नेपाली साहित्यको सम्पूर्ण पत्रिका

 ‘अनुहारमा भूगोल’ सङ्ग्रहभित्रका कविताहरूको अनुहार

एकाध केही सामान्य प्राविधिक दोषहरूबाहेक भाषा लयात्मक अनि सरल नै भेटिन्छ।

प्रवेश:

प्रा.योगेश खाती

भारतीय सन्दर्भमा नेपाली कविताहरूको स्थान विशिष्ट छ। विभिन्न भाषिक समुदायहरुले साहित्यको माध्यमद्वारा अभिव्यक्ति दिने परम्परा गणतान्त्रिक देश भारतमा एउटा मनपर्दो विषय हो। विश्व साहित्यमा कविताले दिन सकेको अभिव्यक्ति एउटा ठूलो पक्षको रुपमा हेर्न सकिन्छ। यसै अभिव्यक्तिभित्र भारतीय नेपाली कविताहरूका  प्रवृत्तिहरू पनि एक पछि अर्को गर्दै विविध छन्। भाषिक समुदायहरूमा   देखिएका अभिव्यक्तिका विविध पक्षहरू वास्तवमा साहित्य निर्माणका उत्प्रेरक थोकहरू हुन्। यसै सन्दर्भमा भारतीय नेपाली साहित्यका कविता विधाभित्र पनि यस्ता पक्ष अनि उत्प्रेरक विषयहरू प्रसस्तै भेट्न सकिन्छ। भारतीय नेपाली साहित्यको विशेष साधना स्थल दार्जिलिङ, यहाँका कवि अनि कविताहरू यस विषयभित्र उल्लेखनीय भेटिन्छन्। भारतीय प्रसङ्गमा दार्जिलिङका कवि अनि कविताहरुले यहाँका माटो, माया, मन, मृगतृष्णा, जातीयता, चिनारी, आक्रोस आदि जस्ता कुराहरुलाई समेटेर भिन्नै साहित्यिक स्वाद प्रस्तुत गरिरहेका छुट्टै अनि विशिष्ट स्थिति छ। यसै सन्दर्भमा सुकराज दियाली पनि एक उद्यमी साहित्य सेवकको रुपमा देखा पर्छन्। दियालीकृत अनुहारमा भूगोल   कविता सङ्ग्रहभित्र पनि यस्तै धेरै साहित्यिक अभिव्यक्तिका सम्भावनाहरू पाइने हुनाले उनका यस कविता सङ्ग्रहभित्र विचरण गर्ने यहाँ प्रयास गरिन्छ।

कवि सुकराज दियाली अनि कविता सङ्ग्रह अनुहारमा भूगोल  

परिचय :

दार्जिलिङ जिल्लाको सिलगडी महकुमा अन्तर्गत एउटा उच्चतर माध्यमिक पाठशालाका सह-शिक्षकका रुपमा कार्यरत सुकराज दियाली जीवनका घाम पानी सहँदै साहित्य सेवामा लागेका एक समर्पित सेवक, स्रष्टा र सिर्जनात्मक विचारका संयोजक हुन्। उनले कविता सङ्ग्रह, लेख सङ्ग्रह, समीक्षा सङ्ग्रह, व्यक्ति-कृति अध्ययन जस्ता विशेष कृतिहरू गर्दै अहिलेसम्म झन्डै एक दर्जन पुस्तक निकाली सकेका छन् भने झन्डै डेढ दर्जन जस्ता साहित्यिक एवम् विविध पत्रिकाहरू सम्पादन गरिसकेका छन्। भारतीय नेपाली साहित्य मूलतः साहित्य सेवा मात्र नभएर यत्रो बहुभाषिक देशभित्र हाम्रो निम्ति आत्म-प्रकाशनको ठूलो अवसर अनि प्रयास पनि हो। देशका विभिन्न समस्याहरू लगायत हाम्रा आफ्नै समस्याहरूको    सामना र चुनौती गर्दै अघि बढ्न पर्ने स्थितिहरू यहाँ यथेष्ट छन्। यस्तो वस्तुस्थितिमा अनवरत् परिश्रम, जन-सम्पर्क, अध्ययन र केही गरूँ भन्ने औडाहा लिएर साहित्य सिर्जनामा लागेका सुकराज दियालीले धेरै अरु जस्तै आफैलाई पनि एक साहित्यकारका रुपमा स्थापना गरिसकेका छन्। वर्तमान समय प्रोपोगान्डा र मुद्दाको समय छ जहाँ साहित्य सिर्जना एउटा उर्वर शौकको रुपमा रहेको छ। यसैले साहित्यभित्र आफै साहित्यकार बनिने अनि आफ्ना कोठरीले साहित्यिक बनाइएका केही जन्मजात् आलोचकहरूका  मुख सुकराज दियालीले आफ्ना कर्मद्वारा बन्द गरिदिएका छन्। हाल सुकराज दियाली अनवरत् रुपमा साहित्यको मलजल गर्न उद्यमी भइ, उद्देश्य सफा लिइ, भारतीय नेपाली साहित्य संसारमा सक्रिय देखिन्छन्।

