नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘ज्ञान र विद्रोह’ नै युवाहरूको बाटो हो

कुनै पनि सामान्य चेत हुने न्यायप्रेमी नै तर्सिने गरी जसरी सामाजिक संजाल तात्यो, र कथित लेखक, अभियन्ता र बुद्धिजीवीहरू आफ्नो वर्चश्व जोगाउन कि गलत ब्याख्या कि मौनताको सहारा लिन थाले, त्यसले मलाई चुप लागेर बस्न दिएन ।

 

नवीन प्राचीन युवापुस्ताका लोकप्रियमध्येका एक कवि हुन् | उनी हाल क्यानाडा बस्छन्, तर देश\समाजमा विद्यमान विभिन्न कु(संस्कार), विभेद तथा राजनैतिक घटनाक्रमप्रति आलोचनात्मक भएर लेख्छन्\बोल्छन् | उनको कविता संग्रह ‘उभिएर एक्लै‘ प्रकाशित भएको करिब पाँच वर्ष पुगिसकेको छ |

प्रस्तुत छ, युवापुस्ताका लोकप्रिय कवि नवीन प्राचीनसँग जात व्यवस्था, नवपुस्ता र उनीहरू भूमिका, साहित्यलगायत विषयमा साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेको अन्तरंग संवादको सम्पादित अंश;

 

प्रवासमा बस्नुहुन्छ, देशको समसामयिक घटनाप्रति आलोचनात्मक देखिनुहुन्छ । देश भनेको के रहेछ ?

परिभाषाहरूको ठेली पल्टाउँदा त यसको सहज जवाफ भेटिएला ।

व्यक्तिगतरूपमा चाँहि तपाईँको अवचेतनसम्म कुनै ठाँउ, भाषा, समुदाय र संस्कृति लगायत…लगायत… अनेक सूक्ष्म र बृहद् कुराहरूको तपाईँमाथिको प्रभाव र त्यसप्रति तपाईँको लगाव नै मानसिक तहमा तपाईँको देश होला ।

यसको सबैभन्दा छोटो जवाफ सायद यही हुन सक्ला ।

 

पछिल्लो समय जाति व्यवस्थालाई लिएर सञ्जालमा अभियान नै चलाइरहनुभएको छ । रुकुममा घटित विभत्स नरसंहार पहिलो त थिएन, तर तपाईँलाई यसले बढी चिमोटेको हो ?

जात व्यवस्था र विभेदले जकडिएको समाजमा रुकुम र रुकुमजस्तै नरसंहार कुनै अनपेक्षित घटना होइनन् । हामीले विभेदलाई जसरी संस्थागत गरेका छौँ, समयसँगै यसका विष्फोट अझ भयानक हुन सक्छन् । इमान्दार भएर भन्नुपर्दा म बढी झस्किएको चाहिँ रुकुम घटनासँगै सुरुभएको यसको ब्याख्याबाट हो ।

समाज खुकुलो, समावेशी र उदार हुँदै गरेका भाष्य जबर्जस्ती स्थापित गराइँदै गएका बेला मेरो अपेक्षा थियो, चेतनशील भनिएका युवा र बुद्धिजीवी एकठाउँमा उभिएर आफ्ना कमजोरी स्विकार्नेछन्, हाम्रो संरचना र यसले आफूसमेतलाई पारेका कुप्रभावबारे आफ्ना सहजताबाट बाहिर आएर खुला छलफल गर्नेछन् । सदियौँको विभेदमा जान र अन्जानमा आफ्नो संलग्नताका निम्ति सम्बन्धित समुदायसँग माफ माग्नेछन् ।

तर, कुनै पनि सामान्य चेत हुने न्यायप्रेमी नै तर्सिने गरी जसरी सामाजिक संजाल तात्यो, र कथित लेखक, अभियन्ता र बुद्धिजीवीहरू आफ्नो वर्चश्व जोगाउन कि गलत ब्याख्या कि मौनताको सहारा लिन थाले, त्यसले मलाई चुप लागेर बस्न दिएन ।

यो घटनाले उदांगो पारेको छ, हाम्रो समानता र न्यायको लडाइँ अझै कति लामो छ ।

 

अहिले बाहुनवाद वा ब्राह्मणवादलाई लिएर पनि बहस उठिरहेको छ । गैरदलित र दलित भनी कित्ताकाट गरेरै सञ्जालमा चर्को बहस पनि चलिरहेकै पनि छ । बाहुनवादले कुनै एक समुदायलाई लक्षित गर्यो पनि भनिन्छ नि ! तपाईँलाई के लाग्छ ?

