नेपाली साहित्यको सम्पूर्ण पत्रिका

राम्रो रचनाका मिठा कृष्णप्रसाद पराजुली

सुरक्षा घेरामा विशेष ध्यान पुर्याउन नसक्दा हामी ह्याक भयौँ । ह्याकरले वेवसाइटमा ठूलो क्षती पुर्याउनुका साथै हाम्रा केही विशेष पठनीय सामाग्रीमा पनि क्षति पुर्याए । त्यसमा पछिल्ला चार दिन (सोमबारपछिका) सामग्री पूर्णरुपमा काम नलाग्ने भए, पढ्न नमिल्ने भए । पाठकको सुविधालाई ध्यानमा राख्दै गतबुधबार प्रकाशित यस सामग्रीले हामीले पुनः प्रकाशित गरेका छौँ ।

वाङमयको नसा नसामा पुग्ने लेखक साहित्यकारहरू दुर्लभ प्रतिभा हुन् । त्यस्ता दुर्लभ प्रतिभा युगमा थोरै मात्र हुन्छन् । कृष्णप्रसाद पराजुली त्यस्तै दुर्लभ भाषा साहित्य सेवी थिए जो वाङ्मयका हरेक क्षेत्रमा पुगे र नेपाली भाषा साहित्यलाई अनुपम योगदान दिए ।

यौटा समय थियो, उनको “राम्रो रचना मीठो नेपाली” हरेक विद्यार्थीको हातहातमा हुन्थ्यो । नेपाली भाषाका लागि त्यो पुस्तक अनिवार्य र अपरिहार्य थियो । त्यही पुस्तक पढेर, त्यसैबाट सिकेर विद्वान हुनेहरू समाजमा अझै पनि प्रसस्त छन् जसले पराजुलीको त्यो पुस्तकलाई आफ्नो सुरुवाती ज्ञानको मूल श्रोतको रूपमा उपयोग गरे ।

त्यो पुस्तक सहयोगी प्रकाशनबाट २०२३ सालमा पहिलो पल्ट प्रकाशित भयो र त्यसका अनगिन्ती संस्करणहरू भए, पुनर्मुद्रणहरू भए । त्यति मात्र होइन, त्यो किताबको चोरी संस्करणहरू पनि प्रशस्त निस्किए । खासमा पराजुलीले सो किताबको कपिराइट नै सहयोगी प्रकाशनलाई बेचेका थिए । उनलाई यो किताब त्यस्तो चल्ला, त्यति माग होला, त्यति बिक्ला भन्ने कुनै पूर्वानुमान थिएन । तर उनले सहयोगी प्रकाशनलाई कपीराइट बेचेकोमा किञ्चित पछुतो मानेनन्, किनभने उनले मलाई प्रत्यक्ष भनेका थिए, ” गोविन्द बाबु, सहयोगी प्रेसले दशैं, चाडवाडमा पैसा पठाइरहन्छ, छोराछोरीको बिहा व्रतबन्धमा पनि सहयोग गर्ने गरेको छ । तपाईँको किताबले मलाई फाइदा भएको छ भने मैले फाइदा किन नबाँड्ने ? यसो भन्छन् । त्यसैले मलाई सन्तुष्टि भएको छ ।“

त्यसअघि उनको पूर्व एक नम्बर भन्ने पुस्तक २०२२ सालमा प्रकाशन भएको थियो । यो त्यस किसिमको पहिलो पुस्तक थियो । नेपालको प्रशासनिक बाँडफाँडमा कुनैबेला पूर्व एक नम्वर भन्ने राजनैतिक इलाका थियो, जहाँ उनी जन्मिए, काभ्रेपलाञ्चोकमा । यो पूरै इलाका चिनाउने पुस्तक थियो र ऐतिहासिक महत्वको भएकोले यो पछिसम्म पनि पुनर्मुद्रण भइरह्यो । यस किसिमको अर्को पुस्तक निकै पछि डिल्लीराम मिश्र श्रमजीवीले ” नेपाल अधिराज्यमा तनहुँ” नामक पुस्तक लेखेका थिए र यो पनि निकै लोकप्रिय भएको थियो । तर यस किसिमको पुस्तक लेख्नको लागि जग निर्माता भने कृष्णप्रसाद पराजुली थिए ।

मैले कृष्णप्रसाद पराजुलीलाई उनको भोटेवहालको घरमा २०३६ सालपछि भेटेको हुँ । अनुज पुस्तालाई स्नेह गर्ने, प्रोत्साहन गर्ने र मौका कतै छ भने त्यो प्रदान गर्न पछि नपर्ने उनी उदार हृदयका साहित्यकार थिए ।

