नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सरकारका दर्जनौँ बेथितिको मारमा परेका जनताको प्रतिनिधि चिच्याहट- क्वारेन्टिन अभियान

नवपुस्ता बहस: क्वारेन्टिन अभियानमा कविता र गजल

सामाजिक सञ्जालमा सुरू भएको सरकारविरोधि ‘क्वारेन्टिन कविता अभियान‘ले गजललाई पनि ‘क्वारेन्टिन अभियान’को हिस्सा बनाइसकेको छ । क्वारेन्टाइनको पीडा देखाउन सुरू भएको सरकारविरोधि कविता/गजल अभियानमा देशका चर्चित कविहरू पनि जोडिन थालेका छन् ।

देशमा अनेक समस्या रहे पनि त्यो समाधान गर्न छाडेर नेताहरू सत्ताको साँघुरो खेलमा लागेको भन्दै उनीहरूले विरोध सुरू गरेका हुन् । यसलाई कविहरूले क्वारेन्टाइन कविता अभियान नाम दिएका छन्, यस्तै गजललाई जोडेर ‘क्वारेन्टिन गजल अभियान’ |

प्रस्तुत छ, यसै अभियानलाई प्रतिनिधित्व गर्दै आउनुभएका नवपुस्ताका शक्तिशाली कविद्वय बाबु साहेबनवीन प्यासी तथा गजलकार सीता थुलुङसँग अभियान, आन्दोलन, कविता र गजलका सेरोफेरोमा साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेको कुराकानीको सम्पादित अंश;

 

बाबू साहेबः “अभियानको माग सरकार जनताप्रति जिम्मेवार बन्नुपर्छ भन्ने हो”

बाबु साहेब

१. क्वारेन्टिन कविता अभियान के हो ? प्रष्ट बुझाइदिनुहोस् न !
सरकारको अकर्मण्यता, कुर्सीको घिनलाग्दो अङ्गगणितिय चलखेल, विभेद, दमन, अर्थतन्त्रको उच्च गिरावट, भष्टचारको ऐतिहासिक संरक्षणजस्ता दर्जनौँ बेथितिहरूको मारमा परेका जनताहरूको प्रतिनिधि चिच्याहट हो- क्वारेन्टिन कविता अभियान ।

चिच्याहटको प्रतिनिधित्व कवि/लेखकहरूले आफ्नो कलममार्फत एकसाथ गरेका हौँ/गरिरहेका छौं ।

२. इनफ इज इनफ भन्दै केही समयअगाडि एउटा भीडले सडक तताएको थियो । अहिले क्वारेन्टिन कविता अभियानले पनि त्यही ह्यासट्याग समाएको छ । यी दुई अभियानबीच केही सम्बन्ध छ ? कि यी दुवै अभियान एकै संयन्त्रबाट सञ्चालित छन् ?

बुझ्नुपर्ने मुख्य कुरा चाहिँ , ‘इनफ इज इनफ’को ट्रेन्ड नेपालमा सडकमा निस्किएको भीडले मात्र समाएको होइन, आन्दोलनको एउटा विश्वव्यापी ट्रेन्ड हो । यो वाक्यांश १६ औं शताब्दीदेखि प्रयोग हुँदैआइरहेको छ | त्यसपछि यसको बृहत प्रयोग अमेरिकामा सन् १९६०, नारीवादी आन्दोलन र मानव अधिकारको माग गर्दा भएको हो । त्यसयता विश्वका धेरै सडक र संसदमा यसको प्रयोग भैसकेको छ ।

हजुरले सोध्नुभएको छ, नेपालमा सडकमा निस्किनेहरूसँग क्वारेन्टिन कविता अभियानको सम्बन्ध; हाम्रो स्पस्ट मत, क्वारेन्टिन कविता अभियान सरकारलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यसँग सम्बन्धित छ । र अभियान, अभियानकै उद्देश्यबाट सन्चालित छ । बाँकी रह्यो हामीले इनफ इज इनफको ट्रेन्ड किन समायौँ ? यसको सरल उत्तर, हामीलाई पनि अत्ति नै भएको हुँदा हामीले पनि ‘इनफ इज इनफ’ भनेका हौँ |

