नेपाली साहित्यको सम्पूर्ण पत्रिका

छेकेन कोरोनाले संसारकै ठूलो किताब मेला तर…

कोरोनाभाइरसको आतंकले युरोपलाई अझै सताउन छाडेको छैन। युरोपमै सबैभन्दा बढी प्रभावकारी रूपमा कोरोनाभाइरस नियन्त्रणमा भूमिका खेलेको जर्मनीमा पनि कोरोनालाई लिएर असमञ्जसको भाव छँदैछ। यसका बाबजुद पनि संसारकै ठूलो किताब मेलाको उपमा पाएको जर्मनीको फ्य्राङ्कफर्ट पुस्तक मेला नरोकिने पक्का भएको छ। यो मेलाको आयोजन नरोक्ने कुरामा आयोजक सहमत भएका छन्।

त्यसै पनि जर्मनीमा किताब प्रकाशन हुन थालेको पाँच सय वर्ष पुगेको उपलक्ष्यमा जर्मनीको यो मेला रोक्ने कुरामा धेरै सहमत हुन नसकेकाले यसलाई जारी राख्न सहमत भएका हुन्। पाँच सय वर्षअघि फ्य्राङ्कफर्ट शहर नजिकैको मेइन्ज छेउमा प्रिन्टिङ प्रेस उद्घटान भएको थियो।

यस मेलामा त्यसो त संसारकै ठूला प्रकाशकहरूले सहभागिता नजाउने भइसकेका छन्। त्यसमाथि यहाँका लोभलाग्दा छलफल कार्यक्रम पनि अधिकांशतः डिजिटल नै हुने पक्का भइसकेको अवस्थामा यसलाई कम्तीमा जारी राख्ने अवस्थामा आयोजक पुगेका हुन्।

“यस्तो महाव्याधिको अवस्थामा कार्यक्रमलाई जारी राख्नु नै ठूलो कुरा हो, त्यसैले यस पटकको किताब मेला विशेष हुन पुगेको छ,” किताब मेलाका निर्देशक जुएगर्न बुजले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै भने।

अक्टोबर महिनामा आयोजन हुने यस मेलाको सफलताले पूरा इभेन्ट उद्योगलाई नै प्रभावित तुल्याउने वा नमूना बन्ने हुनाले यसलाई सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आयोजक लागिपरेको निर्देशक बुजको भनाइ छ।

कोरोनाभाइरसका कारण करिब तीन हजारभन्दा बढी यस्ता इभेन्टहरू रद्द गरिसकिएको छ। रद्द नहोस् पनि किन, पूरा देश अहिलेसम्म लकडाउनमै छ, खुले पनि कतैकतै आंशिक रूपमा मात्र खुलेको छ। त्यस्तै यात्रामा प्रतिबन्ध लगायतका समस्याले ट्रेड फेयरहरू रोकिएका हुन्।

यस्तो अवस्थामा किताब मेला आयोजना हुनु अन्य व्यापार मेलाकै भाग्य निर्धारण हुनु एसोसिएसन अफ जर्मन ट्रेड फेयर इन्डस्ट्रीका प्रबन्ध निर्देशक हेराल्ड कोटरले बताए।

युरोपमा विश्वव्याधिलाई राम्रोसँग व्यवस्थापन गर्ने देशमध्येमा जर्मनीलाई मानिन्छ। दुई लाखभन्दा बढी संक्रमित फेला पर्दा जम्मा ९ हजार २ सयको मृत्यु भयो। यो बेलायतभन्दा निकै कम हो। बेलायतमा हालसम्म ४५ हजार बढीको मृत्यु भइसकेको छ।

तुलनात्मक रूपमा जर्मनीमा खुला भए पनि ठूला कार्यक्रमहरू आयोजना गर्न आउँदो अक्टोबर महिनासम्म रोक लगाइएको छ। यसको सबैभन्दा ठूलो मार म्युनिखको बियर महोत्सवलाई परेको छ।

बुजले यस वर्षको किताब महोत्सव विशेष हुने बताएका छन्। व्यापारिक भेटघाट, साहित्य उत्सव तथा भर्चुअल इभेन्टजस्ता मिश्रित तरिकाले कार्यक्रम सञ्चालन गरिने भएको छ।

यस मेलामा ठूला प्रकाशन संस्थाहरू पेइन्गुइन रेन्डम हाउस, हार्पर कोलिन्स र स्प्रिन्जर नेचर तथा जर्मनीका चार ठूला प्रकाशन संस्थाहरू रेन्डम हाउस डचल्यान्ड, बोनिएर, होल्जब्रिङ्क तथा बास्टी लुबेले सहभागिता नजनाउने पहिल्यै घोषणा गरिसकेका छन्। होल्जब्रिङ्कका प्रबन्ध निर्देशक अलेक्जेन्डर लोरबियर भन्छन्, “यस मेलामा हामी सहभागी नहुनुको एउटा कारण जिम्मेवारी पनि हो किनभने कार्यक्रम सफल बनाउने नाममा हामी कामदार, लेखक तथा पाहुनाकै स्वास्थ्यमाथि खेलबाड गर्न सक्दैनौँ।”