उनी प्रेसको ज्ञान भएका व्यक्ति थिए । त्यसैले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको शब्दकोष छपाइमा होस्, पुस्तकहरू छपाइमा होस् वा रत्न पुस्तक भण्डारका पुस्तकका काममै किन नहोस् बनारस गइरहन्थे र लामै समय कामको सिलसिलामा त्यहाँ बिताउँथे । यौटा समय बनारस राम्रो र सस्तो छपाइका लागि नेपाली प्रकाशकहरूको लागि केन्द्र नै थियो । नेपालका नेपाली प्रकाशकहरू मात्र होइन, भारतकै दार्जीलिङ, कालिम्पोङ, सिक्किम, असम लगायत नेपाली प्रकाशन निकाल्ने भारतका नेपाली समुदायका सबै केन्द्रहरूका लागि बनारसले आकर्षण गर्दथ्यो । सम्पादन, प्रकाशन र प्रुफ रिडिङको अनुभवले यो सब गराएको थियो ।

मैले पराजुलीबाट धेरै कुरा प्रत्यक्ष परोक्ष सिकेको छु । मैले उहाँले अवलम्बन गर्नुभएका कतिपय कुरा अवलम्वन गर्न थालेँ र त्यसले कालान्तरमा मलाई ठूलो काम दियो ।

उनी आफ्ना नयाँ रचना लेखेपछि त्यो रजिष्टर कापीमा दर्ता गर्थे, कतै प्रकाशनार्थ दिएपछि त्यो पनि जनाउँथे । प्रकाशन भएपछि त्यसको विवरण पनि इण्ट्री गर्थे । यति भएपछि त्यो रचनाको नालीबेली सुरक्षित रह्यो र रचना प्रकाशित पत्रिका हराए पनि त्यो सूचनाले गर्दा खोजी गर्न सजिलो भयो । कतिपय लेखक आफ्नो रचना कहाँ छापियो बिर्सन्छन्, रचना प्रकाशित भएका पत्रिका हराउँछन् र पुस्तक निकाल्ने बेलामा हारगुहार गर्न थाल्छन् । तर मैले पराजुलीबाट त्यो सिकेपछि आज पर्यन्त त्यसलाई अबलम्बन गर्दैआएको छु । साधारण भए पनि कति महत्वपूर्ण कुरा हो भन्ने मैले बेलैमा बुझे भन्ने लाग्छ मलाई र यसको श्रेय पराजुलीलाई जान्छ ।

उनको पन्द्र तारा र नेपाली साहित्य अर्को लोकप्रिय कृति थियो, जसमा १५ जना नेपाली लेखकको जीवनी सरल भाषामा उनले लेखेका थिए । रोचक चिनारी थिए ती । किशोर उमेरका लागि लेखिएको भए पनि बयस्कहरूमा पनि त्यो उत्तिकै लोकप्रिय थियो ।

सिर्जनात्मक साहित्यमा पनि उनले विविध विधामा आफ्ना रचना कर्मलाई अघि बढाएका थिए ।

सय थुँगा फूल उनका १०० मुक्तकहरूको सङ्कलन हो । उनले पछिल्लो संस्करणमा अरू १०० मुक्तक थपेर प्रकाशित गरेका थिए । परम्परागत रुवाई शैलीका उनका मुक्तकहरू चखिला र रोचक थिए । यो पुस्तकको पहिलो संस्करण २०२४ सालमा प्रकाशित भएको थियो । उनले गीतहरू पनि उल्लेख्य सङ्ख्यामा लेखेका थिए र त्यसको पनि सङ्ग्रह २०२४ सालमै प्रकाशित गरेका थिए- “आँखाभरि सपना मुटुभरि गीत” शीर्षकमा ।

संस्मरणात्मक निबन्धहरू उनको खारिएको कलमबाट सदा निसृत भइरह्यो । आफूले प्रायः सङ्गत गरेका दिवङ्गत लेखकहरूको इतिवृत्त उनले खुलस्त रूपमा लेख्दथे जुन नयाँ पिंडीका लेखक कविहरूलाई ज्ञानका लागि तथा मार्गदर्शनका लागि पनि प्रेरक लेखन थियो । साहित्यकारका योगदान र तिनका जीवनका उकाली ओरालीहरू तिनमा पाइन्छन् घतलाग्दो शैलीमा । “सम्झनाका क्षितिजमा” त्यही पुस्तक हो ।

