नेपाली साहित्यको सम्पूर्ण पत्रिका

जन्मोत्सव विशेषः तुलसी दिवससँग अन्तरंग

अाज तुलसी दिवसकाे जन्मदिन । यसै सन्दर्भमा हामीले कवि एवं संस्कृतिविद् दिवससँग ताजा कुराकानी गरेका छाैँ ।

  आजकल के गर्दै हुनुहुन्छ ?

 अहिले त तपाईँलाई इन्टरभ्यू दिइरहेको छु । योचाहिँ ठट्टा गरेको ।

खासमा अहिले मेरा पहिले लेखिएका कविताहरूको नयाँ एउटा कवितासंग्रह निकाल्ने तयारीमा छु । त्यसबाहेक विभिन्न क्षेत्रमा साहित्य, संस्कृति, लोकवार्ताको क्षेत्रमा अंग्रेजी र नेपालीमा लेखिएका विविध लेखहरूको संकलन गरेर नेपालीमा र अंग्रेजीमा छुट्टाछुट्टै दुइटा अर्को पुस्तकको तयारीमा छु ।

मेरा कविताहरूको अंग्रेजी अनुवादको प्रकाशन पनि गर्ने तयारीमा छु । अनि  मेरा पुराना प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित भएका नेपाली लोककथाको अध्ययन, धिमाल लोकसंस्कृति, धिमाल लोकधर्म र लोकसंस्कृति आदि जति पनि पुस्तकहरू छन्, तिनीहरू अनि मेरो नेपाली तुलसी दिवशको कविताको नयाँ संस्करण पनि निकाल्ने तयारीमा छु ।

यी आउँदो दुई वर्षभित्र पूरा हुनेछन ।

अन्तरवार्ताकार भगवती बस्नेत

 कृति प्रकाशनबाहेक अरू कुरा नि ?

हामीले अहिले लोकवार्ता र लोकसंस्कृति समाजबाट हरेक वर्ष राष्ट्रिय र अर्को वर्षमा अन्तरराष्ट्रिय नेपाली लोकवार्ता र संस्कृति कङ्ग्रेस गर्छौँ । यो वर्ष, आउँदो वर्ष हामीले नेपाललाई सिर्जनशील क्षेत्रबाट चिनाउनु आवश्यक भएको छ र कवितालाई कनेक्टिभिटी मान्छेलाई र मान्छेसित सम्बन्ध स्थापना गर्नमा सदुपयोग गर्नुपर्छ भन्ने मुलभूत उद्देश्यले र नेपाललाई कविताको माध्यमबाट संसारलाई चिनाउने दृष्टिकोणले हामी  विश्वभरि एउटा वर्ड पोएट समिट गर्ने पक्षमा छौं ।

 यहाँले कविता लेख्नुभएको मात्र छैन, कवितामा विशिष्टता नै हाँसिल गर्नुभएको छ । यहाँले लेख्ने कविता, वाचन गर्ने शैली सबैले रुचाएका छन् । वास्तवमा कविता के रहेछ नि ?

 कविता के रहेछ भन्ने जवाफ दिन सजिलो पनि छ । अप्ठेरो पनि छ । कवितालाई कविताकै रूपमा लिन प¥यो । अनि सजिलो हुन्छ । हो चाहिँ के भने मान्छेले मान्छे मान्छे हुनुको कारण मैले चाहिँ दुइटा विशेषतालाई ध्यानमा राखेको छु । त्यो के हो भन्दा एउटा मान्छेले आफूलाई अभिव्यक्त गर्न चाहन्छ । अर्को, मान्छेले आफ्नै संस्कृति विकसित गर्छ ।

