नेपाली साहित्यको सम्पूर्ण पत्रिका

लनर्स् आर अनर्स्

हामी सोध्छौँ, चिया पिउनु भयो ? खाना खानु भयो ? हाम्रो सरोकार पेटसँग मात्र हुन्छ ।

यदि बाटोमा कुनै बुद्धिमान् मानिस भेटिए सोध्नु- कुन किताब पढ्दै हुनुहुन्छ ?

तर हामी सोध्छौँ, चिया पिउनु भयो ? खाना खानु भयो ? हाम्रो सरोकार पेटसँग मात्र हुन्छ ।

संसारको सबैभन्दा खतरनाक मानिस को हो ? दुईजना छन् । एक त्यो जसको जन्म अहिलेसम्म भएकै छैन । जागिरको प्रतिक्षामा बित्दै गरेको एकान्तवासमा एउटा प्रश्न खुकुरीको धार लिएर मेरो निद्रा हराम गर्न आइपुग्छ ।

“कसैले पढ्नु किन जरुरी छ ?” प्रश्न त्यो मान्छेलाई जो आफू पढाइदेखि भागेर पतनको मार्ग समाधिस्थ रह्यो कैयौँ हेमन्त ।

मैले यही प्रश्न सुदासलाई बिसाएँ, जवाफ पाएँ- “पढ्नु–नपढ्नुमा अन्तर के नै छ र ? यदि उसले आफूलाई चिन्न सकेन भने पढ्नु जागिर खान गरिने व्यसन भयो, दुर्भाग्य ! पढ्ने मगन्ते र अरबपतिबीच केही अन्तर छैन भनेर बुझ्नुमा छ, र यही बुझाईले मात्र दुईको रेखाङ्कन गर्न सक्ला ! कि तिमीले,  ‘ह्वाइ गो टु युनिभर्सिटी  नपढी आएका हौँ र ?”

सङ्गीतशून्य भवन र नृत्यशून्य प्राध्यापक भएको विश्वविद्यालय तीर्थस्थल कम र वधशाला ज्यादा लाग्छ । सुदास तिमीलाई थाहै छ, म शाकाहारी, हत्या जीवको होस् या सृजनशक्तिको, दृश्यभोग गर्न सक्दिनँ । त्यसैले कलेज नगएरै कटाएको हुँ मैले स्मसानघाटको तीर्थयात्रा ।

रोगले मान्छे मर्ला-नमर्ला भोकले जरुर मर्छ । क्षुधाग्नीले पोलेको मानिसलाई आगोले पोल्नै पर्दैन । म मर्न चाहन्न, त्यसैले सोच्दैछु–सोध्दैछु कसैले पढ्नु किन जरुरी छ ?

सुमन भन्छ, “पढ्नु भनेको क्षितिज फराकिलो हुनु हो । रङ्गघात भएको मानिसले रङ्ग खुट्याउन सक्नु हो । जुन रङ्ग प्रकृतिमा हिजो पनि थियो आज पनि छ । हिजोसम्म रङ्गदेखि बेखबर थियौँ, आज सृष्टिका सुन्दरतम रङ्गहरूको आस्वादन गर्न पायौँ ।”

दीपेन्द्र मुडभरी

हो, म पनि उसको भनाइमा सहमति जनाउँछु र थप्छु, एउटा किरिङ-मिरिङ चित्र आँखाअगाडि आउँछ । नजिकैको गाउँमा साइँली आमा बस्छिन् । सानोमा पढ्न पाइनन् । लजालु त्यसमाथि । आज तीन छोराकी आमा एक नातिकी हजुरआमा भएकी छिन् । घर व्यवहार आफैँ हेर्छिन् । छोराले बेलाबखत आैषधी किन्न, भैँसी बाख्रा किन्न पैसा पठाउँछ, विदेशबाट । उनी नै जान्छिन् धार्के बजार, पैसा निकाल्न । सधैँ ल्याप्चे लगाउनु पर्दा उनको मन चिरिन्थ्यो । अर्काको माटो र घाउको खाटो चलाउनु हुदैँन । साइँली आमाको बिसाएको घाउ प्रत्येक महिना पुनः उप्किन्छ । एकदिन उनले ठानिन्, आजबाट ल्याप्चे लगाउँदिनँ । उनी प्रौढ कक्षामा सामेल भइन र सिकिन आफ्नो नाम लेख्न एकाउन्न वर्षमा पुगेर– कोपिला ।

धार्के पुगेर आफ्नो नाम लेखेको दिन उनको दैलो उघ्रियो, मोतिबिन्दु मेटियो । बाटामा पर्ने प्रत्येक होडिङ्ग बोर्डमा खोजिन् ‘क’ ‘प’ र ‘ल’ । र उनले छिटोछिटो पाइला चालिन् प्रौढ कक्षातर्फ । आज पनि हजारौँ सूचनापाटी साइँली आमाहरूलाई पर्खेर बसेका छन् ।

