नेपाली साहित्यको सम्पूर्ण पत्रिका

विवाहेत्तर सम्बन्ध अपराध होइन, कला हो

विदेशिने पुरुष वा स्त्रीको विदेशमै सम्बन्ध रहने अनि घरमा रहने स्त्री वा पुरुषको पनि यस्तै खालको गैर-वैवाहिक सम्बन्धमा गिजोलिने ।

गाँस, बास, कपासजस्तै यौन पनि नैसर्गिक मानवीय आवश्यकता हो भनी रटान लाएर कैयौं वर्षहरू बितिसकेका छन् ।

नाटक, कथा, उपन्यास र लेखहरूमा अनि चलचित्रका पर्दाहरूमा धैरैपटक यौनका यस्ता विषयवस्तुहरू मुखरित भएका छन्- जसमा नायक विदेशिएको हुन्छ नवविवाहित नायिकालाई घरमा छोडी, जो कुनै खलनायकसँग रसरङमा रमाउन विवश हुन्छे(शब्द ख्याल गर्नूस्- विवश)। यो प्रेमको परिणामले परिवारको संरचना ध्वस्त हुन्छ । सामाजिक थितिमा भाँडभैलो । अझ वर्तमान युट्युबकारिताको जमानामा यस्ता चटपटे खबरहरूलाई सनसनी बनाएर हेर्नसमेत नसकिने गरी प्रस्तुत गरिएको छ्यासछ्यास्ती पाइन्छ ।

विशालबाबू बस्नेत

पछिल्लो समयमा प्रकाशित केही उपन्यास तथा कथाहरूमा मूलतः वैदेशिक रोजगारीसँग यौन भोगाइको अनुभूति, खल्लो सम्बन्धलाई उजागर गरिएको देखिन्छ । जस्तो कि विदेशिने पुरुष वा स्त्रीको विदेशमै सम्बन्ध रहने अनि घरमा रहने स्त्री वा पुरुषको पनि यस्तै खालको गैर-वैवाहिक सम्बन्धमा गिजोलिने ।

गैर-वैवाहिक सम्बन्धलाई रोजगारीको खोजीमा विदेशिने बाध्यताको कारण सिर्जिएको सामाजिक समस्याको उपज मात्रै ठानियो भने गम्भीर गल्ती हुन्छ । यस्ता अधिकांश घटनाहरू वैदेशिक रोजगारीमा रहेका महिला वा पुरुषहरूका जीवनमा घटित भएकोले यस्तो सोचिएको हो ।

दुई कुरा भनिहालूँ, यो वैदेशिक रोजगारीमा जाने सबैको जीवनमा हुने अनिवार्य घटना होइन र नजानेहरूका लागि हाइसञ्चोको विषय झन् होइन । इतिहासको अध्ययनले के देखाउँछ भने युगौंदेखि बहुपत्नीप्रथा विभिन्न राजा-महाराजाहरूमा मात्र नभई साहु-महाजन र अन्य रैतीहरूमा पनि रहिआएको थियो । यस्तै कुनै समुदायमा बहुपतिप्रथा पनि कायम रहेको पाइन्छ । वैदेशिक रोजगारीको परिकल्पना नै नभएको समयमा पनि यस्ता सम्बन्धहरू हुन्थे, जसलाई सोझै अनैतिक भन्ने गरिन्छ । बरू अहिलेको जस्तो सार्वजनिक सञ्चारमा सर्वसाधारणको पहुँच नभएका कारण यस्ता कुराहरू यत्तिकै सेलाएका वा एकदमै सानो स्थानको परिधिभित्रै सीमित भएर हराएका हुन्थे । अर्कोतिर कानुनी तथा सामाजिक समस्या नमानिएका कारण यस्ता सम्बन्धहरूलाई सहजै स्वीकारेर आएइएको पनि हो ।

गैर-वैवाहिक सम्बन्ध यसैले पनि युगौंदेखि भइआएको मानव व्यवहार हो भन्दा अत्युक्ति नहोला ।

रुसी लेखक एन्टोन चेखभका कथाहरू र टोल्स्टोयका उपन्यासमा अभिव्यक्त रोमाञ्चक र हृदयस्पर्शी परस्त्री वा परपुरुषसँग निकट भएका वर्णनहरू काल्पनिक भए तापनि मानवीय स्वभावेत्तर रचना होइनन् । गैर-वैवाहिक सम्बन्ध यसैले पनि युगौंदेखि भइआएको मानव व्यवहार हो भन्दा अत्युक्ति नहोला ।

