नेपाली साहित्यको सम्पूर्ण पत्रिका

विविधीकरणमा प्रवेश गर्दै अमेरिकी पुस्तक प्रकाशक

एक पटक प्रकाशन उद्योगमा कोही सर्वोच्च पदमा पुग्यो भने त्यहाँबाट झर्ने सम्भावना कमै हुन्थ्यो । अल्फ्रेड ए. नफ प्रकाशन संस्थाको १०५ वर्षे इतिहासमा सर्वोच्च पदमा जम्मा चार जना प्रकाशक परिवर्तन भए । जोन सी. फेरर, रोजर डब्लु. स्ट्राउस र रोबर्ट गिरौक्स अनि अहिले यसको प्रमुख रिगन अर्थर छन्।

पछिल्लो समय कयौँ प्रतिभाशाली उच्च पदस्थ अधिकारीको निधन, रिटायरमेन्ट, कार्यकारी प्रमुखहरूको पदस्थापन तथा प्रतिस्थापनका कारण नयाँ उच्च अधिकारीहरू नियुक्त हुने क्रम बढेको छ र यसले पहिलेको भन्दा विविधीकरण लिएर आएको छ । नयाँ पुस्ताका हाकिमहरू बढी व्यवसायिक मात्र होइन, कतिपय त प्रकाशन उद्योगमा कहिल्यै काम नगरेका व्यक्ति पनि छिरेका छन् । यस किसिमको परिवर्तनले अब प्रकाशन उद्योगमा परिवर्तन आउने केहीको अपेक्षा छ ।

गएको बुधबार मात्र प्यान्थिअन एन्ड सोकेन बुक्सले प्रकाशकका रूपमा लिसा लुकासलाई नियुक्त गरेको छ । यसअघि उनी नेसनल बुक फाउन्डेसनको कार्यकारी निर्देशक थिइन् । गएको जनवरीमा नफको प्रकाशकका रूपमा रिगन अर्थर चुनिइन् । उनले आउनेबित्तिकै घोषणा गरेकी थिइन्, “अबका दस वर्षमा पुस्तक उद्योग अहिलेदेखिजस्तो रत्तिभर हुने छैन ।”

हालैका दिनमा प्रकाशन उद्योगका सर्वोच्च नामहरू सिमोन एन्ड सुस्टरको प्रमुख कार्यकारी क्यारोलिन रेइडी, नफकी प्रमुख कार्यकारी सुसन कामिल, सिमोन एन्ड सुस्टरकी सम्पादक एलिस मेह्युजस्ता व्यक्तिको निधनले अमेरिकी घगडान प्रकाशन उद्योगले साँच्चिकै राम्रा व्यक्तिहरू गुमाएको छ ।

तिनले समकालीन साहित्यलाई परिभाषित मात्र गरेका थिएनन्, डिजिटल क्रान्तिमा पनि आफ्नो अस्तित्वलाई कायम राखेका थिए । अमेजनको खुद्रे व्यापार, २००८ को आर्थिक मन्दी, बर्न्स एन्ड नोबलको उत्थान र पतन, स्वतन्त्र खुत्रे पसलेहरूको टिकाउपन तथा पतनसँगै अडियो बुकको विष्फोटक बिक्रीलाई यिनले नजिकबाट नियालेका थिए।

सन्नी मेहताजस्ता दिग्गज प्रकाशकले काजुओ इशिगुरो, जोन अप्डिक र सल्मान रूस्दीजस्ता प्रतिभालाई विश्वमञ्च उपलब्ध गराएका थिए। गएको फेब्रुअरीमा निधन भएकी मेह्युले सिमोन एन्ड सुस्टरमा ५० वर्ष मात्र बिताइनन्, बब वुडवार्ड, वाल्टर इसाक्सन, डोरिस कियर्न्स गुडविन तथा स्टेफन ए. एम्ब्रोसलाई चर्चामा ल्याउने काम गरिन्।

प्रकाशन उद्योगका आइकनको निधन तथा खाली ठाउँपछि एउटा रिक्ततापूर्ण अवस्था सिर्जना भएको थियो । यस्तो अवस्थामा गएको साता डबलडे प्रकाशन संस्थाकी नान तेलिसले आउँदो डिसेम्बरबाट ६ दशक लामो कामबाट बिदा लिने घोषणा गरिन्। उनले मार्गरेट एटवुड र इयान म्याकइवानजस्ता प्रतिभालाई खार्ने काम गरेकी थिइन् । यसका अतिरिक्त पछिल्लो समय ठूला प्रकाशन संस्थाको मर्जरका कारण कयौँ उच्च अधिकारीले बिदा लिए ।

नफकी आर्थर मात्र होइन, हेनरी हल्ट प्रकाशनकी एमी इन्हर्नजस्ता उच्च अधिकारीमा सशक्त व्यवसायिक सुझबुझ थियो। तिनमा के बिक्री हुन्छ भन्ने त ज्ञान थियो नै महिलाहरूको पठन रूचिमा पनि विशेष रूझान थियो।

गएको साता सिमोन एन्ड सुस्टरमा डाना कनेडी आइन्। पुलित्जर पुरस्कारकी व्यवस्थापक तथा न्ययोर्क टाइम्सकी पत्रकारको सिमोन एन्ड सुस्टरमा प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ५५ वर्षीया कनेडी ठूलो प्रकाशन गृहको प्रथम काला जातिकी उच्च अधिकारी भइन्। उनी आउनेबित्तिकै आफूले चलनचल्तीको भन्दा बेग्लै पुस्तकलाई प्राथमिकता दिने घोषणा नै गरिन् ।

