नेपाली साहित्यको सम्पूर्ण पत्रिका

काठमाडौँ टेक्नुअघि, काठमाडौँ टेकेपछि …

बर्मादेखि नेपालसम्म–९

घर छाडेको पाँचौ दिन । बिहानको समय । बर्मादेखि भारत हुँदै नेपालको पूर्वी सिमानाबाट यतिखेर नेपाल खाल्डोमा प्रवेश गर्दै रहेछौँ ।

थकाइले चुर भएर निदाएका हामी कुनै कारणले आँखा खुल्यो । कुनै अनजान ठाउँमा गाडी चलिरहेको थियो । मोबाइलमा समय हेरेँ बिहानको सात बजेको छ । हामी कुन ठाउँमा आइपुगेका छौँ, थाहा छैन । यत्ति मात्रै थाहा छ, हामी काठमाडौँको यात्रामा छौँ । झ्यालबाट हेर्दा अजंगको पहाड देखियो । त्यो पहाडका टुप्पोमा फाट्टफुट्ट घर देखिए । केही तल खेतबारी र बालीनाली । यस्ता दृश्यहरू परबाट निकै सुन्दर देखिन्छ । चिसो हावा र लोभ्याउने दृश्यले मलाई आफ्नो गाउँघरको सम्झना दिलायो ।

घर छाडेका जम्मा पाँच दिन मात्रै हो र ? मनले प्रश्न गर्यो । यत्तिका घटना, यत्तिका ठाउँ र यत्तिका अनुभव जम्मा पाँच दिनमा कसरी सम्भव छ र ? यात्रामा यो सबै हुँदो रहेछ । एउटा यात्राले १० पुस्तकको अनुभव दिन्छ, त्यसै भनिएको होइन रहेछ ।

पहाड अझै अग्लिँदै गयो । ठाउँ ठाउँमा बाक्ला गाउँहरू पनि देखिए । घरको याद झन् घनिभूत भयो । मान्डलेमा बसाइँ सरेदेखि यहाँको व्यस्ततामा अल्झेर म मोगोक नपुगेको निकै समय भएको छ । यो वातावरणमा मैले आफ्नो गाउँ पाए जस्तो लाग्यो । उस्तै चिसो लगलग कमाउने, अग्ला पहाड र चिटिक्क परेका घर ।

गाडी रोकिएसँगै कुनै युवाले निद्रा बिथोल्ने गरी कराए, “लौ एकैछिन रोकिन्छ । छिटो छिटो हात मुख धुनुहोस् र फ्रेस हुनुहोस् ।’

छेउका साथीहरू निदाइरहनुभएको थियो । आल्हादित हुँदै ती दृश्यहरू देखाउन मन लाग्यो । तर आँखाअघि आइपुग्यो, सिमेन्ट, बैङ्क र अनेक परिकारका विज्ञापनले घरका भित्ता सिंगारेको दृश्य । यति सुन्दर ठाउँका यति सुन्दर घर बनाउने मानिसले केही रकमको लोभमा किन यी विज्ञापन पोत्न स्वीकार गरेका होलान् ? मलाई ती घरहरू कुनै आकर्षक पुरुषको अनुहारमा देखापरेको बिफरका खाल्डा जस्तै महसुस भयो ।

गाडी फनक्क घुम्यो र रोड छेउमा रोकियो । गाडी रोकिएसँगै कुनै युवाले निद्रा बिथोल्ने गरी कराए, “लौ एकैछिन रोकिन्छ । छिटो छिटो हात मुख धुनुहोस् र फ्रेस हुनुहोस् ।’

कुनै अभिभावकले भनेजस्तो यति राम्रो कुरा पनि किन कर्कश आवाजले निदाइरहेका व्यक्तिहरूलाइ रिस उठ्ने गरी भनेका होलान् ? कुरा बुझिनँ । सबैको निद्रा खुल्यो । पाण्डेजीले ध्यान दिएर बाहिर हेर्नुभयो र भन्नुभयो, ‘धार्के आइपुगेछौँ ।’

