नेपाली साहित्यको सम्पूर्ण पत्रिका

चन्द्र हाँसेपछि नासिएका साहित्यिक सहिद कृष्णलाल अधिकारी

नेपालका प्रथम साहित्यिक सहिद हुन् कृष्णलाल अधिकारी । उनको जन्म वि.स. १९४४ माघ १४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा भएको थियो । राणाकालीन समयमा मकैको खेती नामक पुस्तक लेखेका कारण उनलाई सन् १९७७ श्रावण ११ मा पक्राउ गरी कारागार चलान गरियो, नौ वर्षको कारवास तोकियो । वि.स. १९८० मा उनको जेलमै निधन भयो । प्रस्तुत छ मकैकाे खेतीकाे सय वर्षकाे अवसरमा साहित्यपाेस्टकाे विशेष सामाग्री;

नेपाली इतिहास काण्ड–पर्वले भरिएका छन् । अनि, नेपाली दुखान्तक पर्वको ऐतिहासिक श्रृंखलामा बिर्सन सकिँदैन, मकै पर्वलाई पनि । अरू पर्वमा राजा, महाराजा, भाइ–भारदार काटिन्थे या झोस–पोलमा विष पिलाइन्थ्यो । यो मकै पर्वमा चाहिँ लेखक फन्दामा परे ।

हरिबहादुर थापा

लेखक कृष्णलाल अधिकारीले कुन उद्देश्यले मकैको खेती पुस्तक लेखे । पुस्तक पाना जलाएपछि वास्तविक तथ्य अज्ञात रह्यो । धेरैको ठम्माईमा मकै खेती प्राविधिक थियो, साहित्यिक व्यंग्य कृति होइन । राणाकालीन नायब–सुब्बा कृष्णलाल अधिकारीलाई लागेको हुनुपर्छ, ‘मकै खेतीका शत्रु मार्न सकियो भने किसानको भलो हुन्छ ।’

तर पुस्तकको व्याख्याचाहिँ राणा–शासकविरुद्ध जनता भड्काउने व्यंग्यमा परिणत हुन पुग्यो । त्यसो पनि हुन सक्छ । किनभने कसैले पनि शासकविरुद्ध व्यंग्य होइन पनि भनेका छैनन् ।

त्यो कालखण्डमा प्रचलित थियो, ‘चन्द्र हाँस्यो कि नास्यो ।’ सुब्बा कृष्णलाल अधिकारीका हकमा पनि चन्द्र शमशेर हाँस्न पुगे । उनकै हँसाईमा, ठ्याक्कै एक सय वर्षअघि साउन महिनामा सुब्बा कृष्णलाल अधिकारीलाई नेल ठोकियो । जेल कोचियो । उनी जेलमै परलोक भए । उनको पुस्तकका प्रतिहरू जलाइयो । एक प्रति फेला नपरेकामा थप सजायसमेत ठोकियो । उनको पुस्तकका पाण्डुलिपि पढ्ने, भाषा हेर्नेहरू, सूचना नदिने सरकारी अधिकारीहरुको जागिर खोसियो ।

यिनै कारण १९७७ साउन ११ मा पर्व श्रृंखलामा थपियो, ‘मकै पर्व’ ।

लेखक कृष्णलाल अधिकारी राणा शासककै कर्मचारी थिए । उनी कौशल अड्डाका नायब सुब्बा । त्यो कालमा नायब सुब्बा भनेको सानो पद होइन । ठूलै पद हो ।

पहाड–तराईमा जीवनको भरोसा मकै थियो । तर किराले धुन्चक्र पाथ्र्याे, आजकल धुन्धुकारी रूपमा जमजमाएका फौजी किरा र सलहझैँ । लेखकको असल उद्देश्य थियो, मकै पुस्तक लेख्ने र निःशुल्क वितरण गरी गाउँघरसम्म पुर्याउने । किरा निमिट्यान्न पार्न सके किसानले राहत पाउँथे । मकै छरेदेखि फल लाग्दासम्म दुःख दिने किराका बखान किताबमा सामेल थियो भन्ने भनाइ छ । अर्थात् मकैका जरा खाने खुम्ले–खुम्रेदेखि जुँगा खाने धमिरासम्म ।

