नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अनिल माटो र आफ्नो सभ्यतासँग नजिक छन्

कवि र कवितादृष्टि

यो शृङखलामा हामीले कवि अनिल खतिवडाको कवितामाथि कवि सुर्दशन पौडेलको दृष्टि प्रस्तुत गरेका छौँ ।

समकालीन नेपाली कविता लेखनमा सक्रिय युवा कविमध्ये अनिल खतिवडा छुटाउन नहुने एक नाम हुन् । कलात्मकता र वैचारिक अभिव्यक्तिको दुर्लभ सन्तुलन पाइने उनका अधिकांश कविताहरूले मानवीय संवेदनाका मिहिन आयामहरूलाई बडो सरलताकासाथ प्रस्तुत गरिरहेका हुन्छन् । नेपाली र अंग्रेजी भाषामा कविता लेख्ने कवि खतिवडाका १० कविताहरू शिखा बुक्सद्वारा प्रकाशित कविता संग्रह ‘उज्यालोका मालीहरु’मा संकलित छन् । आज सोही संग्रहबाट उनका तीन कविताहरूमा टिप्पणीकारले आफ्ना विचार व्यक्त गर्न गइरहेका छन् ।

कवि अनिल खतिवडा
सान्दर्भिक पोस्ट

अनिलका तीन कविता

१. अहिल्या

एक मुठी माटो हातमा लिएर निर्मलालाई सम्झेँ
अनायासै मुखबाट निस्कियो—
“हे ईश्वर किन यस्तो?”

त्यही माटोबाट एउटा आदिम आवाज आयो—
“म पनि उत्तर पर्खिरहेछु ।”

अनिल खतिवडाका कविताहरू पढ्दा महसुस हुन्छ, उनी माटो र आफ्नो सभ्यतासँग नजिक छन् । पूर्वीय सभ्यताका विभिन्न मिथक र दन्त्यकथाहरूलाई वर्तमानसँग गाँसेर मानव समाज र स्वभावको विशाल चित्र प्रस्तुत गर्न उनी सफल छन् । वर्तमान नेपाली समाजमा निर्मलाको नामले चिनिएका महिलाहरू विभिन्न नामहरूमा विभिन्न पुरुषहरूबाट परापूर्व कालदेखि नै लुटिँदै आएको र अझै पनि न्याय पाउन नसकेको यथार्थलाई उनले कलात्मक ढंगले व्यक्त गरेका छन् । दन्त्यकथा र वर्तमानलाई जोडेर उनले लेखेका कवितामध्ये दैत्य कथा पनि उत्तिकै बेजोड छ ।

 

२. सँगालिएको अतित

तिमीले धेरै पहिले
पैसा भनेर दिएको पीपलको पात
बालापनको खेल भनेर सजिलै भुलिदियौ

म मूर्ख अझै त्यही पात लिएर
सम्बन्धहरु किन्न बजारमा र्भौँतारिरहेछु ।

वर्तमान र विगतको समानता औँल्याउने खतिवडाका कवितामा विगत प्रतिको रोमान्टिसिजम् र बितेकै समयमा फर्कन चाहने अभिप्सा पनि उत्तिकै देख्न सकिन्छ । परिवर्तन प्रतिको सन्देह र वर्तमानसँगको उकुसमुकुस उनका अन्य कविताहरूमा पनि प्रवल रुपमा देखिन्छन् । विगतलाई विगतमै रहन दिएर वर्तमानलाई स्वीकार गर्नुको सट्टा बितेका पलमा वर्तमानलाई खोज्दै उनका कवितका पात्रहरू यथास्थितिमा अल्झिन पुगेका छन् । झरीमा तिमी र विधवा कवितामा उनको यही प्रवृत्ति देख्न सकिन्छ ।

कवितादृष्टि सुदर्शन पौडेल

३. त्याग

बलिरहेको दियोलाई सोधेँ—
“आफू सक्किएर जल्न तिमीलाई पीडा हुँदैँन?”
त्यति भनिसक्दा, दियो निभिदियो
र पूरै ब्रह्माण्ड अन्धकारभित्र हरायो ।

यस कविताले उज्यालोको लागि कसै न कसैले जल्नैपर्ने अवश्यंभावी सत्यलाई अभिव्यक्त गरेको छ । केही प्राप्तिको लागि आवश्यक पर्ने सर्मपण र त्यसको अभावमा पर्नसक्ने क्षतिलाई सजिलैसँग बुझ्न सकिन्छ । उनको अघिल्लो प्रवृत्तिसँग जोडेर हेर्दा यस कविताले पनि वर्तमानप्रतिको अभ्यस्ततालाई नै वकालत गरेको देखिन्छ । दियोले आफू जलिरहँदा सक्किरहेको वास्तविकता नजान्दा ब्रह्माण्ड उज्यालै थियो तर वास्तविकता बुझेपछि अन्धकार छाएको छ । यसले पनि उनका कविताहरुले जानाजान अज्ञानता (विलफुल इग्नोरेन्स)को बाटो पछ्याएको आभाष हुन्छ ।

र अन्त्यमा,
कविता र लेखनका विषयमा टिप्पणीकारका आफ्नै अनेक कमजोरीहरु छन् । कविताजस्तो खुकुलो विधामा कवि र कवितालाई निश्चित वाद वा सिद्वान्तमा कैद गर्नु टिप्पणीकारको उद्देश्य हैन । यहाँ व्याख्या गरिएका तीन कविता अनिल खतिवडाका प्रतिनिधि कविता मात्र हुन् । कला र विचारको सन्तुलनमा लेखिएका यी कविताहरुले समकालीन नेपाली कविताको सुन्दर रुप प्रस्तुत गर्दछन् भन्नेमा म विश्वस्त छु । अनिल खतिवडालाई सुन्दर काव्यिक भविष्यको शुभकामना ।

Loading...