‘धार्के मतलब कहाँ ?’ मैले सोधेँ ।

‘काठमाडौँ आइपुग्यौँ ?’ उत्तर आउनुअघि सरगमले सोधिन् ।

‘होइन, अब एक दुई घण्टामा पुगिन्छ ।’ पाण्डेजीको उत्तरले म खुसी भएँ ।

‘कहाँ पुगियो रे ?’ सीमा दिदीले मलाई सोध्नुभयो ।

‘धार्के आइपुग्यौँ । अब यहाँबाट काठमाडौँ नजिकै छ ।’ मैले पुरानो यात्रुजस्तै भएर जवाफ दिएँ । केही सूचना केही सेकेण्डअघि पाउँदा पनि मानिस अरूभन्दा जान्ने सुन्ने हुनसक्छ भन्ने लागेर आफैँ खुसी भएँ ।

फ्रेस हुन उत्रिएका थियौँ, तर त्यो त खाजापानी खाने ठाउँ रहेछ । त्यो पनि एकान्तजस्तो ठाउँमा । फ्रेस हुने बाहानामा हामीलाई चियानास्ता खान पो बोलाइएको रहेछ । व्यापार बढाउने यो राम्रो काइदा थियो । बल्ल पो कुरा बुझ्यौँ ।

चिसो असाध्यै थियो । पानी त छुनै नसकिने । छिटो छिटो हातमुख धोएर हामी चिया पसलमा छिर्यौँ ।

सेल रोटी खाऊँ खाऊँ लाग्नेगरी सजाइएका थिए । जाडोमा तातो सेल नखाई मन कसरी मान्थ्यो र ? बर्मामा सेल खान तिहार नै आउनुपर्छ ।

हामीलाई तिहार आइदियो । हामीले सेलरोटी मगाउनुअघि नै पैसा दिँदै भन्यौँ, ‘सबैलाई पेटभरि तातो सेल दिनुहोला ।’

‘पहिले खाइसक्नु, अनि पैसा दिनुहोला । नत्र कसरी थाहा हुन्छ, कति पैसा लिने ?’

पसलेको कुराले हामी छक्क पर्यौँ । हिजो रातीभन्दा ठीक उल्टो कुरा सुन्नु पर्यो ।

हिजो मध्यरातमा भोकले आत्तिँदै हामी गाडीबाट ओर्लिएका थियौँ । त्यो पनि यसैगरी गाडीले खाना खाने ठाउँमा रोकिदिएपछि । अध्यागमनअघि खुसीले केही खाएका थिएनौँ । कर्मचारीको व्यवहारले दुःखी भएर केही खान मन लागेको थिएन । गाडीले एकैपटक खाना खान रोकेपछि हामी नेपाली भूमिमा पहिलोपटक खान खान कुनै होटलमा छिरेका थियौँ । होटेलमा कसरी खाना मगाउनुपर्छ थाहा थिएन । टोली नेता भीमजीलाई जानकारी छ । तर उहाँ ‘मेरो व्रत छ’ भनेर दोकान छिर्नुभएन । हामी सबै नयाँ, छ जना मज्जाले टेबल ओगटेर बस्यौँ ।

हामीभन्दा पछि आएका मान्छे खान थालिसके, हामीलाई वास्ता नै छैन । त्यही पनि कुरेर बस्यौँ । १० मिनेट, २० मिनेट गर्दागर्दै समय घर्किदै गयो ।

