नेपाली साहित्यको सम्पूर्ण पत्रिका

असमयमै अस्ताएका जीवन्त कवि जीवन आचार्य

जीवन आचार्यसँग चिनाजानी कहिले, कसरी, कोमार्फत् र कुन सन्दर्भमा भएको थियो भन्ने पनि अव सन्दर्भहीन भएको लाग्दैछ मलाई ।

जीवन आचार्यसँग चिनाजानी कहिले, कसरी, कोमार्फत् र कुन सन्दर्भमा भएको थियो भन्ने पनि अव सन्दर्भहीन भएको लाग्दैछ मलाई । कताकता धमिलो सम्झना आउँछ, टेवहालको गल्लीभित्रको उनको डेरा जहाँ जान एउटा होचो सुरुङ जस्तो पुरानो घरमुनिबाट जानु पर्थ्यो । त्यो डेरामा २०३६ सालकै आसपास अनेकपल्ट पुगिन्थ्यो । उनी कविता लेख्थे । कथा लेख्थे । र आफूले लेखेको रचना अरूले किनेर उसको नाउँमा छपाउन चाहने मान्छे भएको कुरा उनीसँग परिचय भएको सुरुतिरको बेला उनले गरेको पनि धुमिल याद आउँछ । उनले अलिअलि चित्रकारिता पनि सुरु गरेको सम्झन्छु ।

गोविन्द गिरी प्रेरणा

हो, उनको त्यही डेराबाट फर्केर आउने क्रममा एकदिन फणिन्द्र नेपाल र म सँगै भएको र फणिन्द्रले आयामेली त्रिमुर्तीले झैं ‘केही नयाँ गरौं’ तीन जना मिलेर भन्ने प्रस्ताव गरेको पनि हेक्का छ मलाई । तर म त्यसमा आकर्षित भइनं । पछि फणिन्द्रले तीर्थ श्रेष्ठ र विनय रावलको साथमा आफ्नो मनसुवा पूरा गरे तरलवादी आन्दालेन गरेर जुन पछि तरलवादबाट तरलतावाद भयो र छोटै समयको अन्तरालमा त्यो आन्दोलनले विश्राम लियो । सायद फणिन्द्रले मसँग जस्तै जीवनसँग पनि यही प्रस्ताव गरेका थिए कि ? उनी वास्तवमा एउटा नयाँ केही गरिहालौं भनेर अत्यन्त आतुरताका साथ सहयात्रीको खोजीमा थिए ।

जीवनले टेवहालको डेरामै छँदा साहित्यिक पत्रकारिता सुरु गरे । उनले “आस्था” नामक साहित्यिक पत्रिकाको सम्पादन प्रकाशन गरे । त्यस पत्रिकाको माध्यमबाट उनको पहुँच धेरै साहित्यकारहरूसँग भयो । उनी अलि कडा लेख्न मन पराउँथे । अलि निर्भिक हुन मन पराउँथे । आस्थामा त्यस्ता कडा कुराहरू प्रकाशित हुन्थे । तर आस्था पत्रिका केही अङ्कको प्रकाशनपछि बन्द भयो । आर्थिक सुकेनास नेपाली साहित्यिक पत्रकारिताको दीर्घरोगले आस्थालाई पछ्यायो ।

पछि उनी सम्पादक र रामेश्वर डंगोल प्रकाशक भएर एउटा नयाँ साहित्यिक पत्रिकाको प्रकाशन आरम्भ गरे । त्यो पत्रिकाको नाम “आकुञ्चन” थियो। यो पत्रिका जम्मा ३ अङ्कमात्र प्रकाशित भयो ।

हामीले पनि एउटा साहित्यिक संस्थाको परिकल्पना गर्यौं ।

२०३६ सालको आन्दोलनपछि नेपाली समाजमा धेरै तरुण साहित्यकारहरू जुर्मुराएका थिए । नयाँ देखा परेका थिए । सुसुप्तहरू ब्युँतेका थिए । ब्युँतेकाहरू झस्केर आँखा टाठो पार्न थालेका थिए । हामीले पनि एउटा साहित्यिक संस्थाको परिकल्पना गर्यौं । त्यो संस्थामा अध्यक्ष कोही थिएन । हामीले विभिन्न योजना बनायौं र ज-जस्ले त्यो योजनाको जिम्मा लिएको छ, ऊ त्यसको संयोजक, प्रमुख, अध्यक्ष जे भने पनि हुने समझ्दारी थियो । त्यसमा जीवन आचार्य थिए, अवि राई थिए, दिनेश सत्याल थिए (अहिले सौरभ नामले चिनिने), म थिएँ, पछि दिनेश अधिकारी पनि सामेल भएका थिए । त्यो संस्थाको नाम युसास अर्थात् युवा साहित्यिक समाज थियो । हामीले रत्नपार्कको खुल्ला चउरमा संस्थाको बैठक गर्थ्यौं, मैले सेतो पानाको नोट वुक बनाएर माइन्युट र उपस्थितिको अभिलेख पनि राख्ने गरेको थिएँ युसासको ।