त्यही त, मेरै आफन्तमा पनि यस्तो किस्सा धेरैको छ । मेरै बा स्कूल जान पाउनुभएन, तर   कसरी कसरी अक्षर चिन्नुभयो । इङ्लिस-नेपाली पढ्न सक्नुहुन्छ । हस्ताक्षर धस्काउनुहुन्छ । प्रश्न उठाउन सक्नुहुन्छ ।

पढ्नु भनेको प्रश्न उठाउन सक्नु पनि हो । जवाफदेहिता एउटा उन्नत समाजको परिचय हो । जहाँ नागरिकको जिब्रोमा प्रश्न छैन, त्यहाँ चाटुकार र ख्वामितकै  बोलबाला हुन्छ  । कर्मचारी कामचोरमा परिणत हुन श्राप पर्नै पर्दैन । सेवाग्राहीको मुख बन्द भए पुग्छ ।
“तर पढ्नु गार्हो काम हो”, सन्तोष थप्छन् ।

“किन ?”

“हामीले आफ्नै खुसीले पढ्न चाहेका होइनौँ नि ! हामीलाई पढ्न कर गरियो । पढौँला, जागिर पाइएला अनि जिन्दगी धन्य होला भन्ने दिलासामा मान्छे पढ्छन् । विवेकलाई पुष्ट गर्न पो पढ्नुपर्ने होइन र ? धेरै मान्छे धेरैथर कुरा पढ्छन् , सिङ्गो लाईब्रेरी रित्याउछन् कोही त ! आखिरीमा जान्नुपर्ने र बुझ्नुपर्ने कुरो के हो ?”, प्रश्न लामो मौनता तोडेर आउँछ ।

“म को हुँ ? म किन छु ? यत्ति जाने पढ्न सकियो, नजाने समयको बर्बादी मात्र भयो ।”

मित्र सरोनर कीर्तिपुरको चुचुरोमा ध्यानस्त छन् । चराको पखेटामा मेरो भारी बिसाइपठाउँछु । साथी त त्यही हो जोसँग भारी काँध साट्न सकियोस् ।

सबैभन्दा छिटो कुनै पनि किताब पढ्न सक्ने पावर”, दुवैले एकसाथ माग्दछन् ।

हाम्रो परिवेश अनुसार पढ्नु भनेको आर्थिक, साँस्कृतिक दुश्चक्रबाट निस्किनु हो । हाम्रा अधिकांस जनता गरिब छन्, दैनिक हातमुख जोड्न सकस छ । संसारकै धनीहरूमध्येका बिल गेट्स र वारेन बफेटलाई सोधिन्छ, “यदि तपाईँहरूलाई कुनै एक सुपरपावर छान्न दिइए कुन पावर छान्नुहुन्छ ?”

“सबैभन्दा छिटो कुनै पनि किताब पढ्न सक्ने पावर”, दुवैले एकसाथ माग्दछन् ।

स्मरणरहोस्, बिल गेट्स हप्तामा एउटा किताब पढ्छन् र कथाले माग्दा वारेन बफेट दिनको हजार पेज पढ्छन् ।

धनी र गरिबमा यदि केही फरक छ भने त्यो फरक ज्ञानप्रतिको लगाव नै हो, केही सिक्ने हुट्हुटी नै हो । लनर्स् आर अनर्स् । अर्नस् आर लनर्स्  ।

अनुसन्धान भयो, चरम निराशामा व्यक्तिलाई पुर्याइदियो र उसलाई त्यसबाट निस्किन तीन बाटो दिइयो- चिया (कफी) पिउने, डेटिङ् जाने, किताब पढ्न । डिप्रेसनबाट निस्कने चिया पिउनेमध्ये ४८ प्रतिशत, डेटिङ् जानेमध्येमा ५७ प्रतिशत र किताब पढ्नेमध्येमा ७० प्रतिशत सफल भए ।

आत्महत्या र डिप्रेसन दर संसारकै उच्च दशमा रहेको नेपालमा आम जनतामा अध्ययन गर्ने बानीको विकास गर्नु आत्महत्या र डिप्रेसन रोकथामको अचुक अस्त्र हुनसक्छ । पढ्ने बानीले अल्जाइमर र डिमेन्सियाजस्ता रोगलाई पराजित गर्न सक्ने कुरामा विज्ञहरू सहमत हुँदैछन् ।

