नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अध्यागमनमा गोर्खालीकै अपमान

बर्मादेखि नेपालसम्म–८

सुरक्षा घेरामा विशेष ध्यान पुर्याउन नसक्दा हामी ह्याक भयौँ । ह्याकरले वेवसाइटमा ठूलो क्षती पुर्याउनुका साथै हाम्रा केही विशेष पठनीय सामाग्रीमा पनि क्षति पुर्याए । पछिल्ला चार दिनका (सोमबारपछिका) सामग्री पूर्णरुपमा काम नलाग्ने भए, पढ्न नमिल्ने भए । पाठकको सुविधालाई ध्यानमा राख्दै गतबुधबार प्रकाशित याे सामग्री हामीले पुनः प्रकाशित गरेका छौँ ।


हाम्राअघि अध्यागमन कार्यालय थियो । अध्यागमन कार्यालयको बोर्डमा लेखिएको नेपाली अक्षर आफ्नै लाग्यो । त्यहाँका नेपाली भाषा बोल्ने कर्मचारी र नेपाली सीमाका गतिविधिहरु पनि आफ्नै लाग्यो । सबै नेपाली बोलिरहेका थिए । नेपाली बोल्ने मान्छे सबै नातेदार हुन्, हाम्रा लागि । अध्यागमन कार्यालयमा उभिएर बोर्डका अक्षर पढिरहँदा मेरो मन उस्तै फुरुङ्ग थियो ।

बर्मेली अक्षर नेपाली अक्षरभन्दा धेरै फरक हुन्छ । सानैदेखि नेपाली अक्षर आफ्नो घरको अक्षर, धार्मिक कामको अक्षर ठान्छौँ हामी गोर्खालीहरु । दसैँ, तिहार, भैलो, पुराण, सबै कार्यक्रमहरुमा केही लेख्नु परे यही देवनागरी अक्षर चल्छ । बर्मेली अक्षर हाम्रा लागि स्कुल, कलेज र सरकारी कार्यालयका अक्षर हुन् । सानैदेखि बेर्मेली अक्षरमा बानी बसे पनि सरकारी कामको अक्षर भएकाले अनिवार्य त हो तर देवनागरी जस्तो धार्मिक र अपनत्व महसुस नहुने । यस्तोमा मलाई काँकडभिट्टा प्रवेश गरे यता नै यी अक्षरहरुले अपनत्व महसुस गराइरहेको थियो । बजारमा जताततै बोर्डमा लेखिएका नेपाली अक्षर पढ्न पनि रमाइलो लाग्ने । यही बोर्ड हेर्ने क्रममा मैले ध्यानपूर्वक नेपाल सरकारको परराष्ट्र मन्त्रालय, अध्यागमन विभागका बोर्ड र त्यहाँ लेखिएका नेपाली र अंग्रेजी दुबै अक्षरहरु पढेँ ।

‘कहाँबाट आउनुभयो ?’, भवनभित्र पसेपछि पश्चिमतिरको काउन्टरकै छेउमा एकजनाले सोधे ।

प्रश्नकर्ताको प्रश्न केही खरो महसुस भयो । प्रश्नबाटै महसुस गरेँ, उनी अध्यागमनका कर्मचारी हुनुपर्छ ।

‘हजुर, हामी म्यान्माबाट ।’ हाम्रा टिम लिडर भीमजीले सकेसम्म नम्र भएर जवाफ दिनुभयो ।

त्यसपछि ती कर्मचारी भित्र गए । निकै ैबेरसम्म देखापरेनन् । साँझ पर्दैथियो । त्यहाँको अफिसियल काम सकेर रात्री बसमा काठमाडौं चढ्ने योजना थियो । गाडी नछुटोस् भनेर ड्राइभरको सहयोगमा केही पैसा बढी तिरेर हामीले गाडीको टिकट मगाएका थियौँ । काठमाडौं जाने यात्रु भेटिएपछि रात्रीबस काउन्टरका मानिस पनि हामीलाई पर्खिपसकेका थिए । यस अर्थमा हामी हतारमा पनि थियौँ । तर कर्मचारीहरुमा हतार थिएन ।
‘हजुर अहिलेको टिकटमा काठमाडौँ जानुपर्ने थियो, के गर्ने होला ?’ टिम लिडर पाण्डेले केही आत्तिएको श्वरमा सोधखोज गर्नुभयो ।

