नेपाली साहित्यको सम्पूर्ण पत्रिका

बर्माको कथैकथाको गाउँ, भाग दुई

चार दिन म नाउछोमा बस्छु । हुन त केही दिन अगाडि नै मैले नाउछो छोड्नुपर्ने थियो । तर म रोकिन्छु । नेपाली समाजले आफ्नो समाजमा रहेका जेष्ठ नागरिकलाई अभिनन्दन गर्ने र नगद स्वरूप उपहार दिने कार्यक्रम राखेको रहेछ । त्यो कार्यक्रमको लागि म केही पर्खेर बस्नपर्ने हुन्छ ।

एकातिर जेष्ठ नागरिकहरूसँग भेट हुने अर्कोतिर समारोहको रौनक पनि देख्न पाइने । मेरो बसाई लम्बिन्छ । हुन त यो काम मेरो लागि नौलो होइन, साथै खासै यसमा चाख पनि नहुने । किनकि नेपाल सरकारले नै प्रत्येक जेष्ठ नागरिकलाई महिनौपिच्छे रकम दिइआएको छ, तर बर्मामा भने बर्मेली सरकारलाई चुनौति दिँदै नेपाली समाजले आफ्ना नागरिकलाई आफैँले नगद स्वरूप १०,०००।– (दश हजार) च्याट दिनु निकै गौरवको विषय हो, मेरो चाख बढ्नु स्वाभाविक नै छ ।

दुर्गा मन्दिरको लामो सभाहल, हलको दायाँ–बायाँ लहरै जेष्ठ नागरिकहरू । एकतिर महिला, अर्कोतिर पुरुष । अग्रभागमा भाषण गर्न तयार भएका पदाधिकारीहरू । भाषणपछि नगद बाँड्ने काम हुन्छ, त्यस्तै नगद बाँडिसकेपछि खानेकुरा । म पनि खानाको लागि तयार हुन्छु । स्वाभावतः खानापछि भेटघाट र गफ चलिरहन्छ ।

आफ्नो लट्ठी चिउँडोमा अठ्याएर कुर्सीमा बसिरहेका एक जना जेष्ठ नागरिकमा मेरो नजर पर्छ । म उनको नजिकै जान्छु र प्रश्न गर्छु– “खाना खानुभयो ?”

“खाएँ बाबु ।”

टाउकोमा पाताला सेता कपालहरू, चाउरी परेको अनुहार । अनि बुढ्यौली पाराका हात–गोडाहरू तर पनि उनको बोली स्पष्ट छ । आँखा, कान, नाक टाढा छन्, उनी दुरुस्त देखिन्छन् । सामान्यतयाः जेष्ठ नागरिकसँग मेरो भेट हुनासाथ सोधिने प्रश्न एउटै छ– “तपाईँको जन्म नेपालमा भएको कि बर्मामा ?”

उनलाई पनि यही प्रश्न गर्छु । तर उनले उत्तर फर्किएलान् उल्टै प्रश्न पो गर्छन्– “बाबुको घर नेपाल कुन ठाउँमा हो ? कहिले आउनुभयो ? कति बस्नुहुन्छ बर्मा ?”

उनको प्रश्नले म केहीबेर ट्वाल्ल परेर हेरिरहन्छु । मलाई अनौठो लाग्छ । अनि ठट्यौली पारमा उत्तर दिन्छु– “मेरो घर यही बर्मामा हो । केको नेपालबाट आउनु । म यहीँ बस्छु ।”

तर उनी मेरो कुरामा विश्वास गर्दैनन् । उनी केही शान्त भएर बोल्छन्– “पहिलो कुरो बर्माका मान्छेले बर्मेलीलाई ‘तपाईँको जन्म नेपालमा भएको कि बर्मामा ?’ भनेर सोध्दै सोध्दैनन्, दोस्रो कुरो तपाईँको बोलीमा बर्मेली भाषा मिसिएकै छैन ।– शुद्ध नेपाली । बर्मामा बस्ने हरेक गोर्खालीले बर्मेली भाषा मिसाएकै हुन्छ ।”

