नेपाली साहित्यको सम्पूर्ण पत्रिका

हाम्रा आमाहरू अहिले यशोदा, बुवाहरू पनि नन्दबाबा नै

आफ्नै छोरी मृत्युसँग साटिँदा पनि उनले यशोदालाई बताउन जरुरी ठानेनन् ।

‘मदन पुरस्कार प्राप्त उपन्यास’ राधा,यही कुराले पनि लोभ्याउथ्यो यो उपन्यास पढ्न।वास्तवमा कुनै पनि पुस्तकमा यस्ता सर्वाधिक चर्चाका पुरस्कारको ट्याग लगाइनुले त्यसलाई अझ व्यापारीकरण गरेझैँ लाग्दो रहेछ।हुन त पाएको कुरा लेख्नु हक पनि त बन्छ।जेहोस्, पुस्तक राम्रो छ भन्ने मानसिकता बस्यो।कस्तोखाले राम्रो ?यो प्रश्न भने बनिरह्यो ।प्रेमलाई लिएर पनि राम्रा पुस्तक बन्थे,राम्रा पुस्तकमा समाजका घटनाहरू हुन्थे,राम्रा पुस्तक वस्तविकतामा आधारित हुन्थे | एउटा मानसिकता बनाएर पढ्न सुरु गरेँ।

सुरुमा लेखक आफैँ ‘म’ पात्रका रूपमा प्रस्तुत भए ।लाग्यो,यिनले कसरी राधामा लगेर जोड्लान् आफूलाई?जब ‘अध्याय एक’ सुरु भयो, परिवेश र पात्रहरू फेरिएका थिए ।राधा स्वयम् ‘म’का रूपमा प्रस्तुत भइन्।कृष्ण पनि उपस्थित थिए, तर चमत्कारबिहिन र साधारण मानिस जस्तै ।उनले कृष्णलाई चमत्कारिक्तामा मिसाएका थिएनन् ।यो कुरा लेखकले आफ्ना भनाइमा नै भनेका कारण अचम्म लागेको थिएन ।सुरुमा पढ्दै जाँदा खासै नौला घटना आएनन्।सब सुन्दै आएका कुराहरू थिए ।

जब बिचतिर राधा हराउनु पर्थ्यो, उनी हराइनन्।झन् सशक्त बनाइएकी नायिका थिइन् ।उनी युद्धमा प्रत्यक्ष सहभागी नबने पनि परोक्ष रूपले महत्त्वपूर्ण भूमिकामा प्रस्तुत भइन्।सुरुमा सुशिला र उनी प्रतियोगी साथीहरू बने पनि समयले परिपक्वता दिँदै गयो ।जब सुशिलाले विरगति प्राप्त गरी तब लाग्यो, एउटा उर्जवान पात्रको अन्त्य भयो,एक अनन्य मित्र बली चढी ।ऊ अमर बनी।

आरती आचार्य
आरती आचार्य

त्यसपछिका घटनाहरूमा क्रमशः पूर्वमान्यताहरू तोडिए।ओहो!त्यो समयको पाठक मस्तिष्क ।पहिलेका मान्यताहरू धर्मराएर अस्तित्व खोजिरहेको र लेखकले दिएका नयाँ मान्यताले पनि आफ्नो अस्तित्वको दावा गर्ने। साच्चै त्यो वैचारिक द्वन्द्वको क्षण बन्दो रहेछ।“अस्तित्वमा आएको प्रत्येक वस्तुको प्रथम सर्त रहन्छ- ऊ त्यहाँ हुनुको सत्यबोध। ऊ छ यो सन्देश प्रसारण गर्नु उसको प्रथम कर्तव्य पनि। ऊ हुनु प्रथम सत्य हो।”,लेखकको यही भनाइले ममा नयाँ मान्यता बन्यो सायद ।

जब कृष्णको जन्मको सत्य बाहिर आयो तब नारीत्वमा प्रश्नहरू उठे । जवाफ उहीँ थियो खोज्नु परेन।पढ्दै जाँदा पुरुष प्रधानताले गाँजेको त्यही युगमै नारी सह-अस्तित्व मित्था बन्दै गयो। प्रेमले त्यहाँ अनेक अर्थ राख्यो ।युद्धले केही सिकायो,पछि भौतिकताले गाँज्यो पनि।पुरुषका पीडाहरू पनि पोखिए, तर तिनका अघि महिलाका पीडाहरू विशाल बनेर देखिए।कथामा कृष्ण जस्तो आदर्श बन्नुपर्थ्यो, त्यो कति पनि बनेनन्।राधाप्रति खासै न्याय गर्न सकेका जस्ता देखिएनन् ।राधा महल बनाउँदैमा प्रेमीको उत्तरदायित्व पूरा गरेको भन्न सकिने अवस्था थिएन ।कथाभरिका कुनै नारी पात्रले उचित न्याय भेट्न सकेका छैनन् ।हो, यही हाम्रो समाज लेखकले देखाउन खोजेजस्तै लाग्यो ।

