नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !

शृंखला ५

(संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल)

१. झझल्को मेरी आमाको
(कृष्णभूषण बल)

चोलो चौबन्दी, बर्को सेतो
सारी थियो खाँडीको
ढाडमा थुन्चे, पटुकामा खुरुम्बी
तुनामा फूल गुराँसको
आँखा रसिला तर्तर पसिना
सायद जाँदै थिइन् माइती
एकै झल्को देखेँ झन्नै बोलाएँ
थियो उनमा मेरै आमाको आकृति ।

सान्दर्भिक पोस्ट

२. दुई सहर
(विक्रम सुब्बा)

उता चिडियाखाना छ
सर्प छन्, गोही छन्
स्याल र भालु छन्
गिद्धहरु छन् ।

यता मन्त्रालय छन्, क्याबिनेट छ
प्रधानमन्त्री, मन्त्री
अध्यक्ष र सांसदहरु छन् ।

वागमतीको पुलले
यी दुवै सहरलाई
चुपचाप जोडिदिएको छ ।

३. खलामा
(ज्ञानेन्द्र खतिवडा)

खलामा दाइँ गर्दै छु
दुईओटा गोरूहरु घुमिरहेछन्
पछिपछि लौरो लिएर म पनि घुमिरहेछु
होइन–होइन तीनओटा गोरूहरु घुमिरहेछन्
कि म पनि त गोरू झैँ खटिरहेछु !
म महागोरू खट्नसम्म खटिरहेछु
किनकि पराल र धान छुट्टिएपछि
पराल गोरूको हुन्छ,
धान र पराल छुट्टिएपछि
धान साहुको हुन्छ,
वर्षभरि खट्नुपर्ने खेतचाहिँ मेरै हुन्छ ।

४. मन्त्रीमण्डल
(किशोर पहाडी)

पानी प¥यो भनेर
छाता किनेको,
त्यो त
बर्सात्को
अन्तिम दिन पो परेछ !

५. विकल्प
(नरेश शाक्य)

कुहिरोभित्र काग हराइरहेछ
जति बाटो खोज्छ घनीभूत अन्धकारमा,
उति हराउँछ !
हराउनु बाहेक
उसको अगाडि कुनै विकल्प छैन ।

Loading...