गाडीका सबै पेसिन्जरहरू एकैपटक दोकानमा छिर्दा भीड भयो । हामी छिर्नुअघि नै त्यहाँ खाना खानेहरू थिए । कोही उठ्दै, कोही खान बस्दै गर्न थाले । यात्रुहरू आउने, धमाधम खाने र निस्कने गर्न थाले । हामीलाई खाना आएन । अब आउँछ भन्दै पर्खदै गर्यो, आउँदैन । हामीभन्दा पछि आएका मान्छे खान थालिसके, हामीलाई वास्ता नै छैन । त्यही पनि कुरेर बस्यौँ । १० मिनेट, २० मिनेट गर्दागर्दै समय घर्किदै गयो । अरू खाना खाँदै उठ्दै गरे, हामीलाई खाना नै आएन । निकैबेरपछि एकजना भाइ आएर सोधेका थिए, ‘टोकन दिनूस् त ।’

‘केको टोकन ?’ हामीले एकसाथ जवाफ दियौँ ।

‘खाना नखाने ?’ रेस्टुराँको भाइले उल्टै प्रश्न गरे ।

भोकले हैरान भएका हामीलाई यो प्रश्नले रिस उठ्नु स्वभाविक थियो ।

रिसाएर केही हुनेवाला थिएन । पछि थाहा भयो, सिटमा बस्नुअघि नै पैसा तिरेर, कुपन लिनुपर्छ र त्यो काम गर्ने भाइहरूलाई बुझाउनु पर्छ । तब मात्र खाना आउँछ ।

हाम्रो समस्या बुझेपछि वेटर भाइले त्यहीँबाट आवाज दिए, ‘छ ठाउँ भात ।’

‘अहो कति महंगो ।’ हामी तर्सियौँ ।

‘किन कति ठाउँ खाने र ?’ वेटरले सोध्यो ।

हामीले त्यति महंगो होला भन्ने कल्पना नै गरेका थिएनौँ ।

हाम्रो अलमल देखेर वेटर अर्कोतिर लागे ।

बर्मेली भाषामा ठाउँको अर्थ हजार हो । वेटरले छ ठाउँ भातभन्दा हामीलाई लाग्यो, एक प्लेट खानाको ६ हजार रूपैयाँ पर्दो रहेछ । ६ हजारमा एक प्लेट खाना खाने प्रश्न नै थिएन ।

पछि पो थाहा भयो, वेटरले छ ठाउँ भन्नुको अर्थ छ प्लेट खाना भनेका रहेछन् ।

हामीले कानेखुसी गर्दै भन्यौ, ‘नेपाली व्यवहार मात्र होइन, बोली बुझ्न पनि अप्ठ्यारो रहेछ । हाम्लाई नेपाली बोल्न आउँदैन होला हगि ।’

तर धार्केमा कुनै पनि समस्या भएन । सेल रोटीलाई सेल रोटी नै भन्न पाइयो । चायलाई चाय नै भनियो । थपी थपी खाएको सेल रोटी र चियाको खर्च पनि धेरै लागेन । जाडोमा तातो सेल र चियाले न्यानो बनाइदियो । त्यसमाथि पसलेहरूले पनि त्यति निरास हुने व्यवहार गरेनन् ।

कतिपय बाटोघाटोहरूले बर्माको याद दिलाउँथ्यो मलाई । एउटै आकाशको छानो भएका र एउटै धर्तीको भुइँमा उभिएका दुई देश ।

काठमाडौँतिर लाग्दा बिहानको साढे सात बजेको थियो । त्यो चौबीस तारिखको दिन थियो । कतिपय बाटोघाटोहरूले बर्माको याद दिलाउँथ्यो मलाई । एउटै आकाशको छानो भएका र एउटै धर्तीको भुइँमा उभिएका दुई देश । त्यसमाथि भू–बनोट अलिअलि भा’पनि मिलिजान्छ । त्यसमाथि नेपाली भाषामा कुरा गर्न पाएपछि धेरै कुरा आफ्नै गाउँघर जस्तो लाग्ने ।

पर क्षितिजसम्म देखिए जति नेपाल हेर्न लागेँ म । गाउँघर र वनजङ्गल पार गर्दै गाडीले ठूलो नेटो काट्यो । त्यहाँबाट सहर देखियो ।

