नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नवपुस्ता: कसैलाई छोरासँग हुनुको खुसी, कसैले अस्तव्यस्ततासँग फेरि रुमलिनु पर्नेमा चिन्ता

अबोध छोराको त्यो निश्चल अनुरोधमा यति ताकत थियो कि मैले ऐन, नियम, कानुन, कार्बाही केही सोचिनँ। स्वार्थी बनेरै सही, लकडाउनको तेस्रो दिन म कसोकसो घर पुगें।

देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ ।

यस्तो बेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाए ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्ने छौँ:

केशु खण्डलुक मगर:

“परिवारसँगसमय बिताउन पाउनु नै लकडाउनको उपलब्धि”

केशु खण्डलुक मगर

कसैले भनेका छन्- “भाग्य चम्काउन धेरैले सक्छन्, तर परिवार चम्काउन कमैले मात्र।”

लकडाउन हुनु अघिसम्म म कार्यालयमै थिएँ। जब सरकारले लकडाउन गर्ने घोषणा गर्यो, सबैभन्दा पहिले मैले आफ्नो परिवार सम्झिएँ। अनि सबैभन्दा बढी आफ्नो बालक छोरालाई सम्झिएँ।थाहा छैन मान्छेहरू आफ्नो परिवारको साथको लागि किन यति स्वार्थी बन्छन् ?

छोराले फोनबाट,’बाबा, घर आउनूस्। सँगै बसौं’,भनिसकेको थियो। सोचें- यस्तो विपतको समयलाई आफ्नो परिवारसँगै बसेर सामना गर्नुपर्छ। अबोध छोराको त्यो निश्चल अनुरोधमा यति ताकत थियो कि मैले ऐन, नियम, कानुन, कार्बाही केही सोचिनँ। स्वार्थी बनेरै सही, लकडाउनको तेस्रो दिन म कसोकसो घर पुगें। मलाई केवल परिवारलाई भेट्नु थियो। भेटेँ। ‘विपत्तिको बेला आफ्नो सन्तान आफ्नो अघि उभिदिँदा मात्रै पनि परिवार मानसिक रूपमा कति धेरै मजबुत बन्छ !’ – घर पुगेपछि आमाको आँखाबाट खसेको आँसुले पढाएको थियो मलाई।

त्यसपछिको बाँकी समय परिवारसँगै बिताएँ। सायद जागिरे जीवनकै सबैभन्दा बढी परिवारसँग बितेको समय यही होला ! कहिलेकाहीं हामीलाई नजिककै कुराहरू चिन्न सबैभन्दा बढी समय लाग्छ।पहिलोपटक मैले परिवारलाई नजिकैबाट चिन्न पाएँ।मनैबाट नियालेँ। थाहा पाएँ, ग्यारेन्टी नभएको जिन्दगीमा आमाले कानमा लगाउनुभएको मुन्द्री भने ग्यारेन्टीवाला रहेछ। हामो भविष्य चम्कियोस् भनेर आमाले चम्किलो सुन बेच्नुभएको रहेछ।

थाहा पाएँ, जिन्दगीको बाटोमा अगाडि बढ्दै जाँदा काँडाले नबिझोस् भनेर जुत्ता किनिदिने बा’ले लगाउने चप्पलका फित्ता भने फरक फरक रङका रहेछन्। मैले साँझ-बिहान पानी धेरै हालेर फारु गरी खाने गेडागुडी हुर्काउन मेरी श्रीमतीले धेरै पसिना बनाउने रहिछन्। आफ्नो ड्याडीको नाम आफ्नो कापीमा राम्रो अक्षरले लेख्न सक्ने होस् भनेर मेरो छोराले केशुको ‘के..’ लेख्दै मेट्दै गर्दोरहेछ।

मैले यो लकडाउनमा मेरो समाजलाई पनि आफ्नै अगाडिबाट चिन्न पाएँ। जस्तो, बारीको घाँस चोरेको निहुँमा झगडा गर्ने मेरो छिमेकीहरू विपतको बेला भने एकजुट बन्दा रहेछन्। जस्तो, बारीको साँध मिचेको निहुँ पारेर एकाअर्कासँग नबोल्ने अनवीर काका र मनवीर काका देशको सिमाना मिचिँदा भने एकै स्वरमा बोल्दारहेछन्। एकता देखाउँदा रहेछन्।

