नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मलाई तीन कक्षाको त्यो परीक्षा दिन मन छ

पाक्षिक शृंखला गाउँतिर, भाग दुई

पहिलो बेन्चमा बस्ने सबै विद्यार्थी टपर हुँदैनन् । त्यसको उदाहरण म हुँ । बेन्च रोटेसन नभएको कक्षाबाहेक प्रायः सबै कक्षामा पहिलो बेन्चमा बसेर मैले विद्यालयको कार्यकाल समाप्त गरेको हुँ ।

विद्यालयको गिन्तीको लागि मैले दुवै हातका औँलालाई सहयोग माग्नु पर्दछ ।

फिरन्ते विद्यार्थी रहेर अक्षराम्भबाट प्रेविशिका उतिर्ण गर्दासम्म मबाट कतिवटा विद्यालय फेरिए भन्नेकुरा पत्ता लगाउन मेरो एक हातको औँलाले भ्याउँदैनन्, विद्यालयको गिन्तीको लागि मैले दुवै हातका औँलालाई सहयोग माग्नु पर्दछ ।

काठमाडौँ, ललितपुर, मोरङ वा झापा, मैले यी जिल्लाहरूमा आफ्नो विद्यार्थी जीवनको धेरै हिस्सा र किस्सा, कुनै बैंककी कर्मचारीले बहुमुल्य वस्तु लकरमा राखेजस्तै मस्तिष्कमा लुकाएको छु । लुकाएको कुरा आफूलाई मात्र थाहा छ भन्ने लाग्यो भने औधी मजा आउँदो रहेछ ।

लुकाएको कुरा सबैलाई सुनाउँदा हराउने डर हुन्छ । त्यसैले नै होला मान्छेको जीवनमा विश्वासको भूमिका पानी पर्नुमा बादलको भूमिका जति रहन्छ सायद त्यति नै रहन्छ कि ? मैले बुझेको यति नै हो ।

म सम्बन्ध जोगाउन जान्दिनँ । तर सिक्दैछु । कुनै दिन जान्ने भएँ भने सायद …………….. ।

कहिले कता कहिले कता भएकाले मसँग थुप्रै साथीहरू हुनुपर्ने हो, तर छैनन् । एकदम नजिकका साथीहरू सायद मेरा औँलामा अट्छन् । तर इच्छाचाहिँ छ मेरा साथीहरू मेरा औँलामा गन्न नअटेर उसैको औँला गन्नको लागि सापटी मागौँ र उसलाई पनि गनौँ । म कति जनाको औँलामा अटाउँछु त्यो त मलाई थाहा छैन तर मेरो चाहना छ मेरा औँलामा धेरैजना अटाऊन् ।

निरज दाहाल

विद्यालय सबैथोक हो । तर शिक्षाको प्रणालीलाई हेर्दा विद्यालय केही होइन भन्ने पनि जमात नभएको होइन । बीबीसीको समाचारमा अमेरिकाको १७ वर्षको विद्यार्थीले ग्रह पत्ता लगायो भन्ने समाचार पढ्दै मैले यो ब्लग लेखेको हुँ । जबसम्म प्रविधि र प्रयोग सँगसँगै अगाडि बढ्दैन, तबसम्म हाम्रो शिक्षा १७ वर्षको उमेरमा सूत्र रटाउनमा नै व्यस्त हुन्छ । सूत्र कहाँ प्रयोग हुन्छ परीक्षा कापीमा बाहेक भन्ने कुरा बुझ्न हामीलाई प्रविधि र प्रयोग चाहिन्छ । यसको लागि समय चाहिन्छ । तर कति ?

फिरन्ते विद्यार्थी हुँदै पढ्दै जाँदा म कति शिक्षकको प्रिय भएँ, कतिको नजरमा सम्म परिनँ होला ! यस कुनै लेखाजोखा मसँग छैन । म कसैको प्रिय किन बनिनँ भन्ने प्रश्न आफ्नै हृदयलाई गर्दा त्यसबेला प्रिय बनिनुको गुण पनि खोज्नुपर्छ । भर्खर थाहा पाउँदैछु र अचेल सिक्दैछु ।
हुन त मैले बाँचेको जीवनमा मैले बाँच्नुपर्ने जीवनको मध्यान्तर पनि भएको छैन, (औसत आयुको केन्द्रमा टेकेर बोल्ने हो भने, नभए त मृत्युको भर हुन्न) ।

जीवनमा प्रश्नहरू धेरै हुन्छन् । कुनैको जवाफ दिन मन लाग्दैन त कति प्रश्नको जवाफ आउँदैन । तर जवाफबिनाका प्रश्नहरू मैले आजसम्म सुनेको छैन । सायद छैन पनि होला । जवाफ नै नभएका प्रश्न तपाईँलाई थाहा छ भने कृपया मलाई भन्दिनू होला ।

हिँड्नेलाई कसले रोक्छ ? पुग्नेलाई कसलाई छेक्छ ?