पाठकहरू पात्रहरूसँगै उठ्बस् गर्न थाल्दछन् । किताब नपढ्ने मानिस एक जिन्दगी बाँच्छ र मर्छ , किताब पढ्ने मानिस मर्नुअघि हजारौँ जिन्दगी बाँच्छ । पात्र रुँदा पाठक रुन्छ । पात्रलाई परेको मर्का देखेर ती निराश हुन्छन् । पात्रले जब संकटलाई पार लगाउँछ, पाठकको जीवनमा आशाको सीतल हावा सञ्चारित हुन्छ । जब पढ्न थालिन्छ, आनन्द दिने ‘टेसटोस्टेरन’ हर्मोन वृद्धि हुन्छ जसले आत्महत्या दूर गराउँछ ।  सुत्नुअघि १५ मिनेट मात्र पढ्ने गरे पनि गुणस्तरीय निद्रा लाग्छ । र राम्रो निद्रा स्वास्थ्य व्यक्तिको व्यारोमिटर हो । शरीर बलियो बनाउँन व्यायामशाला गइन्छ, त्यस्तै मस्तिष्क बलियो बनाउन चिन्तन र अध्ययनको आवश्यकता पर्दछ ।

यदी शारिरीक सुखको उत्सर्ग संसर्ग हो भने मानसिक सुखको संसर्ग किताब पढ्नु र चिन्तन गर्नु नै हो

‘गेम अफ थ्रोन’मा टिरियन ल्यानिष्टर भन्छन्, “म मेरो भाइको तरवार जत्ति उचाईको पनि छुइनँ ।” टिरियन एक परित्यक्त पात्र हुन् जो युद्धमा होइन असी वर्षको उमेरमा संसर्ग गर्दागर्दै मर्न चाहन्छन् (यदी शारिरीक सुखको उत्सर्ग संसर्ग हो भने मानसिक सुखको संसर्ग किताब पढ्नु र चिन्तन गर्नु नै हो) । भन्छन्, “तर मेरो दिमाग उसको तरवार भन्दा सयौँ गुणा विशाल छ ।”

टिरियन अत्यन्त अध्ययनशील छन् र आफ्नो मेधाको बलमा शक्तिमा पुग्छन् ।

बुद्धिमान मानिसभन्दा ठूलो बुद्धिमान नेता हो जो आफूले देखेको सपनामा संसारलाई हिँडाउछ । ज्ञान पढिन्छ, बुझिन्छ, बोध गरिन्छ अनि श्रृति परम्परामा जान्छ । जब कुनै कुरा श्रृति परम्परामा पुग्छ, त्यो अमर हुन्छ । जसरी रामायण र महाभारत अमर भए । अमरता हामीमै निर्भर छ ।
त्यसो भए जो कामबिना माम खान पाउँदैनन् उनीहरूले किन पढ्ने ? पढ्न बसे भोकै रहनुपर्ने बाध्यता पनि त छ । तर सत्य यो पनि हो, ती पिँधका मानिसले पढ्नुपर्ने झन् ठूलो आवश्यकता छ । ताकि उनीहरूले बुझुन्, उनीहरू गरीब हुन् कि बनाइएका हुन् ?  के मान्छे, कमिला र गधाको जीवनमा केही अन्तर छैन ? जुन दिन त्यो अन्तर बुझ्नेछन् १४ औँ शताब्दीमा फलाम सम्बन्धि काम गर्ने गुटेन वर्गले बनाएको प्रिन्टिङ् मेसिनको आत्माले साक्षात्कार प्राप्त गर्नेछ । त्यो दिनकै प्रतीक्षामा कैयौँ पिँढी दरपिँढी बुटमुनि दबाइए, ती बौरी उठ्नेछन् र कबिरले देखेको एक अचम्म दुनियाको दर्शन गर्नेछ । त्यसैले पढ्न पाएका ‘प्रीभिलेज क्लास’ले पढ्न नपाएकाहरूलाई सहयोग गर्नुपर्यो । त्यहाँ शिक्षक कोही हुनेछैन्, दुवै हुनेछन् जिज्ञासु । दुवैले देखेको अर्धसत्य पूर्णसत्यमा बद्लिनेछ ।

एकदिन उसको भेट ईश्वरसँग हुनेछ । ईश्वरलाई पछाडि छोडेर अघि बढ्नेछ ।

“जबसम्म प्रश्नले एक शब्दमा जवाफ पाउँदैन, न्याय भएन ।”, म सुजनलाई कोट्याउछु । सुजन मुराकामीको देशबाट बिरालो चालमा लेख्छ, “you can learn about the basic facts about the world by yourself but you will be old and tired by then ….

म चुपचाप लाइकको निलो स्टिकर पठाइदिन्छु ।

र, एक त्यो जो निरन्तर सिकिरहन्छ । हरेक दिन आफ्ना  गल्तीको समिक्षा गरेर भूलसुधारको प्रण गर्छ । तेलधारावत् प्रयास गर्छ हिजोभन्दा आज माथि उठ्न । उसको लागि अपरिमेय अपराजित केही बाँकी रहनेछैन । एकदिन उसको भेट ईश्वरसँग हुनेछ । ईश्वरलाई पछाडि छोडेर अघि बढ्नेछ ।

 

Loading...