विवाहको परिकल्पना सृष्टिको निरन्तर सञ्चालनका लागि गरिएको हो । यसैले एक पुरुष र एक स्त्री सामाजिक र सांस्कृतिक चलनहरूको आवरणमा मूलतः समागमको लागि राजी हुने र सन्तानोत्पादनमा सरिक हुने परिपाटीलाई समाजले ‘विवाह’ नाम दिएको हो । पुरुष र स्त्रीबीचमा असमानता रहेको कारणले खासगरी स्त्रीजातिलाई पनि भोग्य साधनका रूपमा अथवा श्रीसम्पत्तिको रूपमा केवल आफ्नो कायम गर्न विवाहलाई नैतिक बन्धनका रूपमा व्याख्या गरियो । सबभन्दा पवित्र नाता भनियो । विवाहलाई सिन्दूरको परिमाण, अग्निको सात फन्को, खुट्टाको पानी,चुरापोतेमा निहित साधवी स्वरूप, सतित्वको निशानीजस्ता अनेकौं विशेषण र पदावलीहरूसँग गाँसेर यस्तो बनाइयो ताकि कुनै नारीले विवाहेत्तर सम्बन्धबारे सोच्दा पाप-भयले उसको हृदय नै छियाछिया होस् ।(हिन्दूधर्म र संस्कारबाहेक अन्य मानवसमुदायमा पनि समानार्थी प्रचलन र पदावलीहरू अवश्य छन् ।) तर यस्तै प्रपञ्चहरू पुरुषको लागि सोच्नु बान्छनीय ठानिएन, किनभने यी सारा धार्मिक-सांस्कृतिक-सामाजिक नियमहरूको निर्माता नै स्वयम् पुरुष थिए ।

यदि विवाहको प्राकृतिक सिद्धान्तकेवल सृष्टिसञ्चालन हो भने एउटै छानामुनि पुरुष र स्त्री जीवनभरि रहनु किन आवश्यक छ त? यही प्रश्नको जवाफ खोज्नेक्रममा विवाहेत्तर सम्बन्धहरूले जन्म लिएका हुन्छन् । जतिसुकै पत्नीव्रत पुरुष भए पनि यदि कुनै नारीको निकट हुने र लाभ उठाउनेअवसर पाउने हो भने वेदका मन्त्रहरू उच्चारण गर्दै सुइँकुच्चा ठोक्दैनन् । घरमा अत्यन्तै नारीवादी र पत्नीप्रेमी पुरुषहरूले भाग्यवश आर्जन गरेका यौनवासनाका सफल कथाहरू पुरुष-जमघटमा गौरवको विषयका रूपमा चर्चा गर्न रुचाउँछन् ।

अनि पतिव्रता नारी?

गुलियो कुरा गरेर हृदयलाई काउकुती लाउने कार्यालय, बजार वा कुनै यात्रादौरान भेटिएको परपुरुषसँग मधुर समय गुजारेको दिवास्वप्न देख्दैनन्?

पतिव्रता नारीहरू पनि मौका पाउँदा सफल कथा निर्माण गर्छन् कि मन मारेर पछि हट्छन्? के ती व्यभिचारीहरू मात्रै हुन्, जो विवाहेत्तर सम्बन्ध राख्दछन्? के पतिको सेवामा अन्मन्यस्क समर्पित हुने नारीहरू बलिष्ठ हातपाउ र गठिलो ज्यान भएको टिभीमा देखिने नायकको नग्न देह हेरेर रोमाञ्चित हुँदैनन्? गुलियो कुरा गरेर हृदयलाई काउकुती लाउने कार्यालय, बजार वा कुनै यात्रादौरान भेटिएको परपुरुषसँग मधुर समय गुजारेको दिवास्वप्न देख्दैनन्? यी प्रश्नको उत्तर कुनै महिला लेखिकाले मात्रै प्रस्तुत गर्न सक्नुहुन्छ(यस विषयमा पंक्तिकार बोल्न चाहँदैन) ।

जतिसुकै महिलाहरूसँग साक्षात्कार गरे पनि अथवा पुस्तक-रचना पढे पनि अथवा मनोवैज्ञानिक चिरफार गरे पनि एउटा पुरुषले महिला विषयमा आभ्यान्तरिक लेख लेख्न सक्दैन । अपितु विभिन्न अनुभवहरू र अध्ययनहरूले यति ठोकुवा गर्न भने हिचकिचाउन मन लाग्दैन कि विवाहेत्तर सम्बन्ध अपराध कदापि होइन, बरू कला हो ।

विवाहेत्तर सम्बन्ध फगत यौनको परिपूर्ति नभएको झोंकमा घटित घटना होइन । जस्तो कि आफ्नो पति वा पत्नीसँग लामो समय टाढिंदाको दुष्परिणाम । त्यसरी सिर्जित घटना एउटा क्षणिक आवेगसम्म मात्र सीमित हुन्छ । सदैव साथमा रहँदा नै पनि, अझ भनूँ हरबखत कुम जोडेर हिंडेकै दम्पतीहरूमा पनि विवाहेत्तर सम्बन्धको गुञ्जाइस पाइनुले यसलाई मानवीय सामान्य स्वभाव मान्नुपर्दछ । जसरी हरेक दिन दाल, भात, रोटी र रायोको साग खाइरहन सकिन्न, अनि निरन्तरतालाई तोड्न आकस्मिकताका रूपमा झट्ट गुन्द्रुक र ढिंडो वा मासु-पुलाउको अपेक्षा गरिन्छ, जसरी सँधै हिंडिरहेको एकोहोरो बाटो छोडेर ‘आज यताबाट हिडौं’ भनेर नयाँ बस्ती हुँदै हिंडिन्छ, जसरी जति नै मन परे पनि सँधै एउटै गाना सुन्न नसकेर नयाँ सीडी किन्न खोजिन्छ वा युट्युबतिर सर्च हानिन्छ, त्यसैगरी एउटै छानामुनि एउटै अनुहारसँग लगातार साक्षात्कार भइरहँदा पति-पत्नीमा पनि अलिकति टर्रोपन र एकाकीपनको उदय हुन्छ । यो समस्या टार्नको लागि मूल हतियारको रूपमा धार्मिक, सामाजिक र सांस्कृतिक हतियारको उपयोग गरिएको त हो, तर त्यस्तो खिया लागेको हतियार सँधै काम लाग्छ भन्ने छैन । तिनै पौराणिक कथाहरूमा पनि विवाहेत्तर सम्बन्ध अपनाउनका लागि रूप फेर्ने वा यस्तो सम्बन्ध ढाकछोप गर्न कानबाट सन्तान जन्माएका प्रसङ्गहरूमार्फत् बिम्बात्मक ढङ्गले विवाहेत्तर सम्बन्धलाई कलाको रूपमा व्याख्या गरिएको पाइन्छ ।