 अनुहारमा भूगोल कविता सङ्ग्रह :

अनुहारमा भूगोल कविता सङ्ग्रह सन् २०१४ सालमा नई इन्डिया पब्लिकेशन दुर्गागडी, सिलगडीबाट प्रकाशित उनको पछिल्लो कविता सङ्ग्रह हो। यस कविता सङ्ग्रहमा लामा छोटा गरेर जम्मा  ६४ वटा कविताहरू रहेका छन्। यी कविताहरूमा सामाजिक समस्या, राजनैतिक समस्या, चिनारी समस्या, मानव सम्बन्ध विषयक उद्वेग, कल्पना र दर्शन भेटिन्छ भने धेरैपल्ट आफ्नै पीडा र व्यथा पक्षहरू पनि समेटिएको देखिन्छ। यस सङ्ग्रहभित्र उनका सबै भन्दा छोटा कविताहरू ‘फेरि आशा’, ‘जीवन’ आदि छन् भने सबै भन्दा लामो कविता ‘सम्झनाको पोस्टर’-लाई लिन सकिन्छ।

 अनुहारमा भूगोल – सङ्ग्रहभित्रका कविताहरूको  अध्ययन:

भारतीय नेपाली आधुनिक कविताको विकास परम्परा विषयमा एकरूपता भेटिन्न। विभिन्न विद्वानहरुले आआफ्नै विचार एवम् कालखण्ड तयार पारेका छन्। असीत राईले आफ्ना पुस्तक- भारतेली नेपाली साहित्यको इतिहास-भित्र आधुनिक भारतेली नेपाली कविता साहित्यको अवधि सन् १९४७ देखि सन् १९८७ सम्म देखाएका छन्।[1] अर्का विद्वान देवी पन्थीले आफ्ना पुस्तक भारतेली नेपाली साहित्य र संस्कृतिको झलक-मा सन् १९४७ देखि यताको समयलाई उल्लेख गरेका छन्। [2] अध्ययनको क्रममा भारतीय इतिहासभित्र सन् १९४७ साल महत्त्वपूर्ण काल मानिन्छ। यद्यपि वैधानिक रुपमा देश, सिङ्गो भारत हुन अघि पनि यहाँ नेपाली भाषामा साहित्य सिर्जना भइरहेका स्थितिहरू थिए। राजनैतिक रुपमा सिङ्गो राष्ट्र भारत बनिन अघिनै भारतीय लेखन परम्पराभित्र भारतीय साहित्य नामकरण भित्रिसकेको हो। स्वतन्त्र भारतको निर्माण पश्चात् सामाजिक, राजनैतिक, अर्थनैतिक, शैक्षिक अनि साहित्यिक क्षेत्रहरूमा   धेरै परिवर्तन साथै दृष्टिकोणहरू देखा पर्दै आएका हुन्। यस अवधिपछि विविध साहित्यिक मोड अनि धारणाहरू देखा परे। साहित्यिक विचार, अभिव्यक्ति अनि प्रयोगमा बृहत्तर दिशाहरू निर्माण हुँदै गए। अतः यिनै बृहत्तर दिशाका धेरै साहित्यिक कार्यहरूको    लहरमा राख्दै एक साहित्यिक अभिव्यक्तिकै रुपमा सुकराज दियालीकृत अनुहारमा भूगोल कविता सङ्ग्रहलाई पनि राखेर हेर्न सकिन्छ। यहाँ विचार, अभिव्यक्ति अनि दृष्टिकोण बृहत् अनि समसामयिक छन् जो नितान्त आधुनिक विमर्शका प्रकृति हुन्। यसर्थ, सुकराज दियालीकृत अनुहारमा भूगोल   कविता सङ्ग्रहलाई भारतीय नेपाली आधुनिक कविताको परम्परामा एउटा उपलब्धिको रुपमा स्वीकार्दै यसभित्रका कविताहरूको    अध्ययन यहाँ प्रस्तुत गरिन्छ।