यो ब्राम्हणहरूले हिन्दु वर्ण र जात व्यवस्था अन्तर्गत इतिहासमा पाएको शिक्षा, ज्ञान प्राप्ति र ब्याख्यामाथिको झण्डै-झण्डै एकल स्वामित्वको अधिकार र त्यसका आधारमा राज्यमा पारिएका प्रभाव र संरचनागत हस्तक्षेपको विरासतमा सिर्जना भएको विशेषण हो । ब्राम्हणवाद अब कुनै समुदायमा मात्र सीमित छैन । यो शब्दले सबै ब्राम्हणहरूलाई अनि ब्राम्हणहरूलाई मात्रै पनि प्रतिनिधित्व गर्दैन ।

 

अहिले एकै समुदायभित्र हुनेगरेका विभेदको पनि चर्चा चुलिएको छ । विभेदकै कुरा गर्दा त ब्राह्मण र क्षेत्रीमा पनि छ । फरक समुदाय र एकै समुदायमा हुने विभेदबीच के तात्विक भिन्नता छ ?

विभेद ब्राम्हण क्षेत्रीमा मात्रै हैन, ब्राम्हण भित्रै र परिवार भित्रै पनि छ । व्रतबन्ध गरेको ब्राम्हण र व्रतबन्ध नगरेका ब्राम्हणकै सामाजिक हैसियत फरक छ नि । हाम्रो समाजको हरेक तहमा विभेदले आफ्नो खुट्टो पसारेको छ । यो विभेदको जरो कहाँ छ ? यसको ऐतिहासिकता के हो ? भन्ने खोजी नगरी, निष्कर्ष ननिकाली हामी बहसको चुरोमा पुग्न सक्दैनौँ होला ।

एकै समुदायभित्रै हुने विभेद ‘तुलनात्मक रूपमा नरम’ मानिएको होला । फरक समुदायमा त दलन, घृणा र हिंसाकै रूपमा नै देखिइरहेकै छ ।

युवालाई जोडौँ, हाम्रो नवपुस्ता जाति व्यवस्थाको आधारमा हुने विभेदका विरुद्धमा एक भएको हो ? सञ्जाल हेर्दा त त्यस्तो लाग्दैन । कारण के हुन सक्छ ?

तपाईँलाई जस्तै मलाई पनि त्यस्तो लाग्दैन ।

विभेद हुनुपर्छ भनेर खुलेर भन्ने हिम्मतचाहिँ केही कम भएको होला, तर विभिन्न (कु)तर्कको सहायता लिएर आफ्ना कुण्ठा र शासकीय अहं र वर्चश्वप्रेमचाहिँ छरपस्ट प्रकट गरेको देखिन्छ ।

यसो हुनुको पहिलो कारण त विषयप्रति प्रष्ट ज्ञान नहुनु नै होला ।

अहिलेको पुस्ता धेरै हदसम्म लाईक र कमेन्ट संख्याका आधारमा आफ्नो स्कृनसम्म आइपुग्ने कुरालाई नै ज्ञानको सम्पूर्ण स्रोत मान्छ । यसले सहि जानकारी र आलोचनात्मक चेत विस्तारमा खडा गरेको बाधा चिर्न नसक्नु अर्को समस्या होला ।

केहीबाहेक नयाँ पुस्ताको नियत नै खराब होला भन्नेचाहिँ मलाई लाग्दैन । तर हामीले धेरै कुरामा संरचनागत सुधार र हस्तक्षेप गर्न आवश्यक रहेछ भन्ने कुरा उनीहरूले गरेका बहसका प्रकृतिबाट थाहा पाउन सकिन्छ ।

 

परिवर्तनका लागि युवापुस्ताको भूमिका अहम हुन्छ । रुकुममा घटेको जस्तो विभत्स घटनाको पुनरावृत्ति हुन नदिन युवाले के गर्नुपर्छ ?

पहिलो कुरा त हाम्रो समाजमा यस्ता घटना ‘किन’ घटिरहेका छन् भनेर सोच्न सुरु गर्नुपर्छ । यसले हामीलाई विषयको गहिराइतिर लान सहयोग गर्छन् । अर्को कुरा, सम्पूर्ण जडता (आफ्नैसमेत) का विरुद्ध उभिने साहस गर्नुपर्छ । ज्ञान र विद्रोह नै युवाको बाटो हो । त्यसले मात्र समाजलाई अघि लैजान्छ ।

 

विभेदको पहिलो स्कूल भनेको परिवार हो । सञ्जाल विद्रोह गर्नेहरू परिवारमा विद्रोह गरिरहेका छन् ? सञ्जालमा स्टाटस लेखेकै भरमा परिर्वनत सम्भव छ ?