‘यहाँदेखि काठमाडौँ सुरू भयो ।’ पाण्डेजीले जानकारी गराउनुभयो ।

सुरूमा काठमाडौँ सानो जस्तो लागेको थियो । गाडी अगाडि बढ्दै जाँदा यो ठूलो ठूलो हुँदै गयो । गाडीहरू बाक्लिदै गए । भीडभाड बढ्दै गयो । अहो, संसारका सबै सहर उस्तै हुँदा रहेछन् । मैले टेलिभिजनमा देखेको काठमाडौँ, किताबमा पढेको काठमाडौँ त धेरै सफा र आकर्षक थियो । यो त धेरै नै भीड रहेछ ।

बसपार्क आउनुअघि भीमजीले स्पेयर भाइसँग एकछिक मोबाइल मागेर ज्ञान सरलाई फोन गर्नुभयो । ज्ञान सरको सूचना अनुसार हामी गंगबुमा उत्रियौँ ।

सायद कुनै ठाउँ तोकिएको थियो । त्यही तोकिएको ठाउँमा टोली नेता उभिएपछि उहाँकै अनुसरण गर्दै हामी पनि उभियौँ । एकैछिनमा एकजना मध्यकद काँठीका युवा हाम्रो सामु आए र भने, ‘तपाईँहरू बर्माबाट आउनुभएको हो ?’

हामीले मुन्टो हल्लायौँ ।

‘मेरो नाम यादब गौतम । म पनि बर्माबाटै आएको हुँ तर १६ वर्षअघि ।’

एकै वाक्यमा उनको व्यहारले हामीमा अपनत्वको महसुस गरायो ।

‘तपाईँहरूलाई लिन भनेर आएको, ज्ञान सरले पठाउनुभएको ।’

यति भनेर उनले हाम्रो परिचय लिए । सबैको परिचय लिएपछि उनले भने, ‘म ट्राभल एजेन्सी चलाउँछु ।’

उनलाई हामी के जान्न चाहन्छौँ, सबै थाहा छ भन्ने महसुस गराउने गरी हाम्रो जिज्ञासा शान्त पार्दै अगाडि बढे ।

अघिदेखि हँसिलो अनुहार र सजिलो बनाइदिने व्यहारबाट हामी प्रभावित भइसकेका थियौँ । पर्यटन क्षेत्रमा लाग्नेहरूलाई थाहा हुन्छ, पाहुनालाई कस्तो व्यवहार गर्नुपर्छ । त्यसमाथि उनको व्यवहार हामीसँग मिल्ने थियो । उनी बर्मेली नेपाली भएका कारण पनि अझ अपनत्व महसुस भएको हुनसक्छ । जे होस्, उनले हाम्रो मन सुरूमै जितेको महसुस भयो ।

हामी केही पर रोकिएको गाडीमा चढ्यौँ । उनी आफैँले गाडी चलाए । त्यसपछि काठमाडौँ, काठमाडौँका चोकहरूको जानकारी गराउन थाले । उनलाई हामी के जान्न चाहन्छौँ, सबै थाहा छ भन्ने महसुस गराउने गरी हाम्रो जिज्ञासा शान्त पार्दै अगाडि बढे ।

‘हामी अहिले काठमाडौँमा छौँ । यो रिङ्रोड हो । यो रोडले काठमाडौँ र ललितपुरलाई चक्कर लगाउँछ । २७ किलोमिटर गोलो सेल रोटी जस्तो छ यो सडक । यही रोड हुँदै हामी ललितपुरको बालकुमारी पुग्छौँ । यादबले सजिलै बुझ्नेगरी हाम्रो यात्राका बारेमा बताए ।

‘अझै टाढा छ ?

