नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सांस्कृतिक लेखनका धरोहर चिनुवा अचेबे

आमा, कोलाको रूखको हाँगा र लेखन चेत

चिनुवा अचेबेका पिता पेशाले एक शिक्षक थिए । आफ्नै घरमा ठेलीका ठेली किताबहरू थुपारेर आफ्नो सुसम्पन्न पुस्तकालयमा बसेर घण्टौँ किताब पढिरहन्थे। आमाजस्तै उनी कम बोल्थे तर उनी चाहन्थे, उनलाई मनपर्ने सारा किताब उनका नानीहरूले पढून् ।
बाइबलका पदहरू पढ़ेर सुनाउँथे उनी ।

आइतबार गाउँका सारा भुराभुरीलाई भेला पारेर दया र न्यायको पाठ सिकाउँथे उनका पिता। कठिन अङ्ग्रेजीलाई इग्बो भाषामा अनुवाद गरी बुझाउँथे उनी। गरिबका नानीहरूलाई आफ्नै खर्चमा शिक्षा दिलाउँथे। शिक्षाले मान्छेमा समझ र चेतना जगाउँछ भन्ने कुरामा उनका पिता विश्वस्त थिए।

सान्दर्भिक पोस्ट

पोस्टरकविता किन ?

पोस्टरकविता किन ?

आऊ हामी, आगो फुल्ने रुख बनौं!

रवि रोदन

एउटा घटनाले पछि अचेबेलाई लेखनमा ज्यादै प्रेरित गरेको कुरा आफ्नो आत्मकथामा बताएका छन्।

आमा गम्भीर, शालिन र मौन प्रवृत्तिकी थिइन्। देख्दा सबै सहेर चुपचाप बस्ने जस्तो देखिन्थ्यो उनलाई । गम्भीर र विचारशील थिइन् । चुपचाप बस्ने आमाको वास्तविक रूप र त्यसपछिको सामर्थ्यलाई उनले गाउँमा घटेको एउटा घटनाबाट देखे र बुझे ।

ईसाई भए पनि गाउँमा यिनका आफन्तहरू इग्बो परम्परालाई मान्ने गर्थे । समाजिक परम्पराले सृजना गरेको जटिल कुराको सामना गरिने स्थिति भइरहन्थ्यो।

एक प्रहर उनकी आमाले आँगनमा भएको कोलाको रूखको हाँगा तोडेर त्यसबाट पाकेको केही फल टिपिन्। यो तोड़दै गरेको फल छिमेकमा बस्ने एउटा पुरूषले देख्यो। रूखको फल तोड्नु सहज मानिए र सुनिए पनि इग्बो स्त्रीले त्यसरी फल टिप्नु परम्परागत तरिकाले घोर अपराध थियो। कोलाको फल रूखको हाँगामा आफैँ पाकेर भुइँमा झरेपछि त्यसलाई पुरूषले मात्र उठाउने चलन थियो र स्त्रीलाई टिप्न बटुल्न पाबन्दी थियो।

इग्बो समाजमा कोलालाई पवित्र फल मानिन्थ्यो, जो त्यस समयको इग्बो परम्परा, जीवन शैली र संस्कृतिसित जोड़िएको थियो। अचेबेकी आमाले यस परम्पराविरूद्ध बडो निडरताका साथ कोलाको रूखको हाँगाहरूबाट फल तोडेकी थिइन् । यो कुरा जब गाउँका मुखियाको कानमा पुग्यो, यस घटनाले गाउँमा भाँड़भैलो नै मच्चियो । परम्परा र धर्मको अपमान हो भन्ने हल्लाखल्ला भयो। गाउँका सबै पुरूष भेला भए यस दुस्साहसका निम्ति सजाय तोकिने तय गरियो । लामो बहस चल्यो तर चिनुवा अचेबेकी आमा निडरतासाथ आफ्नो कुरामा अडिग रहिन् ।

उनले भनिन्, “एउटा मान्छे भएको नाताले म कोलाको फल रूखबाट सोझै तोड़ने मलाई पुरा अधिकार छ। फेरि यो फल अर्काको बारीको पनि त होइन ! मेरै आँगनमा फलेको फल टिप्न मैले किन नपाउनु ?”