त्यो संस्थाबाट केही काम गर्ने हामीले योजना बनायौं:

१. जीवन आचार्यको कला प्रदर्शनी गर्ने । त्यसको संयोजक दिनेश सत्याल रहने ।

२. युसासको मुखपत्रको रूपमा गोजीका पत्रिका निकाल्ने । त्यसको संयोजक अवि राई रहने ।

३. देशव्यापी मुक्तक प्रदर्शनी गर्ने । त्यसको संयोजक गोविन्द गिरी प्रेरणा रहने ।

यसै बीच अचानक दिनेश सत्यालले दिनेश अधिकारीको पहिलो कविता सङ्ग्रह प्रकाशनको प्रस्ताव ल्याए । सबैले सहमति जनायौं र दिनेश अधिकारीको पहिलो कविता सङ्ग्रह “अन्तरका छिटाहरू” युसास प्रकाशनबाट भयो । विमोचन पनि भयो पद्मकन्या क्याम्पसमा ।

अनि जीवन आचार्यको पहिलो कला प्रदर्शनी नेपाल भारत पुस्तकालयको सभाकक्षमा सम्पन्न गरियो । यो प्रदर्शनी एक हप्तासम्म चलेको थियो ।

अवि राईले प्रजिअ कार्यालयमा युसासको मुखपत्र “पूर्वार्ध” दर्ता गराए र त्यो नेपाली साहित्यको पहिलो गोजीका पत्रिका बान्कीको साइजमा प्रकाशित भयो । हामी युसासका सबैको रचना र अन्यको पनि प्रकाशन गर्ने हाम्रो नीति थियो र युसासबाट जम्मा प्रकाशित दुई अङ्क पूर्वार्ध गोजीमा जीवन आचार्यको रचना पनि प्रकाशित थिए ।

युसासबाट यति काम भएपछि संलग्न हामी बीच विग्रहको अवस्था आयो र युसास अघोषित रूपमा बन्द भयो ।

जीवन आचार्यले मदर टेरेसासँग भेट्दा आफू पत्रकारसहित कलाकार पनि भएको बताएका रहेछन् र आफ्नो कला प्रदर्शनीको उद्घाटन गर्न काठमाडौं आउन निम्तो गर्न पनि भ्याएछन् ।

जीवन एकपल्ट कुन्नि के सिलसिलामा हो कलकत्ता पुगेछन् । उनी आस्था पत्रिकाका सम्पादक त थिए नै, कुनै अखबारमा पनि स्तम्भ लेख्थे कि, तर जे भए पनि पत्रकारको पहिचानका कारण कलकत्तामा उनले नोवेल शान्ति पुरस्कार विजेता मदर टेरेसासँग भेट गर्ने अवसर पाएछन् । जीवन आचार्यले मदर टेरेसासँग भेट्दा आफू पत्रकारसहित कलाकार पनि भएको बताएका रहेछन् र आफ्नो कला प्रदर्शनीको उद्घाटन गर्न काठमाडौं आउन निम्तो गर्न पनि भ्याएछन् ।

उनी नेपाल आउने कुरा पनि समाचारमा पढिएको थियो, धरानमा गएको विनासकारी भूकम्पका पीडितहरूलाई राहत वितरण गर्न । तर पञ्चायतको जगजगीको बेला क्रिश्चियन धर्मावलम्वी मदर टेरेसालाई ल्याए क्रिश्चियन धर्मको प्रचार हुन्छ भनेर उनलाई नेपालमा आएर राहत वितरण गर्न तत्कालीन नेपाल सरकारले अनुमति दिएन । उनी आइनन् ।

जीवनले त्यतिखेर नेपाली साहित्यकारका विभिन्न कृतिहरूलाई थिम बनाएर सो अनुसारका कला सिर्जना गरेका थिए । साहित्यिक कृतिहरूमा आधारित कला सिर्जना भएकाले साहित्यकारहरूमा त्यसबारे चासो हुनु स्वाभाविक नै थियो । अझ जजस्को कृतिमाथि कला सिर्जना गरियो, तिनीहरूले झन् वढी चासो राख्नु अस्वाभाविक थिएन । तर उनको कला प्रदर्शनीको उद्घाटन गर्न मदर टेरेसा आउने हल्ला भने मत्थर हुँदै गएको थियो । कतिले ठट्टा पनि गर्दथे, मदर टेरेसा नआए के भो त फादर टेरेसाले गर्लान् नि ।

