नेपाली साहित्यको सम्पूर्ण पत्रिका

प्रश्नहरूमा मान्छेः खेम रिजाल र “धूमिल जून”

 

विश्वसाहित्यको विकासक्रमलाई सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने हरेक साना–ठूला परिवर्तन र समस्यालाई सम्बोधन गर्ने “यथार्थवादी” साहित्यको युगको अन्त्यतिर फेरि साहित्य अध्यात्मिक, अन्तर्मुखी अथवा रुमानी विषयहरूको बिसौनीमा आइपुग्छ । आधुनिकतावादको घोर निराशा तथा अनिश्वरवादी सोचको पटाक्षेपपछि साहित्य उत्तरआधुनिक पडाउमा जब आइपुग्यो, त्यसले नयाँ सम्भावनाको बाली लगायो । उत्तराधुनिकतावादी साहित्य सारमा निराशावादी साहित्य होइन । त्यो बहुल सम्भावनाहरूको साहित्य हो । तर मानव, ईश्वर अथवा प्रकृति — केहीको पनि केन्द्रीय सत्तालाई न स्वीकार गर्यो,  न अस्वीकार । ऊ केवल मौन रह्यो । बरु, यी तीन सत्ताको निर्मितिका पछाडिका संकथनहरूमाथि घोत्लियो, र सबै खाले निचोड, निर्णय र नियमनकै विरुद्ध उभियो । भन्न त समालोचकहरूले उत्तरआधुकिताले बहुलवादको वकालत गर्ने हुनाले प्रजातान्त्रिक पद्धतिको पृष्ठपोषण गर्छ पनि भने, तर त्यसले न विरोध गर्छ, र पृष्ठभोषण गर्छ । त्यसले, कुनै पनि धारणा अथवा पद्धतिको निर्मितिमा प्रयुक्त सारहरू, आधारहरू र कारकहरूको सूक्ष्म विश्लेषण गर्छ ।

१९४५ को आणविक बमकाण्डबाट विक्षत भएको हिरोसिमा र नागासाकीमा पनि पुनः बिरुवा पलाउन लागेपछि मान्छे पुनः हल्लियो, र अस्था राख्ने ठाउँ त वास्तवमा छ कि भन्ने निचोडमा पुग्यो ।

 

तर हामी उत्तरआधुनिक समयका छैनौँ । हामी उत्तर–उत्तरआधुनिक समयमा छौँ, जसले उत्तरआधुनिकताका केही महŒवपूर्ण मान्यताहरूलाई परित्याग गरेर अगाडि बढिरहेको छ । सो के भने, पुनः मान्छे आस्था झुण्डाउने कुनै ठाउँ खोजिरहेको छ । प्रकृतिले बचाउला भन्दाभन्दै प्रलयको भागी भएको, राजाले बचाउलान् भन्दाभन्दै अनेकौँ अहमयुद्धको सिकार भएको, भगवान्ले बचाउलान् भन्दाभन्दै भगवान् आफैँ सूली चढेको, विज्ञानले बचाउँला भन्दाभन्दै विज्ञानकै बलमा विश्वयुद्ध भएको र करोडौँको सङ्ख्यामा नरसंहार भएको यथार्थका कारण मान्छेले आस्था झुण्डाउने ठाउँ गुमाएको सत्य हो । त्यसैले, बीसौँ शताब्दीको मध्यतिर विश्वको साहित्य घोर निराशावदी, अस्तित्ववादी, शून्यवादी तथा विसङ्गतिवादी भएर गएको हामीले सबैले देखेकै हो, पढेकै हो । यो समय ठूला शासक–प्रशासकका साथै आम जनतामा पनि आत्महत्या, विक्षिप्तता र पागलपनको लहरै चल्यो । अस्थाले बिसौनी पाएन भने सासले मात्रै जीवन धान्दैन । मान्छे आफ्नै समाप्तिका उपायहरूको खोजी गर्न अभीशप्त हुन्छ ।