आमाको तर्क र विचार सुनेर गाउँभरिका पुरूषहरूले हारे र शिर निहुराएर बाटो लागे । एउटी पटक्कै नबोल्ने स्त्रीले वास्तवमा समाजिक कुरीतिविरूद्ध आफ्नो मौनता तोड़ेर एक य़ोद्धा जस्तो आफ्नो निर्णयमा अडिग भएर त्यस समय नारी हकसित जोडिएको लडाईं जितेकी थिइन्।

आफ्नै आँखाले यस घटनालाई देखेका चिनुवा अचेबेमा त्यसपछि ठूलो परिवर्तन ल्यायो कि एउटा अडिग विचार र सत्य कुराको पैरवीले सामाजिक विसंगतिविरूद्ध कसरी लड्न सकिँदोरहछ !

जब जब अचेबेले केही लेख्न बसे, उनले साहित्यमा सत्य र न्यायप्रति आफ्नो आमाको दृढता पस्किए।

उपनिवेशवादी समयको विरोधाभासिक ऐना र उपन्यास लेखन
चिनुवा अचेबेका दुई किताबहरूको शीर्षक ‘थिंग्स फल अपार्ट’ र ‘नो लंगर एट इज’ आइरिस र अमेरिकी कविहरूको कविताका पंक्तिहरूबाट नै प्रभावित भएर यिनले राखेका थिए । यसो गर्नु एक प्रकारले अरूको ध्यान आफूतिर खिँच्नु औं आफू अङ्ग्रेजीको विद्वान भनी देखाउनु थियो भनी स्विकार्छन् उनी।

ती कविहरूको कविताबाट भाषाप्रतिको माया राम्रो लाग्थ्यो उनलाई। उनले अङ्ग्रेजीमा जनरल डिग्री लिएका थिए। साहित्यमा आफ्नो अभिरूचि देखाउनुअघि चिनुवा इबादन विश्वविद्यालयमा चिकित्साशास्त्रको अध्ययन गर्दै थिए। क्याम्ब्रिज विश्वविद्यालयबाट यिनलाई स्नातक गर्ने अनुमति दिइएन। इबादन विश्वविद्यालयमा अचेबेले जायस कैटीको एउटा नश्लवादी कथाकृतिको विरोध जनाउँदै त्यसविरुद्ध गुनासो दर्ता गरेका थिए। यस घटनामा एक अङ्ग्रेज प्राध्यापक मि. जोन्सनले मुर्मुरिँदै अचेबेलाई भनेका थिए, “तिमी आफैँ आफ्नो उपन्यास किन लेख्दैनौं ?”

पछि गएर अचेबेले त्यही गरे। यसअघि लामो समयसम्म अचेबेले बुझेका कुरा थियो गोराहरू सुन्दर, सभ्य, शक्तिशाली र बुद्धिमान हुन्छन् अनि अफ्रिकीहरू असभ्य, मुर्ख, कुरूप छन् । त्यसो हो भने हाम्रो आफ्नै अस्तित्वको कुनै कथा छैन त ? आफ्नो अस्तित्वमाथिको यस्तो खतरा देखेपछि उनले आफ्ना लेखनीमार्फत् तिनै कुरा पस्कन थाले।

एउटा गज्जबको भनाइ छ, “जबसम्म सिंहको पक्षबाट इतिहास लेख्ने कोही हुँदैनन्, तबसम्म शिकारको इतिहासमा शिकारीकै वर्चस्व रहन्छ।”

अचेबे बाँचेको समय यस्तै थियो जहाँ अश्वेत (काला)हरूलाई असभ्य, जंगलीहरूलाई श्वेत (गोरा) हरूको शान्ति खलबलाउनेहरू भनिन्थ्यो।

