नेपाली साहित्यको सम्पूर्ण पत्रिका

उमेरको कथा: आमाको डायरी

 

“मलाई च्याप्प समात्यो । आफूतिर तान्यो र गम्लङ्ग अंगालोमा बेर्याे । उसलाई यसो गर्न रात कुर्नै पर्दैन । अब त म पनि बानी परिसकेँ । अफिस जाँदा होस् वा फर्कदा ऊ प्रायः यसै गर्छ । गर्मी होस वा जाडो रातभर अङ्गालोमा बेरिएर सुत्न मन पराउँछ ।” डायरीको पहिलो अनुच्छेदमा लेखिएको थियो ।

“प्रिय लाग्छ उसको अङ्गालो । आनन्द मान्छ मनले उसको स्पर्शलाई । हरेक पल स्वादिला र रमाइला लाग्छन् । पुरै रात उसितै निदाइदिन्छु म पनि । उज्यालो हुँदै नहोस् भन्ने पनि लाग्छ कहिले काँही । न त चिन्ता, न त छट्पटी । न त सुर्ता, न त कुनै हुटहुटी । एकनाशको खुसी । मगमग पुरुष वासना । अचम्मको सन्तोष । टाँसिएरै युगौं बिताइदिऊँ जस्तो लाग्ने ।” दोस्रो अनुच्छेद पढ्दै गर्दा कुनै उपन्यास पढिरहेको जस्तो लाग्यो ।

सान्दर्भिक पोस्ट

अस्पताल

“उसको अनुहार सधैँ हँसिलो देख्छु । दुई वर्ष यसरी नै बितेका छन् । जब नजिक पर्छ, ममा स्वचालित मुस्कान उत्पन्न हुन्छ । जिउमा छुट्टै किसिमको तरंग पैदा हुन्छ । उसका आँखा सधैं तेजिला र प्यासी देखिन्छन् । हेर्दा पनि प्यार झल्काउन सक्छ ऊ । कर्के आँखा पारेर तीर मतिर चलाइरहन्छ । म हेर्दैमा पानी पानी भैदिन्छु । सशक्त प्रेम गर्ने शक्ति छ उसमा । म त्यही शक्तिको वरिपरि चुम्बक जस्तै टाँसिइरहन्छु ।” मलाई निकै चाख लागिरहेको थियो । मभन्दा पुराना डायरीका पानाहरूले मलाई आकर्षित गरिरहेका थिए ।
आमाको डायरी पहिलो पटक पढ्दै थिएँ । निकै सुरक्षित तरिकाले राखेको यो डायरी बिस्तारामाथि थियो । मेरो उमेर र आमाले डायरी लेख्दाको उमेर एउटै छ । मैले अहिले बिताइरहेको रोमाञ्चक वैवाहिक जीवन र आमाले डायरी लेख्दै गर्दा बिताएको वैवाहिक जीवनमा तात्विक भिन्नता देखिँदैन । त्यसैले पनि यो डायरी मेरो आफ्नै डायरी जस्तै लाग्दै थियो ।

सुमित्रा न्यौपाने
सुमित्रा न्यौपाने

“ऊ जतिबेला पनि नजिकिन्छ । टाँसिएरै बस्न मन पराउँछ । यौनिक संकेत गर्छ । कति धेरै कामुक बनेको ? विवाह पूर्व कस्तो थियो होला ? कतै ऊ जिगालो त होइन ? मलाई बनावटी माया गरेको त छैन ? डर पो लाग्छ कहिलेकाहीँ । किन यति उत्ताउलो बनेको ? काखमा राखेर घण्टौं माया गर्छ ऊ । अङ्ग अङ्गमा करेन्ट प्रवाह गरिदिन्छ । मलाई लठ्ठ पार्छ र कब्जामा पार्दै जान्छ । उसको स्पर्शमा जादु छ । म आँखा बन्द नगरी बस्नै सक्दिन ।”

‘ बिन्दु, म जुम्ला जाने भएँ नि ।’

आमाको डायरी पढ्दै गर्दा बिदुरलाई सम्झिरहेकी थिएँ मैले । मेरो बाको स्वभाव र मेरो लोग्नेको स्वभाव उस्तै लाग्दै थियो मलाई । बाको अर्को रूप बिदुर नै हो जस्तो लाग्यो । बिदुर आँखा वरिपरि नाच्न थाल्यो । वैवाहिक जीवनको दुई वर्षको अवधिमा बाले आमालाई गरेका हरेक क्रियाकलाप म र बिदुरसँग हुबहु मिलिरहेका थिए ।