कवि सुकराज दियालीका कविता सङ्ग्रह अनुहारमा भूगोल-भित्र सङ्ग्रहित कविताहरूका  भाषा सरल र सहज भेटिन्छ। शुरुदेखि अन्त्यसम्म नै पाठकलाई विषयसँग तानेर राख्न सक्ने उनको काव्यात्मक मोहनी धेरै हदसम्म सफल भेटिन्छ। एकाध केही सामान्य प्राविधिक दोषहरूबाहेक भाषा लयात्मक अनि सरल नै भेटिन्छ। यस सङ्ग्रहभित्र ‘गुगलको संसारमा सुनमाया’-बाट सुरु भएको कविता अन्त्यमा ‘क्रान्ति’ कवितामा पुगेर टुङ्गिएको छ। समग्रमा हेर्दा उनका कविताहरूभित्र   देशका सन्दर्भहरूजडित प्रसस्त भावाभिव्यक्ति भेटिन्छ। उनका कविताहरूमा जातीय चिनारी, राष्ट्रियता, कल्पना, चियाबारीको मर्म, राजनीति, सामाजिक-राजनैतिक स्थितिहरूप्रति प्रहार, क्रोध-क्षोभ, जीवनका कुण्ठाहरू, आशावादी सोँच, यथार्थ चित्रण, स्थानीयताको स्वर, व्यङ्ग्य जस्ता पक्षहरू यथेष्ट पाइन्छन्।

उनका कविताले आधुनिकता अनि आधुनिक शिक्षा प्रणाली, चिनारीको सङ्घर्ष, क्षेत्रीयता, राष्ट्रियता, देशभक्ति, विविध फराकिलो दृष्टिकोण अनि विचार, सामाजिक विचलनप्रति व्यङ्ग्य, व्यवस्थाप्रति क्रोध अनि क्षोभ इत्यादिलाई सम्बोधन गरेको देख्न सकिन्छ।  जस्तै-

देशले अनुहार खोज्छ,

मान्छेलाई होइन,

देशले पाखुरा रोज्छ,

भाग्यलाई होइन । (देशको अनुहार)

भारतीय राजनैतिक इतिहासमा नेपाली भाषी जनमानसको सयवर्ष भन्दा लामो सङ्घर्षको तीतो परिणति नै भारतीय संविधानभित्र एउटा छुट्टै घर वा राज्य हो। यसै मुद्दाको वरिपरी दार्जिलिङको राजनीति परिक्रमा गर्दछ। यसै मुद्दाको भावनाहरुलाई लिएर विचार, सोँच अनि अभिव्यक्ति निर्मित हुन्छन्। यो क्रम जारी छ, यथावत् छ। कविले भारतीय मूलधारामा बग्न चाहने एक विशेष भाषिक अनि जातीय समूहका दीर्घकालीन सङ्घर्षको निचोड यसरी व्यक्त गरेका छन्। जस्तै-

आफ्नो देशको मानचित्रभित्र

एउटा घर नहुनु

चेप्टिएर बाँचिरहनु पर्ने

थिचिएर हाँसिरहनु पर्ने (आफ्नो घर)

विषय साधारण, आफ्नो गाउँ –घर र चियाबारी । उनलाई यी सन्दर्भप्रतिका माया, विरह, मिलन बिछोड जस्ता कुराहरूआफ्नो लाग्दछ। कतिपय कविताहरू जस्तै-‘चियाबारीभित्र मेरो आमा’, ‘हामी बाँचिरहेछौँ’, ‘परिवर्तन’, ‘तिम्रो आकाशमुनि मेरो गाउँ भेटिन’ आदिभित्र पनि यी विषयहरू पाउन सकिन्छ। उनको यस्तै एउटा कविताभित्र यस्तो भावोद्गार देखिन्छ। जस्तै-

