नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नेपाली साहित्यमा अपाङ्गताको सन्दर्भः पूर्वजन्मको पाप नै हो त !

विभिन्न साहित्यिक कृतिहरूमा अपाङ्गतालाई प्रतीकात्मक  बनाएर शीर्षकहरू चयन गरेको छ ।

साहित्य यस्तो बहुआयमिक विधा हो जहाँ कथा, निबन्ध, गजल, उपन्यास, मुक्तकजस्ता विधाहरूबाट विविध प्रकारका अनुभूति र सन्दर्भहरू प्रकट हुने गर्दछ । नेपाली साहित्य समयक्रमसँगै परिमार्जित हुँदै गइरहेको छ । जसको प्रयोग अध्ययन-अध्यापन कार्यका साथै मनोरन्जनको लागि पनि हुने गर्दछ । प्रश्न उठ्छ, यो बहुआयमिक विधाले सबै पक्षमा सकारात्मक छलाङ् मार्न सकेको छ त ?

के यो समावेशी बन्न सकेको छ त ?

समावेशीताको कुरा गर्दा यहाँ हामी अपाङ्गता भएका व्यक्तिहरूको समावेशीताको सन्दर्भलाई जोड्छौँ । अपाङ्गता समावेशी साहित्यको प्रसङ्ग जोड्दा अपाङ्गता के हो बुझ्नु अत्यावश्यक हुन्छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि अनुसार अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौदिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तताद्वारा सृजित विभिन्न अवरोधहरूसँगको अन्तरक्रियाको कारणले समाजमा अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगमा सहभागी हुन बाधा भएको व्यक्ति बुझिन्छ।

यस परिभाषानुसार अपाङ्गता भएको व्यक्ति भनिनको लागि जम्मा तीनवटा मुख्य कुरा हुन जरूरी छ ।

  • शारीरिक, मानसिक वा इन्द्रीय सम्बन्धी दीर्घकालीन अशक्तता भएको ।
  • समाज वा वरिपरिको वातावरणसँग अन्तरक्रिया गर्दा अवरोधको सामना गर्नुपरेको ।
  • ‍समाजमा अन्य व्यक्तिसरह समान आधारमा सहभागी हुन नपाएको ।
  • सरिता लामिछाने

त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐनका अनुसार अपाङ्गता भएका व्यक्ति भन्नाले  शारीरिक, मानसिक, बौद्धिक वा ईन्द्रीयसम्बन्धी दीर्धकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पर्छ । अपाङ्गता जन्मजात, विभिन्न प्रकारका रोगहरूको सङ्क्रमणमा समयमै उपचार नपाउदा र दुर्घटनाको कारण पनि सृजना हुने गर्दछ  ।

विगतदेखि वर्तमान समयको समीक्षा गर्दा प्रायःजसो साहित्यिक कृतिहरूमा अपाङ्गतालाई पुर्वजन्मको पापको फलका रूपमा प्रतिस्थापित गरी अपाङ्गता भएका व्यक्तिहरूलाई निरिह र  अपहेलितरूपमा प्रस्तुत गरेको पाइन्छ । जसको उदाहरणको रूपमा २०६२ मा मदन पुरस्कार प्राप्त कृष्ण धराबासीको राधा उपन्यासमा कुन्तीको मुखारबिन्दुबाट प्रकट भएको सन्दर्भलाई लिन सकिन्छ । उपन्यासमा  दृष्टिविहिन धृतराष्ट्रको पत्नी  गान्धारीको भनाइलाई यसरी उल्लेख गरेको छ; “यी आँखाले म मेरो रूप हेर्न सक्दिनँ,  प्रकृतिले मलाई यति सुन्दर  बनाएर के गर्नु ? जुन  सुन्दरतालाई हेरेर मेरो पति खुसी हुनै सक्दैन, जोसँग आँखै छैन । अन्धाकी श्रीमतीलाई रूपको के महत्व ! त्यसैले मैले यो आँखामा पट्टी बाँधेकी हुँ ।”