मैले जीवनलाई जवाफ दिनुस् भन्नुपर्ने थियो, तर मलाई थाहा भएको कुरा हुनाले मैले जवाफ दिएँ । कुरा यहीं बिग्रियो ।

वास्तवमा त्यो ठट्टा चरितार्थ भयो । उनको कला प्रदर्शनी त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. महेन्द्रप्रसादबाट हुने भयो । स्थान उही नेपाल भारत साँस्कृतिक केन्द्रको पुस्तकालय थियो । डा. महेन्द्रप्रसाद कला प्रदर्शनीको उद्घाटनका लागि आए । म त्रिवि केन्द्रिय कार्यालयमा काम गर्ने कर्मचारी थिएँ । उनलाई प्रदर्शनीस्थलमा सो बताएपछि उनले मेरो हात समाते र प्रदर्शन गरिएका चित्रहरूबारे सोधे । मैले जानेको बताइदिएँ । जीवनचाहिँ पछिपछि थिए । कार्यक्रम सकिएपछि डा. महेन्द्रप्रसाद फर्किए अनि त जीवन आगो भएर ममाथि खनिए । डा. महेन्द्रप्रसादले मेरो हात समातेर उनको कलाको बारेमा मैले बताएकोमा उनी रिसले चूर भएका रहेछन् । वास्तवमा मेरो जीवनलाई उपेक्षा गर्ने मनशाय थिएन । न म कलाकारिताको क्षेत्रको थिएँ । तर उनले कुनकुन साहित्यकारको कुन कृतिमा आधारित चित्रकला हो त्यो थाहा भएकोले भन्दिएँ । यो वास्तवमा जीवनलाई सोधिनुपथ्र्यो र जवाफ उनैले दिनुपथ्र्यो । तर उपकुलपतिले मलाई सोधे । मैले जीवनलाई जवाफ दिनुस् भन्नुपर्ने थियो, तर मलाई थाहा भएको कुरा हुनाले मैले जवाफ दिएँ । कुरा यहीं बिग्रियो । उनी साह्रै रिसाए मात्र होइनन् । मलाई तथानाम नै गाली गरे । यो नसोचेको कुरा भएको थियो । तर उनको रिस थामिएन र म प्रदर्शनीस्थलबाट घरतिर हिंडें । त्यसपछि त्यो प्रदर्शनीमा दोहार्याएर पाइला टेक्ने मेरो हिम्मत भएन । ज-जस्को कृतिमाथि उनले चित्र बनाएका थिए, सक्नेले, मन हुनेले उनका कृति किनेछन् । तर सुतेको समुद्र शीर्षकको मेरो कथा र सोही नामको कथा सङ्ग्रहमा आधारित चित्रचाहिँ उनले प्रदर्शनी उद्घाटन भएको साँझ प्रदर्शनीस्थलबाट हटाएछन् । त्यसपछि हामी बीच पानी बाराबार भयो । बोलचाल बन्द भयो । आवतजावत बन्द भयो । मित्रताको तार चुँडिएर हामी नदीको दुई किनारा भयौं ।

राजेन्द्र शलभसँग साइनो जोडिदिने काम “दूवो’’ गोजीकाले गरेको थियो । उनले दूवोको सम्पादक बनाइहाले । छिटै हामी नजिक भयौं । तिमीबाट तँसम्मको मीठो मित्रताको त्यान्द्रोमा हामी बाँधियौं । दूवोका विभिन्न अङ्कहरू हामीले विशेषाङ्कको रूपमा निकाल्यौं । भलै ती अङ्कहरू, विशेषाङ्कहरू निकाल्न भारतीय पाक्षिक सारिका पत्रिकाले प्रेरित गरेको किन नहोस् । एक दिन मेरो कालिमाटीको डेरामा यिनै शलभले जीवन आचार्यलाई डोर्याएर ल्याए र जीवन र म बीच पुनः मित्रताको साइनो अगाडि बढाइदिए । मैले सिलावरको सानो डेक्चीमा कालो चिया बनाएँ, अनि हामीले त्यसलाई चुस्की लगाउँदै मीठा मीठा कुरा गरेर मित्रताको नयाँ अध्याय सुरु गर्यौं ।

यो गोष्ठीलाई चीरकालसम्म सम्झना गराउन आज पढेका कविताहरू संकलन गर्नोस् र किताब छाप्नोस् । म मेरो तर्फबाट ५०० दिन्छु, बाँकी तपाईंहरू जुटाउनुहोस् ।