उनको भनाइमा मलाई रमाइलो मात्र लाग्दैन, मीठो पनि लाग्छ । वास्तवमा उनी गहिरो सोचाइका छन् । उनलाई नेपाल र बर्माको मात्र होइन पूरै भारत वर्षको ज्ञान छ । मलाई प्रश्न गर्ने हौसला मिल्छ । म विषयवस्तुलाई अर्कोतिर मोड्दै पुनः पहिलाकै प्रश्न गर्छु, “नेपालबाट तपाईँको बुबा आउनुभएको कि हजुरबुबा ?”

“मेरो हजुरबा ।”

“अहो ! धेरै भएछ हगि तपाईँहरू बर्मा पसेको ।” उनी टाउको मात्र हल्लाउँछन्, केही बोल्दैनन् ।

हुन त म पहिल्यैदेखि खुल्दुलीमा थिएँ । नेपालीहरूले बर्मामा आएर गरेको गल्तीबारे जिज्ञासु थिएँ । उनीहरू सहरमा नबसी किन हप्तौँ लगाएर गाउँतिर गए । त्यो अनकन्टार ठाउँ दुःख बेसाउन जंगलतिर किन पसे । बरु त्यतिबेला सहर नजिकै बस्ती बसाएको भए जीवन यतिको कष्टकर हुन्थेन होला ! यो खुल्दुली मेटाउने मौका यही हो ।

म उनलाई सोध्छु– “तपाईँको बाजे धेरै पहिला बर्मा आउनुभएको रहेछ । रंगुन भएर नै आउनुभयो होला । त्यतिबेला रंगुनको जग्गा पनि सस्तो थियो । बरु रंगुनतिर नै बसेको भए जीवन सजिलोसँग चल्थ्यो होला नि ! यस्तो अनकन्टार ठाउँमा किन आउनुभयो ?”

उनी लामो सास फेर्छन् र बोल्छन्– “बाबु मैले पनि त्यही सोचेको छु– तर ढुङ्गा, माटो र गाई–गोबरसँग बानी परेको मान्छेलाई शहरी जीवन गाह्रो भएर होला’ उनी बोल्दै जान्छन्– ‘ठेकी–मदानी नै नेपालबाट ल्याउने मान्छे कसरी शहरमा बस्न सक्छ ! शहरमा ठेकी–मदानी के काम ? उनीहरूलाई भैंसी र खेती किसान नै प्यारो भयो ।”

नगेन्द्र न्यौपाने

“तपाईँलाई नेपाल फर्कौ भन्ने कहिल्यै भएन ? त्यो सोच आएन ?” म सोध्छु ।

“हामी त अड्केर पो बसेको ! नत्र हामीहरू नेपाल पसिसकेका थियौँ।”

“कसरी के भयो ?” मेरो चासो बढ्छ ।

उनी आफ्नो कथा तल–माथि पार्दै सुनाउन थाल्छन् । “त्यतिबेला बर्मामा जापान पसिसकेको थियो । एकातिर ब्रिटिश अर्कोतिर जापान । चेपुवामा परेको बर्मा दिनका दिन बम र बारुदको आउथ्यो । एकदिन हाम्रै घर नजिक बम खस्यो । धेरै भारतीय र नेपाली मरे । सत्य नारायणको पूजाको लागि मान्छेहरू भेला भएका थिए । ब्रिटिश सेनाले त्यसलाई जापानी सेना जम्मा भएको ठानेछ र आकाशबाट बम खसालिदियो । धेरै मान्छेहरू मरे । घाइते पनि भए । अब बर्मामा बस्न सकिँदैन भनेर हाम्रो परिवार नेपालतिर लाग्यो । गाई–भैँसी, लत्ता कपडा बोकेर राता–रात हिँडेर भारतको सीमासम्म आइपुग्यो तर त्यहीँबेला अमेरिकाले जापानमा बम खसालिदियो । अमेरिकाले बम खसालेको भोलिपल्टदेखि नै बर्माका जापानीहरू भागाभाग गरेर बर्मा छोडे । जापानले हार्यो तर हामीलाई भारतले भारत पस्न दिएन । भारत नपसी नेपाल आउने कुरै भएन । हामीहरू वर्मा नै अड्कियौ । – बर्माको टमुमा बस्यौँ ।”

