नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नवपुस्ता: कसैको बासँग संस्कृत संवाद; कसैको कमजोर सरकारमाथि बलियो विस्वास

म जहाँ बस्छु, त्यहाँ आज पनि दलितको बिहेभोजमा गैरदलितले भान्सा नपकाए गाँउका वरिष्ठहरूको घाँटीबाट छिर्दैन । म जुन स्कूलमा पढेँ, त्यहाँका साथीहरू घरको रूढिग्रस्त ज्ञानको संवाहक बनेर आएका हुन्थे । धेरै कहानी जस्ता लाग्ने घटना मैले झेलेर आएको छु ।

देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ ।

देश अढाई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी) छ । बन्दाबन्दीका कारण सबै आफ्नै घरमा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् विकराल बन्दै गइरहेकै छ । तर यो विषम परिस्थितिमा पनि नेपाली साहित्य तथा कलाको क्षेत्र निदाइहालेको भने छैन । बरु कारोनाबाट कसरी बाहिर आउने र आफूलाई कसरी सुसंस्कृत र परिष्कृत बनाउने भन्ने कुराको साधनामा छ ।

यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार तथा कलाकारहरू के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा साहित्य तथा कलामा संलग्न नवपुस्तालाई सुन्ने छौँ:

राजु झल्लु प्रसाद:

“कमजोर सरकारमाथि मेरो बलियो विश्वास छ”

राजु झल्लु प्रसाद

रातभर आकाश हेरिरहँदा बिहान भइरहेछ। बिहानभर सुतिरहँदा दिउँसो भइरहेछ र, दिनभर खानपिन र कसरत गरिरहेछु। मन, आँखा र पेट पनि अघाइरहको छ।

एउटा समय थियो, फलानो-ढिस्कानो काम र जिम्मेवारी, भोक र थकान, निद्रा र आराम  थिए। अब यतिखेर घडीजस्तै भएको छु, घडी मात्रै..समय जस्तो होइन।

समयको गति कहिल्यै कम या तेज हुँदैन। समय यात्रारत रहन्छ। समय हिउँले चुसेको चट्टान टेकेर पनि बाँच्छ। चाहे त्यो लिपुलेक ढलोटका हिउँ सतह हुन् या अंकलको २ वर्षे छोरालाई बताइएको चन्द्रमाको सतह।

समय- पग्लिरहेको मैन चुस्न आएका पुतलीका आङमा चढेर झर्..र्झ आवाज पनि निकालिरहेको छ।

समय- चीलहरूसँग आकाशमा गुड बनाउन निस्कन्छ र, कटुयथार्थतासँग ठोकिएर पराजयको टुटुल्को सुमसुमाउँदै फर्की पनि रहेको छ।

कहिले लाग्छ, समय पुराना अखबार पढिरहेछ, नयाँ बिहानीमा। युगौंदेखि सत्य परिमार्जित भइरहेको र गराइरहिएको वास्तविकतासँग पटक-पटक जम्काभेट हुँदा खिस्स दाँत देखाएर आफ्नो सुकेको ओठ जिब्रोले भिजाएर अघि घस्रिरहेको यो समय कहिलेकाहीँ ऐनामा मेरो अनुहार बोकेर पनि टुप्लुकिन्छ।

त्यतिबेला लाग्छ, जीवनको आधारभूत आवश्यकता दारी काट्नु मात्रै होइन, गाला काटिनु पनि रहेछ।

त्यतिबेला लाग्छ, जीवनको सम्भाव्यताहरू पर्खालको उचाइ नाघ्नु मात्रै होइन, गहिराइ नाघ्नु पनि रहेछ।

त्यतिबेला लाग्छ, जीवनको सुन्दरताहरू त आफ्नै जिज्ञासाहरू रहेछन्, प्रश्नहरू रहेछन्, समीक्षा र मूल्यांकनहरू रहेछन्।

समय चिसो भएर पनि बाँचेको  छ। तातो रहिरहेर पनि बाँचेको छ। यत्ति हो, समय प्रयोजनहीन छैन। उसका आफ्नै काम-कुरा छन्, जुन ऊ लुखुरलुखुर गइरहेको छ। र, म ? म..