‘यता लाइनमा आएर बस्नू ।’ काउन्टर भित्रबाट एउटा आदेश जस्तो वाक्य आयो ।

हामी लाइनमा बस्यौँ । हाम्राअघि एउटा युरोप–अमेरिकी जस्ता लाग्ने सेता छाला भएका जोडी धमाधम अफिसियल काम गरिरेका थिए । उनीहरुलाई कर्मचारीहरु सहयोग गरिरहेका थिए । उनीहरुसँग कर्मचारी नम्र र मिठो श्वरमा कुरा गरिरहेका थिए । तर हामी प्रति उनीहरुको खासै ध्यान थिएन ।
लाइनमा लागेपछि पो थाहा भयो, एउटा फर्म भर्नु पर्ने रहेछ । यत्तिका समय नष्ट भयो । हामीले हतारमा फर्म भ¥यौँ र काउन्टरमा बुझायौँ ।
‘ढिला भैसक्यो । तपाईँहरुका लागि मात्रै यसरी गाडी रोक्न सक्दैन ।’ अध्यागम कार्यालयकै छेउमा गाडीवाला मान्छे कराउन आइपुग्यो ।
उसको हतारोले हामीलाई झन् हतार भयो । हामीले छिटो गरिदिन अनुरोध ग¥यौँ ।

‘एकै छिन् हो, धेरै बेर लाग्दैन ।’ अर्का कर्मचारीले आश्वासनका शब्द बोले । यो वाक्यले हामीलाई राहत दियो ।

अफिसियल काम सुरु भएपछि मैले अध्यागमन कार्यालयको भित्तामा आँखा पु¥याएँ । त्यहाँ नेपालका सुन्दर र पर्यटकीय स्थालको जानकारी थियो । त्यसमध्ये एकठाउँ लेखिएको थियो, ‘नेपालमा मात्र पाइने काँडेभ्याकुर ।’ मैले ध्यानपूर्वक चरालाई हेरेँ । उडीरहने यस्तो चरा, जसले यति सानो देश छाडेको रहेनछ । कस्तो अनौठो । हामी भने कहाँ कहाँ पुगेका छौँ ।

‘कसैसँग सम्पर्क हुन सकेन ।’ भीमजी चिन्तित देखिनु भयो । उहाँको मोबाइलमा भारतीय सिम थियो । त्यसमा केही पैसा बाँकी थियो । त्यही पैसाले उहाँ डेटा खोलेर बर्मा र नेपालमा सम्पर्क राख्न चाहनु हुन्थ्यो । आफूहरु अध्यागम कार्यालयमा आइपुगेको सुचना दिन जरुरी थियो । यसरी सुचना दिँदा केही ढिला भएको खण्डमा कतैबाट फोन लगाउन सकिन्छ कि भन्ने आशाय पनि थियो होला सायद ।

तर हामी नेपाली सीमामा आइसकेको हुनाले भारतीय सिमले काम गर्न सकेन । हामीसँग नेपाली सिम थिएन । त्यसैले सम्पर्क गर्न गाह«ो थियो । यता गाडीवालाले छिटो गर्न अनुरोध गरिरहेकोे थियो ।

हुन त अध्यागम कार्यालयमा फ्रि वाइफाइ लेखिएको थियो । हामीले प्रयास पनि ग¥यौँ, तर त्यो प्रयास असफल भैसकेको थियो । त्यहाँ उभिएका कर्मचारीलाई सोध्दा खै चल्नुपर्ने हो भने । तर हाम्रो चिन्ता प्रति खासै चासो देखाएनन् । नेपाली बोल्ने मान्छेबाट पहिलो पटक असहयोग भएको महसुस भयो ।

भित्र हाम्रो कागजातमाथि गुनगुन कुरा हुन थाल्यो । समय घर्किँदै गएको महसुस भयो ।

‘तपाईँहरु यो भिसाबाट नेपाल प्रवेश गर्न सक्नुहुन्न ।’

‘के रे ?’ हामी सबैको मुखबाट अनायसै यस्ताखालका शब्दहरु निस्किए ।

हाम्राअघि हाकिमजस्ता देखिने अध्यागमनका कर्मचारी थिए ।

“किन ? के भयो र हजुर ?’ हामीभन्दा एक पाइला अघि सरेर भीम सरले सोध्नुभयो, ‘हामीले रंगुनमा नेपाली दूताबासबाटै प्रवेश छाप लगाएका हौँ । भीम उदासज्यू साहित्यकार पनि हुनुहुन्छ । उहाँले नै हामीलाई नेपालको विशेष भिसा लगाइदिनुभएको ।’

