नेपाली साहित्यको सम्पूर्ण पत्रिका

कथा जीवन हो—जन्मोत्सव विशेष

माया ठकुरी, वरिष्ठ कथाकार

कथाको सुरुवात हिन्दीबाट भएको हो । सायद नाम ‘इक पागल’ थियो क्यारे ! त्यो स्थानीय प्रकाशक कहाँ पठाएँ । त्यसमा आफ्नो ठेगाना पनि दिएको थिएँ । पठाएको धेरै दिनपछि मलाई चिठ्ठी आयो । उनीहरूले कथा पनि फर्काइदिएका थिए । उनीहरूले पत्रमा के भनेका थिए भने, कथाको विषयवस्तु राम्रो छ । तपाईँले प्रयास पनि राम्रो गर्नुभएको छ । तर हाम्रो विचारमा तपाईँले यो आफ्नो भाषा नेपालीमा लेख्नुभएको खण्डमा झन् राम्रो हुन्थ्यो ।

माया ठकुरीको आज जन्मदिन । सन् १९४६ जुलाई २ मा भारतको लखनउमा जन्मिनुभएकी माया ठकुरी नेपाली साहित्यको उँचो नाम हो । उहाँका ७ वटा कथा संग्रह प्रकाशित छन् ।

प्रस्तुत छ, नेपाली साहित्यका लागि विशिष्ठ कथाहरु दिनुभएकी ठकुरीसँग भगवती बस्नेतले जन्मदिनको अवसर पारेर गर्नुभएको कुराकानी ।

आज भोलि केमा व्यस्त हुनुहुन्छ ?

सधैंको लेखक पढ नै हो । घरेलु कामहरु पनि छन् । त्यसै त हो नि । जसरी अरुको चलेको छ, मेरो पनि त्यस्तै हो ।

आफ्नो जन्म ठाउँ र बाल्यकालका कुरा के के सम्झिनु हुन्छ ?

म भारतको लखनऊमा जन्मिएँ, आर्मी अस्पतालमा । जन्मिएको ठाउँ मैले देखेको छैन, सुनेको मात्रै हो । खासमा मेरो बुवा भारतीय सेनामा हुनुहुन्थ्यो । आर्मीमा भएकाले उहाँको जहाँ जहाँ सरुवा हुन्थ्यो, हामी पछिपछि लाग्दथ्यौँ । पछि गएर मेरो बाल्यकालचाहिँं भारतको मेघालय अन्तरगतको शिलोङमा हुर्केबढेको हो ।

तपाईँको कर्मथलोको बारेमा केही बताइदिनुस् न ।

विवाहपछि नेपाल आएँ । नेपालमा धेरै ठाउँका स्कूलमहरूमा काम गरें । गण्डकी बोर्डिङ स्कूल (पोखरा), त्रिभुवन हाई स्कूल (त्रिशुली), अनि जनता माध्यमिक विद्यालय पाल्पा । यसरी धेरै वर्ष टिचिङ पेशा अपनाएर बसें । र, यसका साथसाथै मैले आफ्नो लेखनलाई पनि निरन्तरता दिइरहें ।

तपाईंँले कथा विधामा गहकिलो काम गर्नुभएको छ । पाठकहरूले यहाँको कथा साहित्यलाई यसरी सम्झिदिँदा यहाँलाई कस्तो लाग्छ ?