सञ्जालमा लेखेकै भरमा परिवर्तन सम्भव छैन । तर लेख्नु वा व्यक्त हुनु एउटा खुट्किलोचाहिँ अवश्य हो । त्यो तपाईँको विचारको दिशा कतापट्टि छ भन्ने कुराको संकेत हो । त्यसले तपाईँको आदर्शपट्टिको पाइलालाई सहयोग गर्छ ।

कुनै पनि कुरा व्यवहारमा लागू हुनुपूर्व तपाईँ सैद्धान्तिक रूपमा स्पष्ट हुनुको महत्त्व अत्यन्तै धेरै हुन्छ । तपाईँ जहाँ हुनुहुन्छ र सक्नुहुन्छ त्यहाँबाट सुरु गर्नुहोस्, भलै त्यो सामाजिक संजाल नै किन नहोस् । त्यसले तपाईँलाई बिस्तारै परिवारलगायत अन्य ठाउँसम्म विद्रोहको लागि तयार हुन कुनै न कुनै रूपमा सहयोग गर्छ ।

 

साहित्यको कुरा गरौँ, तपाईँको कविता संग्रह उभिएर एक्लै आएको पनि करिब पाँच वर्ष पुग्यो । कविता नै पनि छिट्फुटबाहेक पढ्न पाइनन् । लेख्न कम्ति गर्नुभएको कि पुस्तकको तयारीमा लाग्नुभएको हो ?

म उसै पनि कम नै लेख्छु । अल्छि छु । धेरैले मैले लेख्ने नै कुरा लेखिरहनुभएको छ, र भनिरहनुभएको छ भने मैले त्यसैको मजा लिएर स्विकार्दा भैगयो भन्ने लाग्छ । भर्खरै यसो नोटबुकमा हेर्दा केही कविताहरू जम्मा भए जस्तो लागेको छ । विस्तारै तिनमा केही काम गर्ने सोच्दैछु | तर मेरो गति शंखेकिरासँग मिल्छ ।

 

देशमा आएका ठूला परिवर्तनका एक हिस्सा साहित्य, त्यसमा पनि कवि र कविताहरू पनि थिए । अबको समाजले परिवर्तनका लागि कस्तो साहित्य मागेको छ ? तपाईँलाई लाग्छ, कविताले मात्र परिर्वतन सम्भव छ ?

समयले मागेको बारेचाहिँ मलाई अलि कम नै थाहा हुन्छ । समयलाई तपाईँ के दिन चाहनुहुन्छ, त्यो दिनुस् भन्ने हो ।

तपाईँ समाजको कुन क्षेत्रमा र कुन तहमा हस्तक्षेप गर्न चाहनुहुन्छ भन्ने कुरामा तपाईँको प्रश्नको जवाफ फरक पर्ला । बृहत् समाजलाई सिधा हस्तक्षेप र सम्बोधन गर्ने कुरामा राजनैतिक र सामाजिक मुद्दा महत्वपूर्ण होलान् । बिस्तारै अथवा परोक्ष ढंगले समाजलाई हस्तक्षेप गर्ने सवालमा समाजको शुक्ष्म इकाई व्यक्तिलाई एक्लै अथवा व्यक्तिगत तहमा सम्बोधन गर्ने उपाय प्रभावकारी होला ।

तपाईँको पहिलो वाक्यमै दोश्रो प्रश्नको जवाफ छ, सायद । कविताले मात्र अथवा कुनै पनि ‘मात्र’ ले बृहत् परिवर्तन सायद सम्भव छैन ।

 

आफैँ पनि युवा हुनुहुन्छ । नवपुस्तासँगको संगत पनि राम्रै देखिन्छ । अहिलेका साहित्यका नवपुस्तालाई कसरी हेरिरहनुभएको छ ? विश्व साहित्यमा हस्तक्षेप राख्न सक्छन् ?

सामाजिक संजालको ‘वाह’ संस्काररलाई कमेन्टको बजारे अतिरंजना र स्वार्थी अग्रजहरूको अति प्रशंसा, आलोचना र मौनतालाई सामान्य कुरा मानेर निजत्वको विकास र साधनामा ध्यानदिने हो भने समय अब हामी जस्तै विषयका विविधता र गहनता भएका मुलुकका युवाको हो ।

प्रतिक्रिया
Loading...