संस्कृति र अभिव्यक्ति, अभिव्यक्तिचाहिँ भाषिक अभिव्यक्ति, साहित्यचाहिँ भाषासँग सम्बन्धित छ । त्यस्तै रेखा, रंगचाहिँ चित्रकलासँग सम्बन्धित छ । ध्वनि सङ्गीतसित सम्बन्धित छ, अथवा सिर्जनाहरूका माध्यमहरू फरक फरक छन् । र, साहित्यको सिर्जनाचाहिँ प्रत्यक्षरूपले शब्द अथवा भाषासँग सम्बन्धित छ । मान्छेले अभिव्यक्त गर्ने सन्दर्भमा भाषासँग सम्बद्ध भएर अभिव्यक्त जो गर्छ, जसलाई हामी निबन्ध भन्छौं, नाटक भन्छौं, उपन्यास भन्छौं अथवा खण्डकाव्य भन्छौं, काव्य-महाकाव्य भन्छौं, अनि कविता भन्छौं । कवितमा पनि आजकल गद्य कविता अथवा छन्द कविता अनि विविध प्रकारका कविताहरू पनि छन् । तर कवितालाई मैले प्रायः भन्ने के गरेको छु, मान्छेले अहिलेसम्म आर्जन गरेको भाषिक अभिव्यक्तिको सबैभन्दा माथिल्लो तहको कलात्मक अभिव्यक्ति कविता हो ।

 यहाँले विभिन्न समयमा प्रध्यापन गर्नुभयो र विदेशमा पनि विभिन्न पदमा रहेर साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्नुभयो | यहाँको स्वदेश र विदेशको क्षेत्रमा काम गर्दाको अनुभवहरू हामीलाई सुनाइदिनोस् न !

 एउटा रमाइलो पक्ष के छ भने, ‘कविता लेखेर के हुन्छ ?’ अथवा ‘साहित्यमा लागेर के हुन्छ ?’ भनेर मानिसहरू सामान्य ढंगले भन्ने गर्छन् । मचाहिँ साहित्यमा लागेर धेरै कुरा हुनसक्छ भन्छु । कविता लेखेर पनि धेरै कुरा हुनसक्छ भन्ने पक्षमा छु । कविताकै नाममा अथवा लोकवार्ता र संस्कृतिको संरक्षरण, प्रवर्दन, अनुसन्धान र अध्ययनकै क्रममा संसारभरि, विशेषगरिकन तीन चौथाई संसार घुमिसकेको छु । त्यसकारण कविताले के गर्दैन भनेर जवाफ दिने क्रममा म आफैँ पनि एउटा उदाहरेकण छु भन्ने पक्षमा छु । र, यसरी संसारैभरि नेपाली कविताको प्रचार-प्रसार, नेपाली कवितालाई अनुवाद गर्ने अथवा नेपाली कविताहरूको सम्बन्धमा चर्चा र परिचर्चा गर्ने क्रममा अन्य भाषाका अन्य संसारका कविहरूका सम्पर्कमा आउनुभएको छ | त्यसले मलाई के लागेको छ भने चिन्तन र सोचमा एउटा बिस्तार आएको छ, नवीनता आएको छ । त्यो दृष्टिकोणले अनि आफूलाई चाहिँ एउटा गुफामा बसे जस्तो होइन, ठूलो एउटा विश्व मैदानमा पुगे जस्तो अनुभव पनि मैले गरेकोछु । कविताको पक्षमा चर्चा गर्दाखेरि कहीँकहीँ अनुवाद, अंग्रेजी अनुवाद वाचन पनि गरिएको छ ।