कथाको सुरुवात हिन्दीबाट भएको हो । सायद नाम ‘इक पागल’ थियो क्यारे ! त्यो स्थानीय प्रकाशक कहाँ पठाएँ । त्यसमा आफ्नो ठेगाना पनि दिएको थिएँ । पठाएको धेरै दिनपछि मलाई चिठ्ठी आयो । उनीहरूले कथा पनि फर्काइदिएका थिए । उनीहरूले पत्रमा के भनेका थिए भने, कथाको विषयवस्तु राम्रो छ । तपाईँले प्रयास पनि राम्रो गर्नुभएको छ । तर हाम्रो विचारमा तपाईँले यो आफ्नो भाषा नेपालीमा लेख्नुभएको खण्डमा झन् राम्रो हुन्थ्यो ।

नेपाली मातृभाषा भएकी युवतीले हिन्दीमा गरेको प्रयास थियो सायद । यो कुरा उनीहरुले बुझे । सायद मेरो हिन्दी भाषा राम्रो थिएन, त्यसैले उनीहरूले सीधै नराम्रो नभनिकन घुमाएर नेपालीमा लेख्न सिफारिस गरे । त्यसबाट मलाई नेपालीमा लेख्ने हौसला मिल्यो जस्तो लाग्छ ।

म राम्रो लेख्छु । लेखेको कुरा बाहिर ल्याउनुपर्छ भन्ने कुरा कुन उमेरमा थाहा भयो ?

हाम्रो बेलामा रचनाहरू पत्रपत्रिकामा आउनु निकै ठूलो कुरा हुन्थ्यो । त्यो बेला बौलाही कविता सुरुमा छापेकी हुँ । निकै पछिसम्म त्यो कविता मैले लेखेको भनेर कसैले पनि पत्याउँदैनथे । कविता लेख्ने भएका कारण मलाई बिग्रेकी केटी भन्थे ।

निकैपछि मलाई समीक्षक लीला लुइँटेलले भन्नुभयो, ‘दिदी तपाईँको पहिलो बौलाही कविता पढेको थिएँ । त्यो कहाँ छ ?’, त्योबेला मलाई निकै खुसी लाग्यो । यत्रो वर्षपछि पनि मैले लेखेको कािता कसैले सम्झिएको रहेछ । त्यसपछि त्यो कविता खोजेँ, कहाँ पाउनु र ? तर त्यसको चार लाइन अहिले पनि थाहा छ ।

बौलाही बौलाही भन्छौ दुनियाँ,
बौलाही भई त्यो किन कसरी
बौलाही ऊ साँच्चै थिई त
तिरस्कार तिम्रो किन सही
रोई होली केहीक्षण त्यो
हृदयको पीर खप्न नसकी
हाँसी होली केहीक्षण त्यो
तिम्रो बालपनदेखि
अनि भन त किन कसरी
कहलाही त्यो बौलाही

तपाईंको साहित्यकाररितामा कथा मात्र लेख्नुभयो । यसको केही कारण छ कि ?

डि.आर. सुब्बा मेरो बुबा सँगसँगै पल्टनमा हुनुहुन्थ्यो । छोरी जस्तै माया गर्नु हुन्थ्यो । मैले लेखेको देखेपछि म छापिदिन्छु भनेर प्रोत्साहन दिनुहुन्थ्यो । त्यो कविता उहाँले नै छापिदिनु भएको हो ।

गोर्खा पल्टनमा त्योबेला नेपाली संगीत कला समिति थियो । त्यहाँ सदस्यता दिएर नृत्य, गायन र साहित्य सिकाइन्थ्यो । उहाँले माया ठकुरीलाई पनि सदस्य बनाउनु पर्छ भन्नु भयो । त्यहाँका केही महिलाहरुले आपत्ति जनाए । बिग्रेकी केटीलाई सदस्यता दिने हो भने हामी राजीनामा दिन्छौं, भनेर विरोध भयो । तर डि.आर. सर र गोविन्दनारायण प्रधानले, माया ठकुरीमा क्षमता छ उनलाई ल्याउनु, भनेर भनेपछि म त्यो नेपाली संगीत कला समिति भर्ना भएँ । त्यही बेलादेखि नै लेखाइको क्रम बढ्यो ।

समय आजजस्तो थिएन । महिलाहरुले ठूलो स्वरले बोल्न हुँदैनथ्यो, साँझ भएपछि घरबाहिर निस्कन पाइँदैनथ्यो । त्यस्तो बेलामा मैले जे देखें महिलाहरूमाथि र मेरो आफ्नै परिवारमा मेरा मुमा र हामीमाथि जुन प्रकारको व्यवहार भएको थियो, ती सबै कुराले मलाई लेख्न प्रेरित गरेकोले मैले जानी नजानी शब्दहरू जोड्दैजोड्दै कथा लेख्न थालेको हो ।

तपाईं गायिका पनि हुनुहुन्छ । तपाईंको सबैभन्दा मन पर्ने गीतचाहिं कुन हो ?