नेपाली जगत उखान टुक्काहरूमा धनी छ तर त्यसको यथेष्ट अध्ययन अनुसन्धान भएको छैन । गाउँखाने कथा नेपालीको साँस्कृतिक गहना हो । कृष्णप्रसाद पराजुलीले नेपाली उखानहरू र गाउँखाने कथाहरूको सिंगै पुस्तक तयार गरे निकै परिशरम र खोजीमेलोका साथ । नेपाली उखान नेपाली साहित्यिक कृतिहरूमा कसरी प्रयोग भएको छ त्यसको दृष्टान्तसहित तयार भएको यो गहकिलो ग्रन्थ रत्न पुस्तक भण्डारले जनसमक्ष ल्यायो । यस किसिमकले नेपाली उखान नेपाली साहित्यिक पुस्तकहरूमा कसरी प्रयोग भएको छ भनेर दृष्टान्त र व्याख्यासहित पुस्तक लेख्ने लेखक सम्भवत: कृष्णप्रसाद पराजुली एक्ला नेपाली लेखक हुन् ।

भाषा उनको मूल क्षेत्र थियो । राम्रो रचना मीठा नेपाली पनि प्रकारान्तरले भाषालाई सहज रूपमा सिकाउने पुस्तक हो । तर यो पुस्तक रूखो र निरस नभइ सुस्वादु भएकोले जनजनमा लोकप्रिय भयो । सानादेखि ठूला सबै उमेरका लागि यो पुस्तक जरुरी बन्यो । त्यस्तै उनले प्रयोगात्मक भाषा तत्व, भाषाको मायालगायत अरू कृतिहरू नेपाली वाङ्मयका लागि प्रस्तुत गरे । साहित्य स्तरीय हुन भाषा शुद्ध हुन अनिवार्य छ, जुन पछिल्लो समयमा हुन सकेको छैन । तर कृष्णप्रसाद पराजुलीले सधैँ भाषालाई माया गरे र भाषालाई शुद्ध बनाउने काममा आफ्नो उमेरहरू खर्च गरे । भाषाको मायामा, साहित्यको सिर्जनामा र वाङ्मयको उत्थानमा उनको सुकर्म सदा सदा निरन्तर भर्इ नै रह्यो ।

बालसाहित्य उनको साहित्यिक व्यक्तित्वको अर्को महत्वपूर्ण पाटो हो । सानैदेखि बालबालिकालाई साहित्यमा उत्प्रेरणा जगाउन बालसाहित्यको उत्थान, विकास र बिस्तार जरुरी छ । उनले बालसाहित्य लेखेर, बालसाहित्यका कृतिहरू सम्पादन गरेर, बालसाहित्यका गतिविधिहरूमा संलग्न भएर नेपालको बालसाहित्यको उत्थान र विकासमा ठूलो योगदान पुर्याए । “रमाइला नानी”, उनको अति लोकप्रिय बालपुस्तक हो जसको अनेकन संस्करण निस्केका थिए भने प्राय: उनका सबै बालसाहित्यका कृतिहरू बहुसंस्करणमा निस्केका थिए र लोकप्रिय भएका थिए ।

लोकसाहित्य पनि उनको लेखन र अध्ययनको अर्को आयाम थियो । लोकसाहित्य, लोकगीत, लोकलय, लोकभाका यी सबलाई समेटेर उनले सुन्दर ग्रन्थ नै तयार गरे र यो मानक कृतिले नेपाली लोकसाहित्यको क्षेत्रमा उनको योगदान टड्कारो देखियो । “नेपाली लोकगीतको आलोक” उनको त्यही उत्कृष्ट ग्रन्थ थियो । त्यस्तै “लोककथाको फन्को” अर्को महत्वपूर्ण कृति हो ।

उनले आफ्नो जीवन कथा पनि पाठकलाई निष्ठापूर्वक सुम्पेका थिए, “शिखर यात्रा” । यो उनको आत्मजीवनीमा उनले भोगेका जीवनका पाटाहरू र यात्रा गरेका पाइलाका डोबहरू छर्लङ्ग देख्न सकिन्छ ।

प्रत्यक्ष र परोक्षरूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको काममा तथा त्रिभुवन विश्वविद्यालयमा उनले आफ्नो जीवनका धेरै उमेर खर्च गरे । कतिपय विद्वानहरूको भनाइ हुन्थ्यो, आफैं प्राज्ञ हुन योग्य र समर्थ व्यक्ति त्यहाँका प्राज्ञको अन्तरगत किन त्यस्तो काममा लागिरहेका होलान् । तर उनी काममा विश्वास गर्थे पदमा होइन । उनी निरन्तर निरन्तर काममै लागिरहे ।

उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको “कविता” पत्रिका, नेपाली बृहत् शब्दकोश, त्रिभुवन स्मिति ग्रन्थ जस्ता पत्रिका तथा पुस्तकहरूको कुशल सम्पादन गरेका थिए ।

