नेपाली साहित्यको सम्पूर्ण पत्रिका

जन–आन्दोलनको भार काँधमा बोकिहिँडेको एक कविता

उनको बिसे नगर्चीको बयान शीर्षकमा नै उनको कविता सङ्ग्रह प्रकाशित छ । र पछिल्लो समयमा अत्याधिक बिक्री हुने मध्ये उनको यस सङ्ग्रह पनि पर्दछ । कवि भन्छन्–“मैले यस कविता लेखेपछि यस कवितालाई कतिपटक वाचन गरेँ, मलाई थाहा छैन ।”,

आन्दोलनमा कविता प्रयोग हुनु स्वाभाविक नै हो । इतिहासको पाना पल्टाउने हो भने कविताले नै आन्दोलनको प्रतिनिधित्व गरेको पाइन्छ । कविता कसैको लागि अस्त्र बन्न सक्छ, कविता कसैको लागि उत्प्रेरणा बन्न सक्छ । समाजमा कवितालाई हेर्ने दृष्टि फरक रहे पनि वास्तवमा कविता समाजको ऐना नै हो । जब कसैले अग्रसर भएर आफ्नो कुरा राख्न सक्दैन, त्यहाँ कविताको सहयोग लिइन्छ । सरकारलाई प्रश्न गर्न होस् वा सत्ता नै च्यूत गराउन किन नहोस्, त्यहाँ कविताको भूमिका निकै गहिरो रहेको पाइन्छ । कविताले कुनै युग, कुनै सत्ता, कुनै समय, कुनै आन्दोलन वा कुनै परिवर्तनको प्रतिनिधित्व गर्दछ ।

कवि श्रवण मुकारुङ कविता बिसे नगर्चीको बयान वाचन गर्दै

श्रवण मुकारुङको बिसे नगर्चीको बयान नामक कविताले वि.सं २०६२ सालबाट नेपाली कविता जगतमा राम्रो हस्तक्षेप राख्दै आएको छ । यही स्थान किन र केका लागि पाएको थियो ? भन्ने प्रश्न पनि मुख्य रहन्छ ।

सान्दर्भिक पोस्ट

आन्दोलनताका लेखिएका कयौँ कविता पाठकको मस्तिष्कमा मृत भइसेकेका छन्, तर आन्दोलनताका नै लेखिएको यस कविता भने किन मान्छेको मस्तिष्कमा जीवित छ ? हामी बिसे नगर्चीको बयानमा के छ भन्ने कुराको खोज गर्नेछौँ ।

यस कविता नै ६२ र ६३ आन्दोलनको प्रतिनिधि कविता बनेर किन उभियो ? प्रस्तुत छ कविता बिसे नगर्चीको बयान –

 

बिसे नगर्चीको बयान

मालिक !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?

मालिक !
म बौलाएँ ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ ।
नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै यो बिसे उफ्रिनुपर्ने ? थुइक्क बिसे ।
म बौलाएँ मालिक !
म बौलाएँ ।
मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्दिनँ
नर्सिङ्गा फुक्न र सनाई बजाउन
अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्दिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्दिनँ
मालिक ! म बौलाएँ ।

मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्ला अग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए ?
हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरूप भए ?
यो दरौँदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहर जस्तो देख्छु ?
म बौलाएँ मालिक ! म बौलाएँ ।

मालिक !
हजुरको तरबारले टाउको काट्छ कि फूल ?
भ्रममा परेँ म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?
भ्रममा परेँ म
यस राज्यलाई प्रजाले बनायो कि राजाले ?
भ्रममा परेँ म
अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु मालिक !
म कसरी आतङ्ककारी हुनसक्छु ?
म केवल बौलाएँ मालिक !
बौलाएँ ।
हो, मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनेँ हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरेँ हुँला