कृष्णलाल अधिकारी

हराएको किताब पनि फेला परेको छैन । त्यो कालखण्डका जान्ने र सुन्नेहरूबाट ‘मकैको खेती’का केही वाक्य बाहिर आयो । पुस्तककै वाक्य थियो, ‘मकैका निम्ति रातो टाउके र कालो टाउके किराले खुब दुःख दिन्छन् ।’

श्री ३ महाराज चन्द्र शमशेर रातो क्याप लगाउँथे । कमान्डर इन चिफ भीम शमशेर कालो क्याप । चाकडीका धरन्धर पोलाहाले दुई शासकलाई खुम्ले–खुम्रे किराको टाउकोसँग दाँजे । त्यस्तो व्यंग्यपूर्ण वाक्य राणा शासकका पाच्य सवाल थिएन । मकै खेतीका लेखक कृष्णलालविरुद्ध पोल लगाएपछि शासक खुसी हुने भए । अनि वापतमा ‘लाभ’ मिल्ने नै भयो । पोल लगाउने पात्र पनि टाढाका थिएनन् । लेखक अधिकारीकै आफन्त थिए ।

खुम्रे किरा मार्न खरो मंगलबारका दिन करुवा तेलमा धूप हाल्नुपर्छ । त्यसपछि किरा समाप्त हुन्छन् । त्यो वाक्यलाई पनि राणाहरूविरुद्ध जनता भड्काउने तत्वभित्र पारियो, ‘मंगलबार तेल धूप ।’
अर्काे वाक्य थियो, ‘बालकलाई आमाको दूधले फाइदा दिन्छ, चन्द्रोदयले दिँदैन ।’ त्यो वाक्य पनि अर्थिन पुग्यो, ‘नेपाली प्रजा’ भनेका बालक हुन् । आमा भनेका ‘राजा’ हुन् । चन्द्र शमशेरभन्दा राजा ठीक हुन् भन्ने पोल लागेपछि चन्द्र शमशेरमा सहन गर्न सकेनन् ।

त्यसरी अथ्र्याएपछि चन्द्र शमशेर क्रोधित हुने नै भए । अझ त्यो कालखण्डमा शासनको आधार भनेकै ‘तीन–च’ अर्थात्, चाकडी, चाप्लुसी, चुक्ली थियो । आमकिसान ‘मकै खेती’मा लाग्ने किराबाटै पीडित थिए । शासकहरू चाहिँ मोजमस्ती र सम्पत्ति भारत थन्क्याउनमै मग्न थिए । हुन पनि चन्द्रोदयमा मुलुकको अथाह सम्पत्ति भारत थन्किन पुगिरहेको दृश्य राणाकालीन कर्मचारीहरूले पनि देखिरहेकै थिए ।

राणाकालीन प्रशासक सरदार भीमबहादुर पाण्डेको ‘त्यसबखत नेपाल’ खण्डबद्ध पुस्तकका श्रृंखला १९७७ सालबाटै सुरू हुन्छ । त्यसकारण पुस्तक पनि मकै पर्वबाटै सुरू भएको छ । पाण्डे लेखेका छन्, ‘अर्काको कुरा लगाएर आफू स्वागिलो हुनु नै त्यसबखत दरबारियाहरूको मूल ताक र महामन्त्र हुन्थ्यो । त्यस्ताले अर्काको कुरा लगाएनन् भने आफन्तकै कुरा पनि मालिकलाई लगाउँथे, आफू स्वागिलो हुन, दुनो सोझ्यान, प्रतिद्वन्द्वीलाई पछार्न । रोजिन्दा मालिकको कान भर्नु खास काम र कर्तव्य ठहरिन्थ्यो । यिनैको पेचापेचमा परे विचरा ‘मकैको खेती’ लेख्ने नासु कृष्णलाल पनि १९७७ सालमा ।’