क्वारेन्टिनमा जीवनजलसमेत नपाएर छट्पटाइरहेका राजु सदाको भिडियो हेरिरहँदा, विश्व स्वास्थ संगठनले रोक लगाएका औसधि र किटहरूको प्रयोग गरी जनताको स्वास्थसँग खेलबाड भैरहँदा, मेडिकल सामाग्रीको खरिदमा भएको करोडौं भष्टचारको समाचार पढिरहँदा, क्वारेन्टिनमा स्वास्थ्यकर्मीबाटै बलत्कृत भएकी नारीको वेदना सुनिरहँदा, महिनौँसम्म हिँडेर घर पुग्नुपर्ने मजदुरको अवस्था देखिरहँदा, “घर फर्किन देउ ” भनेर सिमामा भोक र रोकसँग लडिरहेका परदेशीको आलाप सुनिरहँदा र सरकार यस्ता दुर्घटनाबाट अमुकजस्तो बसिरहँदा पनि हामीलाई अत्ति हुँदैन भने हामीलाई अत्ति कहिले हुन्छ ? यस्ता दुर्घटनाहरूमा सरकारलाई सचेत बनाउनका लागि हामी बोल्दैनौं भने हामी कहिले बोल्ने ?

समृद्धिको सपना देखाएको सरकारले विकृतिको संरक्षण गरिरहँदा पनि हामीले सरकारलाई प्रश्न गरेनौँ भने इतिहासले हामीमाथि प्रश्न गर्नेछ । त्यसैले हामीले पनि प्रश्नमाथिको अन्तराष्ट्रिय ट्रेन्ड समाउँदै प्रश्न गरेका हौँ । हामीलाई पनि अति भएको कारण हामीले पनि इनफ इज इनफ भनेका हौं ।

३. ‘क्वारेन्टिन कविता’ अभियानको खास माग के हो ? अहिलेको सरकारको बर्हिगमन ? आरडीटी टेस्टलाई बन्द गर्ने निर्णयले सरकारले गरी नै सक्यो क्यारे ?

पहिलो कुरा त अभियानको माग सरकार जनताप्रति जिम्मेवार बन्नुपर्छ भन्ने हो । र स्पस्ट रूपमा हामी राजनीतिक लाभ वा हानीका निम्ति अभियानमा छैनौँ । देखिरहनुभएकै छ, सरकारको निर्माण वा बहिर्गमनमा त सत्तापक्षीयहरूकै बढी रस्साकस्सी छ ।

हामीले भनेको चाहिँ चाहे त्यो राम राज्य होस् चाहे भरत राज्य, शासनव्यवस्था जनताप्रति उत्तरदायी बन्नुपर्छ । जनताकै करले चलिरहेको राज्यव्यवस्था जनताका आधारभूत आवश्यकताको परिपुर्ति गर्ने जिम्मेवारीबाट पन्छिन मिल्दैन भन्ने हो ।
दोश्रो कुरा, सरकारले भनेका कुराहरू सबै पूरा भएका हुन्थे भने त हामी यतिखेर पानीजहाजको टिकट काटिरहेका हुन्थ्यौं, मोनोरेलमा यात्रा गरिरहेका हुन्थ्यौं, पाइपलाइनबाट ग्यास बालिरहेका हुन्थ्यौं, खाना लिएर सरकार कोठा कोठामा आइपुग्थ्यो, हावाबाट निकालेको बिजुली भारतलाई बेच्ने तयारीमा हुन्थ्यौं र दुनियाँ अचम्मित पर्नेगरि समृद्धिको राजमार्गमा हुन्थ्यौं ।

तर सरकारले त जनताको धरातल बिर्सेर सपनाका बेलुनहरू उडाउरहेछ | हजुरले उठाउनुभएको आरडीटी टेस्ट बन्द गर्ने निर्णय पनि यस्तै हो, गरेपछि सकिने निर्णय, संसदको रोस्टममा उभिएर प्रधानमन्त्रीले निर्णय गरिऊँ भन्दै सुनाउने र सांसदहरूले ताली ठोक्ने निर्णय । आरडीटीको टेस्ट अझै रोकिएको छैन ।

४. यो अभियानमा ठूलो नामहरू पनि समर्थन छ, जस्तै रविन्द्र मिश्र । यसलाई कसरी बुझ्ने ? यो अभियानको बिर्सजन कहाँ गएर हुन्छ ?

