नेपाली साहित्यको सम्पूर्ण पत्रिका

तैँ चुप्, मैँ चुप्  : भाइरस या संस्कार ?

गणतन्त्र घोषणा भयो, खोपाको ढाकाटोपी तानेर बा दौडनुभयो । पार्टी मिटिङ् बस्न बिर्से पनि भर्खर किनेको नोकियाको एघार सय मोडल गोजीमा राख्न नबिर्सने बाले, मोबाइल खोपामै छोड्नुभयो । त्यतिखेरको गणतन्त्र झिनोमसिनो सिन्को थिएन ।

दाइले मोबाइल च्याप समाएर बाटो हेर्यो । बा नाराबाजीको भीडमा बिलीन हुनुभयो ।

‘‘यो जीत कसको ? जनताको ।’’ भीड कनिरहेको थियो ।

सान्दर्भिक पोस्ट

वार्तालापको कथाः अयोग्य

हामी दाजुभाइले एकअर्कालाई हे¥यौँ । नोकियाको ठाँडो किनेदेखि छुन त के हेर्न पनि पाएका थिएनौँ । पालैपालो धित मर्नेगरी ठाँडोलाई भर्खरै जन्मेको पाठो जसरी माया गर्दै थियौँ । जाँ….लाई माया बढी भएछ क्या हो ! पिनकोड माग्यो । माग्दैमा के भो र दे भनेँ मैले नि, फेरि एकछिनमा पुककोड माग्यो, लौ न त त्यो नि दे भनेँ ।

आकाश बराल

दाइले दसचोटि पुककोड दिएपछि, ठाँडोले लेख्यो ‘‘सिम रिजेक्टेड !!’’
अंग्रेजी त्यति फर्र…. नभए पनि सिम भनेको थाहा थियो, रिजेक्टेड भनेको राम्रो कुरा हैन भन्ने पनि थाहा थियो । दाइले मोबाइल खोपामै राख्यो र मलाई हेरेर हत्केलाले मुख छोप्दै चुपलाग्ने इसारा गर्यो

मैले आजसम्म नदेखेको त्यो इसाराको भाव सिधै बुझेँ, ‘‘तैँ चुप्, मैँ चुप् ।’’

त्यो इसारा बुझ्नु र गणतन्त्र घोषणा एकै दिनहुनुले हो अथवा संयोग मात्रै थियो, त्यो दिनपछि देशमा ‘‘तैँ चुप्, मैँ चुप्’’ भाइरस र मोबाइलको विकास तीव्र गतिमा भएको देखेको छु ।

एस्.एल्.सी.पछि मैले पनि नोकिया ‘‘एक्तीस दस’’ पाएँ, त्यहीँ मोबाइलमा साथीले फोन गरेर भन्दै थियो ‘‘माथ्लाघरे नारन दाइले, तल्लाघरे साइलीको ब्लाउजमा हात हालेछ । चौकी आइज ।’’

रमितेको गाउँ, हेर्न गएँ रमिता । गाउँलेले चौकी घेरेका थिए । म भीडको भुँडी र कम्मरबाट पिस्सिँदै चौकीको कोठामा पुगेँ । तल्लाघरे सुर्मीबा केश हाल्ने कुरा गर्दै थिए । बर्दीमै भएको एउटा मान्छेले मुख छोप्दै इसारा गर्दियो, ‘‘तैँ चुप, मै चुप !’’

सबै एकअर्कालाई हेर्न थाले, सबैले त्यहीँ इसारा गरे । इसारा टेबलमाथिबाटै साटासाट भए पनि टेबलमुनिबाट सगरमाथा र लालीगुरासका फोटाहरु साटासाट भइरहेको थियो । इसारामा मुख हेराहेर, पैसाको लेनदेन अनि बाटो फेराफेर !!

पीडक र पीडितले चौकीबाहिर निस्केर सारा गाउँलेलाई त्यही इसारा गरिदियो । गाउँलेहरु पनि एक आपसमा उही इसारा गर्दै आआफ्नो घरतिर हिँडे । जुन हातले लालसलाम, जय नेपाल र नमस्कार गथ्र्यो त्यहीहातहरु मुख छोप्दै इसारा गरिरहेका थिए ।

गाउँलेलाई ‘‘तैँ चुप्, मै चुप् !’’को भाइरसले छोइसकेपछि त्यसको प्रभावले नगरपालिका हुँदै जिल्ला र जिल्ला हुँदै पूरै देशलाई समात्यो । यसरी देशै ‘‘तैँ चुप्, मै चुप् !’’भएपछि बोल्ने को?

तर म बोलेको थिएँ एउटा दाइको श्रिमतीलाई अर्कैसँग लागेको देखेर । मैले दाइलाई भिडियो कल गरेको थिएँ, ‘‘दाइ, भाउजूको चालामाला ठीक छैन है !’’, दाइ त भिडियो कलमै ‘‘तैँ चुप्, मै चुप् !’’इसारा गर्दै भन्छन्, ‘‘म नि अर्काको श्रीमती हेर्दै छु भाइ, आफ्नो काम गर ।’’

लौ जे मरे मरुन् भनेर फोन काटेँ । देशको मात्रै आवाज बन्द भयो होला भनेको त देश बाहिर गएकाहरुको पनि हालत उही रहेछ ।

आवाज बन्द भएको देशमा अर्को देशको प्रधानमन्त्री आएर, ‘‘भारतके लिए जिनेमर्नेवाले, उन् बहादुर नेपालीयोँको मे आज नमन कर्ना चाहता हूँ’’, भनिदिएपछि जनताले नेतासँग देशै थर्कने गरी तालीपिटे । बाहिरको मान्छे आएर नेपालीलाई बहादुर जो भनेको थियो । देशप्रेमले ओतप्रोत, मैले पनि गर्वको आँसुसहित ताली पिटेको थिएँ ।

देशले ‘‘तैँ चुप्, मै चुप् !’’को संस्कार अविलम्वन गरिरहँदा अर्को देशले ‘‘बहादुर नेपाली’’ भनिदिएपछि, उसको हक लाग्ने नै भयो । अनि सिमा मिच्यो भनेर किन रुनू ? नाका बन्दी भयो भनेर किन कुर्लनू ?