औषधविज्ञहरूले भने यस किसिमको निर्णयलाई सुझबुझपूर्ण भनेर स्वागत गरिसकेका छन्।

“यस्ता कार्यक्रमहरू रोग फैलाउन सबैभन्दा उपयुक्त माध्यम हुन्, सुपर स्प्रिडर हुन्,” हाली विश्वविद्यालयका भाइरोलजीका प्राध्यापक अलेक्जेन्डर केकुले भन्छन्, “मानिसहरू प्रत्यक्ष भेट हुने यस्ता कार्यक्रमलाई कि त तपाईंले सिधै रद्द गर्नुपर्छ, कि त आएका प्रत्येक व्यक्तिको परीक्षण गर्नुपर्छ।”

यता आयोजकहरूले भने कार्यक्रम नरोक्नका लागि सामाजिक दुरी कायम गर्ने, प्रत्येक आगन्तुकको प्रिरजिस्ट्रेसन गर्ने, स्वास्थ्यको ख्याल आगन्तुकले नै राख्नुपर्नेजस्ता नियम बनाएको छ। यसका बाबजुद पनि कतिपय व्यक्तिहरू यसबाट सन्तुष्ट भएका भने छैनन्।

“यस्ता नियमबाट हामी खासै सन्तुष्ट भएका छैनौँ,” बोनियर मिडिया डचल्यान्डका प्रमुख कार्यकारी क्रिस्चियन सुमाकर गेब्लर भन्छन्, “त्यसैले यसमा सहभागी नहुनु नै उत्तम हो भनी हामी यतिबेला चुपो लागेर बस्या छम्।”

केहीले भने मेला जारी रहनुपर्ने धारणा राखेका छन्। जमर्न प्रकाशक क्लेटकोटाका प्रबन्ध निर्देशक टम क्राउसार भन्छन्, ”हामी सधैँ डराएर बस्न जरूरी छैन। विभिन्न क्षेत्रका मानिसहरू सचेत भएर यस्ता कार्यक्रममा सहभागी हुँदा आत्मविश्वास बढ्छ। गतिला छलफल हुन्छन्।”

यसअघि कम्तीमा एक लाखभन्दा बढी मानिसहरू दैनिक यो मेलामा भ्रमणका लागि आउँथे भने यस पटक मुस्किलले २० हजारको उपस्थिति रहने अपेक्षा मेला आयोजकको छ। अघिल्लो वर्ष ७ हजार ४ सय विभिन्न प्रदर्शक भेला भएका थिए भने यस पटक त्यसको एक तिहाई नै आए भने पनि ठूलो सफलता ठान्नुपर्ने बुजको भनाइ छ।

यो मेलाको सबैभन्दा ठूलो व्यापार भनेको पुस्तक प्रकाशन, बिक्री भन्दा पनि संसारभरिका प्रकाशकहरूको भेलामा अनुवाद अधिकार लिने, बेच्ने अवसरका रूपमा उपयोग गरिन्छ। त्यसका लागि यस पटक पनि खासै अवरोध नहुने बुज बताउँछन्।

२०२० मा आयोजन हुने अन्य ठूला पुस्तक मेलामध्ये लन्डन बुक फेयर र बोलोग्ना चिल्ड्रेन्स बुक फेयर रद्द भइसकेका छन्। “ती कार्यक्रम रद्द भइसकेपछि कम्तीमा किताब उद्योगलाई एउटा त मेला चाहियो नि ! व्यापार त चलाउनै परो कि कसो?” बुज भन्छन्। बुजले त्यसो भनिरहे पनि मेलामा जानेहरूले पहिलेको वातावरण भने नहुनेमा विश्वस्त छन्।

“प्रायः पहिलेको किताब मेलामा म ४० वटा बैठकमा त सहभागी हुन्थेँ नै, फ्राङ्कफर्ट भर्लाग्सन्सलट प्रकाशन गृहका प्रमुख जोअचिम अनसेल्ड भन्छन्, यस पटक भने मैले मुस्किलले दुई वा तीन वटा बैठक मात्र गर्न सकूँला।”

यस पटकको मेलामा भने आगन्तुकहरूले एउटा कुरा पक्कै चुक्चुकाउने गरी छुटाउने छन् र त्यो हो, साथीहरूसँगको मस्तमाहोलको भेटघाट। हातमा बियरका ग्लास, होहल्लाका साथ रमाइलो र किताबी गफ यस पटक भने हुने छैन।

अनसेल्ड भन्छन्, “पुराना साथी भेट्ने र रमाइलो गर्दै नयाँ नयाँ आइडिया सुनाउने कुरा भने यस पटक सम्भव देखिएन। दुःखको कुरा हो २०२० मा कोरोनाले हामीलाई यसबाट भने वञ्चित गरिदियो।”

Loading...