त्यतिबेला महिलाहरूले गीतको माध्यमबाट आफ्नो दुःख व्यक्त गर्थे । त्यही देखेर मैले पनि गाउँन थालेकी हुँ । स्वर राम्रो छैन, तैपनि थोरै गाउँछु । चेलीले माइत फर्किन पाउँथिनन् त्यतिबेला । कैयौं वर्षसम्म उनको माइतीसित भेट हुने थिएन । त्यो युगमा जब आँगनको डिलमा काग आएर काँ, काँ…गथ्र्यो, त्यतिबेला चेलीले मनको भावना यसरी पोख्थीः

आँगनको डिल बसी काली कौवा काँ काँ२,
के केमा समाचार ल्यायो बरिलै२,

त्यो कागले त बोल्दैन अब त्यो चेली आफैँ मनमन गुन्छे र भन्छिन्ः
एकमा समाचार कागजुको चिर्कटो२,
दोसरी समाचार तिमीलाई लिन हो२

कागले यसो भन्यो भनेर चेलीले सोंच्छिन् ।महिलाहरूले जहिल्यै पनि माइतिलाई घुक्र्याउँछन् नि । त्यसैले त्यो चेलीले फेरि भन्छिन्ः
मेरो माया हुँदो हो त बाबा लिन आउँदा हुन्२,
कागजुको चिर्कटोले जान्न बरिलै२,

यसो भन्दै भन्दै चेलीले दाइ, भाइ, मामा आएको भन्ने कल्पना गर्छिन् । वास्तवमा कोही पनि आएको हुँदैन । यसरी चेलीले माइतबाट बाबा, आमा, दाइभाइ तीजमा आफूलाई लिन आए हुन्थ्यो भन्ने चाहना राख्छिन् । अहिले तपाईँहरूले नारीमुक्तिको कुरा गर्नुहुन्छ । उतिबेलाका नारीहरू पिल्सिएका भए पनि, दबिएका भए पनि ती नारीहरूले पनि कताकता आफ्नो सिर्जनामार्फत् आफ्नो मुक्तिको आवाज उठाउँदा रहेछन् भन्ने अहिले आएर मलाई बोध हुन्छ ।

कथा तपाईँको लागि के हो ?

कथा हामी सबैको जीवन हो । कथाले जीवन बोलेको हुन्छ । यो काल्पनिकभन्दा पनि वास्तविक जीवनमा आधारित अक्षर अक्षर जोडेर व्यक्त गर्छौँ, ती सबै वास्तविक जीवनमा आधारित भएका कुरा हुन् । जसलाई हामी साहित्यकारहरु कथाको रुप दिन्छौं ।

मैले भन्दैआएको छु, जे जति कथा लेखेको छु ती सबै कथाहरूमा कतै न कतै म उपस्थित भएको हुन्छु । चाहे त्यो त्यसको चारित्रिक भूमिकामा होस्, चाहे संवादमा होस्, चाहे त्यसको भावनात्मक पक्षमा होस् । कतै न कतै म त्यहाँ उपस्थित भएको हुन्छु ।