यस्ता घटनाहरूले अचेबेलाई ब्युँझायो र उनलाई लाग्यो उनी लेखक बन्नुपर्छ। यी कुराको बोध अचेबेलाई निकै पछिबाट भयो। यो उपनिवेशवादी समयको विरोधभासको ऐना थियो। अचेबे मान्थे कि जोसेफ कानराडले जस्तो अन्य कुनै लेखकले पनि पश्चिमी दृष्टिकोणलाई अपनाएनन्। सन् 1975 मा आफूले लेखेको एउटा निबन्ध ‘एन इमेज अफ अफ्रिका’मा अचेबेले भनेका छन् ‘हार्ट अफ डार्कनेस’ उपन्यासमा अफ्रिकाको छविलाई युरोपको ठीक विपरीत असभ्य भनेर अपमानजनक रूपमा देखाइएको छ। ‘अफ्रिकाज टारनिश्ड नेम’ शीर्षकमा निबन्ध लेखेर अचेबेले त्यसको प्रतिदवाद गरे।

दासप्रथालाई कायम राख्दै र औपनिवेशीकरणलाई जायज ठहराउँदै कुनै जाति, संस्कृति र परम्परालाई अपमानित गर्न गोराहरूले कुनै कसर छोड़ेनन्। अफ्रिकालाई लिएर बनाएको हजार वर्ष पुराना भयानक र अपमानजनक भ्रमात्मकताले एउटा अलग रूप लिई सकेको थियो। सिनेमादेखि पत्रिकारिता, मानवशास्त्र र मिसनरीसम्मले यी मनगड़न्ते भ्रमलाई पालेर अफ्रिकाको तस्बिर अर्कै बनाइदिएका थिए। 2000 ईस्वीमा प्रकाशित इक्नोमिस्ट पत्रिकाले आफ्नो मुख पृष्ठमा अफ्रिकालाई एउटा निराशजनक महादेश भनेर लेख्यो।

अफ्रिकी हुनुको अर्थ कुनै पोस्टरमा दुर्दशाग्रस्त कंगाल बच्चाहरूको तस्बिरजस्तो देखिनु थियो। त्यसैले असभ्य अश्वेतहरूको जुन मानक पश्चिमाले बनाएका छन्, त्यसविरूद्ध उभिन उनी लेखक नै बन्नुपर्छ भन्ने अचेबेले ठाने। उनलाई बोध भयो, अब उनलाई इतिहासकार बन्नु छ र यो एक्लै सम्भव छैन तर सामूहिक रूपमा यसको प्रतिवाद गरिनु आवश्यक छ। शिकारको इतिहासमा सिंहको पीड़ा र साहसलाई झल्काउन उनले जरूरी सम्झे।

जातीय अस्मितामाथि सचेत भएर लेख्ने लेखकहरू कम नै छन्। धेरै नामी लेखकहरूले पनि बढ़ी पश्चिमा साहित्यको प्रभाव र प्रयोगमा आफ्नो लेखनको बाटो बनाउँदै गए। चिनुवा आफ्नो जाति र संस्कृतिलाई लिएर चाँडै सचेत भए। यिनलाई थाहा भयो, आफ्ना जातिहरूलाई सचेत बनाउन लेख्नु आवश्यक छ।

चिनुवा अचेबे

अचेबेको उपन्यास ‘थिंग्स फल अपार्ट’को पाण्डुलिपिको पनि एउटा लामै कथा छ। यो लगभग हराइसकेको थियो। 1957 तिर स्कलरसिप पाएर अचेबे लन्डन गएको बेला यिनले आफूसित यही उपन्यासको पहिलो ड्राफ्ट लिएर गएका थिए। त्यहाँ पुगेर उनले त्यो ड्राफ्ट आफ्ना नाइजेरियन मित्रले भनेअनुसार बीबीसीका इन्सट्रक्टर औ उपन्यासकार गिलबर्ट फेल्फ्सलाई दिए। पाण्डुलिपि हात पारेपछि गिलबर्टले पढ्न कुनै उत्सुकता देखाएनन्। निकैपछि मात्र उनले त्यो ड्राफ्ट हेरेपछि गिलबर्ट प्रभावित बने र उनलाई खोज्दै आइपुगे।