सान्दर्भिक पोस्ट

पोन्डोराको जस्तो बाकस

पापी

Love & Hope

तर, १९४५ को आणविक बमकाण्डबाट विक्षत भएको हिरोसिमा र नागासाकीमा पनि पुनः बिरुवा पलाउन लागेपछि मान्छे पुनः हल्लियो, र अस्था राख्ने ठाउँ त वास्तवमा छ कि भन्ने निचोडमा पुग्यो । मेरो मान्यता हो, उत्तरअधुनिक सोचको प्रधानता रहेको करिब आधा शताब्दीको समय भनेको मान्छेको आस्था झुण्डाउने ठाउँको खाजी गर्ने कोशिसको समय थियो । तर, उत्तरआधुनिकताले त्यो भेट्टाउन सकेन । र त्यो जिम्मा उत्तर–उत्तराधुनिकताले लियो । आज पुनः मान्छे कि मान्छेको नजिक पुगेको छ, कि धेरै हदसम्म ईश्वरको पुनरअविष्कार गर्नमा तल्लिन छ, कि अध्यात्मिक र आत्मिक चिन्तनतिर प्रवृत्त छ ।

यस परिवर्तनको प्रतक्ष लक्षण साहित्यमा देखिन्छ । पछिल्लो समयको साहित्य वाह्य यथार्थ कम र भित्री यथार्थ बढी बोकेको साहित्य हो । नेपाली कविताकै कुरा गर्ने हो भने, २०६२–६३ को आन्दोलनको वरिपरि देखिएको आक्रोषपूर्ण र राजनैतिक कविताले आफ्नो काम गरेर, आफ्नो बाटो तय गरेर, नयाँ कवितालाई बाटो दिइसकेको छ । अर्थात्, एक दशकको धङ्धङीपछि नेपाली कविता जनआन्दोलनको “ह्याङओभर” बाट मुक्त भएको छ । पछिल्लो छिमलको नेपाली कविता पुनः भावप्रधान बन्दैछ, रुमानी बन्दैछ, मान्छेका स्थायी समस्याः सुख, दुःख, आँसु, हाँसो, रोदन, आत्मिक उत्तनि, अवनति, आस्था, अनास्था, पीडा, मोक्ष आदि निजी, आत्मिक अथवा अध्यात्मिक विषयहरूमा बढी केन्द्रित भएको छ । कविता अखबारी मूर्तताबाट क्रमशः भावनात्मक अमूर्ततातिर उन्मुख छ, प्राविधिक भाषाबाट हृदयगीतको भाषातिर प्रवृत्त छ, क्लिष्ट परिष्कारवादी संस्कारबाट सरल, सर्वस्पर्शी र आमभाष्यको निकट आइरहेको छ ।

 

युवा वयका लेखक खेमको कविताले सरकार, शासनसत्ता, प्रेम, यौन र समयका विपार्यसलाई पनि नछोएको होइन

यी पछिल्ला रुझानहरूको एउटा साक्षी हो, खेम रिजालको कवितासङ्ग्रहः “धूमिल जून ।”

अमेरिकामा बसेर कविता कर्ममा समर्पित श्रष्टा खेम रिजालको सङ्ग्रह पढिरहँदा मलाई दुई नेपाली कविहरूको सम्झना आइ नै रह्यो, जो आफ्ना फरक फरक शैली, शिल्प र कथ्यको बलमा नेपाली कविताको पछिल्लो कडीको आर्तनाद लेखिरकेका छन् । पहिलो, सोलुखुम्बुका युवा कवि सुवास सङ्गम राई, जसको “नेप्चीको लय” कवितासङ्ग्रह २०७२ मा प्रकाशित भयो । एकै वाक्यांशमा भन्ने हो भने, उनको समग्र कविता “चिन्मयको खोजी” हो, जसले आजपर्यन्त प्रयोगमा आएका शान्तिमार्गहरूको एउटा बलियो विकल्पको खोजी गरेको छ । त्यो विकल्प के हो, त्यो सुवास सङ्गमलाई पनि सायद थाह छैन, तर यो थाह छ, एउटा बलियो विकल्पको माग आजको समयले गरेको छ, र त्यो विकल्प मान्छेभित्रको आन्तिरक पृथ्वीबाट कुनै दिन प्रस्फुटित हुनु अवश्यम्भावी छ । मैले यसै मेसोमा सम्झेका अर्का कवि हुन्, चर्चित, मदनपुरस्कार विजेता काव्यकार गोपाल पराजुली । “अर्को ईश्वरको घोषणा” पछिका उनका सम्पूर्ण काव्य— “अर्को विश्वको प्रस्ताव”, “शान्ति खोजिरहेको सिपाही”, “एउटा जेलबर्डको डायरी” र फुटकर रूपमा प्रकाशित कविताहरू यसै प्रश्नको उत्तर खोजिरहेछन्ः आजको युगमा, जीवन र जगतको सुरक्षाका लागि सबैभन्दा बलियो शान्तिमार्ग के हुन सक्छ ? उनी मान्छेभित्रै ईश्वर स्थापित गर्छन्, र त्यसै ईश्वरको पक्षमा मतदान गर्छन् । हिंसाका सम्पूर्ण अभ्यास र उपक्रमलाई खारेज गर्छन्, र अनास्थाका सबै सबै दर्शनहरूको एकमुष्ट विरोध गर्छन् । उनी पनि भित्री मान्छेको आत्मिक र अध्यात्मिक विकासमा भोलिको भविष्य निहित रहेको देख्छन् ।