मलाई लाग्छ विद्यालय प्रश्नहरूको कारखाना हो । त्यहाँ प्रश्न तयार गरिन्छ र सोधिन्छ । कतिले जवाफ मिलाउँछन् र अगाडि बढ्छन् । कतिले जवाफ मिलाउँदैनन्, तापनि अगाडि बढ्छन् । अगाडि बढ्नलाई प्रश्नको कुनै तह होला, तर बाध्यता होइन । हिँड्नेलाई कसले रोक्छ ? पुग्नेलाई कसलाई छेक्छ ?

संसारमा जादु भनेका कुराहरू कति सत्य हुन् ? सबै जादु सबैलाई मनपर्छ ? सबैले विश्वास गर्छन् ? के हो जादु भनेको ? अकस्मात् केही हुनु हो ? म आजकाल यस्ता कुरामा अल्झन्न, तर विश्वास गर्छु । सोच्दै नसोचेका कुराहरू मेरो जीवनमा बारबार भएका छन् भने म कसरी जादु छैन भनौँ ? म कसरी भाग्य केही पनि होइन भनौँ ? केही त छ, पक्कै छ ।

म बहुत सपना देख्ने मान्छे हुँ, निदाएर होस् वा आँखा खोलेर, तर पूरा कति हुन्छन् भन्ने चाहिँ मलाई थाहा छैन । यति थाहा छ, हेर्न छाड्दिनँ, देख्न छाड्दिनँ ।

मलाई जादुमा र भाग्यमा विश्वास छ । तर यो सबै भ्रम हो, त्यो पनि थाहा छ ।

सपनामा कसैले तपाईँलाई तपाईँको एउटा इच्छा सोधेको छ ? मलाई भने छ । प्रश्न थियो – “भगवान् आएर केही माग भनेको बेला तँ के माग्छस् ?”, यो सोध्ने मान्छेलाई म कुनै दिन भेट्छु, किनकि मैले देखेको घट्नाहरू अक्सर मेरो जीवनसँग मेल खाइरहन्छन् । कहिल्यै नदेखेको मान्छेलाई मैले सपनामा देखेको हुन्छु र ऊ कुनै समयमा मेरो सामुन्ने पर्छ वा उसको सामुन्ने म पर्छु । त्यसैले मलाई जादुमा र भाग्यमा विश्वास छ । तर यो सबै भ्रम हो, त्यो पनि थाहा छ ।

मलाई सपनामा प्रश्न गर्नेलाई उत्तर विपनामा दिएको थिएँ । म सपना हुबहु सम्झन सक्छु ।

मैले विपनामा भनेको थिएँ– “मलाई तीनकक्षाको त्यो परीक्षा दिन मन छ ।”

जवाफ त यहीँ छ अब कारण भन्नेछु ।

कक्षा तीन, उमेर बिर्सिएँ । मलाई आजकाल उमेर भन्न मन लाग्दैन । उमेरमै हुनुपर्ने कुराहरू (पढाइको निरन्तरता) र उमेरको एक कालखण्डमा हुनुपर्ने कुराहरू (…………….), यस्ता कुराको म उदाहरण हुँ । त्यसैले पनि मलाई आफ्नै उमेरसँग डर लाग्छ ।

विषयको नाम बिर्सेँ तर पाठको नाम भने याद छ । अभिभावक शीर्षकको पाठले मलाई जीवनभर भनिरहन्छ –“ त्यो परीक्षामा जवाफ साँच्चै आएन ?”, वास्तवमा मलाई ती प्रश्नको जवाफ हृदयमा कहिल्यै आएन । तर आजकाल आउँछ ।

उमेरले खेल खोजे पनि जीवनले प्रश्नहरूको जवाफ मागिरह्यो । जानेर होस् वा नजानेर मैले हरबखत जवाफ दिने प्रयास गरेँ । जिन्दगीले लिएको परीक्षाको नतिजाको प्रमाणपत्र कोसँग हुन्छ ? सायद तपाईँले पनि जिन्दगीले सोधेको बहुत धेरै प्रश्नको जवाफ दिनुभएको छ होला । यस्तै भावना त हृदयमा पक्कै आए होलान् नि ?

परीक्षाको नतिजा थाहा नहुञ्जेल बहुत छटपटी हुँदोरहेछ । जीवनका प्रश्नहरूका लागि मैले बारबार जवाफ दिएँ । तर नतिजा ?अहँ, अहिलेसम्म थाहा छैन । खैर ! समय छ, म छु र जीवन छ, कुनैदिन देला ।

परीक्षामा सोधेको प्रश्नले मलाई धेरै सताएको छ । त्योबेला सताएको थिएन । जब प्रश्न बुझ्ने भएँ तब सताएको हो । त्योबेला त जे सोधेको थियो र मैले जे जानेको थिएँ त्यही लेखेँ । आजकाल त्यही प्रश्न थियो र मलाई जवाफ थाहा थिएन भने पक्कै अङ्कको लोभमा म अन्य कुनै जवाफ लेख्ने थिएँ होला । तर आजकाल प्रश्न नै बुझ्ने हुन्छन् ।