तुलसी दिवश

१९८५ जर्मनीमा उनन्चासौं कङ्ग्रेस भएको थियो, त्यसको विशिष्ट अतिथिमा आमन्त्रण आएको थियो, र त्यहाँ संसारभरिका साढे सात सय कवि र लेखकहरू सम्मिलित थिए । तिनमा पन्ध्र जना ‘गेस्ट अफ अनर’ थिए, जसमा एकजना म पनि थिएँ । विश्वका विशिष्टि कवि/लेखकहरू अथवा यता एशिया-अफ्रिकाबाट जाने, उता अमेरिकाबाट आउने, यूरोपबाट आउनेहरू सबै थिए । अनि विविध विषय र विविध क्षेत्रमा कार्यपत्रको प्रस्तुति, कविता वाचन आदि पनि भएको थियो र एउटा विश्वविद्यालयले कविता वाचनको लागि हामीलाई बोलाएको थियो । हामी पुगिसकेपछि आयोजकहरूले के भने भने, ‘हामी अनुवाद गरिएको कविता सुन्दैनौं तपाईँहरूको । बरु तपाईँहरूको आफ्नै भाषाको कविता सुन्छौं ।’

 धेरैजसोले अनुवाद गरेको लिएर गएका मैले चाहिँ अनुवाद गरिएकैमा पनि नेपाली पनि राखेर लिएर गएको थिएँ । मलाई त खुशी लाग्यो । अनि अरूहरूले पनि अनेकप्रकारले अनि आफ्नै किताबहरू पनि लिएर गएको हुँदाखेरि कविता वाचन भयो । मैले नेपालीमा कविता वाचन गरें । नेपालीमा कविता वाचन गरिसकेपछि मलाई त्यतिबेला के लाग्यो भने भाषा भनेको डिक्सनेरीको शब्दकोषीय अर्थ लगाउनु मात्र एउटा विशेष पक्ष होइन रहेछ । कविता के हुन्छ भने, त्यो बडिल्याङ्वेजले अनि त्यो भाषामा शब्दावलीमा भएको सङ्गीतको धूनहरूले पनि आफ्नै प्रकारले कम्युनिकेट सञ्चारित हुँदोरहेछ भन्ने कुरा त्यहाँ मलाई अनुभव र अनुभूत भएको छ ।

 यहाँ लोकवार्ता र संस्कृति समाजको अध्यक्ष हुनुहुन्छ । लोकवार्ता र संस्कृति समाजले आजसम्म गरेका केही उल्लेखनीय कार्यहरू केके छन् ? बताइदिनोस् न ।

 लोकवार्ता र संस्कृति समाजको स्थापना धेरै अघि हुनु पर्थ्यो । तर हामीसित यो देश नै जीवित लोकवार्ता अथवा लोकसंस्कृतिको संग्राहलय जस्तै नै छ । अनि विविध संस्कृतिको समन्वय, विविध संस्कृतिको आ-आफ्नै प्रकारको भूमिका हामीकहाँ छ । देशको यो सांस्कृतिक विविधता हाम्रा राष्ट्रिय सम्पदा नै हो । हरेक जातिको, हरेक भाषाभाषीको, हरेक क्षेत्रको आ-आफ्नै प्रकारको नाँचगान छन्, आ-आफ्नै प्रकारको रीतिरिवाज र रहनसहन छन् । आ-आफ्नै प्रकारका लुगाफाटा र गरगहना छन् । आफ्नै प्रकारका खानाहरू छन् । भन्नुको अर्थ के हो भने, आफ्नै विश्वास र आस्थाहरू छन्, प्रचलन छन्, नांचगान मात्र होइन चाडपर्व उत्सवहरू छन् । यी सबै देख्दाखेरि, मैले अघि नै भनेँ, यो आफैँमा एउटा जीवित सांस्कृतिक संग्रहालय जस्तो छ । तर हाम्रो सबै जातजातिको लोक सांस्कृतिक लोकवार्तागत अध्ययन, संकलन, संरक्षण र प्रवद्र्धन भने उपयुक्त ढंगले जति हुनुपर्ने त्यति हुन सकेको छैन ।

 यहाँ सबैभन्दा सानो उमेरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्ने व्यक्ति हुनुहुन्छ । सबैभन्दा सानो उमेरमा आफू प्राज्ञ बन्न पाउँदाको एउटा गौरव कस्तो थियो, त्यो बेला ? कति वर्षको हुनुहुन्थ्यो ? त्यो अनुभव बताइदिनु हुन्छ कि !

