नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पल्पसा क्याफे जसको स्वाद ढिलो गरि लिदा पनि मनमा बस्यो

“पल्पसा क्याफे” खै किन हो नाम सुन्ने बित्तिकै यो प्रेमकथामा आधारित उपन्यास होला भन्ने लागेथ्यो । पछि मदन पुरस्कार दिईयो, त्यतिबेलाको छापा सञ्चार माध्यमहरुमा पनि कुरुस्तै बिज्ञापनहरु देखिए । समिक्षाहरु छापिए । तर मेरो पुर्ब मान्यता “प्रेमकथा” भएकैले खासै रुचि लागेन । प्रेमकथामा आधारित कुनै पनि आख्यानात्मक सृजना (किताब, फिल्म) हरु खासै रुचिभित्र पर्दैनन् । त्यसैले मैले कुनै पनि समीक्षा कहिल्यै पढिनँ पनि ।

त्यो समय थियो जतिबेला सात राजनैतिक पार्टीहरु राजतन्त्र बिरुद्ध आन्दोलित थिए कान्तिपुरलाई आठौँ पार्टी/दल भनिन्थ्यो । त्यही कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्लेले लेखेको उपन्यास त्यसै पनि चर्चामा आईहाल्ने भयो, यस्तै सोँचेर नजरअन्दाज गरेँ सायद ।

प्रकाशित भएको डेढ दशकपछी पल्पसा क्याफेको कथालाई स्पर्श गर्न मन लाग्यो । किताब त मसँग थिएन । त्यसैले अनलाईन खोजी गरेँ । E-Book भेटेँ । तर पढिरहन समय नमिल्ने भएकोले काम गर्दै सुन्ने विकल्प छानेँ र अडियो भर्सन छनौट गरेँ । लगातार चार दिन सुनेँ समय मिलेको बखतमा र कथा सकियो । मैले समय मै नपढेकोमा निक्कै पछुतो लाग्यो । तर सोचेँ, सायद त्यतिबेला पढेको भए आज जस्तो कथाले मलाई नछुन नि सक्थ्यो कि? किनभने हामीले भोगेको वा बाँचेको समय, परिबेश र तिनले हामीमा उत्पन्न गराउने मनोदशाले हामीले पढ्ने वा परख गर्ने कृतिहरुको बिषयबस्तुमा फरक पार्ने गर्दछन् । त्यस कारण All is Well सोँचेँ ।

नारायण वाग्ले पुर्णकालिन पत्रकार भएर पनि पुर्णकालिन चित्रकारको आत्मपरक कथा भन्न सक्नु नै उपन्यासको पहिलो Strongness हो भन्ने लाग्छ । कथा हाम्रो पुस्ताले बिशेषगरी वि. सं. २०५५-६० को समयावधिमा बाँचेको समयको सजिव चित्रण हो । त्यो समयमा गाउँमा लछप्पै भेटिने लालसेनाहरु र तिनिहरुप्रतिको लहर, गाउँबासिहरुको मनस्थिती, कष्टकर दैनिकी एकातिर थियो भने अर्कातिर त्यो गतिबिधिले चुम्बकिय ध्रुबले चुम्बकिय बस्तुलाई आफुतिर ताने जस्तै खुम्चँदै गईरहेको राजनैतिक परिबेश र त्यसको माखेसाङ्लो । उपन्यासको केन्द्रिय कथा यहिँ सेरोफेरोमा दौडिएको छ । पढ्दै गर्दा निक्कै पर पटाक्षेप भईसकेका आफ्नै तत्कालिन भोगाईहरु “फ्ल्यास ब्याक” मा बैजनी रंगमा ओहोरदोहोर गरिरहे ।

मैले विशेष गरि “प्रेमकथा” को हाउगुजिले नपढेको यो उपन्यास यो पटक अलिकती चेत खुलेपछि पढेको हुँ । मदन पुरस्कार प्राप्त कृति भनेपछी यसमा पठनिय केही अवस्य हुनुपर्छ, यस्तै सम्झेर थालेको हुँ । नेपालमा बितरण गरिने विभिन्न पुरस्कारहरु बेलाबेलामा बिबादमा आईरहन्छन् नै त्यसो त । तर मदन पुरस्कार अलि कम बिबादित र नेपाली साहित्यकै दाजु पुरस्कार भएकोले पनि यो मनस्थिती बनेको हो । पुरस्कृत अन्य कृतिहरु समेत पढिसकेपछी अझ “कन्फिडेन्ट” थपिएर म यता तानिएको हुँ । कथाको रसास्वादन सकिदै गर्दा यस्ता कृतिहरु नेपाली साहित्यमा कमै लेखिएका होलान् भन्ने लाग्यो वा मैले भेट्न नसकेको पो हुँ कि!