पहिलो त उनी काला जातिकी महिला भइन्, त्यसमाथि अमेरिकाको केन्टुकी राज्यको ग्रामीण परिवेशबाट उठेर आएकी सैन्य बाबुकी छोरी अनि त्यसमाथि एकल महिला भएका कारण पनि उनबाट बढी नै अपेक्षा गरिएको छ । अपेक्षाअनुसार काम गर्ने उत्साह रहेको उनले बताइसकेकी छन् ।

लुकास र कनेडी दुवै काला जातिका महिला भएका कारण यिनीहरूबाट प्रकाशन उद्योगमा नयाँ पुस्ताका बेग्लै लेखकहरूले ठाउँ पाउने अपेक्षा धेरैको छ ।

नयाँ सम्भावनाका लेखक, प्रतिभाशाली सम्पादक, लेखक र सम्पादक पनि विविधीकृत क्षमता भएका र विभिन्न जातजातिका आउने अपेक्षा उनीहरूबाट गरेको छ ।

प्रायः प्रकाशन संस्थाले कम्पनीमा लामो समय सहायक सम्पादक अथवा कार्यकारी सहायकहरूबाट संस्थाको प्रमुख चुन्ने गरेको थियो । यस पटक त्यो क्रम अवरूद्ध भएको छ । सिमोन एन्ड सुस्टर तथा नफले प्रकाशन उद्योगमा पहिले अनुभव नभएका बिल्कुलै नयाँ अनुहारलाई चयन गरेर पुरानो प्रकृतिको हाकिम चुन्ने परम्परालाई चुनौती मात्र दिएका छैनन्, दशकौँ अवसर कुर्नेहरूका दिन खतरापूर्ण रहेको सन्देश पनि दिएका छन्।
प्रकाशन उद्योगमा दशकौँदेखि काला जातिका कार्यकारीको अभावले लामो समयदेखि राम्रा कुराको अभाव झेलिरहेको थियो। लेखनी र लेखकमा पनि उति विविधीकरण हुन छाडेको थियो। अन्य कम्पनीमा भने त्यस्तो थिएन ।

समावेशीकरण तथा विविधीकरण अहिलेको वास्तविकता हो, त्यसलाई दशकौँदेखि उपेक्षा गरिएको थियो। पछिल्लो समय भने यसमा परिवर्तन देखिन थालेको छ । पेइङ्गुन रेन्डम हाउसमा मेडलिन म्याकिन्टोस, नफकी आर्थर, हेनरी हल्टकी एनहर्न, फेरर स्ट्रउस एन्ड गिरक्सकी मित्जी एन्जलको उपस्थितिले महिला कार्यकारीबिनाको प्रकाशन उद्योगमा नयाँ आशा सञ्चार गरेका छन्।

प्रकाशन उद्योगमा ७५ प्रतिशत कामदारहरू अझै पनि श्वेत छन्। त्यसैले पनि देशभरि प्रकाशन उद्योगमा श्वेत इतरका प्रमुख कार्यकारीहरू देखिनुपर्ने माग बढ्दै जान थालेको थियो।

गएको महिना त अझ काला जाति र एसियाली मूलका लेखक लेखिकामाथि दिइने पारिश्रमिकमा पनि ठूलो अन्तर हुने खुलासा भएको थियो। पब्लिसिङपेडमी भन्ने ह्यासट्याग निकै चल्तीमा पनि आयो।

प्रकाशन उद्योगको प्रणाली यस्तो छ कि त्यहाँ श्वेतबाहेकका इतर जातिको प्रवेश निकै दुर्लभ हुने गरेको छ। सो विरूद्ध प्रदर्शनी मात्र भएन यस्तो प्रणाली नै परिवर्तन गर्नुपर्ने आवाजसमेत उठ्यो। इतर जातिका लेखकबाट कुस्त कमाउने तर कमाएजति पैसा नदिने समस्यातर्फ पनि धेरैले ध्यानाकर्षण गराएका थिए।

यसलगत्तै पेन्गुइन रेन्डम हाउसले जातीय रूपमा जुन खालीपन देखिएको छ, त्यसलाई क्रमशः सुधार गर्दै लैजाने वचनबद्धता प्रकट गरेको थियो। यस्तै ह्याचेट बुक ग्रुपले पनि विविधीकृत कर्मचारीको लक्ष्यलाई आगामी दिनमा पूरा गर्दै जाने बताएको थियो।

पछिल्लो समय लुकासले पनि ठूलो पद पाउनुका पछाडि उनको ठूलो संघर्ष थियो। कलेज पढ्दाकै अवस्थामा उनी प्रकाशन गृहसँग जोडिन चाहन्थिन् तर उनी काला जातिकी भएकीले सोचेजस्तो काम पाउन सकिनन्। यसपछि उनले ड्रामा तथा फिल्म कम्पनीमा काम गरिन्, म्यागेजिनमा काम गरिन्। सन् २०१६ मा आएपछि बल्ल उनी नेसनल बुक फाउन्डेसनको निर्देशक बनिन् । त्यो बेला उनले १४ लाखभन्दा बढी पुस्तक बालबालिकाका पुस्तकालयलाई बाँढ्ने अभियानलाई सफल मात्र तुल्याइनन्, काला जातिका लेखकलाई विभिन्न ठाउँमा पुर्याउन भूमिका खेलेकी थिइन्।

अर्थात्, अमेरिकाका प्रकाशन गृहमा बल्ल विविधीकरणको आवाज उठिरहेको छ र त्यसमा कार्यान्वयन पनि हुँदैछ ।

Loading...