त्यसैगरी महाभारतको एक प्रसङ्गमा धृतराष्ट्रको छोरा दुर्योधनलाई द्रौपदीले अन्धाको छोरा अन्धै हुन्छ भनेको कुरा उल्लेख छ । साथै सुबिन भट्टराईको उपन्यास सायामा ओस्लोबाट साढे दुई वर्षपछि घर फर्केको सन्दर्भमा अतितको भनाइ छ, “मैले प्रेममा अन्धो भएर घरलाई लात हानेको थेँ” । यी प्रसङ्गहरूमा पनि  दृष्टिविहिनलाई सम्बोधन गरेर भनिने अमर्यादित शब्दावलीको प्रयोग गरेको छ । उक्त भनाइहरूले अपाङ्गता भएका व्यक्तिहरू दयाको पात्र हुन् र बिग्रे-भत्केका चिजहरूको तुनलना गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई  होच्याएर प्रयोग गरिने शब्दावलीहरूको प्रयोग गर्नु वान्छनीय हुन्छ भन्ने सोचलाई मौलाउन मलजल प्रदान गरेको छ । तथापि वास्तविक जीवनमा केही यस्ता उदाहरणहरू छन् जसले गान्धारीको भनाइलाई गलत र विवेधकारी प्रमाणित गरेको छ ।

विभिन्न साहित्यिक कृतिहरूमा अपाङ्गतालाई प्रतिकात्मक  बनाएर शीर्षकहरू चयन गरेको छ ।

सुन्दरताले आँखाले हेरेर मात्र महत्व पाउने होइन, सुन्दरतालाई नहेरे पनि महसुस गर्न सकिन्छ । यसतर्फ साहित्यकारहरूले आफ्नो अनुसन्धानअघि बढाएर कलम चलाउनेतर्फ अभिप्रेरित हुनुपर्दछ । विभिन्न साहित्यिक कृतिहरूमा अपाङ्गतालाई प्रतिकात्मक  बनाएर शीर्षकहरू चयन गरेको छ । तथापि ती कृतिहरूमा अपाङ्गता भएका व्यक्तिहरूको खातिर प्रयोग हुने अमर्यादित शब्दावलीहरूको प्रयोग भएका छन् ।  जुन  कृतिहरू हालसम्म प्रसिद्ध र उत्कृष्ट कृतिको रूपमा स्थापित भएका छन्, उदाहरणको रूपमा लैन सिंह वाङ्देलको औपन्यासिक कृति ‘लङ्गडाको साथी’, भुपि शेरचन्दको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, केशवराज पिँडालीको  ‘लाटो बुङ्गाको डायरी’, उपेन्द्र सुब्बाको ‘लाटो पहाड’, गुरूकुलमा निरन्तर मन्चन भइरहने नाटक ‘अन्धाले हात्ती छामेको’ आदिलाई लिन सकिन्छ ।

सिमित सूचना र अमैत्री प्रणालीका बीचमा पनि केही अपाङ्गता भएका व्यक्तिहरू साहित्य क्षेत्रमा क्रियाशील भइरहेका छन् । साहित्यिक सचेतना र क्रियशीलतालाई अपाङ्गताले छेक्दैन भन्ने प्रमाण झमक घिमिरे र पारिजातजस्ता स्रष्टाहरूले  प्रस्तुत गरिसकेका छन् । छिट्फूट कृतिहरूमा अपाङ्गता भएका व्यक्तिहरूको  सकारात्मक सन्दर्भलाई प्रस्तुत  गरिएके छ । उदाहरणका रूपमा मिलन सङ्ग्रौलाको उपन्यास ‘च्याट गल्’, शारीरीक अपाङ्गता भएका व्यक्ति  कृष्ण भन्डारीको कृति ‘ह्विल् चियरको जिन्दगी र मनको आँखा’,  दृष्टिविहिन  कमल लामिछानेको ‘अन्तर्दृष्टि’, राम देव पान्डेको ‘काँडाघारीका फूलहरू”, मनिसा गौचनको “ह्वाइट् केन्”, झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति “जीवन काँडा कि फूल” आदीलाई लिन सकिन्छ । जसको  माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूले जीवनमा गर्नु पर्ने सङ्घर्ष र  सङ्घर्ष पश्चात् प्राप्त हुने सफलतालाई उजागर गरेका छन् । परिणामस्वरूप स्वयम् अपाङ्गता भएका व्यक्तिहरूलाई समेत जीवनप्रति सकारात्मक आसा  जगाउनुका साथै  अन्य व्यक्तिहरूलाई समेत उत्प्रेरणा  प्राप्त भएको छ ।