‘ बिन्दु, म जुम्ला जाने भएँ नि ।’ कोट फुकाल्दै बोल्यो मधु । उसको अनुहारमा निरासा थिएन । म भने एकाएक निरास भएँ । ऊ मलाई छोडर कतै नजाओस् भन्ने लागिरहन्छ । म आत्तिन्छु ।
‘ किन जाने फेरि जुम्ला ?’
‘ अफिसको कामले । किन पठाउन मन लागेन ?’
‘अहँ, लागेन ।’
मुस्कुराउँछ ऊ ।
‘म पनि त जुम्ला गएकी छैन ।’ बिस्तारै बोल्छु । ऊ केही बोल्दैन । केही सोचेजस्तो गर्छ । म पर्खिरहन्छु । तर ऊ बोल्ने छाँटकाँट नै देखाउँदैन । मेरो धैर्यताको बाँध भत्किन खोज्छ ।
‘मलाई पनि लैजान मिल्दैन भनेको ?’ म चिच्याएर सोध्छु ।
ऊ हाँस्छ ।
‘अफिसको काममा कसरी लैजानु र तिमीलाई ?’
‘म पनि जान्छु ।’ म जिद्धी गर्छु ।

ऊ मेरो नजिकै आउँछ । मलाई फकाउन खोज्छ । मेरो चिउडो समातेर आफूतिर तान्छ र निधारमा चुम्बन गर्छ । फकाउनु पर्दा ऊ सधैं यस्तै गर्छ । म नमानेको अभिनय गरिरहन्छु ।

एकछिन पछि पकेटबाट दुईवटा प्लेन टिकट निकाल्छ । मुसुक्क हाँस्छ अनि मेरो हातमा थमाउँछ । म संसार जितेको महसुस गर्छु ।

आमाको होइन म मेरो डायरी पढिरहेकी छु । आमाका कथा होइनन् मेरै कथा हुन् यी । बिदुर पनि त मलाई छाडेर हिँड्न कहाँ चाहान्छ र ? मार्केटिङ म्यानेजर हो । हिँड्न परिरहन्छ । भनेकै बेलामा निस्किनुपर्छ । तर सकेसम्म ऊ मलाई नछाड्ने बहाना खोजिरहन्छ । मिलेसम्म खुसी बनाइरहन खोज्छ ऊ ।

ऊ आफू भन्छ ‘मेरो आदत फेरिएको छ । अस्ति धनगढी जाँदा कस्तो न्यास्रो लाग्यो । निद्रा नै लागेन । तिम्रो मात्र याद आयो ।’
निद्रा त मलाई पनि ऊ बिना लाग्न छोडेको छ । तर म उसले जसरी खुलेर भन्न कहाँ सक्छु र ?

मेरी आमा सधैँ भन्ने गर्थिन् । ‘ तिम्रा बा मलाई छाडेर कही जाँदैनथे । रातको बिस्तारा घरकै प्यारो हुन्छ भन्थे र मुसुक्क हाँस्थे ।’
अहिले मलाई लाग्छ ऊ मेरो बा कै अवतार हो ।

 

पेन्टी र ब्राको साइज समेत कण्ठ छ उसलाई । रङ्गिन ब्रा र रङ्गिन पेन्टी खुब मन पर्छ रे ।

बाहिर हेर्छु । बाटोमा मानिसहरुको भीड थियो । उसो त नेपालगञ्जको बागेश्वरी लाइन सधैं भीडभाड भैरहन्छ । ‘बस्दै गर म आइहाल्छु ।’ भनेकी आमा फर्किसकेकी थिइनन् । आमाको प्रतीक्षा गरेको पनि दुई घण्टा भइसकेको थियो । हरेक चीज छिमेकमा पाउँदा पाउँदै पनि रुपेडिहा जानै पर्ने बाँके बासीको पुरानो आदत हटिसकेको थिएन । आमा कतै रुपेडिया त पुगिनन् ? हतार भएकोले बिदुर पनि छोडेर फर्की हाले । डायरी नभएको भए त बिदुरलाई किन पठाएँछु भन्ने लाग्ने रहेछ । धन्न आमाको डायरी साथी बनेर मसँग कुरा गरिरहेको छ । मेरा आँखा डायरीका पानाहरूमा दौडिरहेका थिए ।