मैले लकडाउनमा सबैभन्दा बढी समय छोरासँगै बिताएँ। उसले ‘मपछि ठूलो भएर डाक्टर बन्छु’ भनिरह्यो। मैले एउटा पिताको कर्तव्य पूरा गर्छु भन्ने प्रतिज्ञा गरिरहें। गरिरहेको छु। सायद मेरो कानले सबैभन्दा बढी उसकै बोली सुनेको हुनुपर्छ। मेरो मनलाई सबैभन्दा बढी उसकै शब्दहरूले छोएको हुनुपर्छ। उसको ‘ए फर एप्पल’ले मेरो कयौं भोक मेटायो। उसको नजानिँदो अंग्रेजी क्रियापद ‘स्लिपिङ माने सुत्नु’ ले मलाई आनन्दको निद्रा दिलायो। उसले ‘एस – इ – भी – इ – एन – सेभेन’ भनिरहँदा मेरो हरेक पल सप्तरंगी रङले रङ्गियो। जब उसले बाह्रखरी पढ्दै गर्दा ‘क, का, कि, की हुँदै के’ मा गएर रोकिन्थ्यो र लजालु हेराई हेर्थ्यो किनभने उसले बुझेको थियो उसको ड्याडीको नाम ‘के’ बाट सुरु हुनेछ भन्ने। उसको यस्तो क्रियाकलापबाट मैले जिन्दगीकै सर्वाधिक खुसी प्राप्त गरेँ।

लकडाउनको समयमा धेरै पुस्तकहरू पढें। धेरै पुस्तक त धेरैपटक पढेँ। कुनै कुनै पुस्तक चुइँगमजस्तै हुँदोरहेछ, जति चपाइरहे पनि झर्को नलाग्ने।

धेरै पुस्तकहरू अनलाइनबाट किनेर पढें। तर छापाको पुस्तकमा पाइने वास्नामय शब्दहरू डिजिटल पुस्तकमा भेटिनँ। यो समयमा सबैभन्दा बढी गैरआख्यान पढ्ने कोसिस गरेँ। त्यसमा पनि इतिहास मुख्य रुचिको विधा बन्यो। कुनै पनि देशको वर्तमान अवस्थाबारे विश्लेषण गर्न इतिहास पढ्नैपर्ने रहेछ।

लभ, एक्सन, कमेडी, रोमान्सभन्दा पर बनेको ड्रामाटिक मुभीहरूले खुब मन लुट्यो।

लकडाउनको अर्को उपलब्धि भनेको धेरैभन्दा धेरै मुभी, सिरिजहरू हेरेँ। त्यसमा पनि प्राचीन/मिथमा आधारित मुभी बढी हेरें। लभ, एक्सन, कमेडी, रोमान्सभन्दा पर बनेको ड्रामाटिक मुभीहरूले खुब मन लुट्यो। त्यस्ता मुभीहरू हेरेर मैले आफ्नै जीवनमा जानीजानी परिवर्तन आएको महसुस गरिरहेको छ।

पिता र पुत्रबीचको कथामा आधारित भेटिएसम्म मुभीहरू हेरें। बाउ-छोराको सम्बन्ध मजबुत गराउन त्यस्ता फिल्मले धेरै सहयोग पनि गरेको छ। गरिरहेको छ।

लकडाउन बिस्तारै खुकुलो हुँदै जाँदा सामाजिक कामतर्फ पनि सक्रिय भएँ। धेरै विकास कार्यहरूमा श्रमदान दिएँ। हरेक खराब समयले सकारात्मक समय बोकेर आएको हुन्छ। लकडाउनमा आफ्नो परिवारसँग समय बिताउन पाउनु नै यसको मुख्य उपलब्धि बन्यो।

 

सुष्मा तिमल्सिना:

“देशको अस्तव्यस्ततासँग फेरि रुमलिनु छ”

 

सुष्मा तिमल्सिना

बिहानै कलेज, दिउँसो अफिस, बेलुकी कोठामा आउथेँ । खाना बनाउथेँ । पाकिसकेको खानालाई एकैछिन सेलाउन दिएर झ्यालबाट आकाश हेर्थें । म हरेक दिन आकाश हेर्छु, कुरा गर्छु र रुन्छु । खुसी पनि उसैसँग बाँड्छु । उसलाई हेर्दा बा, आमाको अनुहार सम्झन्छु। आकाश मेरो लागि भरपर्दो नजिकको साथी बनिसकेको थियो ।

एउटै रुटिङमा चल्दाचल्दा आफ्ना रहरहरू, सपनाहरू खै कता पुगिसकेछन् ! मैले त आफैंलाई चिन्न छोडिसकेकी रहेछु।

लकडाउनको दुईदिन अघि हजुरबाको बर्खान्त परेकोले म घर गइसकेकी थिएँ । सेतै फुलेको कपाल, चाउरिएका गाला, हरियो साडी, हरियो चौबन्दी चोलो, पुग्नासाथ पहिलो नजर हजुरआमामा पुगेर ठोक्कियो । म हजुरआमाको काखमा टाउको राखेर घन्टौं रोएँ । हजुरआमाको आँखा समाजको नियतिसँग प्रश्न गर्दागर्दै थाकिसकेका थिएँ ।

लकडाउनको दिनहरू अरू दिनभन्दा लामो नै लागिरहेको थियो । पढ्न किताब थिएनन् । कहिले डोको नाम्लो बोकेर हातमा हँसिया खेलाउँदै जंगल पुग्थें । कहिले बाख्रापाठाको पछिपछि दौडिन्थें । उनीहरूको कपाल कोरिदिन्थें, बाटिदिन्थें ।

हरेक साँझ आमा बाती काढ्दै आफ्ना विगत सम्झनुहुन्थ्यो, आफ्ना भोगाइहरू सुनाइरहनुहुन्थ्यो । म उसरी नै आमाको काखमा टाउको राख्थें । आमाका आँखा जति आँसुले भरिन्थे,त्यति म रितिदै गइरहेकी हुन्थें ।

गाउँ पूरै सील गरिइसकिएको थियो।यस घटनापछि गाउँका मानिसहरू थप सर्तक हुन थालेका थिए ।

कोराना भाइसरको त्रास दिनानुदिन बढिरहँदा हाम्रै नजिक घर भएकी २९ वर्षिय सुत्केरी दिदीको २०७७ जेठ १ गते धुलिखेल अस्पतालमा निधन भयो । स्वास्थ्य मन्त्रालयले उक्त मृत्युको कारण कोरोना हो भनी आधिकारिक पृष्टि गर्नुपूर्व नै सामाजिक सञ्जालमा फोटोसहित श्रद्धाञ्जली दिनेहरूको लर्को लागिसकेको थियो । जब मृत्युको कारण कोरोना भन्ने पुष्टि भयो त्यसपछि गाउँमा एक किसिमको डरले आसन जमाउन थाल्यो । गाउँ पूरै सील गरिइसकिएको थियो। यस घटनापछि गाउँका मानिसहरू थप सर्तक हुन थालेका थिए । घरबाट बाहिर निस्कँदा मास्क लगाएर हिँड्ने, जाथाभावी घुमफिर नगर्ने, घुलमिल नहुनेजस्ता नियम अरू कठोरताका साथ पालना हुन थाल्यो ।

मृत्युको घटनापछि मानिसहरू छिमेकमा जान छाडेँ। कति घरले त पानी-पँधेरोसमेत बन्द गरेको देख्न थालिएको थियो । यसबाट थप सर्तकता पनि झल्किरहेको थियो भने कोरोनाबारे जनचेतनाको अभाव पनि महसुस गरिरहेकी थिएँ ।कन्ट्याक ट्रेसिङमा लिइएको स्वाब परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि अनेकौं शंका उपशंका पनि मनमा खेलिरहेको थियो, जस्तो कि सबैको रिपोर्ट नेगेटिभ आउँदा उनमा मात्र किन कोरोना देखियो ? के सरकारको परीक्षण नै त्रुटिपूर्ण छ ? ती सुत्केरी महिलाले काखमा राखेर दूध चुसाएको बालकलाई किन आमाबाट कोरोना सरेन ?

