नेपाली साहित्यको सम्पूर्ण पत्रिका

आङालाई माया गर्ने पोचो

 

काम परेको थियो गान्तोक जाने कालेबुङबाट,२०१० को नोभेम्बर महिनामा। अहिलेको व्यस्त जुगमा फुर्सद भक्कु लिएर यताउति हिँड्न सकिने हैन। बस्नैपऱ्यो दुइचार दिन, कतै बाहिर निस्केपछि। धेरै आफन्त र परिचितहरू भएको गान्तोकमा त झन् एक ठाउँ बसेर फर्केको अरूले थाहा पाए भने रिसाएर, ठुस्केर, बम्केर गर्छन्। खै ! रिसाएजस्तो गरेका हुन् कि साँच्चै रिसाएकै हुन्? त्यो शोधको विषय हो।

सिक्किमको सिमानाबाट सुरू भएको पुर्ख्यौली थलो रम्फुदेखि माइनिङ, माजिटार, बागे, साउने, सिङताम, ३२नम्बर, घट्टे, रानीपुल, छ माइल, आईसीआर, मणिपाल, तादोङ, डाँडागाउँ, आम्दो गोलाई, देउराली, सियारी, नामनाङ, पानी हाउस, लालबजार, स्यालगाउँ, डीपीएच, सिच्छे, पाल्जर क्रीड़ाङ्गण, डेभलपमेन्ट, गार्ड ग्राउन्ड, चानमारी, बालुवाखानी, बुर्तुक, स्वस्तिक, बोजोघारी, लुइङ, राङ्का खै कता-कता भ्याउनु भनेर यहाँ थुप्रो कुरा गरेको चाहिँ हैन, संस्मरणको भूमिका मात्रै बाँधेको हुँ । सबै ठाउँ अनुहार देखाउनु हो भने एक महिनाको छुट्टी पनि कमै पर्छ। यति धेरै साखा-सन्तान र परिचितहरूको आँखा छल्दै एकदुई दिनको काम सुटुक्कै निप्ट्याएर फर्किन विश्वयुद्धमा दुर्गा मल्लले अङ्ग्रेजको दस्तावेज लुकाएर भागेजस्तै सङ्घर्ष गर्नुपर्छ। कुनै एकसमय गन्ती गर्दा एक दर्जन त भान्जीहरू मात्रै थिएमेरा, गान्तोकवरिपरि । यति भनेर आफ्नो विज्ञापनमूलक भूमिका बाँधेपछि अब मूल कुरामा आऊँ न…

हीरा छेत्री

अँ, त्यो दिन गान्तोक पुग्नुपर्नेभयो, एक रात बस्ने गरी। भन्नु मात्रै गान्तोक र कालेबुङको दूरत्व अढाई घन्टाको तर त्यो समय प्रबन्ध गर्न अढाई साल लाग्छ। कसैले थाहा नपाउने गरी सुटुक्कै लुकेर जाने र फनक्क फर्केर आउने मन भयो। तर त्यो एकदिनचाहिँ कता बस्ने त? ‘यसपाली आफन्त हैन, साथीभाइकहाँ बस्नुपऱ्यो !’ भन्ने मनमा लागेर यस्ता साथीभाइको निवास सोच्न थालेँ, जहाँ बस्दा गुप्तवासको रहस्योद्घाटन हुने सम्भावना कम होस् वा अरूले थाहा नपाओस्। साथीभाइ त थुप्रै छन् तर बास बस्तै जानेचाहिँ पाउन अलि गारै कुरो हो। किनभने उनीहरू पनि सबै आ-आफ्नै धुनमा मस्त हुन्छन्। गफ गरेर, हालखबर मात्र बुझ्नलाई हो भने त आ ….. मा ….. मा …… यति धेरै साथीभाइ र इष्टमित्र छन् कि सबैले साथ दिए भने त राष्ट्रियस्तरको पार्टी खोलेर पञ्चायत भोट लड्दा पनि हुन्छ।