भूगोलका सतहका सुकिला, मायालु र दयालु चुम्बन, आलिंगन र कोखलाई मात्रै समय मानी हुर्कंदै आएको र कल्पदै आएको एउटा अनुहार चुपचाप सोचिरहेछु, समय विनाशका हुण्डरी, आगोका लप्का र अस्थिरता, आकस्मिकता र अनमियतता पनि समयको विप्लवी बिम्बहरू रहेछन्।

अब कुरा घडीको रह्यो- हामी दुई दाजुभाइ एक-अर्कालाई हेरिरहेका छौं। गन्थनमन्थन जारी छ। गुनासो र दुखेसो उसको नि छ, मेरो पनि। उसलाई पनि निद्रा लाग्दैन, मलाई पनि। कहिले ऊ रातभर कविता सुनाउँछ, कहिले म बिहानभर उसले सुनाएको कविताको ह्याङ बोकेर विष्णुमति किनार हुँदै शंखमुल पुगेर फर्किन्छु।

लामखुट्टे र गर्मी दुवैले टोकिरहेकै छन्। जूनकीरी र भ्यागुतो दुवैको आवाज कानसम्म ठोक्किरहेकै छ। मेघको गड्याङगुडुङ र कुकुरका भ्वाउँभ्वाउँ कानका भित्तामा बज्रिरहेकै छ।

यतिखेर रोगव्याधिजन्य डर र त्रास मनमा सवार गरिरहेको छ तर म मानसिक रूपमा आफूलाई फुर्तिलो राख्न कोसिसरत छु। नेटफ्लिक्सले ठीकठाक खुराकहरू दिएर मलाई भनिरहेको छ, अब डाकु-ड्रामा हेर, रोमान्स हेर, हिस्टोरिकल मुभीहरू हेर। यो क्राइम, थ्रिलर र हरर जेनरा धेरै भयो तर अहँ.. असजिलो परिस्थिति र मनस्थितिजन्य मुभी र सिरिजहरू नै हेरिरहेको छु।

कविताकोश भन्ने एउटा पोर्टल भेटेको छु। त्यहाँ लाखौँको संख्यामा विश्वभरका भाषामा अनुदित (प्राय: हिन्दीमा) कविताहरू छन्। ती कविताहरूको स्वाद फरक छ, लेखनशिल्प नयाँ छ, दृष्टिकोण र तीनले उठाएका सामाजिक मुद्दाहरू चाखलाग्दा छन्, चेतनाप्रदायक छन्। आफ्नै किताब ओडारबाट ‘सर्पदंश’, ‘सबै जातका फूलबारी’, ‘मैले देखेको नेपाल’, ‘ज्योति ज्योति महाज्योति’, ‘कट्टेल सरको चोटपटक’, ‘द गड अफ स्मल थिङ’ लगायतका किताबहरूसँगको संगत निको लाग्यो। कविता, निबन्ध र यात्रासंस्मणहरू पनि पढिरहेको रहेछु।

अर्कोतर्फ, मेरो गीत-संगीतसँग पनि सम्बन्ध ठीक चलिरहेको छ। यस बीचमा एउटा इअरफोन बिग्रियो। ‘पैसा बोलता है’, ‘Five Hundred Miles’, ‘एसी लागी लगन’, चाहिँ म बारबार बजाइरहेको हुँदोरहेछु। त्यसबाहेक नुसरत अली खान साहब, मेटालिका, नाइट (नेपाली ब्याण्ड)का गीतहरू सुनिरहेको छु।

अहिले, लक डाउन, क्वारेन्टाइन व्यवस्थापन, देश बाहिरका जनताको घर फिर्ती र सरकारका कामबीच तादाम्यता खोजिरहेको छु तर त्यसो भएको पाइरहेको छैन।