कोहीका लागि भने ‘मकैको खेती’ असल उद्देश्य बोकेको ‘किसान–उपयोगी’ पुस्तक मात्र थियो ।

यसमा दुईथरि मत पनि बाहिर आए, कोही राणा शासकका निम्ति व्यंग्य कस्ने उद्देश्यसहित पुस्तक लेखिएको टिप्पणी गर्छन् । कोहीका लागि भने ‘मकैको खेती’ असल उद्देश्य बोकेको ‘किसान–उपयोगी’ पुस्तक मात्र थियो । तिनको मतमा, पोलाहा झेली बखान र शासकले किराका टाउकासँग आफैँलाई दाँज्दाको परिणति हो, ‘मकै पर्व ।’

अर्काेचाहिँ पहाडमा बाँदरले मकै स्वाहा पार्छन्, रुग्न ‘कुकुर’ चाहिन्थ्यो नै । मकै खेती रुग्न बेलायती कुकुर होइन, गाउँ–घरकै भुस्याहा कुकुर चाहिन्छ भन्ने मत लेखक अधिकारीको थियो । बेलायती कुकुर धनीहरूका ठूला बैठकहरूमा बस्छन् । दूध–भात मात्र खान्छन् । उता हाम्रा भुस्याहा कुकुर जुठो ढिंडो खाँदै ढेडु बाँदरबाट ‘मकैको खेती’ जोगाउँछन् । त्यसकारण नेपालमा बेलायती कुकुर होइन, भोटे कुकुर चाहिन्छ ।

पोलाहाले त्यसलाई पनि यसरी अथ्र्याए, ‘बेलायती कुकुर भनेका राणा शासकहरू हुन् भने भोटे कुकुर भनेका नेपाली जनता ।’

निरंकुश शासकलाई के चाहियो र ? पोलाहाका पोलसँगै तिनको दिमाग तात्न पुग्यो, १९७७ सालमा राणा शासकहरूले त्यो पुस्तक जलाउने निर्णय लिए । छापिएकामध्ये १ प्रति फेला नपरेको हुँदा ३ वर्ष थपसहित नौ वर्षको जेल सजाय तोकियो । झोसपोलकै आधारमा “मकैको खेती” पुस्तक राणाहरूको ‘गाथगादी’ ताक्ने तोपमा रूपान्तरित गरियो ।

मकैको खेतीका वाक्यलाई झैँ तिनीहरू पनि त्यसरी नै अथ्र्याइरहेका हुन्छन् । दुःख दिइरहेका हुन्छन् ।

शासकीय पोलाहा हरेक कालखण्डमा नियमित छन् । यतिखेर पनि उत्पात् जन्मिएका छन्, विचौलिया मतिसहित । शासकलाई त्यसरी नै खुसी पार्न ‘अरिङ्गाल’हरू धुन्चक्र हिसाबले बालुवाटार, सिंहदरबार, नेताका निवासवरिपरि झुम्मिन्छन् । मकैको खेतीका वाक्यलाई झैँ तिनीहरू पनि त्यसरी नै अथ्र्याइरहेका हुन्छन् । दुःख दिइरहेका हुन्छन् । रिझाएवापत हैसियत अत्यधिक ठूलो पदीय लाभ लिइरहेका हुन्छन् ।

नेपालपछि पर्नुमा तिनैखाले ‘अभिशप्त इतिहास’ श्रृंखला नियमित हुनु हो, कवि कृष्णभूषण बलको कविताझैँ ।

‘अमरसिंह थापाले विष खाएर मर्नुपर्ने
वीर बलभद्रले अफगानमा युद्धमा मर्नुपर्ने
काजी भीम मल्लले काटिनुपर्ने
भीमसेन थापाले सेरिनुपर्ने, बाध्यताको इतिहास’

Loading...