सम्झनाको एउटा टालो

टाली राखेको छ, साङ्गेटारमा

मैले मायाहरू पनि छाडराखेको छु

त्यहींको हरियो धुप्पीका रुखहरूमा

पल्लो भित्ताको चाँप र गुँरासका फूलहरूमा ।

जीवनका विविध परिस्थिति र समयमा मानिस उत्साहित र हतास बन्छ। तर कवि सुकराज आफ्ना अभिव्यक्तिमा स्पष्ट छन्, धीर हुँदै आफ्ना विचार यसरी राख्दछन् –

हावा चलिरहन्छ नथामीकन

समय हिँ‌डिरहन्छ नथामीकन

बस् यति बेला सम्झिनु छ

पृथ्वीको गतिलाई ।

भारतीय नेपाली साहित्य सिर्जनको एउटा ठूलो पाटा दार्जिलिङको चियाबारी र यसका जनजीवन हुन्। यसभित्र समाज, राजनीति, अर्थनीति, शैक्षिक वातावरण, सङ्घर्ष आदि जस्ता भरपूर साहित्य लेखनले समेटेका कुराहरू भेटिन्छन्। साहित्यले यिनै कुराहरुलाई समेटेर अघि बढ्दा समाजकै समस्या अनि समाधानका बाटामा जनमानसका अभिव्यक्ति पनि स्वत: बढेको भेटिन्छ। उनका कविताले यस्तै प्रसङ्गलाई तानेको छ । जस्तै-

सुनको फूल टिप्ने-सुनमायाको माया र छायाँ

गहिरो पोखरीको पानीमा टल्किंदैछ ।

त्यतिबेला जून हाँसेन

बादलभित्र जून हाँसेन बादलभित्र लुकाचोरी खेल्ने घामले

सुनमायाको जिन्दगानी देखेन …। (गुगलको संसारमा सुनमाया )

 चियाबारी अङ्ग्रेजले रोपेर गए। विदेशी मालिकहरुले यो चियाबारी स्वदेशी मालिकहरूको    हातमा छोडेर गए। तथापि, चियाबारी जन-जीवनभित्र असन्तुष्टि, अभाव अनि अन्याय, धेरै बुझ्न सकिने तर थोरै देख्न सकिने यथार्थ भएर रह्यो। युग-युगदेखि चियाबारीको जन-जीवनभित्र देखिएको सपना, वास्तविक जीवनभित्रका मर्म, व्यथा आदि चियाबारीसँगै  रहेको छ। राजनैतिक सत्ता र परिवर्तनको रहर समाजमा पटकपटक सुन्नमा आए तापनि चियाबारीमा यसको प्रभाव कुनै ठोस् हुण्डरी भएर आएको भेटिन्न। बरू चियाबारीभित्र अभाव, अन्याय, असमानता जस्ता स्थितिका हावा हुण्डरी चलिनैरहेको वास्तविक स्थितिहरू छन् अनि राजनीति र सामाजिक व्यवस्थाले दिन-रात एउटा सङ्घर्षको ढोकामा यसलाई उभ्याएको भेटिन्छ। कवि दियालीका अभिव्यक्तिले यी कुराहरुलाई बुझेर अनि देखेर आफ्ना अभिव्यक्तिहरूमा   अँटाएका छन्, दह्रो भएर उनले बोलेका छन्। जस्तै-

सुनमायाको यो जिन्दगानी

गम्बुट र टोकरी

घुम र बर्साती भित्र पार्सल भएको छ

सुनमायाको रगत र पसिना

गुगलभित्र रातो रङ्ग चियासँग खाँदिएको छ । (गुगलको संसारमा सुनमाया )

अर्को –

हरियो चियाका वोटहरुले

फुलेको माया कसले पो बिर्सन्छ र ?

डाँडा-काँडाको सम्झना

खोलानालाको गीत

रमाइलो बनी मनमा छाउँदा

कठै ! यो पीर कसले कहन्छ र ! (चियाबारीभित्र मेरी आमा)

साहित्यिक अभिव्यक्तिको मिठासपूर्ण पक्ष नै कविताभित्र प्रयुक्त बिम्ब अनि प्रतीकहरूको    सफल समायोजन हो। कविले गाउँका समस्या अनि युगौंदेखि आइरहने सम्वृद्धिको प्रश्नलाई घामको प्रतीकात्मक प्रसङ्ग झिकेर यसरी सम्बोधन गर्ने प्रयास गरेका छन् । जस्तै-

घाम लाग्छ कि लाग्दैन

गाउँले घाम सोचिरहन्छ ….