नेपालमा विमोचन संस्कृति भारतवाट आएको हो । तर कृष्णप्रसाद पराजुलीले यसलाई नेपाली नामाकरण गरे र चलन चल्तीमा ल्याए, “ घुम्टी खोली” का रूपमा । उनी संलग्न भएका संघसंस्थाहरूको पुस्तक विमोचनलाई उनले घुम्टी खोलीमा रुपान्तर गरे । हुन त पछि कतिले सार्बजनिकीकरण पनि नाम दिए । तर निख्खर नेपालीपन झल्कने “घुम्टी खोली” नामाकरणको श्रेय कृष्णप्रसाद पराजुलीलाई जान्छ ।

यस्ता साहित्यका श्रष्टा , पारखी र लेखनका महारथी कृष्णप्रसाद पराजुलीको २०६९ सालमा भएको अमेरिका भ्रमण धेरै हिसाबले महत्वपूर्ण रहेको थियो । कैयनपटक भिषा अस्वीकृत हुँदा उनी दिक्क पनि भएका थिए तर अमेरिकामै त्यस समयमा बसोबास गरिरहेका उनका सुपुत्र साहित्यकार शाश्वत पराजुलीको अथक प्रयासले अन्तमा पराजुली दम्पत्तीले भिसा पाएका थिए र अमेरिका भ्रमणमा निस्केका थिए । अमेरिकामा उनको विभिन्न राज्यहरूमा सम्मान, अभिनन्दन भएको थियो । नेपाली जगतले उनलाई गरेको माया गजब उदाहरणीय थियो । ती सम्मान अभिनन्दनमध्ये सबैभन्दा बृहत् कार्यक्रम वाशिंटन डिसीमा निकै भव्यताका साथ सम्पन्न भएको थियो र संयोगबस त्यस अभिनन्दन समितिको संयोजन मैले गर्ने अवसर पाएको थिएँ । त्यस समयमा वाशिंटन डिसीबाट निस्कने एकमात्र नेपाली अखबार विश्वपरिक्रमाले उनको विस्तृत कभरेज गरेको थियो । उनी अमेरिकाको जुनजुन ठाउँमा पाइला टेक्न पुगे त्यहाँ त्यहाँ नेपालीहरूले स्वागतमा स्नेह र अपन्त्वको पुष्पवर्षा गरेका थिए । उनले यो भ्रमणको समाप्तिलगत्तै यस भ्रमणको नियात्रा पुस्तक पनि लेखे र “पूर्वी पाइला पश्चिमी देशमा” । यसमा उनले अमेरिकामा अनुभूत गरेका र अनुभव गरेका र भोगेका क्षणहरूलाई लिपिबद्ध गरेका छन् । र यो पुस्तक नै उनको जीवन कालको अन्तिम पुस्तक पनि थियो ।

अमेरिका भ्रमणपछि उनी नेपाल फर्कने क्रममा उनले बेलायतको पनि भ्रमण गरेका थिए र बेलायतका नेपालीहरूले पनि उनको सम्मान अभिनन्दन गरेका थिए ।

जीवनको उत्तरार्धमा उनको स्वास्थ्यस्थिति राम्रो थिएन । विशेषत: सुगरले उनलाई निकै थल्याएको थियो र अरू रोगहरूले पनि गाँजेको थियो । तर पनि ती रोगहरूको सामना गर्दै र औषधिको बलले उनी सिर्जनात्मकतामा रमाई नै रहे । रचनात्मकतामा आफूलाई लुटपुटाई राखे ।

गीत गाइएपछि मात्र त्यसको सही अर्थ रहन्छ । गीत भनेको फेरि शब्दकारका भावना, संगीतकारको लय र संगीत सिर्जना अनि गायकको सोही भाव भङ्गीमा अनुरूपको आवाजको त्रिवेणी हो । यसमा तीनै पक्ष उत्तिकै जोडदार भएमा कर्णप्रिय र अजर अमर गीत बन्छ । तर त्यस्तो गीत बहुतै कम हुन्छ । कृष्णप्रसाद पराजुली लिखित तथा उदित नारायण झाले गाएको यो गीत भने शब्द, संगीत र आवाजको सुरम्य त्रिवेणी बन्यो :

आँखा तिमीलाई देखेर

त्यहीँ छोडी हिडेँ म 

कृष्णप्रसाद पराजुलीले आँखा त होइन नेपाली वाङ्मयको भण्डारमा मूल लेखन र सम्पादनसहित सयौं कृति छाडेर गएका छन् । उनी ती रचनामा बाँचेका छन् र बाँचिरहनेछन् ।

१० मार्च २०२०, बृन्दावन, भारत

Loading...