मैले छानेँ, सुदेश खाती साथी। दिउँसो पुगेर काम सिध्याएपछि साँझ सुटुक्कै झर्छु डाँडागाउँ अनि त्यहीँ बास बसेर रातभरि गफ्फिएपछि भोलिपल्ट फर्किन्छु। सम्पर्क गरेँ। साथी एक्लै एउटा कोठा लिएर बस्दा रहेछन्। खुसी भए। के खाने, कसो खाने सबै सोधे। बन्दोबस्त मिलायौँ।

यता कालेबुङबाट चाँड़ै निस्केँ, बिहान बाटामै नास्ता गर्नुपर्ला भनेर खाली पेट। ल्यापटप र यौटा झोला बोकेको थिएँ।  सानु गाडीको यात्रा हुनाले समयभन्दा धेरैअघि नै पुगिएलाजस्तो भयो। मूल काम थियो, नयाँ बजारमा। ल्यापटप भिरेर किन बजार-बजार डुलिरहने?  बरू गाडी छिट्टै पुग्नेरहेछ र पहिला सुदेशकै कोठामा ल्यापटप थन्क्याएर उँभो चढ़्नुपऱ्यो भन्ने सोचेँ। साथी स्पाइसेस बोर्डमा सेवारत् हुनाले उनको दफ्तर पनि डाँडागाउँमै थियो। रम्फुमा एकछिन मात्र वाहन थाम्मियो। चियापानी भएन। वाहन थाम्मिएको बेला छेउका सहयात्रीलाई आफूडाँडागाउँमै उत्रिनलाई खिड़कीपट्टिको सिट मागेँ।

साथीसित अघिदेखि नै सम्पर्क साँध्ने कोसिस गरेको, लागेकै थिएन। सिक्किम भित्रिएपछि लाग्ला भनेर फेरि कोसिस जारी राखेँ। बल्लबल्ल लाग्छ, तर विज्ञापन पो आउँछ। त्यो बङ्गाली विज्ञापन सकिँदा-नसकिँदा नेटवर्कदेखि टाढिन्छ। नेटवर्कभित्र पस्छ त ‘अभी व्यस्त है’ भन्छ। कसोकसो गर्दा लाग्छ, आवाजै आउँदैन। फेरि कुनै ठाउँमा आवाज आउँछ- राम्रो सुनो, आफ्नै आवाज पो फर्केको रैछ। टेक्नोलोजी इंस्टिट्युटतिर पुग्दाचाहिँ मज्जाले लाग्यो र उतापट्टिको स्वर सुनियो। त्यो पनि रङ नम्बर पो रैछ। र पनि लाग्दैन नै चाहिँ नभनूँ, मल्लीदेखि गरेको कोसिस रानीपुल पुग्नअघि सफल भयो | अनि ‘हाई, हलो, गुड मर्निङ, कहाँ हुनुहुन्छ र कस्तो हुनुहुन्छ?’ जस्ता नभनी नहुने पारम्परिक भूमिका निर्वाह गरिसकेपछि मूल मुद्दाको कुरा हुन नपाई चट्टै काट्टियो लाइन।

तादोङ कलेज पुगेर कन्भाइ ग्राउन्डमा ओर्लिँदै गर्ने समयबिच भने मुस्किलले सम्पर्क भएको थियो, ब्याट्री डाउनको सिग्नल आउन थाल्यो। र पनि कसोकसो गरेर उताबाट आवाज आयो, ‘हीराज्यू मेन कुरा चाहिँ गरिहाल्छु, हेर्नुहोस् न, भर्खरै खबर आयो कि कालेबुङमा आफन्तको देहान्त भएछ। नगई नहुने भयो, सारै विस्वाद भयो। तर मैले रुममा सप्पै ठिक्क पारिराखेको छु, तपाईँ आरामले बस्नुहोस् न ! अँ, एकजना नीलम भन्ने भाइको हातमा चाबी हुन्छ, उसले तपाईँलाई सम्पर्क गर्छ नि !’