यो ठूलो नाम भन्ने हाम्रो चलनचाहिँ म आफूलाई अफ्ट्यारो जस्तो लाग्छ । खास अभियानमा को जोडियो भन्दा पनि जोडिएको मान्छेले अभियानलाई आफ्नो रुचि वा फाइदाका लागि प्रयोग गर्यो अथवा अभियानको मर्मलाई बुझेर अभियानमा हातेमालो गर्यो भन्ने कुरा महत्वपूर्ण रहन्छ । हजुरले नाम लिनुभएको व्यक्तिलगायत अन्य थुप्रै व्यक्ति अभियानमा आउँदा आफ्नो राजनैतिक र सामाजिक अवस्थाका कारण नभएर एउटा सर्जकको रूपमा नै आउनुभएको हो ।

साथसाथै हजुरले अभियानको बिसर्जनको कुरा उठाउनुभएको छ, यस्ता अभियानचाहिँ बिसर्जन हुने अभियान होइनन् । समयअनुकूलका आधारभूत आवश्यकता परिपुर्तिको लागि सरकारलाई झक्झक्याई रहनु, बेथितिहरूविरुद्द प्रश्न गरिरहनु, शासनव्यवस्थालाई जनताप्रति उत्तरदायी र पारदर्शी बनाउन सहयोग गर्ने यस्ता अभियान जुनसुकै सरकार र जुनसुकै समयमा पनि आवश्यक छन् | र हामीले यो अभिभारा कलममार्फत बोकिरहने छौं ।

सुरुआत क्वारेन्टिन कविताबाट गर्‍यौं । तर, यसमा हामी साहित्यका विभिन्न विधालाई जोडेर अघि बढ्ने पक्षमा छौं । जस्तै अहिले ‘क्वारेन्टिन गजल’ गरिरहेका छौं, भोलिका दिनमा गीत, पेन्टिङ आदि पनि यस अभियानमा जोड्दै जानेछौं ।

 

नवीन प्यासी: “आन्दोलनमा नारा हुन्छ, नारामा कविता हुन्छ”

नवीन प्यासी

१. प्यासीजी ! कविता र नाराको फरक बताइदिनुहोस् ।

यो धेरै पुरानो छलफल हो । यसमा सबैको आ–आफ्नै किसिमका तर्क होलान्, छन् । मलाई के लाग्छ भने नारा पनि कविता हुनसक्छ, र कविता पनि नारा हुनसक्छ । त्यो समय र परिस्थितिले अथ्र्याउने कुरा हो । दुवैको चरीत्र र स्वभाव भने फरक हुन्छ ।

२. सरकारले सडकलाई बेवास्ता गरिरहेको बेला संजालमा कविता लेखेर हुन्छ ? यो अभियान फगत समयको सदुपयोग मात्र त होइन ?

‘संजालमा कविता लेखेर के हुन्छ ! केही हुँदैन, फगत समयको बर्बादी या सदुपयोग मात्र हो ।’ कोही यसो भन्छ भने ऊ सामाजिक संजालको शक्ति र सामथ्र्यबारे अवगत छैन । हामीभन्दा धेरै अघि नै संजाल र अनलाइनको शक्ति ज्याक माहरूलाई थाहा थियो । अमेजनजस्ता साइटलाई थाहा थियो । अहिले संसारभरको राजनीतिको ठूलो हिस्सा सामाजिक संजालले ओगटेको छ  । अमेरिकामा राष्ट्रपतीय चुनावका प्रत्याशीले संजालको विज्ञपनका लागि अर्बौं डलर खर्च गर्छन् ।

अब कोही खाली सामाजिक संजालमा फगत खाली समयको सदुपयोग मात्र हो भन्छ भने त्यो उसको बुझाइ हो  । तर, संजाल भनेको के हो भन्नेबारे अवगत छ भने पक्कै पनि यसो भन्दैन । किनभने हाम्रो पुस्ता सडकमा उभिएर नारा घन्काएर, टायर बालेर, ढुंगामुडा गरेर बस्ने पु्स्ता होइन । यो पुस्ताले विरोध पनि सृजनात्मक गर्छ । तपाईंले देख्नुभो होला ह्यासट्याग इनफ इज इनफसहित कति ठूलो संख्यामा माइतीघर मण्डलामा आएका थिए युवाहरू ! त्यहाँसम्म ल्याउने काम कुनै नेताले होइन, संजालले गरेको थियो । एक स्टाटस या ट्वीटका कारण धेरै घटना घट्न सक्छन् या त घटेका छन् ।