कथाका पात्रहरू वसुदेव, देवकी, नन्दबाबा,यशोदा हाम्रै समाजका पात्रहरू थिए ।पढेर सक्दा लाग्यो, मैले सोचेभन्दा पनि धेरै अत्याचार,दमन र शोषण भएका छन् नारीहरूमाथि।आफ्नै अस्तित्वबारे उनीहरूलाई चेत छैन ।यही अवचेतनको फाइदा उठाइएका छन् पुरुषहरू।

आफ्नै छोरी मृत्युसँग साटिँदा पनि उनले यशोदालाई बताउन जरुरी ठानेनन् ।

कथाका नन्दबाबा मलाई घरिघरि हाम्रै बाहरू जस्ता लागे।नन्दबाबा आफ्ना आदर्शले किचिएर,पुत्र मोहले तानिएका जस्ता लागे।आफ्नै छोरी मृत्युसँग साटिँदा पनि उनले यशोदालाई बताउन जरुरी ठानेनन् । के हाम्रा बाहरूले पनि आमाहरूलाई त्यसै गरेका छैनन् ?म हाम्रा बाहरूको हरेक दु:खमा आमाहरूको साथ देख्छु।खोई त्यो  साथ बाहरूले निभाउन सकेका ?खोई दु:ख आधाआधा बाँडिन सकेको ?

प्रायः समाजका सबै बाहरू पढेका छन्। नपढे पनि धेरैलाई माक्र्सवाद र लेलिनवादका धेरै कुराहरू थाहा छ।प्राय: राजनीतिमा चासो राख्ने हरपुरुष जान्दछन्, ‘साम्यवाद’ ।के ती कुनै वादले भन्दैनन्, नारी र पुरुषको सह-अस्तित्वको महत्त्व ?भौतिकवादमा विश्वास गर्ने मेरा बाहरू किन छोराको अस्तित्व खोजिरहन्छन् ? समाजले छोरा जन्माउन नसक्ने भन्दै आमाहरूलाई खिसी गरिरहँदा कहाँ जान्छ हाम्रा बाहरूका आदर्श?ती शिक्षित मस्तिष्कले किन भन्न सक्दैनन्,’भो, छोराहरू नभए पनि केही हुँदैन ?तँ बच्चा जन्माउने प्रविधि पनि होइनस्।छोडिडे, मलाई यहीँ खुसीले बाँचे स्वर्ग पुग्नु पर्दैन ।’, के हाम्रा बाहरूले कहिल्यै आमाहरू बनेर सोच्न सके?

कृष्णका सोह्र हजार एक सय आठ श्रीमतीहरू पुग्दा मलाई यही प्रश्नले सताइरह्यो, के राधाका पनि सोह्र हजार एक सय आठ श्रीमानहरू भएका भए त्यो समाजले उनलाई नैतिकहिन देख्दैनथ्यो?के कृष्णमा राधामा जत्तिकै समर्पण भाव हुनुहुँदैन ?कृष्णले राधाका केही गुणहरू  खोज्दाखोज्दै आठ रानीहरू पुगेछन्।राधाले पनि त्यसै गरेकी भए?…….

हुन त नारीहरू आफूलाई पुरुषको सापेक्षतामा दाँजेर आफ्नो अस्तित्व मेटाइरहेका छन्।पुरुषलाई उनीहरू सापेक्षताको महान श्रेणीमा राख्छन् ।नारीलाई आफू नारी बन्नु छैन, बस् पुरुष जस्तो बन्न नपाएकामा पीडा छ।हामीले त आफ्नै अस्तित्व खोजेर माथि पुग्नुपर्ने होइन र?हाम्रो आफ्नै महत्व छ।हामी आफैँमा महान हौँ।फेरि किन पुरुषसँग दाँजेर अपमानित हुने गरिरहन्छौँ?

कृष्णको कालका देवकी,यशोदा,एकनंशा,द्रौपदी,राधा,रुक्मिणी ,कुन्ती र अहिलेका पुतली ,फूलमाया,सीता, गीताहरूको कथा लगभग उस्तै छ।सबै पुरुषमा अडेका ।पुरुषको अहंतालाई भाग्यको खेल मान्ने हाम्रा आमाहरू दासत्वको एउटा उत्कृष्ट नमुना हुन्।

यो उपन्यास लेखेर २०६१ मा सकिएको छ।अहिले १५ वर्षमा पाइला टेकेछ।त्यो काल र यो  कालमा पनि त ग्रामीण बस्तीहरूका महिलाको अवस्थामा खासै फरक छैन ।पीडा उही, अत्याचार उही। झन अचेल त अत्याचारहरूले आधुनिक रूप लिएका छन् ।

पढ्दै गर्दा लाग्यो, के म पनि कलियुगकी एकनंशा होइन ?पुत्र पाउने आशामा जन्माइएकी? के मेरो जन्म छोरी पाएकै दिनका रूपमा मनाइयो ?जति भव्यताका साथ छोराका जन्महरू मनाइए?समाजभरि हेरेँ, ओहो! धेरै त एकनंशा नै हुन्।

“हरेक युद्धहरू नारीले गर्दा (नारीका लागि) भएका छन् |”, यो समाजमा व्याप्त भनाइ हो र राधाले प्रस्ट पार्छ कि यी युद्धहरू सत्ता प्राप्तिका लागि भएका थिए ।तपाईं देख्नुहुन्छ, सत्य युगदेखि नै सम्पूर्ण शासनको बागडोर सम्हालेका नारी पात्र?कति कठिन छ तिनीहरूलाई भेट्न।वर्तमान पनि त उस्तै छ होइन र?एउटा मुर्ति राष्ट्रपतिको कुर्सीमा स्थापित गर्दैमा नारी समावेशीता पूर्ण हुन्छ ?