यतिन्जेल आफूगाडीबाट ओर्लिसकेको हुनाले दोधारमा परेँ। टिस्टा बजारबासिन्दा नीलम भाइ आएर परिचय गरे, अनि झोला पनि बोकिदिएर सघाउँदै घर चिनाउनलाई ओरालो लिएर गए। सानु कोठा रहेछ, एकजनालाई चिटिक्कै। ग्यास-चामल सप्पै व्यवस्था गरेका रहेछन्। सुदेशजीलाई पनि दुई भाइ धित मरुन्जेल राती गफ गरूँला भन्ने थिएछ, तर…।

त्यहाँ एकछिन बिसाएर एसएनटी कलोनीको उकालो सिंढीचढें, अनि लोकल सिटी रनरमा गान्तोक बजार पुगेँ। पहिलोपल्ट एमजी मार्ग पुनर्भ्रमणको दिन थियो त्यो। थुक्न नपाइने भनेर सुनेको गान्धीमार्ग कस्तो होला भन्ने लाग्थ्यो। त्यसअघि दुईप्रकारको एमजी मार्गको चित्र थियो आँखामा। पहिलो त भ्रमण नगरिएको अथवा कल्पना गरिएको एमजी मार्ग हुन्थ्यो सानाछँदा। आमाहरूले राङ्काबाट ढुङ्ग्रामा बूध ल्याई लालबजार, नयाँबजार र एमजी मार्गका चियादोकानतिर ठिका दिएको कुरा गर्दा कल्पना गरेको। त्यसपछि आफू गान्तोकमै रहँदा भतुवा कुकुरजस्तै घुमेको त्यही एमजी मार्ग। अनि आज फेरि नयाँ रूप-रङ्गमा देख्न पाइएको स्निग्ध बाटो। विलियम वर्ड्सवर्थको येरो भ्रमणजस्तै नि।

काम सिध्याएर यसो भोक मेट्ने व्यवस्थाबारे सोच्दैथिएँ, पत्रकार प्रवीण खालिङ भाइसित जम्काभेट भयो। भाइले बस्ने निम्तो त दिएनन्, कोठा साँघुरो हुनाले तर नजिकै भएको कारण रातीको खाना सँगै खानुपर्छ घरमा भनेर कृषि भवनमुन्तिरको डेरामा बोलाए। छिट्टै झरेर रातीको खाना सँगै खाने सल्लाह भएको हुनाले अहिलेलाई ‘डे स्विट्स’मा चिया-समोसा-रसोगुल्ला खाएर भोक टाऱ्यौँ र एकछिन बजार डुल्यौँ।

तल घरपटीबिनाको सुदेश साथीको डेरामा रातब्याल एक्लै बस्न अप्ठेरो लाग्यो। खानाचाहिँ प्रवीणकहाँ खाएर एक रात अन्यत्र बस्ने व्यवस्था गरेँ। तल ६माइलमा दाजुकहाँ पूजाको अन्तिम दिन रहेछ। दाजुले त्यहीँ बोलाए राती। सबै बन्दोबस्त मिल्यो।

प्रवीणसँग गोटे गाडीमा झरेँ। उनी कृषिभवनअघि उत्रिए, म डाँडागाउँमा सिक्किम कम्युनिकेसनको अगाडि ओर्लिएर सडक नाघी उँधो झर्ने ठाडो र लामो सिंढीबाट ओर्लिएर निक्कै मुनि पुगेपछि दाहिनेतिर तेस्रो लागेँ। त्यो फुटपाथ हिँड़ेको हिँड़्यै गऱ्यो भने तल सरस्वती-ड्रोल्मा मन्दिर पुगिँदो रैछ।