यी तमाम तर्कहरूको साक्ष्यको रूपमा हामी खेम रिजालले “धूमिल जून” मा सङ्ग्रह गरेका कवितालाई लिन सक्छौँ । हाल ओहायोको सिन्सिनाटीमा बस्दै आएका, भूटानी मूलका नेपाली कवि, गीतकार, सङ्गीतकर्मी तथा गायक रिजालको यस अघि “किनारोका छाल” गजलसङ्ग्रह पनि प्रकाशित छ । गीत र गजलको निकट रहेकैले होला, उनको कविताकारिता थोरै, छोटा, जनस्रुतिको निकट रहेका लालित्यपूर्ण शब्दहरूको जगमा उभिएको देख्न सकिन्छ ।

५१ कविता बोकेको, “धूमिल जून” सायद खेमको पहिलो कवितासङ्ग्रह को । युवा वयका लेखक खेमको कविताले सरकार, शासनसत्ता, प्रेम, यौन र समयका विपार्यसलाई पनि नछोएको होइन, तर उनको कविताको सबैभन्दा बलियो अभीष्ट भनेकै मान्छेको भित्री संसार चिहाउनु हो ।

सङ्ग्रहभरि कविले आफ्नो “स्व” को निर्मितिमाथि घनीभूत चिन्तन गरेका छन् । यसभित्रका थुप्रैवटा कविताको कोलाज बनाउने हो भने, ती कविता उनको परिचय खोज्न अथवा निर्माण गर्नमा समर्पित छन् । वास्तवमा “म को हुँ” भन्ने कुराको खोजी आजसम्मको दर्शनको सबैभन्दा गहन, सबैभन्दा विवादित, र सबैभन्दा असङ्गतिपूर्ण खोजी हो । आजसम्म मान्छे यस प्रश्नको कुनै सम्यक अथवा सर्वमान्य उत्तरमा पुग्न सकेको छैन । यसअर्थमा, खेमले पनि त्यसको कुनै सञ्जीवनी उत्तरको अविष्कार गरेका छन् भन्ने होइन, तर धेरैलाई गाँजेजस्तो उनलाई पनि यस प्रश्नले राम्रैसँग गाँजेको छ । उनी आफ्नै बारेमा लेख्छन्ः

मेरो रगत माटोमा घोलेर हेर्नू
गर्भिणी आमाको गर्भमा अलिकति जून देख्नेछौ
त्यी उज्यालोको पखाइमा रहनू (म गर्भमा)

    मान्छेको स्वको निर्मिति एक जटिल प्रक्रिया हो । यो केवल जैविक प्रश्न होइन । यो आदिभौतिक र अध्यात्मिक प्रश्न पनि हो । हामी हामी कसरी बन्छौँ? हराजौँको सङ्ख्यामा विद्यमान तर्क, वितर्क, सिद्धान्त र मान्यताका बीच मान्छेभित्रको मान्छेको निर्मितिमा एउटा सर्वसम्मत मान्यता भने अवश्य छ । सो के भने, हाम्रो भौतिकीको निर्मिति पञ्चमहाभूतबाट बनेको छ भने हाम्रो आस्तित्विक निर्मिति हामीजस्तै अरु मान्छेहरूको उपस्थितिका कारण सम्भव भएको छ । अर्थात्, हाम्रो आस्तित्विक निर्मितिलाई अरुहरूको अनुमोदन चाहिन्छ, साबिती चाहिन्छ । त्यसैले नै कवि लेख्छन्ः
म शून्यतामा
कोलाहल त्यो भीडमा
सङ्केत, या त सम्बोधनमा
तिमी जहाँ छौ
म सदैव त्यहीँ हुनेछु । ()

यस स्वीकारोक्तिले मान्छेको आस्तित्विक यथार्थलाई एउटा सापेक्षित यथार्थ बनाइदिन्छ, जो सत्य पनि हो । अरु मान्छे नहुनु हो भने, हामी एक्लै हुनु अथवा नहुनुको के अर्थ हुन्छ ?