पारिजातले सहअस्तित्वमा जोड दिएकी छन् तर के उनी मात्र हुन् कलम उठाउने ?वर्तमानसम्म अलि धेरै उठे होलान् ।

यो पुस्तकले महिलामाथिको अन्याय छर्लङ्ग पारिदिएको छ।तर महिलामाथिको अन्याय विरुद्ध पुरुषले नै कलम उठाइदिनु परेको छ।यसको अर्थ रहन्छ, महिलाहरू अझै आफूमाथिको अन्याय विरुद्ध कलात्मक कलम उठाउन सकिरहेका छैनन्।पारिजातले सहअस्तित्वमा जोड दिएकी छन् तर के उनी मात्र हुन् कलम उठाउने ?वर्तमानसम्म अलि धेरै उठे होलान् । तर हरदमित नारीमा यो साहस हुनुपर्ने होइन ?कतिपय क्षेत्रमा नारी अवसर पुगेर पनि प्रभावकारी छैन ।यी महिलाहरू यस्तै निस्कृय भए भने यिनकै पक्षमा फेरि कलम उठाइदिन अर्को ’कृष्ण धरावासी’ जन्मनु पर्ने छ।त्यतिबेला पनि यी नारीहरू यस्तै काँतर हुनेछन् ।

लेखकले राधालाई न्याय दिलाउन पूर्वमान्यता भत्काएर राधाका पक्षमा कलम चलाइदिएका छन्।तर अन्त्यमा राधाले के आफूलाई न्याय गरिन् ?के कृष्णहरूले उचित न्याय दिन सके? अन्त्यमा राधा कुरुक्षेत्र पुगेकी छिन्, उनी अब कहाँ जालिन्? त्यो रहस्य नै रहन्छ ।तर कृष्णका नाममा बनेका धारणाहरू अहिले ममा भत्किएका छन् ।हुन त मैले पुराण पढेकी छैन, तर पनि सुनेकै भरमा  बनेका आदर्श कृष्णका मान्यताहरू अब छैनन् ।तर एउटा प्रश्न मनमा रहिरह्यो ,मैले कुनै दिन पुराण पढेँ भने मेरो कृष्णप्रतिको यो धारणा तठस्त बन्ला कि फेरि नयाँ विकास होला?

आमाले मैले पढेको पुस्तकबारे सोध्नुभयो, ‘के रैछ त्यसमा?’

भनेँ-‘भगवानका पालादेखि न्याय नपाएकी नारी राधाको माध्यमबाट नारीमाथिको अत्याचार प्रस्ट पार्दिएको छ।’

आमाले भन्नुभयो,“ जसले जहाँ जे लेखे पनि हामीलाई घाँस नकाटी सुख छैन, भारी नबोकी हुँदैन । हाम्रा दु:खका कथाहरूले गर्दा उनीहरू झनमाथि पुग्न पाएका छन्।”, मलाई लाग्यो नारीहरू विश्वास पनि गर्न सक्दैनन् कि उनीहरूका लागि सहअस्तित्वको कुनै दिन आउनेछ।

द्रौपदीको पाण्डवहरूतर्फको समर्पण, राधाको कृष्णतिरको समर्पण ,रुक्मिणीको पतिव्रता आदिले फेरि बोल्छ नारी महानता र सृष्टिको महानता।

यो  लेखिरहँदा लाग्ला, म नारीवादी बनेर सोचिरहेकी छु।यी सब समाजका यथार्थ कुराहरू हुन् र पुरुष भए पनि लेखक आफैँले स्विकारेका छन्।वसुदेव,नन्दराय, गर्ग ऋषि,कृष्ण, बलराम आदिले अन्यायलाई सक्न निभाएको भूमिका महत्त्वपूर्ण छ, तर उनीहरू स्वयम् न्यायीक बन्न भने सकेका छैनन् ।द्रौपदीको पाण्डवहरूतर्फको समर्पण, राधाको कृष्णतिरको समर्पण ,रुक्मिणीको पतिव्रता आदिले फेरि बोल्छ नारी महानता र सृष्टिको महानता।

पुस्ततकका विचारले अलि दिन वैचारिक उठलपुठल बनाइदियो र साँच्चै सोच्न बाध्य बनायो ।मलाई लाग्छ, एक सफल पुस्तकको विशेषता यही हो ।

Loading...