यी घटना बिस्तारै सामान्य हुँदै गएपछि गाउँ फेरि पुरानै दैनिकीमा फर्किन थालिसकेको थियो । एकदिन बाको मैलिएको टोपी हेदै भनेँ– “बा टोपी दिनूस्, म धोइदिन्छु ।”

बाले हाँस्दै भन्नुभयो– “छोरी, गाउँमा बसेर दुःख गर्ने मान्छेको यस्तै हुन्छ।”

मैले फेरिभनेँ– “बा, यो हाम्रो पहिचान हो। यसलाई मैलिन दिनुहुन्न।”

त्यसपछि छोरी बुझ्ने भएको देखेर हो कि किन हो ! बा खुसी हुनुभयो। अर्कोदिन आमालाई भनें– “आमा म भैंसीको दूध दुहुन सिक्न चाहन्छु।”

आमाले छेउमा बसेर सिकाइरहनु भएको थियो । भैंसी चूपचाप मलाई आमा सम्झेर दूध दिइरहेको थियो ।

आमाले खुसी हुँदै आफ्नो रातो धोती र आफूले लगाएको चौबन्दी चोलो मलाई फुकालेर दिनुभयो । मैले उहाँलाई आफ्नो कपडा दिएँ । त्यो दिन भैंसीको अघि म आमा जस्तै देखिएकी थिएँ अनि आमा म जस्तै । आमाले छेउमा बसेर सिकाइरहनु भएको थियो । भैंसी चूपचाप मलाई आमा सम्झेर दूध दिइरहेको थियो ।

लकडाउनका दिनहरू मेरा लागि पृथक छन् । हरेक सानो-सानो कुरामा लुकेको खुसी भेट्टाउँदा झन् कति हो कति खुसी!

बाआमाको माया, हजुरआमाको काख संसारकै प्रिय ठाउँ रहेछ । आफू जन्मेको ठाउँ, ती खेतका गह्राहरू, हुर्कंदै गरेका मकैका बोट, यहाँबाट देखिने खुल्ला आकाश; लाग्छ, योभन्दा पर कुनै अर्को संसार छैन । तर, डर यही हुन्थ्यो म यी सबै कुराहरूबाट टाढिनु छ । देशको अस्तव्यस्ततासँग फेरि रुमलिनु छ । अनि बिताएर बाँच्नु छ त्यही जिन्दगी, जसलाई छोड्दा मैले आफूलाई चिन्ने गर्छु ।

दीपक ढकाल:

दीपक ढकाल

“मैले यो समयमा आफैँलाई  चिन्न सकें”

नसोचेकै अकल्पनीय घटनाक्रम तथा उतारचढावले नै मान्छेलाई धेरै सिकाउँदोरहेछ ।या भनौं  भोग्दै जाने समयले नै मान्छेलाई मान्छे बनाउँदो रहेछ ।कहीँ कहीँ मानव जीवनमा यस्तो समय पनि आउँदो रहेछ कि मान्छे नचिनेको आफूलाई चिन्नु सार्थकता महसुस गर्दो रहेछ ।

समय चक्र न हो ! परिवर्तन भइराख्नु नै यसको धर्म हो । समयले नै आफ्नो धर्म बिर्सियो भने  यसैसँग सम्बन्ध भएकाहरूको बाँच्नुको के अर्थ हुनसक्छ र ?