“मेरा साना साना खुसीहरूमा ध्यान दिइरहन्छ ऊ । मलाई मन पर्ने नपर्ने सबै कुरा उसलाई थाहा छ । पेन्टी र ब्रा पनि मलाई टिमिक्कै मिल्ने गरी ल्याउँछ ।

पेन्टी र ब्राको साइज समेत कण्ठ छ उसलाई । रङ्गिन ब्रा र रङ्गिन पेन्टी खुब मन पर्छ रे ।
‘किन्न लाज मान्नु भएन ?’
मुसुक्क हाँसेर उत्तर दिन्छ ‘बेच्ने पुरुष हुन्छन् भने किन्ने पुरुष हुन किन नहुने ? पसलेका श्रीमतीले पनि त लगाउँछन् । फेरि पैसा तिरेर ल्याउन के को लाज ?’
‘रङ्गिन ब्रा र रङ्गिन पेन्टी त सबैले लगाउँदैनन् त ?’
‘सबैले लगाउनु र नलगाउनुमा के सम्बन्ध ? तिमीलाई मनपर्छ, मलाई मन पर्छ त भैहाल्यो नि ।’
मधुसँग जोडिएपछि हो मलाई पनि रङ्गिन ब्रा र रङ्गिन पेन्टी सँगसँगै रङ्गिन दुनियाँ मन पर्न थालेको ।
स्कुल पढ्दा केटाहरू पटक्कै मन नपर्ने । उनीहरूको कपडा गन्हाएको कि शरीर ? थाहै नहुने । नजिक पर्ने बित्तिकै ह्वाल्ल आउँला हुन्थ्यो । सकेसम्म टाढै बस्थेँ म ।

‘बोकाहरू कति गन्हाएका ?’ मेरो यस्तो कुरामा साथीहरू हाँस्थे । केटाहरू गाली गर्थे । तर अहिले मधुको वास्नाले लठ्टै पार्छ । उसको शरीरले चुम्बकले जस्तै तान्छ । बानी परेपछि गन्ध पनि वास्नामा परिणत हुँदोरहेछ ।”
डायरीका पानाहरू एकएक गर्दै अगाडि पल्टिरहेका थिए । मेरा स्मृतिका पानाहरू एकएक गर्दै पछाडि । बिहेपूर्व आमालाई सोधेको प्रश्नको याद आयो ।

‘आमा केटाहरू किन गन्हाउँछन् ?’
‘पुरुष वासना हो छोरी । मन परेपछि मीठो लाग्छ । सबैको शरीरबाट बास्ना निस्कन्छ ।’ आमाको उत्तर सहज थियो ।
मैले गन्ध भनेको कुरालाई आमाले बास्ना भन्थिन् । मैले घृणा गर्ने पुरुष प्रवृतिलाई सम्मान गर्थिन् । हरेक लोग्ने मानिसको प्रशंसा गर्थिन् । सभा सम्मेलनमा खुलेर कुरा गर्थिन् । आमासङ्ग गुलाबी कलरको कार थियो । कतिपय स्थानमा आफ्नै कारमा राखेर पुरुषहरूलाई सभा सम्मेलन पुर्याउँथिन् ।

‘हाम्रो शरीरबाट निस्कने बास्नाको पछि लागेर पुरुषहरू वरिपरि झुम्मिन्छन् । जसरी फूलको वासनाका लागि मौरी फूलमा झुम्मिन्छन् । तिम्रो बाको शरीरमा अचम्मको वासना थियो ।’ आमा आँखीभौँ उचाल्दै भन्थिन् । मानौं उनी बाको वासना अहिले पनि सजिलै महसुस गर्दैछिन् । बाको कुरा गर्दा आमाको अनुहारमा चमकता देखिन्थ्यो ।

कसरी काटिन् होला आमाले ती दिन ? पहाड जस्तो जिन्दगी ? उन्मादिलो यौवन ? यो स्वार्थी समाज ? म प्रतिको जिम्मेवारी ? कल्पना गर्दा पनि उकुसमुकुस हुन्छ ।

 

