नेपाली साहित्यको सम्पूर्ण पत्रिका

लेखक बन्न चाहनेलाई बुद्धिसागरका दश सुझाव

किताब एक तिहाईसम्म लेख्दा आफैँलाई पनि बारम्बार लागिरहन्छ, म के सही कथा र शैलीमा हिँडिरहेको छु ? मलाई लाग्छ – “हरेक पुस्तकले आधाआधी भएपछि मात्र कथालाई चाहिएको भाषा र शैली पाउँछ ।

बुद्धिसागर नेपाली साहित्य जगतका एक चम्किला नक्षत्र हुन् | उनले नेपाली साहित्यमा दर्बिलो उपस्थिति जनाएका दुई उपन्यास ‘कर्णाली ब्लूज’ र ‘फिरफिरे’ लेखिसकेका छन् |

त्यस्तै उपन्यासकारभन्दा पहिले उनी कवि हुन् | उनको कविताकृति पनि प्रकाशित छ |

प्रस्तुत छ, उनै चर्चित लेखक बुद्धिसागरले लेखक बन्न चाहनेका लागि दिएका दश सुझावः

१ . सबैभन्दा पहिला ‘लेख्नू किन परेको ?’ भनेर सोच्नुस् ! कुनै लेखक र कृतिको चर्चाले यस्तो मनोभाव आएको हो भने यसले दुःखबाहेक अर्को केही दिँदैन । यदि साँच्चिकै मनैदेखि लेख्न मन लागेको हो भने चिन्ताको कुनै बिषय छैन । पाउलो कोएलो भन्छन्- “हरेक मानिससित आफ्नो छिमेकीलाई भए पनि सुनाउँने एउटा सान्दार कथा हुन्छ । आफूसित पनि त्यस्तो कुनै कथा छ भने सुरुवात गरिहाल्नुस् ।”

२ . प्रा. डा. डिपी भन्डारी भन्नुहुन्छ- “लेखनको विषय त कुकुरको पुच्छर पनि हुन्छ, तर त्यसलाई लेख्ने शैली भने आफ्नो चाहिन्छ ।’’ शैली श्रमले बन्दैन । आफूलाई जसरी लेख्न मन लाग्छ, त्यसरी नै लेख्न थाल्नुस् । आफूभित्रको सर्जकलाई पागलपन दिनुस् । लेख्दै जाँदा आफूले पढेका लेखक र कृतिभन्दा एकदमै फरक हुन थाल्यो भने नआत्तिनुस्, खुशी हुनुस्, तपाईँ आफ्नो शैली निर्माण गर्दै हुनुहुन्छ ।

३. पुस्तकको पहिलो अध्याय नै महान लेख्छु भनेर सोच्न थाल्नु भयो भने सोच्दासोच्दै समय घर्किन सक्छ । मार्खेज भन्छन्- “पुस्तकको पहिलो हरफले अन्तिम हरफ निर्माण गर्छ ।” तर, मलाई लाग्छ- प्रायः पुस्तकले पहिलो हरफ बीचतिरबाट पाउँछ । लेख्दै गएपछि, जब पुस्तकले एउटा आकार पाउँछ, त्यति नै बेला, पहिलो अध्याय पनि पाउँछ । धेरै लेखकहरू पहिलो खण्ड पुस्तकको बीचतिरबाट निकालेर अगाडि राख्छन् । त्यसैले शक्तिशाली सुरुवातको चिन्ता सुरुमै नगर्नुहोला ।

४. लेखिरहेका बेला आफ्नो लेखनीलाई कहिल्यै पनि अरू लेखकका प्रकाशित भइसकेका कृतिसित नदाज्नुस् । किनभने, पहिलो ड्राफ्ट कमजोर नै हुन्छ । हेमिङ्बे त पहिलो ड्राफ्टलाई ‘सिट्’ भन्छन् । ड्राफ्टलाई अनेकपल्ट पुर्नलेखन गरेर प्रकाशित गरिन्छ । त्यसैले अनेकपल्ट पुर्नलेखक गरेर छापिएका कृतिका अगाडि आफ्नो पहिलो लेखनी कमजोर नै लाग्छ ।

५. आफूले लेखिरहेका कुरा धेरैलाई सुनाउँदै नहिँड्नुस् । धेरैपल्ट सुनाउँदा सुनाउँदा त्यो विषय नै आफैँलाई पनि दिक्क लाग्दो लाग्न थाल्छ । र, कहिलेकाही सुन्ने मान्छेको मुहारमा तपाईँले खाजेको उत्साह पनि नभेटिन सक्छ, जसले तपाईँलाई निरास बनाउँन सक्छ । लेखिरहेको कुरा सुनाउँदै हिँड्नु भनेको प्रेसरकुकरबाट बाफ लिक हुनुजस्तै हो, जसले सिटी बज्दैन ।

