानिसहरू हो ! मलाई घरिघरि लाग्छ, अभिशप्त म होइन यो सारा युग नै अभिशप्त छ, अभिशप्त तिमीहरू छौ ।”

उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय

Loading...