फुटपाथको बिचैमा रहेको सुदेशको कोठा खोलेर आफ्नो सामान र ल्यापटपको झोला भिरेँ अनि चाबी छिमेकीलाई बुझाइराखेर फेरि उल्टा पाउ फर्किन थालेँ। यतिन्जेल भुँडीमा मुसा कुद्न थालिसकेको थियो। अहिले त आफ्नो सामान पनि निक्कै भारी पो लाग्न थाल्यो, र माथि सडक भेटिने उकालो सम्झिँदा त झन् लखतरान भएँ। एसो नजर उठाएर त्यो सिंढी उँभोतिर हेर्दा खुट्टा गलेर आयो।

बिस्तारी अगि बढ़्दै थिएँ, मेराअगिल्तिर एकजना बोजू पनि स्याँ-स्याँ गर्दै उकालै लाग्दै थिइन्, मेरो बाटै छेकेर। हातको लट्ठी टेक्दै काँधमा पुरानो र मैला झोला भिरेकी बोजू पनि त्यो स्वर्ग जाने सिंढीजस्तै उकालो चढ़्ने प्रयासमा थिइन्। बोजूको अघिअघि चाहिँ १२-१४वर्षको पट्ठो नाति केटो बाटो दोहोऱ्याइरहेथ्यो। मलाई अचम्मै लाग्यो, बिचरी बोजूचाहिँ सकी-नसकी काँधमा झोला भिरेर हिँड़्दैछिन्, नाति भने खाली हात आरामले उकालो लाग्दैछ।

साँझको पाँच बज्दैथ्यो होला यतिन्जेल। सबैको आआफ्नो गुँढ़तिर फर्किने बेला भएर त्यो पगडण्डीमा अरू पथिकहरूको पनि आउजाउ सराबरी भइरहेको कारण केही दुखेजस्तो ‘आइया आइया’ गर्दै मेराअघि हिँड्ने बोजूलाई फुत्तै नाघेर जान मैले सकिनँ। आजकलका केटाकेटीमा मान-मर्यादा, सौजन्य सब हराएर गएको हुन्छ। आफूभन्दा उमेर भएकाहरूलाई कसरी इज्जत दिनुपर्छ, सिनियर सिटिजनलाई कसरी सहयोग गर्नुपर्छ केही ज्ञान हुँदैन भन्ने सोच आएर त्यो नाति केटामाथि रिस पनि उठ्यो। बिचरा बोजूमाथि दया जागेर आयो। आफूले केही सघाउन नसके पनि त्यो झोला बोकिदिनुपर्ने त हो, तर आफ्नै दुइटा झोला छन् दुइपट्टि काँधमा झुन्निएका। त्यसमाथि दिनभरिको भोको पेट। उकालो त्यस्तै छ नाकै ठोक्किने खालको। गान्तोकको चिसोमा पसिनै-पसिना हुनथालिसकेको,’आफैँ त महादेव कसले देला वर’, भन्ने खालको स्थिति थियो। र पनि मन त मान्दै-मान्दैन। कसरी हुन्छ बोजूको त्यो झोला माथि सडक उक्लिन्जेल चाहिँ बोकिदिनुपऱ्यो भनेर पछाडिबाट ‘खै आन्टी, तपाईँको झोला दिनुहोस्’ भनेर आफ्नो भारीमाथि सुपारी थपी म अलि फटाफट उकालो लाग्न थालेँ। बोजूले ‘पर्दैन नानी, पर्दैन’ भन्ने भावमा केके भन्दैथिइन्। यो सुनेर नाति केटो पनि ‘अङ्कल, अङ्कल, के गरेको आङाको झोला … दिनुहोस् यता’ भन्दै मलाई पछ्याउन थाल्यो। मेरो पालो ‘आङालाई भारी बोकाएर आफू चै लट्ठक-लट्ठक हिँड्न लाजलाग्दैन?’,भनेर कराउँदै अघि हिँड्न थालेँ। नाति केटो पनि केके भन्दै गनगन गर्दै, घरिघरि त झोला पनि खोस्ला जस्तै गरेर पछ्याउनथाल्यो। बिस्तारी-बिस्तारी निक्कैबेरमा सडक उक्लेर तेन्जिङ नोर्गेले सगरमाथा जितेजस्तै एसो तल हेरेको बोजू भुइँमा थचक्कै बसेर बिसाइरहेकी रहिछिन्, नातिचैं उँभो मतिर हेर्दै आङालाई सुम्सुम्याउँदै रहेछ।