६. लेख्न सुरु गरेपछि, कहिले सकिएला भनेर नआत्तिनुस् । र, छोटो समयमै सक्छु भनेर कस्सिनु भयो भने केही हप्ता जाँगर त आउँला, तर थकान र दिक्क लाग्ने हुनुथाल्छ । जब रफ्तार रोकिन्छ, फेरि सुरुवात गर्न असाध्यै गाह्रो हुन्छ, गाडीको इन्जिन झ्याप्प बन्द भएर मेसिन जाम भएजस्तो । त्यसैले हरेक दिन लेख्नुस् तर थोरै थोरै लेख्नुस् । प्रायः लेखकहरू दिनमा २५० शब्ददेखि १ हजार शब्द लेख्छन् । कापीमा हो भने एकदुई अनुच्छेददेखि टीन पन्नासम्म । हारुकी मुराकामी हजार शब्दको हाराहारीमा लेख्छन् भने खालिद हुसेनी तीन पन्ना । सगरमाथा चढ्नेहरू दर्गुदैनन् तर एक-एक कदम गरेर चुचुरोमा पुग्छन् ।

७. लेखनमा सबैभन्दा ठूलो कुरा अनुशासन हो । अनुशासन बिनाको प्रतिभा फक्रिन सक्दैनन । हरेक दिन लेख्छु भनेर वाचा गर्नुस् र त्यो वाचालाई पूरा गर्नुस् । चौबीस घन्टामा आफूलाई पायक पर्ने कुनै एक घन्टा छुट्याउनुस् । र, त्यो समयमा मूड चलोस्, या नचलोस्, लेखिरहनुस् । केही पनि फुरेन भने आफ्नै नाम नै भए पनि लेखिरहनुस् । बिस्तारै तपाईँले छुट्टयाएको समय दैनिकीसित गाँसिदै जान्छ र सजिलो हुन्छ ।

८. किताब एक तिहाईसम्म लेख्दा आफैँलाई पनि बारम्बार लागिरहन्छ, म के सही कथा र शैलीमा हिँडिरहेको छु ? मलाई लाग्छ– “हरेक पुस्तकले आधाआधि भएपछि मात्र कथालाई चाहिएको भाषा र शैली पाउँछ । र, प्रायः लेखकहरू बीचतिरबाट निस्केको भाषा र शैलीलाई फेरि अगाडिबाट मिलाउँदै ल्याउँछन् ।”

९. दिनदिनै लेख्दा आउँने समस्या के हो भने अघिल्लो दिनकोजस्तो भावना र ऊर्जा अर्को दिन नहुनसक्छ । आज के बाट सुरु गरौँ भनेर लामो समय टोलाउँनु पर्ने हुन्छ । त्यसैले अघिल्लो दिन मनमा आए जतिका कुरा सबै नलेख्नुस् । अलिकति भोलिपल्टलाई बाँकी राख्नुस् । भोलिपल्ट मनको बाँकी कुरा लेख्नु भयो भने अरू आफैँ थपिँदै जाने सम्भावना हुन्छ । संगीतको शौखिन हुनुहुन्छ भने एउटा संगीतको फोल्डर बनाउनुस् । हरेक दिन त्यही फोल्डर सुन्दै लेख्ने गर्नुस् । मलाई लाग्छ— तपाईँले सधैँ सुनिरहेको संगीत पुस्तकको ब्याकग्राउन्ड म्यूजिकजस्तो हुँदै जान्छ । जब संगीत सुन्नुहुन्छ- संगीतले नै कथाको संसारमा पुर्याइदिने सम्भावना पनि हुन्छ ।

१०. स्वास्थ्य सबैका लागि महत्त्वपूर्ण हुन्छ नै, लेखनमा पनि झन् महत्त्व नै हुन्छ । खानपिन र हिँडडुलमा ख्याल राख्नुस् । खानाको गड्बडी र कम शारीरिक अध्यासले ग्यास्टिकजस्ता रोग निम्त्याउँछन् । पोलिरहेको छाति वा पेटले अक्षर गोडमेल गर्न गाह्रै हुन्छ । सकेसम्म हिँडाइलाई महत्त्व दिनुस् । हिँड्दा आफूले लेखिरहेका कुरा दिमागमा खेल्छन् र कहिलेकाहीँ अनेकपल्ट घोरिँदा पनि नआएका कुरा हिँडाइका क्रममा आउँछन् । पैतलाको रफ्तारले दिमागका बन्द चेपहरू खुल्छन् भन्ने मलाई लाग्छ ।
ह्याप्पी राइटिङ

Loading...