यसपछि गिलबर्टले प्रकाशनको निम्ति उनले जानेको प्रकाशकलाई दिने कुरा बताए तर अचेबे सो उपन्यासलाई अझ सुधार गर्न चाहन्थे। उनलाई अझै पनि लागिरहेको थियो- उपन्यासको फर्म ठीक छैन। अझै त्यसमा तीन परिवारको गाथा समेट्न जरूरी छ। उपन्यासमा केही रोचक र फरक कलेवर दिन सकिने उनलाई लागिरहेको थियो।

यसपछि उनी नाइजेरिया फर्किए। स्वदेश फिर्तीका बेला उनले मज्जाले उपन्यासलाई सुधार गरे। ड्राफ्ट सुधारका कामहरू गरिसकेपछि उनले हस्तलिखित ड्राफ्टलाई टाइपिङ गर्न लगाए र त्यो बेलाको ३२ पाउन्ड लाग्यो।

एक महिना बितेपछि उनले प्रकाशकलाई चिट्ठी लेखे तर जवाफ आएन। आफ्नो उपन्यासको ड्राफ्टलाई लिएर अचेबे सुर्ताएर दिनदिनै कमजोर र दुब्लो हुँदै गए। भाग्यवश त्यही बेला बिबिसीका नाइजेरियास्थित हाकिम (बोस) बिदामा लन्डन जाने भए। उनले प्रकाशक हिनम्यानसँग कुराकानी गरे।

हिनमैनले यसअघि कुनै अफ्रिकी उपन्यास देखेका थिएनन्। छाप्नु कि नछाप्नु भन्ने दोधारमा परे उनी। उनले यो ड्राफ्टलाई लन्डन स्कुल अफ इक्नोमिक्सका एक जना प्राध्यापकलाई पठाएर प्रकाशनका लागि उचित भए नभएकोबारे सल्लाह लिए। प्रकाशकका अनुसार ती प्राध्यापकले उपन्यासलाई लिएर सबैभन्दा छोटो टिप्पणी गरेका थिए- “विश्वयुद्धपछिको सर्वश्रेष्ठ उपन्यास।”

यसरी अफ्रिकी राइटर सिरिज अस्तित्वमा आयो। उपन्यासको शीर्षक विलियम बटलर यिट्सको कृति ‘द सेकेन्ड कमिङ’बाट टिपिएको थियो। त्यस कृतिमा कविताको पङ्क्ति ‘थिंग्स फल अपार्ट; द सेन्टर क्यान नट होल्ड’ निकै प्रचलित बनेको थियो। अचेबे आफ्ना कथाहरूलाई दुखान्त दृश्यबाट अन्त्य गर्थे। उनी भन्थे, ‘हाम्रा भावि पिँढ़ीलाई हाम्रै कथाहरूले बचाउने हो, कथाले हाम्रो बाटो बचाएर राख्ने हो, कथाबिना हामी अन्धो हुन्छौं ।’

सांस्कृतिक अंहकार र निरकुंशताबाट उत्पन्न अमानवीयताको आधुनिक त्रासदिलाई अचेबेले गहिरो रूपमा चिनेका थिए। उपनेशविरोधी अफ्रिकी साहित्य लेखेर संसारलाई अचेबेले अफ्रिकालाई चिनाए। त्यसैले त उनलाई अफ्रिकी साहित्यको जनक मानिन्छ।

अफ्रिकी संस्कृति र समाजमा औपनिवेशिकरणको विनासकारी प्रभावलाई देखाउन यिनले तीन कृतिहरू लेखे, ‘थिंग्स फल अपार्ट’ (1958), ‘नो लंगर एट इज’ (1960) र ‘ऐरो अफ गड’ (1964)।