     यो प्रश्न पहिचानसँग जोडिएको प्रश्न पनि हो, र पहिचान पनि मान्छेको “म को हुँ” को खोजीसँग जोडिएको प्रश्न हो । “धूमिल जून” सङ्ग्रहका थुपै्र कवितामा कविले पहिचानको प्रश्नमाथि बहस गरेका छन् । विविध कोणबाट आफूलाई हेर्छन्ः एक सन्तानका रूपमा, एक साथीका रूपमा, एक प्रेमीका रूपमा, एक राष्ट्रभक्तका रूपमा, एक पुरुषका रूपमा, र एक आम मान्छेका रूपमा, र आफ्नै पहिचारबाट “मेरो परिचय” शीर्षकको कवितामा भन्छन्, “चिन्न सकिनँ मैल आफैँलाई ।” यो एउटा गहिरो खोजी हो, किन कि, उनको स्वीकारोक्ति यस्तो छः

म शान्त
थोरै अशान्त पनि
ब्रह्माण्डलाई महसुस गरिरहेको
धैर्यधारणसँगै
आफैँमा विक्षिप्त छु ()

खेमका कविताको अर्को गहिरो कथ्य भनेको मानवीय सम्बन्धहरूको मूल्याङकन हो । माथि हामीले स्थापित ग¥यौँ एउट तर्क, कि हाम्रो परिचय र निर्मिति सापेक्षित चिज हो, अरुहरूको उपस्थितिको सापेक्षतामा मात्रै त्यो अर्थपूर्ण हुन्छ । तर, यी “अरुहरू” सँगको मान्छेको सम्बन्ध सधैँ सङ्तिपूर्ण र सुमधुर हुन्छ भन्ने हुँदैन । खेमले स्वीकारेका छन्, कि मान्छे–मान्छेबीचको सम्बन्ध विश्वासमा कम र अविश्वासमा बढी टिकेको छ । यिनै अविश्वासका कारण “अँध्यारो मार्ग” शीर्षकको कवितामा मान्छे “कुटिल मार्गका /प्रशोधित छविहरू / नम्रता कुँदिएका / चमकदार स्मारक भनाउँदा / मानिसहरूको खरिद गर्न चाहन्छन् ।” त्यसै अविश्वासका कारण “पुराना निर्दाेष सपनाहरू उत्तेजित छन् गोप्य अनुहारको खोजमा” (भ्रामक प्रेमी) । साथीभाइभित्रै पनि अविश्वास यति छ कि, करिबीहरू पनि “सम्बन्धको वेवास्ता गरी” “भित्रै भित्रै जल्ने” गर्छन् (ऊ) । यस्तै यस्तै अविश्वासका कारण आजको मान्छे यस्तो भएको छः

अर्कोको मर्म नबुझ्ने
भएको संरचना भत्काउने
नयाँ सिर्जना कहिल्यै नगर्ने
गरिहाले पनि बिट नमार्ने
आफ्नो जिद्दी नछोड्ने
खै हामी कस्तकस्ता ’ (खै हामी कस्ताकस्ता)

यी तमाम आन्तरिक विपर्यासहरूको बीचमा बाँचेको मान्छेसँग भित्री उज्यालो छैन भने ऊ आफैँभित्र खण्डित हुन्छ, निराश हुन्छ, र ज्योतिविहीन हुन्छ । “प्याला साथी” कवितामा आफैँलाई भेट्टाउन नसकेर मदिराको शरणमा पुगेको कुनै एउटा मान्छे धुवाँमा गुम्सिन्छ, अन्यायलाई जलाउन नसकेको अधकल्चो विचार बोकेर तमासामा तेर्सिन्छ ।

“अनौठो राष्ट्रपति” शीर्षकको कवितामा भन्छन्, “पूँजीवादी कवचले हिलोको हड्ताल उठाएको छ ।”