मनोवेत्ताहरू पति-पत्नीबीचको सम्बन्धलाई सुमधुर बनाउनको लागि एकअर्कालाई बुझ्ने,कुराहरू ध्यान दिएर सुन्ने, घरायसी काममा सघाउने,मन बहलाउने कुराहरू गर्ने,संगीत सुन्ने आदि विधिहरू सुझाउँछन् । यी कर्महरूले स्थायी आदतहरूमा हठात् परिवर्तन गरेर,रुचिहरूमा फेरबदल ल्याएर र व्यक्ति उही भए पनि व्यक्तित्वमा नवीनता ल्याएर परस्पर छाएको एकाकीपनलाई हटाउन सकिन्छ । तर यस दृष्टान्तले पनि क्षणिक रूपमा फरक व्यक्तिको रूपमा आफ्नो पति वा पत्नीलाई ग्रहण गरेको देखिन्छ, जुन भौतिक तवरले वैवाहिक देखिए पनि संवेगात्मक दृष्टिले गैरवैवाहिक सम्बन्ध हो । यस्ता विधिहरूको अभावमा हृदयको कैयौं खातहरूमुनि च्यापिएर रहेको अत्यासलाग्दो दिक्दारीले प्रस्फुटन हुने सम्भावना राख्दछ ।

यो लेखको ध्येय कदापि विवाहेत्तर सम्बन्धलाई बढावा दिनु होइन, न त विवाहेत्तर सम्बन्धको विरोध गर्नु हो ।

विवाहेत्तर सम्बन्धका कारण समाजमा विभिन्न खालका दुर्घटनाहरू भएका कारण यसलाई एउटा गलत अभ्यास मान्ने गरिएको छ । यो लेखको ध्येय कदापि विवाहेत्तर सम्बन्धलाई बढावा दिनु होइन, न त विवाहेत्तर सम्बन्धको विरोध गर्नु हो । यो एउटा परिस्थितिको चरा-दृष्टि-चराको जस्तो अवलोकन) मात्रै हो ।

वैवाहिक सम्बन्धमा आबद्ध पुरुष तथा स्त्रीहरूले विवाहेत्तर सम्बन्धलाई दीर्घकालीन सम्बन्धका रूपमा सोच्दा अधिकांश घटनाहरू घट्न पुगेका हुन्छन् । यो फगत निरन्तरताहरूमा आएको आकस्मिकताको रूपमा ग्रहण गरियो भने त्यस्ता संकटहरू टार्न सकिन्छ । यसरी सिर्जित सम्बन्धलाई कला ठान्नेहरू यसमा सदा सफल हुन्छन् र पारिवारिक संरचनालाई नबिगारी प्रेममा निर्लिप्त हुन्छन्।

सफल विवाहेत्तर सम्बन्ध त्यो हो जसमा प्रेमी वा प्रेमिकासँगको सम्बन्धको बारे आफ्नो पति वा पत्नीलाई कति पनि जानकारी हुन दिँदैन र त्यस सम्बन्धको कुनै छाया परिवारको घेरामा पर्न पाउँदैन । तब पो रोमाञ्चक र सुखद हुन्छ प्रेम ! अनि यस मामिलामा सबैभन्दा महत्वपूर्ण तर जटिल संकल्प के हो भने यदि तपाईं एकजना पुरुषको रूपमा विवाहेत्तर सम्बन्धमा रुचि राख्नुहुन्छ र खुसुक्क दुई-चारजना प्रेमिका बनाउन सफल हुनुहुन्छ भने तपाईंकी पत्नीलाई पनि त्यो अधिकार प्रदान गर्न हिच्किचाउनुहुँदैन । त्यसो त कलामा पोख्त छिन् भने तपाईंकी पत्नीले पनि त तपाईंले उनलाई गुमराहमा राखेजसरी नै तपाईंलाई अलमल्याएर सफल विवाहेत्तर सम्बन्ध राखिरहेकी हुन सक्छिन् ।

Loading...