मालिक !
मान्छे बौलाएपछि आफैँसित पनि निहुँ खोज्दोरहेछ
अढाई सय वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरू कहाँकहाँ पुगे?
मैले खोज्न चाहेँ हुँला
मेरा औँलामा खोपिएका छ्यान्द्रा र बगेका रगतहरूले मलाई उक्सायो
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानेँ हुँला

मालिक !
यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुन सक्छु ?
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ ।

वि.सं २०६२ र ६३ को जन–आन्दोनलाई नजिकैबाट हेर्नेहरूलाई यो कविता पक्कै पनि मस्तिष्कमा याद बनेर रहेको हुनुपर्दछ । यो कविता वि.सं २०६२ सालमा सुरुको आन्दोलनलाई भरछेक गर्नको लागि लेखिएको थियो ।

आन्दोलनको समयमा स्वतन्त्र रेडियोमाथि दमन भइरहेको बेला “स्वतन्त्र रेडियो बचाऊ अभियान” कार्यक्रममा कविहरूलाई कविता लेख्न अनुरोध गरियो । त्यही अनुरोध कवि श्रवण मुकारुङलाई पनि पुगेको थियो । कविले अनुरोधलाई स्वीकार्दै बिसे नगर्चीको बयान शीर्षकमा कविता लेखे र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उनले पहिलोपटक बिसे नगर्चीको बयान कविता सुनाएका थिए । कवि भन्छन्– “मैले बिसे नगर्चीको बयान कविता जन–आन्दोलनको संघारमा नै लेखेको थिएँ ।”

श्रवण मुकारुङ

कविहरूलाई एकाबद्ध हुनको लागि आह्वान नगरिएको भए सायदै यस कविताको जन्म हुन्थ्यो या हुँदैन थियो, कवि यसै भन्न सक्दैनन् ।
उनको बिसे नगर्चीको बयान शीर्षकमा नै उनको कविता सङ्ग्रह प्रकाशित छ । र पछिल्लो समयमा अत्याधिक बिक्री हुने मध्ये उनको यस सङ्ग्रह पनि पर्दछ । कवि भन्छन्–“मैले यस कविता लेखेपछि यस कवितालाई कतिपटक वाचन गरेँ, मलाई थाहा छैन ।”, उनले यस कविता सयौँपटक सुनाएका छन् । जसको लेखाजोखा छैन ।

आन्दोलनको समय यस कविता नेपालका सबै पत्रिकामा प्रकाशित भएको थियो । आन्दोलनमा उनको यस कविता पम्पप्लेटको रूपमा पनि प्रयोग भएको थियो । टि–र्सटमा यस कवितालाई प्रिन्ट गरेर प्रयोग भएको पनि कविलाई सम्झना छ ।

बिसे नगर्चीको बयान कविता बोकेर कवि देश विदेश कविता सुनाउन पुगेका छन् । नेपालकै धेरै जिल्लामा उनको एकल कविता वाचन कार्यक्रम आयोजना भएको छ । अहिले जसरी टिकट काटेर कविता सुनाउने चलन बढिरहेको छ, त्यसको बीजारोपण भने कवि श्रवण मुकारुङले नै गरेका थिए ।

यस कविताले लोकतन्त्र माग्ने जनतालाई आन्दोलनको समयमा एक भाषा दिएको थियो । मान्छेहरूले यसै कविताको भाषामा उभिएर आफ्नो आवाज प्रस्तुत गरेका थिए ।

प्रस्तुत कविताको बारे मदन पुरस्कार विजेता दिनेश अधिकारी भन्छन्–“यस कविताले दुई कुरा बोल्दछ । पहिलो कुरा के हो भने, यस कविताले आदिवासीको आवाज दिएको छ । एकताको धागो यस कविताले बोलेको छ भने अर्को कुरा समाज परिर्वतनको सन्देश दिएको छ ।”
बिसे नगर्चीको बयानका कविको नयाँ कृति बजारमा आउने तयारीमा छ । उनको आगामी कृतिको लागि हार्दिक शुभकामना ।

Loading...