म त अचम्म पर्छु  त्यो बेलाको, साँच्चै भन्नुहुन्छ भने मेरो एउटा किताब पनि निस्केको थिएन । केही कविताहरू मात्र निस्केका थिए । त्यसो त मैले एकेडेमीको पदक पनि प्राप्त गरिसकेकै थिएँ । मैले २०१८ सालदेखि ०२३ सालसम्म निरन्तर राष्ट्रिय पुरस्कार हरेक वर्ष पाएको छु  ।

मचाहिँ यता धनकुटा क्याम्पसमा पढाउँथें । बी.ए. मात्र पास गरेको थिएँ | यहाँ पनि म पद्मकन्यामा पढाउन आउँदाखेरि नेपाली पनि पढाउँथें भने अर्कोतिर नेपाली लोकसङ्गीत पनि पढाउने गर्थें । लोकसङ्गीत त्यसबेलासम्म विश्वविद्यालयको सङ्गीतको पाठ्क्रममा समावेश गरिएको थिएन ।

 यहाँले सिर्जनशील साहित्यिक समाजको स्थापना गर्नुभएको थियो । कुनैबेलामा सिसासको नाउँबाट यो संस्थाले निकै प्रसिद्धि कमाएको थियो । अहिले यो संस्था निस्कृय छ नि ! किन होला ?

 ‘सिर्जनशील साहित्यिक समाज’ स्थापना गर्नुको पछाडि पनि मूलभूत कारण के थियो भने,  अर्थशास्त्र लेख्ने पनि लेखकै भए, अखबार लेख्ने पनि लेखकै भए । उपन्यास लेख्ने पनि लेखकै भए । तर यी भिन्न विधा हुन् । कथा, उपन्यास, नाटक, कविता यी सिर्जनशील क्षेत्र भए । तर अन्यचाहिँ विषयगत । विषयतग विशेष गरेर निश्चित क्षेत्र, त्यसमा सिर्जनशीलता भन्नेभन्दा विषयगत ज्ञानको बढी भूमिका निर्वाह हुन्छ । हामीले के भन्ठान्यौं भने, तपाईँलाई याद छ कि छैन कुन्नि !, यो नेपाली साहित्य वा यो विभिन्न हाम्रो भाषाको साहित्य पढाउँदाखेरि के राखिएको छ, एउटा नाटक राखिदिएको, एउटा उपन्यास राखिदिएको, खण्डकाव्य/महाकाव्य, कविता, कथा, निबन्ध राखिएको हुन्छ | हगि !

अब त्यो निबन्धमाथि लेखिएको लेखलाई अथवा निबन्धचाहिँ पढ्नुपर्ने, त्यो पढेर मार्क पाउने । निबन्ध लेखे बापत पाइदैनथ्यो । अनि सिर्जनशील लेखक भनेर अलगगरि हेर्न पनि मान्छेहरूमा चेतना विकसित भइसकेको थिएन । त्यसकारण हामीले के भन्ठान्यौं भने, एमए नेपालीमा एउटा डिसर्टेशन लेख्न पेपर हुन्छ, त्यसमा चाहिँ सिर्जनशील लेखन पनि समावेश गर्नु जरुरी छ अथवा उपन्यास लेखेर, कवितासंग्रह निकालेर, नाटकै लेखेर या निबन्धहरू नै लेखेर, कथाहरू नै लेखेर पनि कोर्स गर्न पाइनु पर्ने, बाहिरतिर चाहिँ ‘क्रिएटिभ राइटिङ’को कोर्स चाहिँ छ । अब क्रमशः हामीकहाँ पनि विभिन्न भाषाको विभिन्न बिषयमा विभिन्न क्रिएटिभ राइटिङको कोर्स शुरु गरिनुपर्छ भन्ने दृष्टिकोणले केही समय हामीले वर्कशपहरू पनि गरियो । तर त्यसलाई युनिभर्सिटीमा समावेश गर्न र गराउनका निमित्त आवश्यक हुन्छ र गर्नुपर्छ ।

 यहाँको विचारमा लोकसंस्कृति, कला, साहित्य र जीवन के हो ?