नेपाली साहित्य  क्षेत्र अपाङ्गता भएका व्यक्तिहरूको परिपेक्षमा  पहुँचयोग्य अवश्य छैन । बजारमा आएका धेरै  कृतिहरू दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समयमै  सहजरूपमा पढ्न पाउँदैनन् । तथापि विगत २ दशकदेखि रेडियोकर्मी अच्युत घिमिरेद्वारा सञ्चालन गरेका कार्यक्रमहरू  रेडियो वाचन र हाल  पनि प्रत्येक मङ्गलबार र शुक्रबार बेलुका ९:१५ मा  उज्यालो रेडियोबाट प्रसारण भइरहेको स्रुति सम्वेग कार्यक्रमले भने दृष्टिसम्बन्धि अपाङ्गता भएका व्यक्तिहरूलाई गद्यात्मक साहित्यिक कृतिहरू पढ्ने अवसर  जुटाएको छ । कतिपय पाठ्यक्रममा समावेश भएका कृतिहरू प”र्णरूपमा पढ्नका लागि  रेडियोकर्मीलाई अनुरोध गरेर  स्रुति सम्वेगमा नै निर्भर हुनुपरेको कुरा दृष्टिविहिन व्यक्तिहरू बताउछन् ।  साहित्यिक कृतिको अध्ययनमा  तिर्खाएका दृष्टिविहिन समुदायलाई  घिमिरेको आवाजमा  सञ्चालित कार्यक्रमहरूले केही राहत भने भएको छ । साथै घिमिरेद्वारा सञ्चालित बुलबुल र एकल कविता वाचनले केही अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो सृजना  र सृजनशीलताको उजागर गर्ने मौका मिलेको छ । तथापि यो नै यथेष्ट भने छैन ।

सहभागिता शून्य हुनुको कारण अपाङ्गता भएका व्यक्तिहरूमा साहित्यिक चेतना नभएर होइन, ती कार्यक्रमको बारेमा सूचनाहरू पहुँचयुक्त ढाँचामा प्रकासन र प्रसारण नहुनु, प्रशिक्षण आयोजना गरिएका स्थानहरू अपाङ्गतामैत्री नहुनु  बाधकहरू हुन् ।

काठमाडौँ उपत्यकाबाहिर रहेका प्रायः अपाङ्गता भएका व्यक्तिहरूद्वारा रचना भएका धेरै सृजनाहरू डायरीमै सिमित रहेका छन् । अझै पनि खण्डकाव्य, महाकाव्यहरूलाई शृङ्खलाबद्ध रूपमा वाचन गरिने खालका कार्यक्रम र पहलहरू भने कहीँकतैबाट भएका छैनन् । विभिन्नप्रकारका साहित्यिक प्रशिक्षणका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता शून्य पाइन्छ । सहभागिता शून्य हुनुको कारण अपाङ्गता भएका व्यक्तिहरूमा साहित्यिक चेतना नभएर होइन, ती कार्यक्रमको बारेमा सूचनाहरू पहुँचयुक्त ढाँचामा प्रकासन र प्रसारण नहुनु, प्रशिक्षण आयोजना गरिएका स्थानहरू अपाङ्गतामैत्री नहुनु  बाधकहरू हुन् । यो सवालमा प्रज्ञाप्रतिष्ठानको पनि  खासै ध्यान पुगेको पाइँदैन ।

“जहाँ पुग्दैन रवि त्यहाँ पुग्दछन् कवि” भन्ने भनाइलाई वैधानिकता प्रदान गर्ने दायित्व अग्रज र समकालीन साहित्यकारहरू सबैको हो ।  समाजमा रहेका बहुसन्दर्भहरूलाई पस्कने साहित्यकारहरूले अपाङ्गताको अधिकारमुखी अवधारणाको अध्ययन गरी आफ्नो कृतिहरूमा सोको प्रतिबिम्ब उतारेमा नेपाली  साहित्य जगत पनि समावेशी बन्न सक्थ्यो कि ?

( दृष्टिविहीन लामिछाने अपाङ्गताकाे क्षेत्रमा लामाेसमयदेखि क्रियाशील छिन् । )

Loading...