अहिले, आत्महत्याको खबर, सुत्केरी महिलाको उपचारमा अभावमा मृत्यु, दीर्घरोगीहरूको मृत्युको संख्या वृद्धि, घरेलु हिँसा, भोकले मर्नुपर्ने कठोर वास्तविकता, साना व्यापारीको आक्रोश, कृषि सामग्रीको अभाव र यससँग इन्टरकनेक्ट अनेकन समस्याहरू बढिरहेको पाउँदा थप पीडा हुन्छ।

तर यसको यथोचित सम्बोधन सरकारले गर्छ भनेर विश्वस्त छु। विश्वस्त नभएको क्षण मलाई थप पीडा हुन्छ, म यो जान्दछु। यस कारण कमजोर सरकारमाथि मेरो बलियो विश्वास छ।

सुस्मिता जिज्ञासु:

“कुनै साँझ नजिकैको कृष्ण मन्दिर पुग्छु र अबेरसम्म बसेर जीवनकथा सुनाउँछु”

सुस्मिता जिज्ञासु

पढाइको निहुँले घर छोडेर सहर हिँडेपछि दशैँ-तिहार र विवाह-व्रतबन्धमा मात्र गाउँमा फर्किने म यसपटक बन्दाबन्दी सुरु हुनुभन्दा दुई दिनअघि गाउँ फर्किएँ । सहरको व्यस्त दिनचर्यामा गाउँघरमा लकडाउनको उतिसारो प्रभाव छैन ।  वरपर डुलेर स्वच्छ हावा लिन पाइन्छ, वसन्तको पालुवासँग चराचुरुङ्गीको मधुर आवाज सुन्न पाइन्छ ।

वसन्त याममा गाउँमा बस्नुको मजै बेग्लै छ, जसको अवसर आजभोलि हुर्किएका युवाहरूलाई प्रायः मिल्दैन  । यसपटक मैले फेरि आफ्नै हातले टिपेर ऐँसेलु र काफल खाएँ। कानले कोइलीको स्वर सुने। भर्खर पलाउन थालेका काब्रोका मुना, कोइरालोका फूल र वनभरिका पालुवाहरूलाई आफ्नो मलीन मुहार देखाएँ। सायद केँवरे धाराले, सल्लेरी वनपाखाले, खेतबारीले मेरो अनुहार बिर्सिसकेका थिए होलान् !

वर्षौँ भएको थियो आरु र आँप नुनखुर्सानीसँग नखाएको, आमाले साँधेको गुन्द्रुकको त्यान्द्रा दाँतमा नअड्काएको, मकैबारीको कलिलो बोडी टिपेर नखाएको, बहिनीसँग चुङ्गी र गट्टा नखेलेको, भाइसँग झगडा नगरेको। अनि त्यति नै भएको थियो, आमाको मैलो फरिया नधोएको र बुबासितै बसेर भागवत् नसुनेको । बन्दाबन्दीले यो अवसर फेरि जुटाइदियो।

बाल्यकालमा हाम्फाल्ने गरेका कान्लाहरू देख्दा, स्कुल जाँदा अमला खाने गरेको जङ्गल देख्दा, घाँस काट्न जाँदा लुकामारी खेल्ने गरेको ठाउँ देख्दा, घरका अनार, केरा र नास्पातीका रूखहरू देख्दा बाल्यकाल चलचित्र बनेर अन्तर्मनमा नाचिरहन्छ।

गाउँको यति सफा र विशाल आकाश छोडेर आफ्ना महत्त्वाकाङ्क्षाहरूको पिँजराभित्र कैद हुन सहर किन पस्छौँ होला हामी ? सागर छोडेर कुवामा रत्न खोज्न निस्केका तमाम नेपालीहरूको भीडमा म पनि हराएकी रहेछु । यो जीवनबोधले कहिलेकाहीँ आफैँलाई धिक्कार्न मन लाग्छ ।

वैशाखमा छरेका मकैका पिपिराहरूले जिन्दगी सिकाउँछन्, लहलहाउन थालेका फर्सीका मुन्टाहरूले सपना सिकाउँछन्, चिचिला लाग्दै गरेको नास्पाती, फूल खेल्दै गरेको अनार, पसाउन लागेको केरा यी सबै भन्छन्- ए सुस्मिता ! तेरो मुख किन मलीन हँ ?