 

   आजको समय, शासन, सत्ता र सरकारलाई कसरी हेरेका छन् खेमले ? यो अविश्वासको श्रृङ्खला यहाँ पनि जारी छ । भोकाहरू भोकै छन्, नाङ्गाहरू नाङ्गै । घरविहीनहरू किनारामै छन्,  दुःखीहरू दुःखकै सागरमा छन् । र व्यवस्थालाई यी तमाम पीडाहरूको खासै हेक्का छजस्तो देखिँदैन । “सरकार” शीर्षकको कविताको उठानविन्दुमै उनी सरकारको सार्विक प्रवृत्ति र त्यसका विरुद्ध एउटा प्रतिनिधि प्रतिकार यसरी व्यक्त गर्छन्ः
म भोकाएको मान्छे
असम्भव प्रेमको उदासी
हेरचाहमुक्त मेरो हृदय
दमनको कठोरताले ममाथि
समानुपातिक शासनमा प्रतिबन्ध लगाउँदै
स्वस्थ्यको उत्तम मजा लिन्छ
तर मलाई आरामको आवश्यकता छ । (सरकार)

कनुै अनामिक या अमूर्त प्रतिनिधि सरकारको मात्रै होइन, आफू बसिरहेको मुलुक अमेरिककै पनि घुमाउरो आलोचना उनले गरेका छन् । “अनौठो राष्ट्रपति” शीर्षकको कवितामा भन्छन्, “पूँजीवादी कवचले हिलोको हड्ताल उठाएको छ ।” अगाडि लेख्छन्ः
अनुपयुक्तले आफ्नो बोलीको दौरान
व्यक्तिगत आक्रमणहरू
अधिकांश बेवास्ता उत्प्रेरित
सिद्धान्तहरू र स्वतन्त्रताको विरुद्धमा धम्कीहरू
सत्य र सभ्यताका लागि ध्वस्त पार्दै छ (अनौठो राष्ट्रपति)

थुप्रै भावहरूको कोलाज हो खेमको कविता । विषयहरूको वैभेद्य लोभलाग्दो छ । प्राकृति चित्रण र त्यसभित्र निहित गहन अध्यात्मिक यथार्थ “अनुयायी” जस्ता कविताले चित्रण गरेका छन्, जसमा जून एक शान्त तर विशाल उपस्थितिको रूपक अलङ्कार हो । प्रकृतिकै छटाहरूबीच आफूले मन पराएको मान्छेको उपस्थितिको आभास पाउनु एउटा सुन्दर रुमानी चिन्तन् हो, जसलाई “आनन्द” जस्तो कवितामा उनले प्रस्तुत गरेका छन् । आमाको महानता, प्रेमको शाश्वतता, खण्डित जीवनका विभाजित नियति, रहर र यौनका अभीप्साहरू उनको अविताका अन्य बलशाली विषयहरू हुन् ।

यी मामाम कविता पढेपछि पाठक केही निचोडमा अवश्य पुग्छन् — मान्छेले आफ्नो सम्पूर्ण परिचय अरुमा खोज्छ, तर अक्सर भेट्दैन । जीवनबाट आस्था गुमाएर मृत्युन्मुख भएकाहरूलाई झिनामसिना आशाहरूले अल्झाउँछ । स्वार्थमा लिप्त मान्छे समाजको क्यान्भासका एउटा कालो धब्बा हो । सधैँ साथको बाचा गरेका प्रेमीहरू नियतिको चक्रमा बिछोडिन बाध्य हुन्छन् । जीवनयात्राको अन्तिम सत्य मृत्यु हो, तर बाटोमा आइपर्ने कुनै नाफा अथवा नोक्सान होइन । आफ्नो सीमाबारे थाह पाएको मान्छे आफूले केही उपलब्धि गर्न सकेन भने दुःखी हुन्छ । भ्रमहरूको बीचमा मान्छेलाई आफ्नो स्व चिन्न कठिन हुन्छ । यी केही निचोड हुन् खेमका कविताका । यी उथलपुथलबीच कविलाई लाग्छ, प्रकृतिको साथ, र आन्तरिक अथवा आत्मिक यात्रा उनको जीवनको उपल्लो अभीष्ट हो । लेखाइको पनि । उनलाई थाह छ, “अप्रिय चीजको स्मरणमा हामी अरुसँग चिन्तित हुन्छौँ”, तर उनलाई यो पनि थाह छः