भीमजीले निकै नम्र भएर आफ्नो कुरा राख्नुभयो ।

‘भिसा नै नभएपछि केको प्रवेश छाप ? भिसा पनि विशेष र नविशेष हुन्छ र ? कसले भन्यो तपाईँलाई ?’ हाकिमजस्ता ती कर्मचारीले असहमतिको स्वरमा भने ।

‘अब राजदूतले नै लगाएपछि होला नि होइन र सर ? एक महिनाको फ्रि–ग्रेटेस्ट भिसा लगाइदिनुभएको छ भन्ने खबरसहित हामीले यो कागज पाएका हौँ ।’ पाण्डेजीलाई पनि अलि चित्त नबुझेपछि केही कडा स्वरमा बोल्नुभयो ।

सायद हाम्रा टिम लिडरको स्वरका कारण ती कर्मचारीले अपमान महसुस गरे । उनले भने, ‘कुन पार्टीको झोला बोकेको अनपढ व्यक्तिलाई राजदूत बनाएर पठाए होला । उसले एउटा हस्ताक्षर गरेको कागज हुनेबित्तिकै तपाईँहरु नेपाल छिर्न पाउनुहुन्छ र ? कानुन, नीति–नियम भन्ने हुन्न ?’
हाम्रा लागि कर्मचारीको यो भाषा उनको स्तरभन्दा निकै तल लाग्यो । बर्मामा भीम उदासजीको नाम हामी बर्मेली नेपालीहरुबीच निकै चर्चामा छ । उहाँ नेपाली भाषा र साहित्यका लागि मरिमेट्ने मान्छे हुनुहुन्छ भन्ने सुनेका थियौँ । हाम्रो मनमा उहाँप्रति अपार श्रद्धा छ । यस्ता व्यक्तिलाई ती कर्मचारीले पार्टीको झण्डा बोकेर राजदूत बनेको आरोप लगाइदिँदा अनौठो लाग्यो । हाम्रो बर्मामा माथिल्लो ओहदामा बसेको मानिसले तल्लो तहका कर्मचारीले यस्तो अपशब्द बोल्न पाउँदैन । सिधैँ कारवाही हुन्छ । तर यिनी त हाकाहाकी हाम्राअघि महामहिमको अपमान गरिरहेका थिए । यो मेरा लागि साँच्चै अपत्यारिलो र झसङ्गै पार्ने क्षण बन्न पुग्यो ।

‘यो कागजका भरमा म नेपाल छिर्न दिन्न ।’ ती हाकिमजस्ता लाग्ने कर्मचारीले सगर्व घोषणा गरेर काउन्टरबाट अर्को कोठामा छिरे ।
छेउमा हामीलाई रुँगेर बसेको गाडीको ड्राइभर छ । अर्को छेउमा हामीलाई काठमाडौँ लैजानका लागि ठीक पर्ने सायद टिकट काउन्टरको मान्छे छ । ट्याक्सीवालाले काठमाडौँको गाडीमा चढाएपछि उसलाई पैसा दिएर बिदाबारी गर्नुपर्ने कारणले रोकेका छौँ । यी सबैको हतारोमा हामी चेपिएका थियौँ । यस्तोबेलामा नेपाल नै छिर्न नदिने हाकिमसाबको उद्घोषले हामी कालानीला भयौँ । मधुदी, सीमा र सरगमको अनुहार हेरेँ, सबैजनाको आँखा डम्म आँसु भरिएको देखेँ । मैले पनि आँसु थाम्न सकिनँ ।

‘मैले अघि नै भनेको, यस्तो लफडामा पर्नुहुन्न । सिधै बोर्डर कट्दा कसले तपाईंहरुलाई चिन्छ, लौ भन्नु त ?’ यो क्षेत्रमा हुने गतिविधिप्रति जानकार रहेका हाम्रा ड्राइभरले भने, ‘यहाँ धेरै मान्छेलाई यिनीहरुले दुःख दिन्छन् ।’