यादबको कुरा सुनेर मधुदी आत्तिनुभयो । उहाँले हाम्रो यात्रा अझै २७ किलोमिटर टाढा छ भन्ने बुझ्नु भएछ ।

‘हामी कलंकी हुँदै अगाडि बढ्यौँ । बाटोमा त्रिभुवन विश्वविद्यालयको सिमाना आयो । यादबजीले त्यसको बारेमा बताए । खासमा यो मैले नाम धेरै सुनेकाले चिहाइ चिहाइ त्रिभुवन विश्वविद्यालय हेरेँ, तर त्यो भवन देखिँन । केही दक्षिणतिर जंगल जस्तो ठाउँमा त्रिभुवन विश्वविद्यालय ठूलो क्षेत्रफल ओगटेर बसेको छ भन्ने बुझेपछि मन शान्त भयो ।

हामी जाने ठाउँ हिन्दू विद्यापिठ स्कूल हो भन्ने थाहा पाएको थिएँ । ज्ञान सर नेपाल आएपछि पहिलोपटक बसेको स्कुल त्यही हिन्दू विद्यापिठ हो । उहाँले पढाएको र धेरै विद्यार्थी उत्पादन गरेको विद्यालय पनि त्यही हो । बर्माबाट जब ज्ञान सर नेपाल आउनुहुन्छ, उहाँको बसोबास यहीँ हुन्छ भन्ने कुरा पनि थाहा भयो । अहिले उहाँ बर्मेली बच्चाहरूका लागि नेपाली पाठ्यक्रम यहीँ बसेर तयार गरिरहनुभएको छ भन्ने कुरा पनि जानकारी भयो । हिन्दू विद्यापिठका बारेमा थाहा नपाउने गोर्खाली बर्मामा कमै छन् । मैले पनि यसका विषयमा धेरथोर सुनेको छु ।

अहिले हामीलाई आश्रय दिने ठाउँ पनि त्यही नै हो भन्ने कुरा मैले थाहा पाएको छु । त्यो स्कूल पुग्न मलाई मन मनमा हतार भइरहेको छ ।

‘उ त्यो हो हिन्दु विद्यापिठ ।’

हामी मात्र यस्ता भाग्यमानी थियौँ, जुन एउटा स्कूलले हामीलाई आतिथ्य प्रदान गर्दै थियो ।

यादबजी ले हाइवेबाट गाडी मोड्दामोड्दै एउटा रङ नलगाएको ईँटाको तीन–चार तल्ले भवनतिर संकेत गर्नुभयो । बर्मामा यस्ता आश्रय स्थल निकै अग्ला र फराकिला हुन्छन् । हिन्दू होस् या बौद्ध, त्यहाँ पाहुना बस्ने ठूला भवन हुन्छन् । तर नेपालमा त्यस्ता खालका आश्रय स्थल धेरै नभएकोले होटेलहरूमा बस्नुपर्ने कुरा यादबजीले बताइसक्नुभएको थियो । हामी मात्र यस्ता भाग्यमानी थियौँ, जुन एउटा स्कूलले हामीलाई आतिथ्य प्रदान गर्दै थियो ।

गाडी रोकिनेबित्तिकै विद्यार्थीको ठूलो समूहले हामीलाई स्वागत गरे । विद्यापिठका सरहरूले मन्त्रोच्चारण गरेर हामीलाई करतल ध्वनीका साथ स्वागत गर्नुभयो । एकाएक ठूलो भीडले हामी घेरियौँ । त्यही भीडमा देखिनुभयो, हाम्रा अभिभावक ज्ञान सर । उहाँलाई देख्नेबित्तिकै हामी भावुक भयौँ । उहाँ नै हुनुुहुन्थ्यो, हामीलाई नेपाली भाषा सिकाउने गुरु । साहित्यमा कलम चलाउनुपर्छ भन्ने हौसला दिने अभिभावक र नेपाल ल्याउन प्रमुख भूमिका खेल्ने मार्गनिर्देशक ।