सम्झौता विरुद्ध
नयाँ निकास ल्याए
साधारण जीवनमा
आनन्द मिल्नेछ ।(मानव जीवन)

विविध कथ्य र विचारका बीच पनि कविहरूसँग एउटा विश्वदृष्टि हुन्छ, एउटा निजी भावभूमि हुन्छ । के हो खेमको निजी दृष्टि जीवन र जगतबारे? यसको उत्तर त खेमसँगै हुन्छ । हामीले पाठकको हैसियतबाट हेर्दा लाग्छ, उनी आफूले बाँचेको समयका सम्पूर्ण विवर्यासको समाधान प्रेम, प्रकृतिसँगको निकटता, प्रजातन्त्र र आन्तिम शान्तिको खोजीमा नै भेट्छन् ।

स्वरूपमा जति सरल देखिन्छन् खेमका कविता, त्यति सरल छैनन् ती भावमा । अमूर्त कविता हुन्, र अधिकांश कविता अविधात्मक छैनन् । चित्रकलाजस्ता छन् कविता, जसको छेउटुप्पो पत्तो लाउन धेरैपल्ट पढ्नुपर्छ । झटकाजस्ता उपसङ्हार छन् कवितामा । सामान्य उठान छ, र ओजपूर्ण समापन । धेरैपल्ट पढ्ने आग्रह राख्छन् । धैर्य चाहिन्छ उनलाई बुझ्न र उनको भावतरङ्गको मेलोसेसो पत्ता लाउन । प्रयोगशील छन् र अपारम्परिक छन् । त्यसैले नै नवीन र सुन्दर पनि छन् ।

अन्त्यमा भूटान र आप्रवाशनबारे एउटा नोट । सङ्ग्रहभित्र “कैद” शीर्षकको एउटा कविता छ – सङ्हभित्रकै लामो कविता । कवितामा एउटा दारुण परिस्थितिको चित्रण छ, जहाँ समय जीवनप्रतिकूल छ । हिरासतमा पागल बच्चाहरू जीवन र मृत्युको अवशेष बनेका छन् । आँसुका अविराम रेखाहरू बगेका छन् । कोही कसैको पर्वाह गरिरहेजस्तो देखिँदैन । लामो बाटो हिँडेका यात्री फर्कने सम्भावना देखिँदैन । प्रेमका सम्वाहकहरू भूमिगत छन् । कविहरू सुदूरका सपनाको व्यर्थ पखाइमा छन् । फुटपाथहरूमा जीवन कैद छ । र कविताको अन्त्यमा भनिएको छः
बिना देश बाँचिरहेका
भोका, चिसा,
र निराश आत्माहरू
पछुतो गर्छन् जीवनको बारेमा
अपमान गर्यो अतिक्रमणले
अस्तित्वको संघर्ष युद्धमा । (कैद)

   हुन त यस कवितलाई जीवनका अन्य विविध पक्षसँग जोडेर हेर्न सकिन्छ र यसको कथ्यलाई आस्तिवक युद्धमा मान्छेको संघर्षसँग जोड्न पनि सकिन्छ । तर यसमा केही वाक्यांश यस्ता छन्, जसले भूटानबाट निर्वाशित नेपाली मूलमा प्रियजनहरूको आत्मा बोलेको हो भन्दा अत्युक्ति हुँदैन । “यात्री फर्कने छैन”, “बिना देश बाँचिरहेका”, “अपमान गर्यो अतिक्रमणले” तथा “अस्तित्वको संघर्ष युद्धमा” जस्ता वाक्यांशले यस कवितालाई यसरी पनि व्याख्या गर्ने आधार दिन्छ । र त्यसैले यस कवितालाई थप शक्ति पनि दिन्छ । यस कवितभरि पोखिएको करुण रस र असन्तुष्टीको भाव आजको एउटा प्रतिनिधि भाव पनि त हो ।

यी तमाम कथ्य र तर्कका बीचमा उभिन्छ खेम रिजालको काव्यिक दावी । एउटा पूर्ण मान्छेको खोजी र आत्मिक र चिरस्थायी सुखको चिन्तन् उनको कविताको एउटा निश्कर्ष हो ।

 

Loading...