समयले ल्याएको उल्झन झेल्दै जानु नै जीवन हो । बिना मोड, बिना ब्रेक एकनासले एकोहोरो  बग्दै जाने हो भने पनि यसले अन्तिम गन्तव्य पक्कै भेट्छ तर  कोर्न सक्दैन  जीवनको कुनै अर्थपूर्ण आकृति ।

भोगाइ नै जीवन हो कि जीवन  भोगाइ ? मान्छे जन्मिन्छ, यो एक सत्य हो । अर्को सत्य यो पनि हो, मान्छे मर्छ पनि तर यी दुई सत्य बीचको समयलाई  जसले सजिलैसँग बुझ्न सक्दछ उसैले वास्तविक जीवनको मूल्य बुझेको हुन्छ । यही समय कालखण्डमा भोगेका भोगाइ नै जीवनका कमाइ हुन् । खासमा यो समयमा  बाँचिरहेका मान्छेहरूका लागि विश्वव्यापी महामारी कोरोनाले ल्याइदिएको लकडाउनले आत्मसमीक्षा गर्ने समय दिएको छ । यसलाई  सौभाग्य वा दुर्भाग्य जेसुकै सम्झिनुहोस् ।

मैले यो समयमा आफैँलाई  चिन्न सकेँ जस्तो लाग्छ । म को हुँ? केका लागि हुँ? किन हुँ? जस्ता अनेकौं प्रश्नको उत्तर पाउनु नै आफ्नो गन्तव्य  भेटाउनु रहेछ । मान्छे यति धेरै पर पुगिसकेको रहेछ कि उसले आफ्नो बारेमा सोच्न नै पनि बिर्सिसकेको रहेछ । कुनै न कुनै ठाउँमा आफूलाई  मेसिनजस्तो बनाइसकेको रहेछ ।म पनि अछुतो  रहेनछु यस्तो प्रवृत्तिबाट ।

मेरो लागि यो समय आवश्यक  रहेछ भन्ने लाग्छ मलाई  । तर मैले यसोभन्दा अलि विरोधाभाष  लाग्नसक्छ, दुनियाँ महामारीले आक्रान्त बनिरहेको बेला ।

मैले यही समयमा बुझें, सबैभन्दा  ठूलो सुख नै आत्मसन्तुष्टि  रहेछ । मानव भइसकेपछि सन्तुष्टिको घेरा खिचेर भए पनि बाँच्ने आधार खोज्नुपर्नेहुन्छ, मृत्यु  समधान होइन।

यस समयलाई  मैले  व्यक्तिगत सकारात्मक  रूपमा नै लिएको छु तर दु:ख लाग्छ, कोरोना र लकडाउनको असरले हरेक दिन मृत्यु हुनेको सङ्ख्याले छलाङ मारिरहेको छ । कैयौं नेपाली दाजुभाइ अलपत्र परिरहेका छन् । कैयौँ गरिब  किसानको घरमा आगो बल्न सकेको छैन ।ज्यालादारी  तथा दैनिक मजदुरी  गरेर पेट पाल्नेहरूका लागि महामारी भन्दा ठूलो समस्या भोको पेट बनेको छ ।

समयले घुम्न छोड्दैन। साँझदेखि बिहानको अन्तर एकदमै छोटो लाग्दो हो पक्कै ! कति छिट्टै आइपुदोरहेछ हात-मुखको भेट गराउने समय जसको घरमा रिक्तताबाहेक केही हुँदैन ।

घरभित्र थुनिएको दिनहरूमा मैले धेरै समय किताबहरूका सथा बिताएँ। योभन्दा पहिले यसरी पढ्ने नै भनेर साहित्यिक किताबहरू उति पढेको थिइनँ । सायद समय नमिलेर पनि हुनसक्छ । लकडाउनका सुरुवाती दिनहरूमा प्रायः  उपन्यासहरू पढेँ, केही पहिले नै पढिसकेका त केही नयाँ । पहिले नै पढिसकेका भए पनि फेरि  दोहोर्याएर पढ्दा  अत्यन्तै  आनन्द  भेटिँदोरहेछ । जस्तो कि ‘पल्पसा क्याफे’ । यसमा भएका हरेक पात्रलाई  मैले मेरै गाउँघरमा आजसम्म जीवित  देखेको छु । तिनीहरूका अनुहार सधैं  देखिरहेकै भए पनि वास्तविक कथा मैले आजकालको एकान्त समयमा आफ्नै मस्तिष्कले सोचिरहेको छु या सोच्ने समय प्रशस्तै छ मलाई ।