हुन त पानीटंकीमै उनले भारतको इमिग्रेसन नछिर्नु भनेका थिए । हामी लिगल भिसामा बर्माबाट भारत छिरेका थियौँ, त्यसैले लिगल्ली भारतबाहिर निस्किएको देखिनु पर्दथ्यो । त्यहीँ कारण हामीले उनको कुरा सुनेनौँ । तर योबेला उनले त्यो कुरा झिकेर गनगन गर्न थाले । उनको गनगनले हामीलाई थप तनाव दिन थाल्यो ।

हाकिम बेपत्ता भएपछि भीमजीले पुनः वाइफाइ नेटवर्कमार्फत् फोन लगाउने प्रयास गर्नुभयो । नेपालमा ज्ञान सर हामीलाई पर्खेर बस्नुभएको छ । उहाँसँग सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष एवं मदन पुरस्कार विजेता रामलाल जोशीको नम्बर पनि छ । त्यही संस्थाले हामीलाई बोलाएका कारण त्यो संस्थामा खबर गर्न पाए हामी नेपाल प्रवेश गर्न पाउँथ्यौँ कि भन्ने उहाँको चाहाना रहेछ । तर त्यहाँको नाममात्रको फ्रि वाइफाइ लाग्ने कुरा छँदै थिएन । त्यो फ्रि वाइफाइ लेखेको देख्दा नै रिस उठेर आयो । त्यसपछि भारतीय सिममार्फत् पनि प्रयास गर्नुभयो । त्यसले पनि काम गरेन । एकछिनसम्म हामीले गरेका सबै प्रयास बिफल भयो ।

‘केही त उपाय होला नी, हजुर ?’ करिब करिब रुन्चे श्वरमा भीमजीले एकजना कर्मचारीलार्ई गुहार लगाउनु भयो ।

‘हुन्छ म बुझ्छु नि ।’, ती कर्मचारी केही उत्सुक देखिए । उनी यताउता हेर्न थाले । सायद उनी कतै हाकिम देखिन्छन् कि भनेर चासो राखिरहेका थिए ।

‘पैलापैला पनि म नेपाल आएको हुँ । म आउँदा कहिले पनि भिसा लगाइनँ । न भारतमा लगाएँ, न नेपालमा । दुबैतिर आफन्त हुनुहुन्छ । उहाँहरुले पनि भिसा लगाउनु पर्दैन भन्नुहुन्थ्यो । कहिल्यै दुःख पाएको थिईंन । आज लिगल्ली प्रवेश गर्छु भन्दा किन दुःख दिएका होलान् ?’
भीमजी एकछिन् सबैले सुन्नेगरी भुटभुटिनु भयो ।

‘अब यहाँ आएर फेरि फर्कने त ?’ भीमजीले हामी सबैलाई हेर्दै सोध्नुभयो ।

सबैको अनुहार कालो निलो थियो । कसैले जबाफ दिएनन् ।

‘म त फर्कने । नेपाल टेकिहाल्यो, देखिहालियो ।’ सीमा दिदीले फर्कने आँट गर्नुभयो ।

‘अरु ?’ भीमजी हामीतिर फर्कनुभयो ।

बाँकी हामी सबै चुप लाग्यौँ । यहाँ आइसकेपछि कसरी फर्कने ? के भनेर फर्कने ? बर्मा फर्किएर नेपाल कस्तो लाग्यो भनेर सोधे के जवाफ दिने ?
‘वापस त कसरी जाने ? नजाने । तर यत्रो बाटोमा कहीँ दुःख भएन । यहीँ आएपछि लफडा भयो । तर म जसरी पनि नेपाल छिराउँछु, चिन्ता नगर ।’ अघिसम्म भिजेको मुसोजस्तो हुनुभएको भीमजी, साँच्चै नै महाभारतको भीमले जस्तै शक्तिशाली हुँकार लगाउनुभयो । उहाँको जोशिलो आवाजले हामीलाई पनि थोरै आँट आयो ।

“तपाईहरूले नयाँ भिसा लिनुपर्ने भो ।’ अघि हाकिम खोजिरहेका कर्मचारीले हामीलाई आएर भने, ‘त्यो कागजलाई हाकिमसाबले मान्यता दिनुभएन । १५ दिनको नयाँ भिसा दिनुहुनेछ तर एक जनाको तीस डलर बुझाउनु पर्नेछ ।

“एक जनाको तीस डलर ?’ हामीले फेरि मुखामुख गर्यौँ । हुन त पैसाको खेल हुन्छ भन्ने अनुमान गरेरै भीमजीमा नेपाल छिराउने आँट आएको हुनुुपर्छ । तर ३० डलर तिर्नुपर्ला भन्ने अनुमान गरेका थिएनौँ ।