हुन पनि हो आजभोलि विदुरको बास्ना मनपर्छ मलाई पनि । मेरो वास्नाले ऊ लठ्ठिन्छ कि उसको वास्नाले म ? अनुत्तरित छु म पनि ।
‘तिम्रो हातमा जादु छ । तिमी कति मिठो पकाउँछ्यौं ?’ ऊ मलाई मख्ख पार्न खोज्छ । चम्चामा खाना उठाउँछ र मुखमा टपक्क राखिदिन्छ । भन्छ ‘चाखी हेर त । साँच्चै मीठो छ के ।’ मख्ख पार्न कति सिपालु छ मधु । माया गर्न पनि कति जानेको ?
हुन पनि खाना मीठो बनाउँछु म । तन मन लगाएर खाना बनाउनुपर्छ अनि प्यार मिसाउनुपर्छ । खुसी भएर बनाएको खाना खुब मीठो हुन्छ ।

‘बसाइ टाढा भएपछि मन टाढा हुन्छ । जागिर कि म ?’ रोजायो । जागिरलाई महत्व दिएन मधुले । मेरो पढाइ र जागिर देखेर बिहे गरेको हो उसले । जागिर उतै खोजौंला भन्यो । मान्दै मानेन । ठाँउ फेरिएपछि सबै कुरा फेरिदो रहेछ ।

हो ठाँउ फेरिएपछि सबै कुरा फेरिदो रहेछ । बिदुरले पनि मलाई जागिर छोड्न कर गरिरहेको छ । मेरो जिद्धीले रोकिएको छ जागिर । अब त हरेस खान थालिसकेकी छु । बासङ्ग बिदुरको कतिका कुरा मिलेको ? अचम्म लाग्दैछ । कसैकसैसँग त कसैकसैको आनीबानी ठ्याक्कै मिल्ने पो रहेछ ।

आमा आइसकेकी थिइनन् । आँखा यताउता डुलाउँछु । भित्तामा बाको फोटो झुण्डाइएको थियो । भर्खरै बोल्ला जस्तो । अठार वर्ष भएछ फोटो भित्तामा झुण्डाएको पनि ।

झण्डै मेरै उमेरमा आमा विधवा बनिन् । चौबिस् वर्षमा विधवा भएकी हुन् आमा । मेरो वर्तमानसँग तौलिन्छु आमाको अतित । कसरी काटिन् होला आमाले ती दिन ? पहाड जस्तो जिन्दगी ? उन्मादिलो यौवन ? यो स्वार्थी समाज ? म प्रतिको जिम्मेवारी ? कल्पना गर्दा पनि उकुसमुकुस हुन्छ ।

आमा कुरा गरिरहन्छिन् । ‘तिम्रो बाले धेरै माया गर्थे । के गर्नु ? अभागी रै’छु । बैंसमा छाडिदिए । सँगै बाँच्ने र सँगै मर्ने कसम खाए तर पूरा गरेनन् । न मलाई लान सके न त म नै जान सके ? बानी मात्रै बिगारेर छोडे । अधर्मी । असत्ती ।’ रिसाउँछिन् घरिघरि ।
बिदुर पनि बा जस्तै छ । उही स्वभाव देखाउँछ । आमाले भनेजस्तै व्यवहार गर्छ । मलाई डर लाग्छ कतै ऊ पनि बाजस्तै अल्पायु त छैन । शरीरभरि काँडा उम्रन्छ । मन सिरिङ्ग हुन्छ । सोच्दा पनि कहाली लाग्छ । कहिले त लाग्छ बिदुरले बाले जस्तो व्यवहार नगरोस् । बाले आमालाई बैँसमै छाडिदिए । ऊ मलाई कहिल्यै नछोडोस् ।

डायरीका पानाहरू पल्टिन कन्जुसाइँ गर्दै थिए । पढाइमा भन्दा सोचाइमा अल्मलिदै थिएँ म ।
मेरी आमा कसरी बसिहोलिन् ? मनभरि हजार प्रश्नहरू तेर्सिन्छन् ।आमा र म हेर्दा उस्तै देखिन्छौं । कत्ति पनि बिग्रेको छैन उनको शरीर । सधैंकी चिटिक्क । सरल र सुन्दरी । आफूलाई मिल्ने कपडा लगाउँछिन् । फेरि जे लगाएपनि सुहाउँछ आमालाई । ठूलो ऐना अगाडि बसेर कपडा फेर्छिन् उनी । शरीरका हरेक अङ्गहरूमा आँखा पुर्याउँछिन् । हँसिलो अनुहार बनाइरहन्छिन् । आँखामा सधै गाजलको धार देखिन्छ । हेर्दै चम्किला, तेजिला आँखा । कुनै युवतीभन्दा कम सुन्दर देखिन्नन् मेरी आमा । सबैलाई लठ्ठ पार्न सक्ने । श्रृङ्गार गर्न पनि कति जानेकी ?