दिलको कुनाको अस्ताइसकेको घाम यिनीहरूलाई भेटेपछि पुनः उदाउँलाझैँ गर्दैछ । सहरमा कहाँ देख्न पाइन्छ र पाठाको स्वच्छन्द नाच अनि मधुर आवाज । पँधेराको ताजा पानी । आफ्नै घरको गाइभैँसीको शुद्ध दूध, दही र मोही । आमाले पकाएको मीठो खाना । बाबुआमासँग ठुस्किन, झर्किन र निहुँ खोजेर भोकै सुत्न ।

कुनै साँझ नजिकैको कृष्ण मन्दिर पुग्छु र अबेरसम्म बसेर जीवनकथा सुनाउँछु । कुनै बिहान फूलबारीमा पुग्छु र फुल्नै लागेका फूलहरू सुम्सुम्याउँछु। फेरि रुकुम सम्झन्छु। कुनै दिउँसो आमासँगै बसेर दुनाटपरी गाँस्छु र सङ्घर्षका कथा र आफ्नो बालापनका चकचकहरू सुनेर भावुक हुन्छु । कहिलेकसो माटोको बास्ना लिन खेतबारी पुग्छु र साँधको ढुङ्गा हाम्रैतिर ढल्किएको देखेर लिपुलेक र कालापानी सम्झन्छु। काले र गोरे भनेर झगडिरहेका कलिला नानीहरूलाई देखेर अमेरिका र अफ्रिका सम्झन्छु ।

यति धेरै बन्दाबन्दी होला भन्ने सोचिएन र किताब बोकिएन । बासित भएको श्रीमद्भागवत र कृष्णचिन्तन पढेँ। आफ्ना कृष्ण द्वारिका गइसकेको सम्झेर रोएँ। सामाजिक सञ्जालतिर ‘संस्कृतमयः नेपालः’ भन्ने समूहमा जान्छु र संस्कृत सिकेझैँ गर्छु । बासित संस्कृत श्लोकहरू सिक्छु र कण्ठ गर्छु । सञ्जालमा भेटिएका गीत, गजल र कविता पढ्छु र रमाउँछु तर आफ्नो हृदयमा भने यसबीच कुनै सृजना टुसाएको छैन।

तर दुःख लाग्छ, लकडाउन खुल्नासाथ फेरि पनि यी तमाम भोगाइलाई यादको पिञ्जरामा कैद गरेर जानु छ, त्यही सहर । फेरि कुँज्याउनु छ, पखेटाहरूलाई । फेरि फस्नु छ, महत्त्वाकांक्षाको दलदलमा । जिन्दगी छोडेर जिन्दगी खोज्ने दौडमा फेरि पनि एकपटक निस्किनु छ, लकडाउन खुल्नासाथ ।

मनोज बिश्वकर्मा:

“म जहाँ बस्छु, त्यहाँ आज पनि दलितको बिहेभोजमा गैरदलितले भान्सा नपकाए गाउँका वरिष्ठहरूको घाँटीबाट छिर्दैन”

मनोज बिश्वकर्मा

लकडाउनका शुरूवाती दिनमा यसमाथि भीषण हमलाहरू भए। दिन चरम अल्छीपूर्वक बितेकोमा चामलको दाना, गीतका शब्द, किताबका शब्द गन्नेको सङ्ख्या बढ्दो थियो । तर मलाई लकडाउनप्रति कुनै गुनासो थिएन । एक त म लास्टै अल्छी मान्छे हुँ । अर्को, यी दिनहरूमा गर्नुपर्ने कामको लम्बेतान लिस्ट मेरो अगाडि लम्पसार परेको थियो ।