फेरि यो संस्कारको सबै भन्दा कडा अनुयायी भनेका हाम्रा नेताज्युहरु । विदेशी नाकाबन्दी होस् वा बाख्राको घेराबन्दी होस्, सिमा मिचिँदा होस् वा कुखुरा किचिँदा होस्, वाइडबडीमा होस् वा नाइटगाडीमा होस्, धनराजको कर होस् वा मनराजको खर होस्, सुन होस् वा लसुन, महँगो होस्, तर गायब नहोस् । खाने पानीमा लेउ होस्, मकै फल्ने बारीमा केराउ होस्, माफियाको राजनैतिक गुट होस् या सोफिया ए.आइ. रोबट बनोस् वहाँहरु सधै एकअर्कालाई इसारामै भन्नुहुन्छ, ‘‘तैँ चुप्, मै चुप् !’’

अझ वहाँहरुले त इसारा पनि गर्नु पर्दैन, आँखाकै भाषा हुन्छ । न पत्याए नेताहरुले एकअर्कालाई हेर्ने तरिका हेर्नूस् त, हो जस्तो लाग्दैन ?
नेताहरु मात्रै हैन, यसका अनुयायी शिक्षकदेखि विद्यार्थी, प्रहरीदेखि गुन्डा, कर्मचारीदेखि व्यापारी, पियुनदेखि हाकिम, नातीदेखि हजुरबा, मामादेखि भान्जा, उत्तरदेखि दक्षिण, पुर्वदेखि पश्चिमसम्म लटरम्मै छन् ।

हजुरबाले नातिनीलाई गरेको दुव्र्यवहार आमालाई भन्न जाँदा होस् या सोझो केटाले सार्वजनिक बसमा बिना गल्ती पिटाइ खाँदा होस्, सबै उहीइसारा गर्छन्, ‘‘तैँ चुप्, मै चुप् !’’ ।

यी जमातको फरक उपस्थिति देखिन्छ सामाजिक सन्जाल र चियापसलमा । चिच्याउँदै भन्छन्, ‘‘त्यस्ता नेतालाई हाम्ले भोट नदिए कोट नि लाउन पाउन्नन् ।’’, तर चुनावमा एकअर्कालाई त्यही इसारा गरेर इसारा गर्नेहरुलाई नै जिताउँछन् । अनि त्यही इसारा गर्नेहरुले कोट लाएर इसारामै सपथ खान्छन्, ‘‘तैँ चुप्, मै चुप् !’’

यही संस्कारले होला हामीलाई प्रश्न गर्ने स्वभावको पनि बनाएन । देशले ‘‘नाममा के छ र ?’’ भन्ने सेक्सपियर जन्माएन । हुन त देवकोटाले भनेका थिए, सेक्सपियर त यहाँ हलो जोत्दै होलान् । किनकि हलो जोत्दा गोरुसँग त बोल्न पाइन्छ ‘‘ह ह, हट् हट्, उता जा’’ ।
यहाँ मान्छे मान्छेसँग बोल्न डराउँछ ।

यो संस्कारबाट बिरक्तिएर विदेशी संस्थामा जागिर लगाइदिन बाले चिनेको ठूलै नेताकोमा सिफारिस लिन गएको थिएँ । उहाँ कुकुरलाई खाना खुवाउदै हुनुहुन्थ्यो । मैले बातैबातमा जिज्ञासा राखेको थिएँ, ‘‘नेताज्यू ! अस्ति भष्टाचारको केशमा पर्नुभको मन्त्री छुट्नुभएछ नि !”
उहाँ निरास हुँदै हातले मुख छोपेर इसारा गर्दै कुकुरतिर फर्कनुभयो, ‘‘टमी, मीठो भइराछ ? हड्डी खान्छस् ?’’

नेताज्यूको फुस्केटचाला देखेर त्यहाँबाट निस्केँ । निस्कँदा पालेले भन्दै थियो, नेताज्यू पनि करोडकै भष्टाचारमा पर्नुभएको रहेछ । त्यही तनावमा कुकुरसँग बोल्न थाल्नुभएछ ।

केही आवाजहरुले देशलाई यो भाइरसबाट छुट्कारा दिलाउन प्रयास नगरेका होइनन् । तर रोगले ग्रस्त संस्कारीहरु उनीहरुको कलम भाँच्छन् । धन्न आवाजहरु पेन्सिल लिएर हिँड्छन्, भाँचियो भने फेरि तिखारेर यसको विरोध गरिरहन्छन् ।

हुन त संयोग नै होला, तर कहिलेकाहीँ सोच्छु– त्यो दिन गणतन्त्र घोषणा नभएको भए बाले मोबाइल छोड्नु हुन्थेन होला ! हामीले मोबाइल चलाउँने थिएनौँ होला ! दाइले ‘‘तैँ चुप्, मैँ चुप् !” को इसारा गर्थेन होला, र देशमा यो संस्कार नै भित्रिने थिएन होला !

Loading...