उनी स्थान अनुसार कपडा लगाउँछिन् । शरीरमा टिमिक्क मिलेका कपडामात्र मन पर्छ उनलाई । पाइन्ट लगाउन् या सारी । उनलाई जे लगाए पनि सुहाउँछ । जालीदार ब्लाउजमा पारदर्शी सारी । कानमा झुम्का । सेट मिल्ने गहना । ब्रान्डेड लिपिस्टिक । हिल स्यान्डल । स्टेट कपाल । घाँटीमा थरिथरिका माला । उत्तेजक देखिन्छिन् कहिलेकाहीं । उनको सुन्दरता सबैका आँखामा ठोकिन्छ ।

बाको मृत्यु आमाको लागि अकल्पनीय थियो । चानचुन एक वर्ष पुरै वरखी बारिन । सामाजिक संस्कार र आफ्नो जिम्मेवारी अक्षरस पालाना गरिन् । वरखी सकिएकै भोलिपल्टदेखि आफूलाई सामान्य जीवनमा फर्काउने कोशिस गरिन् । विधवाको पहिरनमा बसेर बिचरा र अवलाको जीवन जिउन उनको मनले मानेन ।

समाजका हरेक विधवाहरू अवला र विचरा थिए । शिर ठाडो बनाएर हिँड्ने र बोल्ने आँट गर्दैनथे । आमाको नजरमा यस्तो जीवन प्राणबिनाको जीवन जस्तो लाग्यो । जिउँदो लासले संघर्ष गर्न नसक्ने निचोडमा पुगेकी मेरी आमाले आपूmलाई कहिल्यै बिचरा बन्न दिइनन् । समाजको अगाडि आफ्नो स्वाभिमान कहिल्यै झुक्न दिइनन् ।

“केटाहरूप्रतिको धारणा पूरै परिवर्तन गराइदियो मधुले । वास्तविक जीवन बिहेपछि मात्रै सुरु हुने रहेछ । बिहे गर्दिन भन्नेहरू त जीवन नबुझ्नेहरू हुन् । श्रीमान र श्रीमती एउटा पैसाका दुई पाटा जस्तै रहेछन् । एउटाको अभावमा अर्को अपूर्ण । स्वर्गीय आनन्द विवाह पूर्व कहाँ भेट्टिएला ? चरम आनन्द यौनिकतामा भेटिन्छ ।

मलाई खुलेर जिउन मधुले सिकायो । यौवन जोगाउन र यौनमा रमाउन मधुले नै सिकायो । जीवनको रहस्यप्रति सजग बनायो । बिगत र भविष्यले चिन्ता निम्ताउँछ । यी दुबै हाम्रा होइनन् । वर्तमान हाम्रो हो । वर्तमानमा रमाऊ भन्छ ऊ । कति राम्रो दर्शन छ मधुको । यही दर्शनमा रमाइरहेकी छु म ।

लोग्ने स्वास्नी बीचको झगडाको मुख्य कारण यौन नै हो भनेर ठोकुवा गर्छ मधु । हो जस्तो पनि लाग्छ मलाई । दिनभरिको थकान र तनाव एक अर्काको अङ्गालोले सजिलै पूरा गरेको अनुभव छ मसँग । ‘सब चिज बेलैमा गर्नु पर्छ । चालिस कटेपछि रमाउँला भनेर कहाँ हुन्छ ?’ मधुको यो कुरा खुब मन पर्छ मलाई ।”