अहिले पनि त्यही लिस्टकै सपिङ गर्दैमा दिन सखाप हुन्छ ।

जीवनमा भागदौड थिए। यसकै चपेटामा परेर सुन्दर भनिएका धेरै फिल्म फिल्मसमीक्षककै ‘सुन्दर’ शब्दमा कैद थिए । मैले तिनलाई कैद मुक्त गरिदिएँ । धेरै फिल्म यस्ता थिए, जसले मलाई म रून सक्छु भन्ने सम्झाए । धेरै फिल्महरू यस्ता थिए, जसले मस्तिष्कमा फिट गर्न चाहन्थे- दुनियाँलाई फरक ढङ्गले हेर्ने आँखा। धेरै फिल्म यस्ता थिए, जसले अझ नजिकबाट अनुभूत गराए- मानवीय सम्बन्ध, समाज र प्रेम । तपाईँ पनि यी मुभीचाहिँ हेर्नूहोस्- प्रकाश झाको ‘दामुल’, रोबर्ट बिनिग्नीको ‘लाइफ इज ब्युटिफुल’, एओन साङ्ग होको ‘ट्रेन टु बुसान’, Osama: A young Afgan girl hope to pass as boy to survive र Anjum Shahzad को Mah-e-mir ।

सिरिज मुभीहरूको खोजपड्ताल पनि गरियो । अरू त अरू, हालसालै २९ एपिसोडसम्मको पाकिस्तानी सिरियल ’कुर्बान’ पनि हेरेँ । सायद जीवनमै पूरै हेरेको यो पहिलो सिरियल हो । यसको एउटा क्लिप्स भेटेपछि पुरै हेर्ने हुटहुटीले तानेर युट्युबमा खोजेको थिएँ । फिल्म होला भन्ने शुरूवाती अनुमान थियो तर निस्किदियो सिरियल । हेर्ने मुड त गायब भइसकेको थियो । फेरि सम्झिएँ मेरो ‘फेबरेट मानिस’लाई सिरियल मन पर्ने कुरा । अनि हेरेँ । वर्गीय प्रेमको वरिपरि घुमेको छ, यो सिरियल ।

रूकुम हत्या प्रकरणपछिका दिनहरू निकै बिथोलिए । अन्तर्जातीय प्रेमसम्बन्धको कारण ६ जना युवाको हत्या हुन पुगेको घटना थियो त्यो । त्यो प्रकरणसँगै लेखक, कवि, बुद्धिजीवीको साँघुरो घेरा प्रस्ट हुँदै गयो । यिनको मुकुण्डो मात्र उत्रिएको थिएन, उनीहरू सम्पूर्णरूपले नाङ्गै घुम्दै थिए । यसको विरूद्धमा उभिनु थियो । उभिएँ । अनि उनीहरू मलाई ‘जातिवादी बन्यो’ भन्न थाले ।

म जहाँ बस्छु, त्यहाँ आज पनि दलितको बिहेभोजमा गैरदलितले भान्सा नपकाए गाउँका वरिष्ठहरूको घाँटीबाट छिर्दैन । म जुन स्कूलमा पढेँ, त्यहाँका साथीहरू घरको रूढिग्रस्त ज्ञानको संवाहक बनेर आएका हुन्थे । धेरै कहानी जस्ता लाग्ने घटना मैले झेलेर आएको छु । कुनै एनजिओ-आईएनजिओले भर्दिएको हैन जातीय विभेद मेरो मस्तिष्कमा । तपाईँको तथाकथित सभ्य समाजले दिएको हो । म सदैव यो विभेदको विपक्षमा हुन्छु । यसलाई जातिवादी भन्नुस् या मानवतावादी ।

यहाँ एउटा कुरा भन्नै पर्छ मैले, विश्वकर्मा भएकोले मेरो घरमै पनि दलितभित्रै हुने आन्तरिक विभेद थियो । केही बुझ्ने भएपछि महसुस गरेको थिएँ । अलि बु्झ्ने भएपछि चाहिँ यसविरुद्ध ‘घरेलु जनयुद्ध’ लडेँ । आमाबा’मा त्यो जातीय अहंको खोक्रो आत्मरति अहिले पनि होला ! तर त्यो ‘घरेलु जनयुद्ध’को उपलब्धि यो भयो कि मैले परियार केटी या सार्की केटी नै बिहे गरे पनि स्वीकार्नु हुन्छ । अबको पुस्ताले यस्तो ‘घरेलु जनयुद्ध’ लड्न जरूरी छ ।

प्रतिक्रिया
Loading...