मेरा कथा हजारौं विद्यार्थीहरूले कोर्समा पढेका छन् । कोही त बूढा पनि भइसके । कतिपयले हामीले पढेका थियौं, हामीले पढाएका थियौं भनेर भन्छन् । अहिले पनि उनीहरूको मप्रतिको मायामा कहिल्यै पनि कमी आएको छैन । एकपटक प्रोफेसर डा. नेत्र एटमले एकपटक मलाई भन्नु भयो, ‘दिजू हजुरलाई मेरा विद्यार्थीहरूले मृगतृष्णाका बारेमा कुरा गर्न भेट्ने भनेका छन्‘, भन्नु भयो । अनि वहाँले विद्यार्थीहरूलाई लिएर आउनुभयो, एकेडेमीमा । अनि एकेडेमीको चउरमा बसेर ती विद्यार्थीहरूले मलाई सोध्न थाले । मलाई विद्यार्थीहरूले कथाकारिताको बारेमा नसोधिकन कथाका ती पात्रका नाम लिंदै ती कहाँ कहाँ छन् भनेर सोध्न थाले । अनि मलाई लाग्यो, यो कथाको पात्र त अहिले पनि विद्यार्थीहरूले खोजिराखेका पो रहेछन् । र, गर्दागर्दा अरुले पनि कथाका पात्रहरूलाई खोज्न थाले । अहिले पनि कतिले भन्छन्, त्यो सानो बुबा खै ? त्यो तुषार मल्लिका खै ? अनि हिजोअस्ति पनि को को बहिनीहरूले, मेरो त आँखाबाट आँशु आयो त्यो पढेर, भनेर लेख्नुभएको थियो । गुरु दक्षिणा पढेर आँशु आएको रहेछ । यस्तै अरू थुप्रै कथाहरू पढेर विद्यार्थीहरूले मलाई यसै भन्ने गर्छन् । र, यस्तो सुन्दा मलाई एकदमै खुशी लाग्छ । केही न केही भए पनि मैले मानिसहरूको मनलाई छुन सकेको रहेछु भन्ने लाग्छ ।

तपाईंका कथाहरू बंगाली, तामील, जापानी, अंग्रेजीमा अनुदित छन् । नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्नका लागि कस्तो सल्लाह दिनु हुन्छ ?

मेरा कथाहरू विभिन्न भाषामा छन् । अंग्रेजीमा मेरो कथासंग्रह अर्चना थापाको अक्षर क्रियसन छ । त्यहाँबाट अबलेसड गड भन्ने ईश्वरले पनि सिमान्तकृतलाई याद गर्दैनन् भने जस्तै भयो नि । त्यो किताब अर्चना थापाले पहिलोचोटि प्रकाशित गर्नुभएको हो । त्यसपछि अहिले सांग्रिलाले त्यो किताबको दोस्रो संस्करण निकाल्दैछ । र, मेरा कथाहरू धेरै अनुदित भएर अरुअरु ठाउँहरूमा गएका छन् र पढाइ भएका छन् ।

कथा विधामा आउन चाहने नवप्रतिभाहरूलाई कस्ते सन्देश दिन चाहनु हुन्छ ?

म के भन्छु, भने हतार नगर्ने के । के गर्ने भने पहिले आफ्नै देशको कुन विधामा जान चाहनु हुन्छ, तपाईँलाई त्यसको विधागत अध्ययन गर्नै पर्छ । पहिले त आफ्नै देशको गर्नु पर्याे नि ! आफ्नो देशको अध्ययन नगरेर अरे अरेको भरमा हिंड्नु हुँदैन । आफ्नो देशको राम्ररी अध्ययन नगर्ने उपरको बेलायतको र पेरिसको अध्ययन गरेर त भएन । हामीलाई फलाना फलानाको पढें भन्नमा गर्व गर्छौं के । त्यो पढेको पनि राम्रो हो, पढ्नु पनि पर्छ । तर पहिला त आफ्नै देशको पढ्नुप¥यो । नवलेखकहरूलाई पनि म यहीँ भन्छु । एक दुईवटा पुस्तक लेख्नेबित्तिकै उसको भन्दा मेरो राम्रो छ, म किनै जान्छु भन्ने भ्रम पाल्नु भएन ।

Loading...