‘थिंग्स फल अपार्ट’का मुख्य पात्र आकोनक्वो त्यस महादेशमा औपनिवेशिकरणको मारले त्यसबाट उब्जेका चुनौतीहरूको प्रतिनिधित्व गर्न जुर्मुरिन्छ। नाइजेरिया स्वतन्त्र हुनुअघि 1960 को दशकमा ‘नो लंगर एट इज’ लेखिन्छ। त्यस समय आकोनक्वोको नाति ब्रिटेनमा शिक्षा पूरा गरेर आइपुग्छ । ऊ सत्ता समर्थक छ। मुख्य पात्र औपनिवेशिक सिविल सेवामा एउटा उच्च पदमा तैनाथ छ । उसले त्यस जागिरबाट पाएको तनखा उसको परिवारको निम्ति कम भएको सोच्छ र ऊ घुस लिन थाल्छ र पक्राउ पर्छ। त्यसपछि उसले दण्ड पाउँछ। तेस्रो उपन्यास ‘ऐरो अफ गड’मा परम्परावादी एक इमान्दार पुरोहितको जीवनमाथि आधारित छ, जो औपनिवेशीकरणको सहयोगलाई इन्कार गर्छ। युरोपवासीको आक्रमणले अफ्रिकालाई उपनिवेश बन्नुको प्रतिरोध देखाउँछ यस उपन्यासले।

वैचारिक रूपले युरो-केन्द्रवादसित अलग हुनु थियो। पश्चिमको वर्चस्ववादी विचारको र राजनीतिको शिकार हुनु भाषा साहित्य र सांस्कृतिक कुराहरूमा दास बन्दै जानु, आर्थिक अवस्थामा पिछडिँदै आत्मनिर्भरताको बाटो जोखिम बनाउनु हो।

अचेबेले नाइजेरियाको निम्ति विशेष रूपले सत्ताको दुरूपयोगविरूद्ध संघर्ष गरी रहे। उनले औपनिवेशिकवादको शिकार भएकाहरू त्यसविरूद्ध उभिन र आफूमाथि गर्व गर्न सिकाए अनि आधुनिकतावादमाथि प्रश्न गर्न सिकाए। यो नै मुक्ति पाउने सबैभन्दा ठूलो मन्त्र साबित भयो। सन् 1958 मा प्रकाशित अचेबेको ‘थिंग्स फल अपार्ट’ अफ्रिकी साहित्यको इतिहासमा सबैभन्दा बढ़ी लोकप्रिय कृति साबित बन्यो। संसारभरि यो उपन्यास आठ मिलियन प्रति बिक्री भयो भने पचासभन्दा बढ़ी भाषाहरूमा यसको अनुवाद गरियो। अचेबेले अफ्रिकालाई लिएर पाश्चात्य देशमा लेखिएका साहित्यको जोडतोडले आलोचना गरे। जोसेफ कोनराडको ‘हार्ट अफ डार्कनेस’को य़िनले कड़ा आलोचना गरे। भाषा साहित्य र संस्कृतिमाथि उठेका प्रश्नहरू लिएर निरन्तर विचारोत्तेजक कथा, कविता र निबन्ध लेखिरहे।

अचेबे भन्छन्, लेखक लेखक मात्र होइन ऊ नागरिक पनि हो। राम्रा लेखक र साहित्य अस्तित्वमा तब आउँछन्, जब मानवताको हितमा भएर लेखिन्छ।

अचेबेको अन्तिम कथाकृति ‘एन्थिल्स अफ द सवाना’ (1987) हो । उनले अन्य कृतिमा ‘द मोनुमेन्टलएरो अफ गड’ (1964), ‘ए मेन अफ दि पिपल’ (1966) , ‘नो लंगर एट इज’ (1960) , ‘द मेजिस्ट्रियल होप्स एण्ड इपिडिमेंट्स’ (1988) , ‘द ट्राबल विथ नाइजेरियो’(1983), ‘द एजुकेशन आफ द ब्रिटिश प्रोटेक्टेड चाइल्ड’ (2009), ‘देयर वाज अ कन्ट्री’ (2012) लेखे।

यीमध्ये अचेवेले लेखेको कृति ‘थिंग्स फल अपार्ट’ले त नोबेल पुरस्कार नै पाउनु पर्ने हो तर दुःखलाग्दो कुरा उनले पाएनन्। सन् 2007 मा म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार भने पाए।

Loading...