अहिलेको पुस्ताका लागि सामाजिक संजाल सबैभन्दा ठूलो प्ल्याटफर्म हो । यहाँ कुनै मन्त्रीले उसको ट्वीटमा गरिएको रिप्लाइकै कारण आफ्नो ट्वीट डिलेट गर्छ । अब अनुमान गरौँ संजाल फुर्सदका सदुपयोग मात्र हो कि अरु पनि केही हो । अब पनि कसैले संजालमा कविता लेखेर के हुन्छ कोही भनिहिँड्छ भने त्यो आफैँमा घनघोर दुःख हो, जसको कारण छ तर निवारण छैन ।

३. नाम उल्लेख नगरौँ, तर तपाईंका केही समकालीन कविहरूले ‘कवितासँग नारा टाँसेर कविताको हुर्मत लिन सक्दिनँ’ भन्ने भावको विचार व्यक्त गर्नुभएको थियो नि ! प्रष्ट पारिदिनुहोस् ।

कवितासँग नारा टाँसेर कविताको हुर्मत लिने भन्ने कुरा कहाँबाट आयो ? कसले लिएछ हुर्मत ? पहिलो कुरो त कविताको फैलावट र सामथ्र्य के हो भन्ने ख्याल भएको मानिसले यस्तो भन्दैन । यो एकदम निम्नस्तरको बुझाइ हो  । नारा टाँसेर कविताको हुर्मत नलिने कुरा श्रवण मुकारुङ दाइहरूले दोस्रो जनआन्दोलनमा गरेका भए के हुन्थ्यो ? जब कविता सडकमा उभिन्छ या कुनै पनि आन्दोलनमा उभिन्छ, त्यहाँ कविताको अनेक किसिमको अनुहार देख्न सकिन्छ । भलै ती सबै कविता नहुन सक्छन्, तर ती सबै कविताको शक्ति प्रमाणित गर्नका लागि सडकमा उभिएका हुन्छन् ।

आन्दोलनमा नारा हुन्छ, नारामा कविता हुन्छ । कवितामा सिंगो आन्दोलन हुन्छ । यसका आ–आफ्नै स्वरुप र अर्थ हुन्छन् । जब कुनै पनि कविलाई थाहा हुँदैन, कविता कहाँ कहाँ कस्तो कस्तो अवस्थामा उभिन्छ भन्ने, उसले भन्ने यस्तै हो । कविताको एउटा स्वरुप र अनुहार हो नारा । जब सडकमा कविता उभिन्छ, त्यहाँ नारा नै बन्छ । अन्य हिसाबमा विलासिता, आनन्द, वियोग जस्ता विषयमाथिका कविताको आफ्नो हिसाबको ओज छँदैछ । या अन्य ठाउँमा कविता फरक हिसाबले उभिन्छ । र कविता हरेक परिवर्तनका खातिर सडकमा मुठी उठाएर उभिएको छ र आफ्नो शक्ति, सामथ्र्य देखाएको छ भन्ने थाहा नपाएकाहरूले नै भन्ने हुन्, कवितासँग नारा टाँसेर कविताको हुर्मत लिन सक्दिनँ भनेर ।

४. आन्दोलन र कविता अर्थात् सृजनाको धरातल फरक हो । तर, विगतलाई हेर्दा पनि ठूलो आन्दोलनमा कवितालाई हतियारका रुपमा प्रयोग गरेको पाइन्छ । आन्दोलन र कविताको आवाजमा के कति आधारमा समानता र भिन्नता रहेछ ?

सृजनाको प्रक्रियाको पाटोबाट त आन्दोलन र कविता फरक हुने भइहाले । आन्दोलनले सत्तालाई दबाबमा राख्न सक्छ, कविताले आन्दोलनलाई बलशाली बनाउन सहयोग गर्छ ।  समानता र भिन्नताको कुरा गर्दा एउटा कविता आन्दोलनमा सहभागी हुनसक्छ, र एउटै कविताभित्र सिंगो आन्दोलन अटाएको पनि हुनसक्छ । फेरि आन्दोलन कस्तो उद्देश्यसहित सडकमा आइपुगेको छ भन्ने कुरा पनि हो । अब आन्दोलनको उदेश्य नै स्वार्थी छ भने त्यस्तो ठाउँमा कविता उभिन सक्दैन । कवितालाई आफ्नो धर्मले दिँदैन ।