केही लेख्दै पनि छु । समय लाग्ला तर पक्कै बाहिर त आउने नै छ । कवितातिर पनि अलिअलि ध्यान गएछ । लेख्दैछु । त्यस्तै सामाजिक संजालमै भए पनि केही अग्रज साहित्यकार तथा कविहरूसँग परिचय मात्र भएन, मजस्तै धेरै साहित्यप्रेमीसँग नि जोडिन पुगिएछ । खास उपलब्धि  त के भएछ भने, यो समयमा धेरै जना कविका कविता पढ्न पाइयो भने केही अग्रज त केही साथीहरूका ।

तैपनि नौलो बिहानीको स्वागत गर्ने चराचुरुङ्गीले भने आफ्नो धर्म बचाइराखेका रहेछन् भन्ने भान गराइदियो  कानसम्म ठोकिन आइपुगेको चिर्बिर आवाजले ।

सहरको भिडभाड र कोलाहलसँगै गाडीको झर्कोलाग्दो हर्नको आवाजले झक्झकाउने प्रत्येक  बिहानी  प्रतिलिपि बन्न पाएनन्, गाउँ  फर्केपछि ।सबेरै सुनिने आमाको जाँतो र ढिकीको आवाजले स्वागत पनि गरेनन्,  तिनीहरूलाई  विस्थापन गरिसकेछ समयले । तैपनि नौलो बिहानीको स्वागत गर्ने चराचुरुङ्गीले भने आफ्नो धर्म बचाइराखेका रहेछन्  भन्ने भान गराइदियो  कानसम्म ठोकिन आइपुगेको चिर्बिर आवाजले ।

बिर्सेको रहेनछन्, अग्ला पहाडलाई  राताम्य पारिदिने राता गुराँसले आफ्नो धर्म, फुलिरहेका छन् ढाकेर जम्मै पहाडलाई । नाकसम्म सुगन्ध, आँखासम्म आइपुग्ने दृश्य उस्तै छ; जस्तो मेरा हजुरबाको पालामा हुन्थ्यो । कुनै चलचित्रका दृश्य बनी खेलिरहे आँखामा  बाल्यकालीन घटनाक्रम । आमाका मिहिनेती हातले आफ्नै बारीमा फलाएको  तरकारीको स्वादले भुलाइदियो शहरी खानालाई ।

काम नै गर्न नपाए पनि नाम नै बिर्सिसकेका हलो, जुवा, कूटो र कोदालोसम्मको दर्शन गर्न पाइयो ।यसमा म आफूलाई  भाग्यमानी  ठान्छु किनभने कति युवा होलान्  बाआमाका चाउरिएका गाला र पटपटी फुटेका हत्केला र पाउको दर्शन पाउनकै लागि कुन कुनामा आँसु चुहाउन बाध्य छन् ।

गाउँको जीवन, एक-दुई  दिन मेलोतिर पनि जान भ्याएँ । दुनियाँलाई कोरोनाको डर तर किसानलाई  भने असारले नठगोस्, माटोले दुश्मनी  नगरिदेओस्  भन्ने हुँदोरहेछ । बिर्सेको रहेनछ  गाउँले आलोपालो र अर्मपर्मको चलन ।

साँच्चै भन्दा यो लकडाउनको अवधि मैले गाउँ भएर बिताएँ । आफ्नै बाल्यकालको उत्खनन् गरेँ । पारिवारिक  प्रेम  मन लागे जति  पाएँ। हरेक बिहान आलर्मको धुनले ब्युँझने म आमाको बोलीले  ब्युँझन पाएँ  । यो समयमा म आफ्नै भएर बाचेँ आफ्ना लागि बाचेँ,  आफैँलाई  चिनेर बाचेँ आफ्नै इच्छानुसार बाचेँ।

Loading...