घाम पनि कति लुकिरहन सकेको …

गाउँ लाई धुम्मो बादलले

कालो कुइरोले ढाकिराख्छ । …(गाउँको भूगोलमा घाम )

कविले समसामयिक विषयभित्र देखिएको बढ्दो शैक्षिक प्रतियोगिता अनि यसका अन्य पक्षलाई यसरी स्पर्श गरेका छन् । जस्तै-

          ब्यागभरि भारी बोकेर

अक्षर सिक्न जाँदैछ ! मेरो नानी, ….

नानीलाई थाहा छैन

अक्षरहरू बोल्छन् भनेर

अक्षरहरू जोडिएर

भाग्य बनिन्छ भनेर ।

अक्षरहरू घटेर

भाग्य तुयाइन्छ भनेर । (मेरो नानीले अक्षर सिक्दैछ)

मानव समाजभित्र आन्दोलन एउटा समाधान पहलको माध्यम हो। समाज विज्ञानभित्र आन्दोलन, क्रान्ति, सङ्ग्राम मानव प्रकृतिको अभिव्यक्ति हो। तर यस्ता सामूहिक प्रयासभित्र व्यक्तिगत स्वार्थ र उद्देश्य भित्रिएपछि यसको रुप पनि मन नपर्ने हुन्छ। यसको चर्चा कविले यसरी गरेका छन् –

बुझ्दिन आजकल, गाउँको आन्दोलन

मान्छेको भीडले पसिना बोकेर हिँडेको

रङ्ग –विरङ्गका छालाहरूमा  

कोत्रा परेको विचारहरू साटेर

पर्खिरहन्छ एउटा ठूलो जनसभा । (आन्दोलन)

आँखा अघिको समाजमा भोलिको जीवन जीउन कस्तो भविष्य चाहिन्छ? कविले आज देखेका समयलाई भोलिको दिनमा सामना गर्न आफ्नो सन्तान कस्तो चाहिन्छ भन्ने बारेमा कविको इच्छा यस्तो भेटिन्छ-

तर्क होइन वितर्क गर्न सकोस्

भूगोलको मानचित्रभित्र

हामीलाई खोज्न सकोस्

हामीलाई सोध्न सकोस् ।  (छोरो)

कवि सुकराजका कविताहरूभित्र बारम्बार आइबस्ने नामहरू सुनमाया, रामबहादुर, बुड़ो रामबहादुर आदि हुन्। स्थानीय मानिसहरूका  नामसँगै उनीहरूका  समस्या र पीडासँग कवि परिचित छन्। कविले यस कुरामाथि  समवेदना राख्दछन्। जस्तै-

फिका चियासित

आफ्नै विवशता पिउँदै।

तिर्खा मेटाउँदै छ

आज थाकेको छ- रामबहादुर

एउटा ठूलो बोझ बोकेर … । (रामबहादुर)

पहाड समतलमा रहेका नेपाली भाषी समूहले आ-आफ्नै समस्या र पीडाहरू महसुस गर्दछन् तर अन्तर्समूहबीच  देखापरेका आपसी मतभेद अनि अफ्ठ्यारा पक्षहरू कहिल्ले नसकिने तथ्य पनि हो। आफ्नो जनसङ्ख्येकी परिवर्तन र वर्तमान समयमा यसको राजनैतिक चाप अनि विवशताप्रति कवि चिन्तित भेटिन्छन्। जस्तै-

यसरी  हाम्रा खून चुस्नेहरू

माथि पनि रहेछन्

तल पनि रहेछन्

टोकाईदेखि बाँच्न

हामी सकेनौं । (शोषण)

कवि सुकराजका कवितामा देख्न सकिने सबै भन्दा दह्रो पक्ष नै देशप्रति भएको कविको आस्था, विश्वास अनि समर्पण हो। उनले देशको सामु आफुले सोंच्न, मान्न अनि गर्न सक्ने सबै भन्दा ठूलो त्याग र तपस्या नै हो देश प्रतिको समर्पण मानेका छन्। देशको महानता अनि ठूलो छहारीमा उनलाई विश्वास लाग्छ साथै आफ्ना राष्ट्रवादी विचार पनि यसरी व्यक्त गरिएको भेटिन्छ । जस्तै-

देशले अनुहार खोज्छ

मान्छेलाई होइन

देशले पाखुरा रोज्छ

भाग्यलाई होइन।   

उनका कविता सङ्ग्रह अनुहारमा भूगोल -भित्रका केही विषयहरू र कविताहरू यसरी पनि राखेर हेर्न सकिन्छ।