कविताले सधैं असमानता, विभेदमाथि प्रश्न गरेर आएको लामो इतिहास छ । त्यस हिसाबले जब परिवर्तनका खातिर या राज्यलाई सचेत गराउन आन्दोलन हुन्छ, त्यसबेला कविता सधैँ अग्रमोर्चामा हुन्छ । यही नै कविता र आन्दोलनको एउटा समानता हो ।

५. कविताले संकेत गर्छ । लेख्न र बुझ्नका लागि त नारा थियो, चर्को आवाजमा बोल्नका लागि आवाज थियो । तर, फेरि पनि कविता नै किन ?

लेख्न र बुझ्नका लागि नारा या त चर्को आवाज पनि थियो । तर किन कविता लेखियो ? अब एउटा किसान आन्दोलनमा आयो भने बन्दुक बोकेर आउँछ कि कुटो कोदाली बोकेर आउँछ ? एउटा संगीतकर्मी आन्दोलनमा आयो भने गीटार र केही गीत पक्कै आउनेछ भनेर किन ढुक्क हुन्छौँ ? किनभने जोसँग जे छ, जस्तो क्षमता छ, त्यहीमार्फत् उसले आफ्नो आवाज मुखारित गर्ने हो । कविताले संकेत गर्छ कि सीधै भन्छ त्यो हाम्रो वशको कुरा होइन । यो कुरा वहस र छलफलको अर्कै पाटो हो । तर, हामीसँग आवाजको नाममा, नाराको नाममा मात्र कविता छ, अब कविता नै किन  त ?

६. नवपुस्ता, त्यसमा पनि सबै सृजनशील नवपुस्ताले कविताको सांकेतिक भाषालाई सजिलै ग्रहण गर्न सक्छन् ? यस अभियान सीमित जमातमा मात्र कैद हुँदैन ? यसबारे के सोच्नुभएको छ ?

यति चाहिँ के ख्याल गर्नुपर्छ भने कविताको सर्वव्यापी भाषा सांकेतिक होइन । त्यो एउटा मात्र भाषा हो । यसो त संसारभरका मानिसको भाषा भनेको अंग्रेजी हो या चिनियाँ हो भनेजस्तो कुरो हो । संसारमा भाषा यति मात्र होइन ! ठ्याक्कै कविताको भाषा र वर्णमालाको कुरा गर्दा यस्तै नै हो ।

कविता जब सडकमा उभिन्छ, उसले नाराको भाषा बोल्छ, आक्रोश र परिवर्तनको भोकको भाषा बोल्छ । जब समाजमा उभिन्छ, ऊ विभेदको भाषा बोल्छ, प्रश्नको भाषा बोल्छ । जब कुनै प्रेमी र प्रेमीकाको सामुन्ने उभिन्छ, ऊ प्रेमको भाषा बोल्छ । जब कुनै दुधे बालक र आमाको बीचमा उभिन्छ,  कविताले स्नेह, मातृत्व र ममताको भाषा बोल्छ । र हाम्रो पुस्ताले कविताको भाषालाई बुझ्ने मात्र होइन, त्यसलाई पर्गेलेर अगाडि जानसक्छ ।

यो अभियान सीमित जमातमा कैद हुनसक्छ या नहुन पनि सक्छ । त्यो समयलाई जिम्मा हो । तर, सचेत नागरिकको हिसाबले एकजनाले मात्र प्रश्न किन नगरोस्, या एक्लैले मात्र औंला किन नउठाओस्, त्यो विरोध हो । त्यो आन्दोलन हो । किनभने हामी लोकतन्त्रको अभ्यास गरिरहेका छौँ ।

 

सीता थुलुङः यो अभियानलाई गजल इतिहासमा कोशेढुङ्गा सावित गर्न दस्तावेजीकरण गर्नु आवश्यक छ

सीता थुलुङः

१. तपाईँ विशेष गजल लेख्नु हुन्छ । अहिले गजलकै आवाज बोकेर क्वारेन्टिन अभियानमा जोडिनुभएको छ । विरोधको लागि गजल नै किन लेख्नुपर्यो ?