उनी केही सन्तोष गर्दै बोल्छन्– “अहिले छोराहरूले राम्रै गरेका छन् । दूधको व्यापार छ । आम्दानी राम्रै छ ।”

म पनि उनको कुरालाई समर्थन गर्दै बोल्छु– “ए, अड्केर झन् राम्रो भएछ ।”

आफूले आफूलाई राम्रो भने पनि मेरो कुरालाई भने उनले राम्रो भनेनन् । उनको मुखबाट दिग्दारको स्वर फुत्त बाहिर आयो– “त्यतिबेला फुत्केर भए पनि नेपाल गएर यो उद्योग गरेका भए ! पौरख गर्ने त आफ्नै देशमा पो रहेछ ।” उनको बोलीमा कताकता असन्तोषका आभासहरू आइरहेका हुन्छन् । संघर्ष र विद्रोहको गाँठो भुट्भुटिएको हुन्छ । उनीहरूको नेपालसँगको भावनात्मक प्रेम कहिल्यै मरेका हुँदैन । नेपाल नगएकोमा पछुतो छ ।

हाम्रो कुराकानी भइरहेको नजिकै अर्को कुर्सीमा अर्का एकजना जेष्ठ नागरिक बसेका छन् । उनको ध्यान हाम्रो गफतिर छ । उनी हाम्रो गफ निकै अधैर्यपूर्वक सुनिरहेका छन् । उनलाई आफ्नो गफ मलाई सुनाउन निकै हतार भइरहेको छ । म त्यही बुझेर पहिलो जेष्ठ नागरिकको गफलाई बिट मार्दै दोस्रो जेष्ठ नागरिकतिर जान्छु र पुरानो प्रश्न पुनः उनीतिर तेर्याइहाल्छु ।

“तपाईँको जन्म यही भएको हो कि  नेपालमा ?”

“म त बर्मामा नै जन्मेको ।”

“त्यसो भए तपाईँको बुबा आउनुभएको ?”

“होइन, मेरो हजुरबा आउनुभएको ।” उनी आफ्नो कुरा भन्दै जान्छन्– “त्यतिबेला नेपालमा राजा महेन्द्र थिए । यता यू नेउइनले बर्मामा सैनिक शासन लगाए । बर्मामा सैनिक शासन लगाए पनि हामीलाई खासै अप्ठयारो थिएन । गोर्खाली भनेर माया मानेको थियो तर मेरा ठूलो बुबाले बर्मामा बस्न मान्नुभएन । उहाँ आफ्नो माइला भाइलाई लिएर नेपाल फर्कनु भयो । हुन त हजुरलाई पनि बस्न मन थिएन अरे । उहाँले नै नेपाल गएर केही गर्दै गर्नु म यता वर्माको बेचबिखन गरेर आउँछु’ भनेर नै ठूलो बुबा र माइलो बुबालाई पठाउनु भएको थियो । ठूलो बुबा र माइलो बुबा गाई–भैँसी, बाख्रा र केही लत्ता–कपडा लिएर बर्माबाट हिँड्नुभयो । मेरो बुबा र हजुरआमा बर्मामा नै बस्नुभयो । तर बर्मा र इण्डियाको सिमानामा आइपुग्दा माइला बुबालाई हैजाले समातेछ, उहाँ बित्नुभयो । ठूलो बुबालाई पनि हैजा कहाँ नलागेको हो र ! तर उहाँ बच्नुभएछ । बचेर पो के गर्ने ! नेपालतिर जाने कि घर फर्कने ! त्यही अन्योलमा एक वर्ष बितेछ । एक वर्षपछि गाई–बाख्रा बेचेर नेपालतिर नै लाग्नुभएछ ।”