मेरो पालो छिट्टो उकालो आउने सङ्केत दिएर सडक किनारामा गोपाल अधिकारी साथीको कुरियर सर्भिसको दोकानमा बिसाउन पसेँ। साथीसित धेरै बेर गफ गरिसक्दा पनि बोजू र नाति त आइपुगेनन्। बाहिर निस्केर एसो हेर्छु फुच्चे त तल बोजूसितै छ र मलाई पो आइज भनेजस्तो सङ्केत गरेर बोलाउँछ। कत्ति सारो पलाप्पेको नाति रैछ भन्ने सोचेर ‘तँ आफै आइज न उकालो’ भन्ने इसारा गरेको मान्दैन।

यतिन्जेलमा प्रवीणको फोन आयो, “दाजु !तपाईँ त मासु खानुहुन्छ नि ! म त खान्नँ कि तर पनि चिकनको बन्दोबस्त गरिदिएको छु है। छिट्टो आउनुहोस्, अगि भोक लाग्यो भन्नुहुँदैथ्यो।”

साँच्चै भोक लागेकै बेला फोन आयो। अब छोडेरहिंडु त अर्काको झोला छ। झोलाका मालिकहरू चाहिँ तलै छन्, उकालिने नामै लिँदैनन्। एसो झोला छामेको, केही कडा पदार्थहरू जस्तो भान भयो। मुख खुल्लै रैछ र एसो चियाएर हेरेको दुइचारोटा ढुङ्गा, गिटी, बालुवा पो छ। फेरि त्यो नाति केटातिर हेर्दै ‘बजिया साला, छिट्टो आइज न !’ भनेर हकार्छु, तलबाट हातको इसारा गर्दै ‘तपाईँ नै आउनुहोस् न, त्यो झोला लिए छिट्टो’ भन्दै उल्टो पो कराउँछ फुच्चे।

मेरो पालो आफ्ना सामान दोकानमै राखेर फेरि उँधो झरेँ,त्यहीठाडोसिंढी। तल पुगेको मात्रै थिएँ, नाति केटो करायो, ‘अङ्कल के गरेको आङाको झोला लगेर?’

‘नाति भएर आङाको सेवा नगरेर भारी बोकाउँछस्?’,भन्दै कराएँ। ‘भारी पनि के हो यस्तो ढुङ्गा-मुढ़ा…..’

यतिकैमा छेवैको यौटा घरको खिड्कीचर्र…. गरेर खोलिएको आवाज आयो। त्यहाँबाट टाउको बाहिर झिकेर एकजना छुम्ला कराइन्, ‘पोचो, के भयो…? कोसित बात गरेको? लु अब आङालाई लिएर भित्र आइज, रात पर्न आँट्यो।’

मैले गरेको गाली नसुनी पोचो ममाथि बिच्क्यो, ‘तपाईँलाई चैं कसले बाट्ठे हुनु भन्यो? त्यो झोला बोक्नु हो भने मै पनि सक्छु नि ! आङालाई त कुम सडकेकोले गर्दा डाक्टरले नै भारी सामान बोकेर बिहान-बेलुकी दसदस मिनट एक्साइज गर्नू भनेको छ र पो बोकेको त……

कालेबुङ, भारत

Loading...