बाटो हराएको नानीलाई आफ्नो अविभावक पाउँदा जुन किसिमको अनुभव हुन्छ त्यही ज्ञान सरलाई भेटेपछि भयो । खुसीले हात फैलाएर स्वागत गर्नुभएका सरलाई आफू् अगाडी पाउँदै सबैका आँखा रसाए । त्यहाँ ज्ञान सरसहित डा.चिन्तामणि योगी पनि हुनुहुँदो रहेछ । चिन्तामणि सर, जसले हिन्दू विद्यापिठलाई आजको अवस्थामा ल्याउनुभएको छ ।

उहाँलाई र हिन्दू विद्यापिठलाई नचिन्ने वा यी दुई संस्थाका बारेमा नसुन्ने गोर्खाली नेपाली कमै होलान् । उहाँ पटक पटक नेपाली भाषा र हिन्दू धर्म संस्कृतिको प्रवद्र्धनका लागि बर्मा पुग्नुभएको छ । मैले उहाँलाई प्रत्यक्ष नभेटे पनि उहाँले लेखेको “म्यान्माको माया“ नामक किताब पटक पटक पढेकी छु ।

किताबका शब्द र त्यहाँ राखिएका तस्बिरका कारण उहाँ मेरा लागि एकदमै नजिकको अभिभावक हुनुहुन्छ भन्ने कुरा देख्नेबित्तिकै महसुस भयो । म मात्रै किन, धेरै म्यान्मालीहरू उहाँले सम्पादन गरेका पाठ्यपुस्तक र नेपालसँग जोड्ने पुलका काम गरेबापत कृतार्थ छौँ ।

हामीलाई पालैपालो भव्य स्वागत भयो । यति ठूलो स्वागत होला भन्ने हामीले कल्पना नै गरेका थिएनौँ । हामीलाई स्वागत गर्नेहरूमा विद्यार्थीहरूको झुण्डमा विष्णु डाँगी र सुमन पोख्रेल सर पनि हुनुहुन्थ्यो । उहाँहरूले बर्षौँ बिछोडिएका आफ्ना सन्तानलाई भेटेसरह माया गर्नुभयो । बाटोमा कुनै दुःख त भएन भनेर पटक पटक सोध्नुभयो । हामीले बाटोमा पाएको दुःख र थकान उहाँहरूको व्यवहारले मज्जाले बिर्सिएछौँ ।

हामी ताजा, भर्खरै निद्राबाट उठेर बिहानी सीतल हावाको स्वाद लिदै यात्रारत कुनै युवाजस्तै अनुभव गर्न थाल्यौँ ।

यो देश बनाउन हाम्रा पितापुर्खाले पनि योगदान गरेका थिए । पसिना बगाएका थिए ।

एकैछिनमा विद्यार्थीहरूको स्वागत गान सुरू भयो । बर्मामा नेपाली भाषा पाठशालामा हुने स्वागतको याद दिलायो । सबै नेपाली बोलिरहेका थिए र मलाई उतैको याद आइरहेको थियो । म आफैँ पनि साना नानीहरूलाई नेपाली भाषा पढाउँछु र नेपाली बोल्न प्रोत्साहन गर्छु । यहाँ त सबै नेपालीमै स्वागत गरिरहेका थिए र सबै कुरा हामी प्रस्ट बुझिरहेका थियौँ ।

त्योबेला मलाई लाग्यो, म आफ्नो घर आइपुगेँ । कुनै बिरानो देशबाट आफ्ना पितापुर्खाको खेतबारी हेर्न आइपुगेँ । यो देश बनाउन हाम्रा पितापुर्खाले पनि योगदान गरेका थिए । पसिना बगाएका थिए । योबेला आफू प्रवासी नेपाली हुँ भन्नेमा अप्ठ्यारो लाग्यो । यतैकतै हाम्रो घर हुनुपर्छ । यतैकतैबाट हाम्रा हजुरबाहरू बर्मा बसेको हुनुपर्छ ।

तर त्यो ठाउँ कहाँ हो ? कसले भनिदिने ?

Loading...