“एक वर्ष ? एक वर्षसम्म गाई–बाख्रा कसरी अठ्याएर राख्नुभयो त !” म बीचैमा प्रश्न गर्छु ।

“त्यतिबेला पूरै जमीन खाली थियो । गाई–भैँसी दिनभरि जंगलमा गर्थे, साँझ परेपछि आफ्नै गोठमा आउँथे । गाह्रो थिएन ।” उनी बोल्दै जान्छन्– “गाई–बाख्रा बेचेर उहाँ नेपाल जानुभयो । महेन्द्र सरकारले राम्रै गरेछन् । दुःख पाएर आएको भनेर चितवनमा जग्गा मिलाइदिएछन् ।”

“अनि तपाईँको बुबा किन नेपाल जानुभएन छ त !” म प्रश्न गर्छु ।

“नेपालमा हैजा फैलिएको छ । मरिन्छ भनेर डर देखाएपछि कसरी जानु ! नत्र हामीहरू पनि पोको पुन्तुरो बोकेर हिँडिसकेका थियौँ । हैजा सुनेपछि बाटैबाट फर्किएको ।”

“अहिले पनि ठूलोबुबासँग आउने–जाने छ त नेपालतिर ?” म प्रश्न गर्छु ।

“ठूलोबुबाको सास भइन्जेल थियो, आजकाल छोराहरूसँग छैन ।”

उनले आफ्नो पारिवारिक कथा भनिरहँदा केहीबेर रोकिन्छन् । म अनुमान लगाउछु– उनको कथा सकियो । तर सकिएको रहेनछ । उनी केही भावुक हुँदै बोल्छन्– “सुरुमा बर्माको सैनिक सरकारले खुकुलो गरे पनि पछि नागरिकता ऐन लगाएर दुःख दिन थाल्यो । एउटा गाउँबाट अर्को गाउँमा जान पनि पास माग्न थाल्यो । हामीहरू घर आँगन, खेतीबारीबाहेक सहर बजार गर्न पाएनौँ । धेरै वर्षपछि थाहा भयो, ठूलो बुवाले चितवनमा नै अर्को घरजम गर्नुभएछ । यता बर्मेलीले पनि हामीलाई सहेनन् । चारपल्ट त हाम्रो घर लुटियो । गाई–बाख्रा नहराएको दिनै हुन्थेन । तैपनि सहेर बसियो । पछुतो छैन ।”

केहीबेर अघिसम्म निकै हँसौली पारामा बोलिरहेका ती व्यक्ति एकाएक भावुक बन्दै गएपछि मलाई नरमाइलो लाग्छ । उनको परिवारले सहेको अप्ठयारो परिस्थितिले म पनि भावुक बन्छु । वास्तवमा बर्मामा हरेक नेपालीको आफ्ना–आफ्ना कथा छन्, आफ्ना–आफ्ना विवशता छन् । तर सुनिदिने कोही छैन । न बर्मा सरकारले सुन्छ न नेपाल सरकारले । छन त ! उनीहरूकै आफ्नो साहस, हिम्मत अनि पुरुषार्थ ! सायद त्यही साहस, हिम्मत र पुरुषार्थ भएर होला उनीहरूले सरकारको मुख हेरेर बस्दैनन् । बरु बर्मेली सरकारलाई चुनौति दिँदै आफ्नो समाजमा रहेका जेष्ठ नागरिकलाई आफैँले बृद्ध भत्ता दिएका छन्, सम्मान गर्छन्, अनि दोसल्ला ओढाउँछन् । हरेक वर्ष सबैलाई भोजन गराउँछन् ।

हुन त सबैका आ–आफ्ना कथा छन्, आ–आफ्ना व्यथा छन् । कोही व्यक्ति आफ्ना कथा अरूलाई सुनाउन चाहन्छन् कोही आफूभित्र गुटमुटाएर राख्छन् । म बर्माका धेरै कथा सुन्छु । धेरै इतिहास सुन्छु । तर आजलाई यति नै ।

Loading...