अहिले हामीले सरकारका अकर्मण्यता, अनुदारपन, गैह्रजिम्मेवारीपन विरुद्ध  सिर्जनात्मक विरोध, लेखनबाट गरिरहेका छौ । विरोधको लागि गजल नै भन्दा पनि, गजल पनि यो अभियानको लागि एउटा सशक्त र विशिष्ट विधा (माध्यम) भएको कारण ह्यासट्यागमा क्वारेन्टिन गजल लेखेका हौ ।

योभन्दा अगाडि जुलाई १ मा पनि यही अभियानको पहिलो थालनी क्वारेन्टिन कविताबाट सुरु गरिएको थियो । त्यसैले यही अभियान अन्तरगत नै सरकारको अकर्मण्यताविरुद्ध सिर्जनात्मक विरोधको लागि अहिलेको पुस्तामा लोकप्रिय लघुकाव्यात्मक विधा गजलबाट पनि गरिएको हो । विशेष संरचनामा लेखिने गजलका माध्यमबाट अहिलेको यो भयावह अवस्था, मानवीय र सामाजिक मुद्दाहरूलाई संवोधन गर्न शालीन र कलात्मक रूपबाट प्रभावकारी हुने देखिएकोले यो क्वारेन्टिन गजल लेखिएको हो ।

२. गजल लेखनका क्षेत्रमा आफ्नै सैद्धान्तिक विवाद र बहस छन् । यो अभियानमा त अझ् गजलहरू नाराका रूपमा देखिदैछन् ? यसले थप विवाद र बहस निम्त्याउँदैन ?

हो, गजल लेखनमा सुरुवातदेखि नै विभिन्न सैद्धान्तिक विवाद र बहस छन् । यद्यपि मेरो विचारमा, यो अभियानको गजल लेखनलाई नाराका रूपमा लेखिएको भन्नुभन्दा पनि सरकारको काम कारबाहीमा असन्तुष्ट भएपश्चात सर्जक र लेखकद्वारा सामाजिक मुद्दा, मानवीय संवेदनामाथि लेखिएको भनेर बुझ्न उपयुुक्त हुन्छ । जसरी साहित्यका अन्य विधाको माध्यमबाट आफ्नो विशेषता, तौल र मूल्य कायम राख्दै विभिन्न सामाजिक विषयवस्तुमाथि लेखिन्छन्, उसरी नै गजल पनि यसको आधारभूत विशेषता कामय राख्दै सामाजिक मुद्दामाथि लेखिएको छ ।

नेपालमा गजल लेखनको इतिहास करिब डेढ सय वर्षको हाराहारीमा छ । विश्वमा गजल लेखनको सुरुवाती नै दरबारबाट गेयात्मक र शृङ्गारिक भावबाट भयो । नेपालमा पनि गजल सुरुवाती चरण योभन्दा फरक रूपबाट हुन सकेन । अझ गजल लेखनको सुरुवात जहानीय राणा शासनकालमा भएको थियो । राणाकालीण समयमा सत्तासँग सिंगौरी खेल्ने अवस्था र आँट कम नै देखिन्थ्यो । यसर्थ सुरुवाती गजल लेखन शृङ्गारिकतातर्फ नै विकसित हुँदै गयो । लगभग पचासको दशकपश्चात् मात्रै ज्ञानुवाकर पौडेल, बूँद राणा, मनु ब्राजाकी, ललिजन रावल, रवि प्राञ्जलजस्ता गजलकारले सुस्ताएको गजलको पुनर्जागरण गरे । तत्पश्चात गजल शृङ्गारिक मात्रै नभएर अन्य विषयहरूमाथि पनि लेखिन थाल्यो ।

मैले यहाँ के प्रसंग जोड्न खोजिरहेको छु भने, गजलको उत्पति गेयात्मक र शृङ्गारिक हुनुपर्छ भन्ने मान्यताबाट फराकिलो हुँदै यसका विशिष्ट संरचनागत कुराहरू जस्तै शेर, काफिया, मतला, मकतालाई ध्यानमा राखेर अहिले विभिन्न विषयवस्तु तथा मुद्दामाथि गजल लेखिइरहेको छ । गजल छन्द वा बहरमा पनि लेखिन्छ र स्वतन्त्र पनि लेखिन्छ । फराकिलो लेखन संस्कृतिले गजलको संरचनात्मक पक्षलाई मात्रै होइन गजलको विचार पक्षलाई पनि उतिकै मजबुत बनाउदै लगिरहेको छ । गजलको आधारभूत पक्ष मिजाज (स्वभाव वा प्रकृति) प्रेमिल नै भए पनि गजलले आफ्नो स्वभाव विस्तार गरेर जीवन जगतका हरेक विषयमा विचरण गरिसकेको छ।