काठमाडौबाट अपहरण शैलिमा सिद्धार्थले दृष्यलाई पश्चिम नेपालको पहाडी गाउँ पुर्‍याएपछी कथाको क्यानभासमा जनयुद्धको खास रङ् पोतिन थाल्छ । दस बर्षपछी आफ्नो जन्मथलो पुगेको दृष्य आफ्नो पुरानो दिनहरुमा हराउँदै देखिँदै गर्दा जनयुद्धको बाछिटाले छियाछिया बनाएको बस्तिहरु र त्यहाँका मानिसहरुको मनस्थितिको चित्रण गरिएको छ । निक्कै लामो समय दृष्यलाई लिएर जाने सिद्धार्थ पर्दामा देखिदैन तर एक्कासी एउटा छोटो दृष्यमा ऊ मारिन्छ तर कसरी? उसलाई मार्ने मानिसहरु को थिए? सरकारी सेना थिए वा आफ्नै पक्षका तर उसका बिपक्षी खेमाका? जनयुद्धका दौरान् त्यस्ता कैयन घट्नाहरु घटेका थिए पनि । आफ्नै सहकर्मिको हत्या गर्ने र शक्ति हत्याउने प्रचलन । बन्दुक अर्थात तागत । तागत आफ्नो साथमा भएपछी आफ्ना अगाडिका सबै चिजहरु पुड्का र बबुरा लाग्छन् सायद । तर सिद्धार्थ मारिनुको कारण कथाले खोल्दैन । सायद पाठकले अनुमान गर्नुपर्ने होला कि? त्यही ठाउँमा फेरि दृष्यलाई लिएर जाने केटिको अवस्था के भयो? कथा मौन छ । दृष्य उकालो चढ्दै गर्दा आफू जस्तै मान्छेसंग भएको जम्काभेट के थियो? के त्यो समयमा आतंकका कारण मान्छेहरुमा बनिरहेको मनस्थितिको प्रतिबिम्ब मात्रै थियो अर्थात मनले मात्रै देखेको दृष्य थियो वा दृष्यले साँच्चैको त्यस्तै दृष्य देख्यो?

संयोगबस् दृष्य काठमाडौ फर्कदै गर्दा भेटिएकी पल्पसा यी अघिका भेटहरुमा पनि संयोगबस नै भेटिएकी थिईन् । र संयोगवस नै उनी दुर्घट्नामा पनि परिन् । सायद मान्छेको जिन्दगीमा हरेक घट्नाहरु संयोग नै संयोगले बनेका हुन्छन् भन्ने सन्देश होला यो । पल्पसा र दृष्य दुबैमा प्रेम अंकुराए पनि एक अर्कामा ब्यक्त हुन नपाउँदै प्रेमको अन्त्य भयो । सायद यो पनि चरम युद्धका बेला प्रेमले भोग्नुपर्ने नियतिको प्रतिबिम्ब होला । दृष्य काठमाडौ फर्किएपछी उसले बनाएको “पल्पसा सिरिज” को पेन्टिङ् र उसको गाउँमा आर्ट ग्यालरी सहितको सुबिधा सम्पन्न होटल वनाउने सपना तत्कालिन समयमा बाँचिरहेका मानिसहरुको शाङ्ग्रीला जस्तै सपना थियो क्यार । जसरी त्यो सपना बुन्दा बुन्दै एकदिन दृष्य सबैबाट अदृष्य भयो, बेपत्ता बनाईयो । कैयौँ श्रष्टा र सर्जकहरु त्यसै गरि बेपत्ता भएथे जसरी दृष्य अचानक आफ्नो आर्ट ग्यालरिबाट बेपत्ता भयो ।

पतिबर्तनको महान सपना बोकेको सिद्धार्थ, युद्धबाट पुरै बेखवर ब्यक्तिगत स्वतन्त्रताका लागि हिँडेकी एक युवती, कला र सृजनामा रमाउने एउटा श्रष्टा यी तिनै पात्रहरु मारिए, बेपत्ता बनाईए । युद्धकालिन समयको यो क्रुर बास्तविकता अत्यन्तै दुखद हो । जुन जुन चरित्रहरु बाँच्नुपर्थ्यो ती सबैले मर्नुपर्‍यो । त्यसैले होला सायद आज हामीले बाँचेको समय सार्थक हुन सकिरहेको छैन । हामीले भोगिरहेको ब्यबस्था अल्मलिए झैँ देखिन्छ ।

प्रतिक्रिया
Loading...