आमा निकै रोमान्टिक थिइन् । डायरीका पानाहरूले प्रमाण दिइरहेका थिए । रमाउने बेलामा नै विधवा भइन् । अहिले आपैmले लेखेका यी शब्दहरूले भतभती पोल्छन् होला । छब्बीस वर्षमा बाले आमालाई छोडे । चौबीस वर्षकी मात्रै थिइन् आमा । दुर्घटना सँगसँगै बाले दिएका चुरा, पोते, सिन्दुर, हाँसो, खुसी, प्यार र यौन सबै छरपस्ट छिरलिए ।

यत्रतत्र छिरलिएका कतिपय खुसीहरू बटुलबाटुल गरेकी छन् जस्तो लाग्छ अहिलेसम्म । आँट र साहसले जिएकी छन् आमा । अरूभन्दा उनी केही फरक रहिछन् । शोकमा समेत शक्ति बटुलेर केही बिद्रोह गरेकी रहिछन् उबेला पनि । सामाजिक संस्कार पूरा गरिछन् फरक तरिकाले । चुरा, पोते, सिन्दुर श्रीमानले श्रीमतीलाई बिहेमा दिएका उपहार हुन् । उपहार फुटालेर फालिदैन बरु सजाएर राखिन्छ भन्ने विचार आमाको रहेछ । त्यसैले पनि चुरा फुटाएर लासमाथि राख्न लगाउँदा चुरा फुटाइनन् । बिस्तारै खोलेर बाको छातीमा राखिदिइछन् । सिन्दुर पखालेर चढाउँनुभन्दा बट्टाको सिन्दुर चढाइछन् । सिउँदो पखाल्न मानिनछन् । पोते चुडाएर चढाउन लगाउँदा फुकाएर चढाइछन् । जे जे समाजले गर्न लगायो आमाले सबै गरिछन् तर फरक तरिकाले । यो पनि बिद्रोह एउटा रुप थियो । त्यो बेला त्यस्तो गर्न सक्नु चानेचुने कुरा छँदै थिएन ।

समाजले शंकाले हेर्यो । शंकालाई लंका पुर्याइदिइन् । चट्टान बनेर उभिएकी आमालाई समाजको कुरीति, कुसंस्कार र कुविचारको हुरीले हल्लाउन सकेन । दुर्घटना सँगसँगै छरपस्ट छिरलिएका चुरा, पोते, सिन्दुर, हाँसो, खुसी, प्यार एक एक गर्दै बटुल्दै गइन् । सजाउँदै गइन् र उपयोग गर्दै गइन् ।

आमाले राता चुरा लगाउँदा घरमा हंगामा मच्चियो । गाजल, पाउडर र लिपिष्टिक लगाउँदा भूँइचालो गयो । थाइकट र पाइन्टले सुनामी ल्यायो । सभा र सम्मेलनको सहभागिताले हुण्डरी मच्चायो । आमाले सबै सामना गर्दै गइन् । इट्टाको जवाफ पत्थरले दिँदै गइन् ।

 

कहिलेकाहीँ यस्तो लाग्छ उनले आफ्नो पहिलो बैंस बासँग बिताइन् जुन छोटो समय मात्र रह्यो । दोस्रो बैंस शब्दहरुसँग खेलेर बिताइरहेकी छिन् ।

 

आजभोलि आमा प्रायः सर्ट र पाइन्ट हुन्छिन् । कालो चस्मा हर्दम टाउकोमै हुन्छ । गाजल लिपिष्टिक र परफ्युम नलगाई गेट बाहिर पनि निस्किदिनन् । पुरानो बेचेर नयाँ कारमा हुइँकिन्छन् । वास्तवमा आमाको जीवन लोभलाग्दो छ । कुनै कुराको कमीे छ जस्तो देखिँदैन । न त एक्ली महिला जस्ती देखिन्छिन् न त एकल महिला नै । रुप र यौवन हेर्ने हो भने छब्बीस सत्ताइस वर्षभन्दा माथि कसैले भन्दैन । अहिले पनि बाटोमा सिठ्ठी फुक्ने र चुइगम पट्काउनेहरू भेटिन्छन् । आमा उनीहरूलाई हेरेर मुस्कुराइदिन्छिन् ।
आमाले कहिल्यै हरेस खाएको अनुभव भएन मलाई । जीवन जिउने तरिका जान्नुपर्छ भन्छिन् आमा । वर्तमानमा रमाउन सल्लाह दिन्छिन् । सधैं सकारात्मक सोच्नु पर्छ भन्ने मान्यता छ आमाको । समयको आवश्यकता नै हाम्रो आवश्यकता हो भन्ने उनको विचार छ ।