गजलको सैद्धान्तिक धरातलबाट हेर्ने हो भने पनि गजलको वैचारिक सिद्धान्त अन्तरगत विभिन्न पक्षहरू छन् । तखय्युल भन्नाले गजलकारले विचरण गरेको विषयवस्तु, दर्शन वा सोचाइको (सम्भावित) आयामलाई बुझिन्छ । गजलकै भाषामा यसका विषयवस्तु शहरे आशोब, जम, तजाहुल आरिफाना, हजल, रेखती, नाजुल खयाली आदी हुन् । कुनै समयको विसङ्गत अवस्थालाई छर्लङ्ग हुनेगरी बिम्ब, प्रतिकको प्रयोगद्वारा अभिव्यक्त गर्नु शहरे आशोब हो । यसले तत्कालीन समयको ऐतिहासिक परिस्थितिको ऐना देखाउने गर्छ । त्यसैगरि शायरहरू प्रायशः आफू रहेको समाज, जमाना, परिवेशप्रति असन्तुष्ट हुनु, दोष देखाउने र आलोचनात्मक हुनु, संस्कृतिको विरोध गर्नु जम  हो । दर्द, पीडा, आँसु, वियोग साथै विप्रलम्भ शृङ्गारका प्रशङ्गहरू कोमल र शालीन तरिकाले उठान गर्नु नाजुक खयाली हो ।

यसर्थ यो अभियान जोडिएका गजल प्रायशः माथि उल्लेख गरेअनुसार शहरे आशोब, नाजुक खयाली, जम अनुसार लेखिएका छन् । साथै अभियानका लागि बहरमा लेखिएका गजलहरू पनि उति छैनन् । त्यसैले क्वारेन्टिन गजललाई नै लिएर थप विवाद र बहस हुने अवस्था र आवश्यकता म देख्दिनँ ।

३. गजल लेखनमा अहिले एउटा ठूलो भीड छ । तीमध्ये धेरै गजलकार हुँ भन्ने भ्रममा पनि बाँच्नुभएको होला । यो अभियानले त त्यो भीडलाई अझै मौलाउन दिएको जस्तो देखियो नि ! यसले गजलको गुणवत्तामा कस्तो प्रभाव पार्ला ?

पछिल्लो केही दशकमा गजल लेखनमा ठुलो जमात छ । यहीँ जमातबाट आएका र स्थापित भएका गजलकारहरू पनि छन्, जसले नेपाली गजललाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका छन् । जमातमध्ये गजलकार हुँ भन्ने भ्रमभन्दा पनि गजलप्रतिको रहर, माया, मोह हो जस्तो लाग्छ मलाई । कसैमा भ्रम पनि हुनचाहिँ सक्ला, तर भ्रम केही समयको लागि मात्रै हुन्छ ।

मेरो विचारमा यो अभियानले भ्रमको भिडलाई मौलाउन दिएको जस्तो लाग्दैन । हाम्रो यो अभियानमा मुद्दा प्राथमिक हो । त्यसलाई प्रस्तुति दिने माध्यमको रुपमा गजललाई लिइएको छ । गजलको भौतिक पक्ष र वैचारिक पक्ष दुवै समेटेपछि मात्रै सशक्त हुने भएकाले गजल लेखन सरल र सहज छैन । अतः अहिलेको परिस्थितिलाई उजागर गर्दै गजल लेख्नु एक चुनौतीको विषय पनि हो । कतिपय अवस्थामा विषयवस्तु बुझिन्छ, तर संरचना मिलाउन सकिन्न, कहिले संरचना मिल्छ तर भाव, विचार कमजोर भएर आउँछ । तर यो अभियानमा आएका गजलहरूलाई हेर्दा दुवै सैद्धान्तिक पक्षको दृष्टिकोणबाट सबल नै देखिन्छ । छन्दमा लेखिएका गजलहरूका हकमा भने तुलनात्मक रूपमा थप विशिष्ट संरचना (मात्रा) मा ध्यान पुर्याउनु पर्छ । मैले चाहिँ यो अभियानको लागि भनेर लेखिएको छन्द, बहर गजल भेटेको छैन ।