प्रश्न थियो –“अभिभावकको माया भनेको के हो ?”, र मेरो जवाफ तीनवटै परीक्षामा एकै थियो –“मलाई थाहा छैन ।”

वार्षिक परीक्षामा अङ्क जोडिन्थ्यो र पास भइन्थ्यो । एउटै पाठको बारबार प्रश्न दोहोरिएर आउँछ भन्ने हेक्का मलाई भएन र मजस्तै अरूलाई पनि भएन । तर उनीहरूले लेखेको उत्तर मिल्यो, मैले लेखेको प्रश्नको जवाफ तीनवटै परीक्षामा कहिल्यै मिलेन । प्रश्न थियो –“अभिभावकको माया भनेको के हो ?”, र मेरो जवाफ तीनवटै परीक्षामा एकै थियो –“मलाई थाहा छैन ।”

आर्थिक अभावले होस् वा बाआमाको वैदेशिक रोजगारले होस् । अभिभावकको सामिप्यतामा मेरो बाल्यकाल बित्न सकेन र मेरो किशोरपना भिज्न सकेन । हजुरबुवाको छत्रछायामा होस् वा आफन्तको बिचरामा झल्किएको प्रेममा, मेरा दुई दशकका बसन्तहरू मौन भएर गए । र मलाई प्रश्न सोधियो– अभिभावकबारे ।

अभिभावक नै नभएको पनि त होइन, प्रेम नै नभएको पनि त होइन । हप्तामा एकपटक आउने फोन वा वर्षमा एकदिन भेटिने परिवारमा प्रेम त पक्कै थियो । तर मलाई परीक्षामा सोधिएको प्रश्नको जवाफ थाहा थिएन । वा मैले अभिभावकको अर्थ बुझेकै थिइनँ । खैर ! उमेर बढ्यो, जिम्मेवारी थपियो, घर छाडियो तर केही कुराको अभाव खड्किरह्यो, सायद यो अभाव आजन्म हो ।

स्कूलको गेटमा साथीलाई उसकी आमाले खाजा पुर्याउन आएको सम्झना म खुलेरै मेरो साथीका लागि लेख्दिन सक्छु । मैले त्यही कुरालाई बिम्ब बनाउनु पर्यो भने म कल्पना गर्न सक्छु, तर भावनामा लेख्न सक्दिनँ । सायद अभाव खड्किनु यही त हो ।

मेरो उत्तर पुस्तिका जाँच्ने शिक्षकले रातो घेरामा मलाई जिरो नम्बर दिँदैगर्दा परीक्षा सकिएपछि विद्यालय लागेको बेला मेरो आँखा हेरे कि हेरेनन् ? उनलाई आफ्नो काखमा मलाई राखेर प्रेमको पाठ पढाइदिऊँ भन्ने लाग्यो कि लागेन ? अब भेट हुँदा म उनलाई सोध्नेछु ।

रूखले पातलाई छाडिदिए पनि आफ्नै समीपमा छाड्दछ । हावा बैगुनी भयो भनेमात्र छुटिएको पात र रूखको मिलन हुँदैन ।

त्यसैले त मलाई ठिमीको घर मेरो आफ्नै घरजस्तो लाग्छ । त्यसैले त मेरा औँलाहरू अमेरिका भिडियो कल गर्न डराउँदैनन् ।

मलाई बच्चा बहुत मनपर्छ, बच्चा भयो भने घुक्र्याउन पाइन्छ । यो मलाई थाहा छ, तर अनुभव छैन । आजकाल मेरा बाआमासँग प्रायः भिडियो कल हुन्छ र बच्चा बनिदिन्छु । मलाई कसैले छोराभन्दा मलाई बच्चा बनिदिन मन लाग्छ । त्यसैले त मलाई ठिमीको घर मेरो आफ्नै घरजस्तो लाग्छ । त्यसैले त मेरा औँलाहरू अमेरिका भिडियो कल गर्न डराउँदैनन् ।

परिवारको जिम्मेवारी उठाउन खोज्दा आफ्ना रहरहरूलाई तिलाञ्जली दिएर मैदानमा उत्रनु छोरो बन्नसिक्नु हो जस्तो लाग्छ आजकाल, र म सिक्दैछु । जिन्दगी पढाइदिने महेश पौड्याललाई मैले बा भनेर बोलाउँदा, समय सिकाइदिने रमा अधिकारीलाई मैले आमा भन्दै गर्दा वा गन्तव्य देखाइदिने निरा शर्मालाई मैले आमा भन्दै गर्दा हरबखत वहाँहरूको आँखामा म गीता दाहाल र गङ्गा दाहाल किन भेट्छु । अभिभावकको सम्बन्ध यस्तै हुन्छ हो ? यो सम्बन्ध धेरैपछि बुझेको छु, त्यसैले भगवान आएर एउटा इच्छा पूरा गर्दिने शर्त राखे भने मेरो इच्छा त्यही तीन कक्षाको प्रश्नको जवाफ लेख्ने रहर हुनेछ ।

हरी ॐ

Loading...