एक दिन हामी तीनजनाले सल्लाह गर्यौं, एउटा साहित्यिक संस्था किन नखोल्ने भनेर । संस्थाको नाम गोष्ठी राख्ने निधो भयो, एक शब्दको । शलभको भनाई थियो, मात्र शब्द लेख्ने अरू क्यै नलेख्ने । म चाहन्थें, गोष्ठी, काठमाडौं, नेपाल । शलभले ढिपी गरेर मानेनन् र अन्तमा हामी गोष्ठी, नेपाल राख्न सहमत भयौं र विभिन्न कार्यक्रमहरू गर्यौं । यसबीच जीवन आचार्यको केदारमान व्यथितसँग राम्रो हिमचिम बढेको थियो । राम्रो भन्दा पनि अति प्रिय सम्बन्ध भन्नु पर्ला । केदारमान व्यथितले उनलाई पुत्रवत् नै भन्दथे । अनि जीवन आचार्यकै पहलमा एक साँझ केदारमान व्यथितको निवासमा एउटा कविता वाचनको कार्यक्रम गर्ने तय भयो । यो जीवन आचार्यकै कारणले सम्भव भएको थियो । त्यसो त लहडी कवि केदारमान व्यथित बेलाबेलामा खानपानसहित कवि गोष्ठीहरू गरिरहन्थे । तर उनले बोलाउने कविहरू हामीभन्दा अघिल्ला पुस्ताका र उनका प्रियजनहरू नै हुन्थे । हामीले त्यो कार्यक्रमको नाम काव्य सन्ध्या राखेका थियौं । सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । जोडदार कविताहरू वाचन भए । त्यही कार्यक्रममा केदारमान व्यथितले आफ्नो लहडी स्वभाव देखाइहाले, “लौ तपाईंहरूले यति राम्रो कवि गोष्ठीको आयोजना गर्नुभयो । तपाईंहरू सरस्वतीका वरदपुत्रहरू धन्य हुनुहुन्छ । अब यो गोष्ठीलाई चीरकालसम्म सम्झना गराउन आज पढेका कविताहरू संकलन गर्नोस् र किताब छाप्नोस् । म मेरो तर्फबाट ५०० दिन्छु, बाँकी तपाईंहरू जुटाउनुहोस् ।”

सबैले ताली बजायौं । तर जीवनले आफ्ना जुत्ताका खुर पूरै खियाउन्जेल केदारमान व्यथितको घरको चक्कर लाए, तर व्यथितले दिन्छु भनेको ५०० दिएनन् र बरु शर्मा प्रेस अर्थात् राजेन्द्र शलभका पिताले योगदान पुर्याए र काव्य सन्ध्या निस्कियो ।

जीवन आचार्यको पहिलो कविता सङ्ग्रह डेभिड नामका अमेरिकनले प्रकाशन गरिदिएका थिए र त्यसको विमोचन गोष्ठीका प्रमुख अतिथि सूर्यबहादुर थापा थिए । ती डेभिड इन्द्रेनी सोया मिल्क कम्पनीका संस्थापक थिए, जुन नेपालका पत्रकारहरूले र हावापानीले मिलिजुली फ्लप गराइदिएका थिए ।

प्रधानमन्त्रीले म हेर्छु भने, तर केही गरेनन् । उनको जागिर गएको गयै भयो ।

जीवन आचार्य र इश्वरवल्लभ एकैसाथ एकपल्ट राष्ट्रिय योजना आयोगमा जागिरे भएका थिए । अनि लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएपछि दुवैले एकसाथ जागिर गुमाएका थिए । संयोगवश त्यसबखत नेपाली साहित्यमा निकै धेरै गतिविधि गरेर चर्चामा रहेको सिसास अर्थात् सिर्जनशील साहित्य समाजले लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएकोमा साहित्यकार भएको नाताले उनको सम्मानमा एउटा कार्यक्रम कृषि आयोजना सेवा केन्द्रमा आयोजना गरेको थियो । सो कार्यक्रममा कविता वाचनको पनि कार्यक्रम थियो । जीवन पनि त्यस कार्यक्रममा उपस्थित थिए । उनलाई कविता वाचनका लागि उद्घोषकले डाकेपछि उनी माइकमा गएर प्रधानमन्त्रीको अन्तरगत रहेको राष्ट्रिय योजना आयोगले जागिरबाट हटाएको योबेलामा म कविता पढ्न सक्ने अवस्थामा छैन, मैले जागिर समाप्त भएको पत्र पाएको छु, म उहाँलाई यही दिन चाहन्छु भनेर जागिरबाट हटाएको चिट्ठी प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई हस्तान्तरण गरे । उनले त्यो हस्तान्तरण गर्दा आक्रोश र क्षोभ जुन उनको अनुहारमा देखिएको थियो, त्यो म अद्यापि बिर्सन सकेको छैन । प्रधानमन्त्रीले म हेर्छु भने, तर केही गरेनन् । उनको जागिर गएको गयै भयो ।