 अघि मैले भने जस्तै संस्कृति र भाषाचाहिँ स्वयं मान्छेले निर्माण गरेको हो । र, मान्छेचाहिँ कुन हावापानीमा, कुन भौगोलिक क्षेत्रमा, कुन सामाजिक/सांस्कृतिक पृष्ठभूमिमा हुर्कन्छ, त्यहींबाट उसको विश्वास र आस्था निर्माण हुन्छ | र व्यक्तित्वको निर्माण हुन्छ । त्यो दृष्टिकोणले हामीले जहिले पनि आफूलाई मान्छे हुनुको मूल कारण अर्को उसको सिर्जनशीलता पनि हो । र, ऊचाहिँ के हुन्छ भने, सिर्जना गर्ने प्रतिभा हो । तर यो प्रतिभाचाहिँ कहिलेकाहीँ कुण्ठित हुन्छ । कहिलेकहीँ विकसित हुन पाउँदैन र हामीले त्यो विकसित हुने उपयुक्त अवसर अथवा आवश्यक पर्ने त्यो हावा र पानी उपलब्ध गराउनु पर्छ | त्यस्ता प्रतिभाहरूलाई हामीले जहिले पनि प्रोत्साहित गरेर अगाडि बढाउने प्रयत्न र कोसिस गर्नुपर्छ ।

 नयाँपुस्तालाई कस्तो किसिमको सल्लाह, सुझाव र सन्देश दिन चाहनुहुन्छ ?

 म गुरू हुने पक्षमा त छैन । तर मैले अनुभव र अनुभूत गरे अनुसार अरूलाई चिन्नुभन्दा पहिले आफैँलाई चिन्नु जरुरी छ । अरूलाई चिन्ने चश्मा हेरेर होइन, आफ्नो अनुभव र अनुभूतिबाट हेरिनुपर्छ । त्यो दृष्टिकोणले आफूलाई चिन्नु, भनेको आफ्नो संस्कृतिसँग परिचित हुनु, त्यसका विशेषताहरूसँग परिचित हुनु, त्यसका आफ्नोपनहरूसँग परिचित हुनु अनिवार्य आवश्यकता छ ।

त्यस दृष्टिकोणले हामीले हाम्रै परम्परा, संस्कृति, रीतिरिवाज र रहनसहनमा मरिमेट्ने, सति जाने भनेको होइन, संस्कृति भनेको स्थिर वस्तु होइन । त्यो गतिशील वस्तु हो र सधैं परिवर्तन भई नै रहन्छ । हो, उसको गतिचाहिँ अलि धिमा, ढिलो हुन्छ, त्यो परिवर्तनको प्रक्रिया Speed up धेरै Speed को हुँदैन । तर अब हामीले चाहिँ संस्कृतिको नाममा झ्याल ढोका थुनेर बस्ने समय होइन । अब झ्याल-ढोका उघार्नुपर्छ | अबको समय डिजिटलबाट संसारभरि पुग्ने हो, बाहिरको पनि ल्याउने हो र भित्रको पनि बाहिर लाने हो । भित्रबाट बाहिर लैजाँदा आफूसित के छ भन्ने कुरा राम्रोसँग परिचित नभैकन जान नसकिने भएकोले त्यसैसँग परिचित हुने प्रयास कविहरूले पनि, स्रष्टाहरूले पनि, सिर्जनशील व्यक्तिहरूले पनि, सङ्गीतकारहरूले पनि, कलाकारहरूले पनि गर्नु आवश्यक छ ।

 

Loading...