कविताभित्रका केही विषयहरु देश सन्दर्भका कविताहरु गाउँको मोह चियाबारी विशेष चिनारी प्रसङ्ग समसामयिक मुद्दा व्यङ्ग्य यथार्थ सामाजिक
कविताहरू देश, देशभित्र देश, मेरो देश आदि । गुगलको संसारमा सुनमाया, गाउँको भूगोलमा घाम, हाम्रो गाउँ, घर, आफ्नो घर, त्यो गाउँ आदि । चियाबारीभित्र मेरी आमा, गुगलको संसारमा सुनमाया, रामबहादुर, बुढो रामबहादुर-१, बुढो रामबहादुर-२ आदि । मधेशतिर, सोँच, हामी बाँचिरहन्छौँ, झण्डा, आरुको फूल, शोषण  आदि । रङ्गिएको इस्केच,  स्वार्थी, विश्वास, फेरि आशा, तिमी, जीवन चित्र आदि । शोषण, कोर्न नसकेको चित्र, युद्ध कहिले अन्तिम हुँदैन, जिन्दगी आदि । मान्छे, छोरो, आन्दोलन, टेन्सन, मेरो नानी स्कूल जाँदैछ, जीवन समारोहमा बुढा, ह्यापी बर्थ डे आदि । सम्झनाको पोस्टर, भाका, सिपाही, फ्रेमभित्रका नक्शाहरूआदि ।

 

निष्कर्ष:

भारतीय नेपाली आधुनिक कविताले आफ्नो विषयको परिधि व्यापक अनि फराकिलो बनाएर अघि बढीरहेको स्थितिहरू अनि विषय र अभिव्यक्तिका बेजोड प्रकाशनबीच कवि सुकराज दियालीका कविताहरू नरम भावका छन्, पाठकका मनमा बस्न सक्ने सौम्य प्रकारका छन्। विचार, प्रस्तुति र अभिव्यक्तिका नयाँपनमा उत्ताउलोपन देखाउने महत्त्वकाङ्क्षी विचारले उनी मातिएका छैनन्। कविता साधारण अभिव्यक्तिमा नै मीठो भेटिन्छ। विषयलाई बुझाउनु अनि समस्यालाई सही हिर्काउनु, कविताको साधारण रुप र प्रस्तुतिले प्रभावकारी बनाउँछ। यद्यपि क्लिष्ट, प्रयोगवादी र महत्त्वकाङ्क्षी कविताहरूमा यस्तो अवसर कम नै हुन्छ, कारण सर्जक र पाठकबीचको सहजता नै सम्प्रेषण हो अनि सम्प्रेषणद्वारा नै पाठकभित्र प्रभाव निर्माण हुन्छ। यसैले सम्प्रेषण सरल राखेर पाठकभित्र प्रभाव छोड्न सक्ने कविहरुमध्ये कवि सुकराज दियाली पनि एक हुन्। विषयको व्यापकता र महत्त्वकाङ्क्षी उडानबाट अनियन्त्रित बनेर सिर्जना र पाठकको सम्मिलन असम्भव बनाउने स्वेच्छाधारी स्रष्टा बन्ने सोँचदेखि उनी टाडा देखिन्छन्। उनका यस सङ्ग्रहभित्र रहेका कविताहरुले वैयक्तिक, सामुदायिक अनि फराकिलो दृष्टिकोणको परिधिभित्र नै रहेर पाठकलाई स्पर्श गरेका छन्। उनका कविता लेखन अझ खारिएर अघि बढ्दै जाने सम्भावना प्रशस्तै देखिन्छ साथै भारतीय नेपाली साहित्य जगतमा एक इमान्दार साहित्य सर्जकका रुपमा कवि दियालीले आफ्नो यात्रा कायम राख्नेछन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ।

[1] राई, असीत, सन् २००४, भारतीय नेपाली साहित्यको इतिहास, दार्जिलिङ : साझा पुस्तक प्रकाशन, पृष्ठ-२१-२२

[2] पन्थी, देवी, सन् २००४, भारतीय नेपाली साहित्य र संस्कृतिको झलक, काठमाडौँ: आँखा स्वयम् सेवी प्रकाशन सङ्घ, पृष्ठ- ५६-६६

Loading...