जीवनको खुट्टामा समस्या थियो । उनी राम्ररी लामो हिंड्न सक्दैनथे । कतै कुनै प्रोग्रामबाट हिंड्दै आउँदा म आधा पैसा हाल्छु, ट्याक्सीमा जाउँ भन्दा उनको अनुहार मायालाग्दो देखिन्थ्यो ।

उनको कविता “लेउ, च्याउ र खिया’’ उनको कविता लेखनको एउटा उत्कर्ष थियो । कविता बेजोडको थियो र उनले वाचन पनि प्रभावकारी किसिमले गर्थे । लामै समय त्यो कविताले बजार लियो, कृष्णभूषण बलको “काठमाडौं एक्लैले काठमाडौं बोक्न सक्दैन’’ जस्तै ।

उनको कलम र कुची साथै चल्दथ्यो । उनले मेरो उत्खनन् उपन्यास, जुन २०४५ सालमा साझा प्रकाशनबाट छापिएको थियो, त्यसको कभर बनाएका थिए । त्यस उपन्यासको तीन खण्ड “उत्खनन काठामाडौं’’, “उत्खनन हेटौंडा’’ तथा “उत्खनन भैरहवा’’ का लागि रेखाचित्र पनि बनाएका थिए । उनले नेपालका लागि भारतका राजदूत कवि नरेन्द्र जैनको पुस्तकको पनि कभर बनाएका थिए । उनले बागबजारमा डिजाइनर कार्यालय पनि खोलेका थिए । त्यहाँ राजेन्द्र शलभ र विधान आचार्य विशेष पुग्दथे । त्यतिबेला एउटा साप्ताहिकमा उनी अर्थात् शीर्षकमा कोलम पनि लेख्थे । निडर र निर्भिक अभिव्यक्ति उनको विशेषता थियो ।

उनले पछिल्लो चरणमा लेखेको “कृष्णे’’ कविता विशिष्ट कविता थियो । त्यसले निकै ख्याति कमायो । मलाई लाग्छ जीवनका दुई कविता लेउ, च्याउ र खिया अनि कृष्णे दुई मास्टरपीस कविता हुन्, उनको कविता यात्राको र नेपाली कविता यात्राको पनि ।

नाम जीवन भए पनि उनको जीवन लामो रहेन । सम्भवत उनको मुटुको समस्या थियो । उनलाई त्यसैले चुँडेर लग्यो ।

नाम जीवन भए पनि उनको जीवन लामो रहेन । सम्भवत उनको मुटुको समस्या थियो । उनलाई त्यसैले चुँडेर लग्यो । एउटा सशक्त कलमकार र कुचिकार, प्रिय मित्र जीवन जीवनबाट विदा भएका थिए । अनपेक्षित र अप्रत्यासित रूपमा । कवि पिता कमल जङ्गलीलाई कस्तो पीडा भएको हुँदो हो, कल्पनासम्म गर्न सकिन्छ ।

उनको जीवनको पहिलो कला प्रदर्शनीमा उनको अनुहारमा उदाएको मुस्कान मेरो मानसमा अझ पनि ताजा र जीवन्त छ ।

पुनश्चः

(अचम्मको कुराः जीवनले रिसको झोंकमा प्रदशर्नी स्थलबाट मेरो कथा “सुतेको समुद्र’’माथि सिर्जना गरेको चित्र हटाए पनि सुरक्षित नै राखेका रहेछन् । आफ्नो सन्तान कसलाई प्यारो हुँदैन ? यही संस्मरण लेख्ने क्रममा मित्र कृष्ण धरावासीले त्यो चित्रको फोटो पठाइदिए । अहो, त्यो चित्र त हालै बनाइएको जस्तो जीवन्त छ । यसले जीवनको जीवन्ततालाई पुनः पुष्टि गर्यो र मैले तत्कालै अठोट गरें, साझा प्रकाशनबाट २०४० सालमा प्रकाशित “सुतेको समुद्र’’ बजारमा उपलब्ध छैन । यसको दोश्रो संस्करणको आवरण यही चित्रलाई नै राख्नेछु !)

१९ सेप्टेम्वर २०१९, भर्जिनिया, अमेरिका

Loading...