हरेक रात आमाले केही न केही लेख्थिन् । सामाजिक सञ्जालमा होस् वा स्थानीय पत्रपत्रिकामा उनका लेख रचनाले चर्चा पाइरहन्छन् । कथा र उपन्यासका कृतिहरू पनि बजारमा आइसकेका छन् । उनको गज्जवको लेखनशैली छ । अक्सर उनको लेखन यौन मनोविज्ञानको वरिपरि घुमिरहन्छ । उनका कथामा खुला यौन भेटिन्छ । अतृप्त रहरहरू भेटिन्छन् । असरल्ल परेका तथा पूरा हुन नसकेका यौन उत्कण्ठा भेटिन्छन् । उनका हरेक कथाहरूका पात्र र परिवेश उत्ताउला हुन्छन् । धेरैले उनका कथाहरू चाख लिएर पढ्छन् । युवाहरु उनका ड्राइहर्ट फ्यान छन् । कहिलेकाहीँ यस्तो लाग्छ उनले आफ्नो पहिलो बैंस बासँग बिताइन् जुन छोटो समय मात्र रह्यो । दोस्रो बैंस शब्दहरुसँग खेलेर बिताइरहेकी छिन् । उनी आफ्ना यौन उन्मादहरू कथामा समेट्छिन् । सायद यौन कथावस्तुहरू लेखेर नै उनले यौन चाहाना पूरा गरिरहेकी छन् ।

कहिलेकाहीँ आमा अलिक उत्ताउली भइन् कि जस्तो पनि लाग्थ्यो मलाई । आमाको विषय समातेर बिदुरले प्रश्न गर्छ कि भन्ने त्रास उत्पन्न नभएको पनि होइन । माउभन्दा चल्ला बाठा हुन कहिल्यै मन लागेन । सबैको मन हुन्छ । मन गरुङ्गो भयो भने जीवन कहिल्यै माथि उठ्न सक्दैन । जिन्दगी जिउन जान्नेका लागि मात्रै रहेछ भन्ने कुरा आमाको डायरीबाट अवगत भएको छ । आमाको जीवन हो जसरी खुसी हुन्छिन् ठिकै छ भन्ने पनि लाग्यो मलाई ।

डायरीका पानाहरू रङ्गिन छन् । आमाको जीवन जत्तिकै । यतिका दिनसम्म लुकाएर राखिएको डायरी आमाले किन बाहिरै छोडिन् ? किन लुकाइनन् पहिले जस्तै ? किन हतारिइन् आज ? म आउँदैछु भन्ने सूचना पहिले गरेकी थिएँ । म आउने थाहा हुँदाहुँदै घर छोडेर किन गइन् ? सधै म आउँदा प्रसन्न हुन्थिन् । खबर पाएपछि कुरेर बस्थिन् । ‘तिमी बस्दै गर म बजार पुगेर तुरुन्तै आउँछु’ भन्दै निस्केकी थिइन् । तर किन ढिलो गरिन् ? धेरै प्रश्न मनमा उठेका थिए तर गौण बनेर बसे ।

छोटो जीवनको लामो कहानी… ” डायरीको अन्तिम पानाको अन्तिम अपूर्ण वाक्य थियो यो । बाको मृत्यु हुनुभन्दा अघिल्लो दिन मात्र लेखिएको रहेछ । यी अपूर्ण वाक्यले बाको अपूर्ण जीवनलाई संकेत गरिरहेजस्तो लाग्यो ।

डायरी बन्द गरें । बाको अनुहार र रोमान्टिक स्वभाव तस्बिर हेरेर मिलाउँदै थिएँ ।

ढोका बज्यो । म जुरुक्क उठें । डायरी राख्न नपाउँदै आमा भित्र पसिन् । मुटु थरर काँप्यो । रंगेहात चोरी पक्रिएजस्तै लाग्यो । म केही बोल्न सकिन । शिर निहुरियो । अनुहार निलोकालो भयो । आमाको अनुहार भने उज्यालो थियो ।

आमा मुस्कुराइन् र गम्लङ्ग अङ्गालो हालिन् । आमाको शरीरबाट पुरुष गन्ध आइरहेको थियो ।

******************

Loading...