हामी कसैसँग पनि डलर थिएन । हामीसँग भारु थियो । बर्मेली क्याट थियो । तर डलरको कुरा हाम्रालागि परको कुरा थियो । तर पाण्डेजी भित्र जानुभयो ।

पाण्डेजीले के पर्ला कसो पर्ला भनेर डलर बोक्नु भएको रहेछ । उहाँले हामी सात जनाको २ सय १० लडर तिरेपछि बल्ल हाम्रो कागज बन्यो र पासपोर्टमा छाप लाग्यो ।

तर यति बेलासम्म हाम्रो ओठमुख सुकिसकेको थियो । अघिसम्म हामी नेपालको विशेष निम्तोमा साहित्यकारका रुमपा विश्व नेपाली साहित्य सम्मेलनमा भाग लिन आएका हौँ भन्ने जुन गौरवबोध गर्दैथियौँ त्यो तिमिट्यान्न भएको थियो । नेपाल टेक्दाका अनुभूति जुन प्रत्येक भावमा आँशु बग्ने खालका थिए, ती हराइसकेका थिए । जति सुकै आफ्नो भने पनि यो पराइ भूमि थिए । हाम्रा पुर्खा यहिँबाट गएका हुन्, हामीले बोल्ने भाषा यहीँको हो, हामी नेपाली भाषा बोलकै कारण यहाँ सम्मानित हुन आएका हौँ भन्ने भावना वाफ जस्तै उडेर टाढा गएका थिए । नेपाली बोल्नेहरुले पनि यति पराइको व्यवहार गर्छन् भन्ने कुरा पहिलो पटक अनुभव भएको थियो । एक महिनासम्म नेपालका सबै मुख्य ठाउँ घुम्ने र त्सलाई एउटा सुन्दर किताब बनाउने योजना धुलो र माटो भएको थियो । अब हामीसँग जम्मा १५ दिनको भिसा थियो । ७ दिन त सम्मेलनमै बित्छ, बाँकी ७ दिन आउँदा र जाँदा नै सकिन्छ । यस्तोमा नेपाल हेर्ने समय थिएन । मानौँ समय भए पनि यहाँ गरिएको व्यवहारले नेपाल र नेपाली भन्ने शब्दप्रति नै एकप्रकारको वितृष्णाको भाव उत्पन्न भएको थियो ।

जुन देशका कर्मचारीले आफ्नो राजदूतलाई पार्टीको झोला बोकेर बर्मा गएको आरोप लगाउँछ भने हामीलाई कसरी कसले इज्ज्जत दिन्छ ? सिमाना मै हामीले नेपालको दर्शन पाएका थियौँ ।

यहि चोट बोकेर हामी अध्यागमन कार्यालयबाट निस्कियौँ । हाम्रो ब्यागेज चेक भइसकेको थियो । त्यही ब्यागेज बोकेर हामीलाई हाम्रो ट्याक्सी ड्राइभरले रात्री बसमा पु¥याइदियो । पश्चिमममा घाम डुब्दै थियो र अँध्यारो हुँदै थियो । त्यस्तै अध्यारो हाम्रो मन पनि थियो । एक घन्टाअघिको उल्लास पूर्णरुपमा बिलाएको थियो । नेपाली बोल्नेहरुको बोली पनि नक्कली लाग्दै थियो । हामी चुपचाप रात्री बसमा तोकिएको सिटमा बस्यौँ ।
बिहानदेखि हामीले खाना खाएका थिएनौँ । थकान, भोक, निरासा मात्र होइन, हामी अपमानको भारी बोकेर सिटमा ढल्कियौँ ।

काँकडभिट्टाबाट बस हिँड्यो तर अब काठमाडौँका विषयमा जुन उत्साह थियो, अब त्यो पूरै मरेको थियो । सिमानामा त त्यो गति भयो, त्यो अनजान सहरमा हाम्रो अवस्था के होला, अब हामी कल्पना पनि गर्न पनि चाहन्नथ्यौैँ । हामी एक अर्कामा गफ पनि नगरि गीत सुन्न थाल्यौँ ।
रात्री बसमा बज्दैथियो, ‘परदेशी परदेशी जाना नहीँ, मुझे छोडके…’

Loading...