गजलको बारेमा सैद्धान्तिक ज्ञान हुनु र गजल लेख्नु दुई अलग विषय हो । गजल सिद्धान्तमा दखल रहेर पनि कमजोर सिर्जना हुन सक्छ । निकै अब्बल सिर्जनाका पनि सिद्धान्ततः केही दोषहरू देखिन सक्छन् । त्यसैले नेपाली गजलको गुणस्तर यो अभियानसँग जोडिनुले र नजोडिनुले कुनै असर वा प्रभाव पारेको देख्दिनँ र यसले निर्धारण पनि गर्ने होइन ।

४. अहिलेसम्मका ठूलो परिवर्तन तथा आन्दोलनमा कविताले जुन किसिमको हस्तक्षेप राख्दै आएको थियो, त्यो गजलले राख्न सकेको थिएन । त्यसका प्रविधिक तथा संरचनागत कारण विविध थिए होलान् । अब यो अभियानले नेपाली गजलको क्षेत्रमा नयाँ आयाम थप्न सक्छ ? सक्छ भने त्यो कस्तो हुनेछ ?

दार्शनिक र सैद्धान्तिक दृष्टिकोणबाट विश्वमा पन्ध्रौं शताब्दीदेखि नै विभिन्न काव्यिक आन्दोलन भएको इतिहास देखिन्छ । बीसौं शताब्दीमा भारतमा Hungry Generation, चीनमा Misty Poets तथा अमेरिकामा वर्ग चेतनाको लागि Proletarian Poetry आन्दोलनहरू चलेका थिए। विश्वमा शान्ति, न्याय र समानताका लागि काव्यिक आन्दोलन र अभियान चलाइएका छन् । नेपालमा पनि सडक कविता क्रान्ति अभियान, राल्फाली आन्दोलन, सिर्जनशील अराजकता जस्ता आन्दोलनहरू भएका छन् । विश्वका ठूलाठूला आन्दोलनहरूमा कवितामार्फत समर्थन र विरोध भएको पाइन्छ । तथापि यस्ता विभिन्न आन्दोलन र अभियानहरूमा कविताको हस्तक्षेपकारी भूमिका रहेको भन्दा पनि बलियो उपस्थित रहेको भन्दा उपयुक्त हुन्छ होला ।

क्वारेन्टिन गजल अभियानले नेपाली गजल साथै विश्वको गजल इतिहासमा नयाँ आयाम थप्ने प्रयास गरेको छ । विभिन्न विषयवस्तुमाथि गजल लेखिएता पनि विभेदविरुद्ध केही कार्यक्रमहरूमा छिटफुट गजल वाचन गरियो/भए तर गजलले ठूला स्थापित आन्दोलन र अभियानको रूपमा भने उपस्थिति जनाएको थिएन । त्यसैले यो अभियानलाई गजल इतिहासमा दर्ज गर्नको लागि, कोशेढुङ्गा सावित गर्नको लागि दस्तावेजीकरण गर्नु अति आवश्यक र महत्वपूर्ण कुरा हो ।

नेपालमा गजल लेखनको समयक्रमलाई आधार मान्दा, गजलको मध्ययुगसम्म आइपुग्दा शृङ्गारिक भावबाहेक पनि जीवन जगतका सम्पूर्ण विषयवस्तु गजल लेखनले समेटिसकेको छ । यसले समाजका विकृति( विसङ्गती, परिस्थिति( परिवेशको आलोचना, पीडा, वियोग आदि विषयमाथि गजल लेखिएका छन्। यसले गजलको दायरालाई फराकिलो बनाएको छ । यो गजल अभियान शासकले नागरिकप्रति देखाएको उदासिनता, गैरजिम्मेवारीपन, अनुत्तरदायीपन र अकर्मण्यताको विरुद्धमा, सामाजिक विभेद, बेथितिजस्ता विषयवस्तुमाथि सामूहिक आवाज उठान गर्ने एक सशक्त माध्यम बन्न सक्छ भन्ने उदाहरण बनेको छ । यसले नागरिकको जिउधनको सुरक्षा गर्न, मानव अधिकार सुनिश्चित गर्न, सामाजिक, सांस्कृतिक विभेद अन्त्य गर्दै सामाजिक न्यायको सिद्धान्त पालना गर्न नैतिक दबाब सिर्जना गर्छ ।

Loading...