नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अराजक बाहुनवाद

बाहुनवाद जीवित हुनेभनेको समाज राजनीतिक दुर्घटनामा फस्नु हो ।

माफ गर्नुहोला, यो लेखको आसय बाहुन जातलाई नकारात्मक तवरले टिप्पणी गर्नु होइन ।

बाहुनवाद कुनै जात विशेषसँग सम्बन्धित छैन । यो विशुद्ध कुविचर हो, कुसंस्कार हो । कुरीति र कुचिन्तन हो । बाहुनवाद शब्द सुन्नेबित्तिकै निश्चित समुदाय तर्सिनुपर्ने आवश्यकता छैन । बाहुनवाद शब्दबाट तर्सनु, उग्र हुनुको सट्टा सामाजिक धरातल तथा एकल नश्लवादी चिन्तन बुझ्न आवश्यक छ ।

सामान्य बुझाइमा जुनसुकै व्यक्ति, चाहे त्यो दमाई, कामी, सार्की, वादी, बाहुन, क्षेत्री, सन्यासी, राई,  लिम्बू, तामाङ, ठकुरी होस् या अन्य कुनै आदिवासी, जसको विचार मैँ ठूलो, मैँ राम्रो, मेरो जात, समुदायले गरेको सामाजिक-धार्मिक कार्य पवित्र भन्ने अहम्कारी सोच राख्छ भने त्यो मानिस बाहुनवादी हो । उसको सोच, विचार र आचरण बाहुनवादभित्र पर्दछ ।

सान्दर्भिक पोस्ट

पारिको मान्छे

बाहुनवादको जात, धर्म र लिङ्ग हुँदैन । बाहुनवादी दमाई पनि हुनसक्छ, नेवार पनि । मुलतः  बाहुनवाद कुसंस्कारी मानसिकताको उपज हो । बाहुनवादी जातव्यवस्थाको निरन्तरता हो । कुसंस्कारी अमानवीय जातिवादी प्रवृत्ति हो । उच्च जातिय अहंकारी रवैया हो ।

हिन्दू धर्मभित्रको वर्ण व्यवस्थामा आधारित जात व्यवस्थाले उसका अनुयायीलाई जातको आधारमा निश्चित घेरा कोरिदिएको छ । जातको आधारमा मानिसले गर्न मिल्ने र नमिल्ने, छुन मिल्ने र नमिल्ने , नाता गाँस्न मिल्ने र नमिल्नेजस्ता विभेदकारी धार्मिक दायरा कोरिदिएको छ । जातको आधारमा पेशा तोकिएको छ । भोजन र मान-सम्मान तोकिएको छ । जात-गोत्रको आधारमा एउटा निश्चित जातभित्र नातागोता मिल्ने, रोटीबेटीको सम्बन्ध चल्ने निश्चित सांस्कृतिक प्रावधान बनाइदिने बाहुनवाद नै हो । जातको आधारमा तिमी, तपाईँ, हजुर, तँ जस्ता शब्दको चयन हुने परिपाटी हाम्रै समाजमा देखिन्छ । मानिसको थर थाहा पाएपछि ‘तपाईँ’बाट ‘तिमी’ सम्बोधन गर्ने मानिस नेपाली समाजमा प्रशस्त भेटिन्छन् ।

मिमबहादुर परियार

जातिय आधारमा सम्बोधन गर्ने पुरातनवादी सोच बाहुनवाद हो । बाहुनवाद यतिसम्म क्रुर छ कि यदि कुनै व्यक्ति कथित धर्म र जातिय नीति विरुद्ध गए त्यसको नतिजा नराम्रो हुने । उक्त व्यक्ति र उसको परिवारले सामाजिक बहिस्करणको सामना गर्नुपरेको तथ्य हाम्रौ समाजमा घटेका गतिविधिबाट पुष्टि भएको छ । यिनै बाहुनवादी रवैया सामाजिक, सांस्कृतिक थुनछेक प्रवृत्ति हो भन्ने स्पष्ट हुन्छ ।

हिन्दू धर्मका चार वर्णमध्ये ब्राह्मण वर्णलाई हिन्दूवादी संस्कारले सधैँभरि समाजको माथिल्लो तहमा राख्ने काम गरेको छ । उक्त समुदायलाई जातको हिसाबले सामाजिक, धार्मिक र सांस्कृतिक तवरमा शुद्ध बनाएको छ । उसको कार्यलाई पवित्र मानेको छ । धार्मिक पूजाआजा, यज्ञहवनमा सधैँ उसको हालीमुहाली हुने नीति बनाइदिएको छ । ब्राह्मणबाहेक अन्य कसैले पुरोहित कार्य गर्न नमिल्ने धार्मिक शास्त्रमा लेखिदिएको छ । राजादेखि रैतीसम्म ब्राह्मण जातको अगाडि झुक्नु पर्ने नियम बनाइएको छ । उसलाई समाजको सर्वश्रेष्ठ वर्ण मानेर धार्मिक ग्रन्थमा चित्रण गरिएको छ । जसकारण ऊ पूज्नीय भयो, उसका अगाडि सबै झुक्नुपर्ने वातावरण सृजना गरियो ।

अर्कोतिर वर्णको आधारमा, जातको आधारमा शुद्र अर्थात् आजको दलित  समुदाय सामाजिक पीडाको दलनमा बस्न बाध्यात्मक अवस्था सृजना गरियो । दलित र उसका गतिविधिलाई नकारात्मक मानचित्रसँग तुलना गरियो । शारीरिक रूपमा राम्रो भए, ‘कस्तो बाहुनीजस्ती’ भन्ने, यदि कथित समाजले नराम्ररी देखे, ‘कस्तो दमाई-कामीजस्तो’ भनी विभेदकारी उपमा दिने परिपाटी बसालियो । दलितलाई अशुद्ध भनियो । उसलाई किनारमा राखियो । ऊसँग कुनै पनि सांस्कृतिक/सामाजिक सम्बन्ध जोड्न प्रतिबन्ध लगाइयो । जातको आधारमा सामाजिक दूरी कायम राख्नुपर्ने कथित हिन्दूवादी अभ्यासलाई समाजको मुलधारमा राखियो । यी यावत् नश्लवादी समाजिक चित्र नै बाहुनवादी चरित्र  हो ।

दैलेखका सेते दमाईका छोराले ठकुरी थरकी युवतीसँग प्रेमविवाह गर्दा केटी पक्षको कुटपिटबाट सेते दमाईको हत्या भएको थियो ।

हिन्दू धर्मावलम्बीले सधैँ जातलाई केन्द्रमा राखेर सामाजिक/धार्मिक खाका तयार गर्यो । इतिहास साक्षी छ, दलित समुदायका प्रतिनिधिले बाहुनवादी मान्यता विपरीत विद्रोह गरे हत्यासम्म गर्ने कानुन पारित भएको थियो । जयस्थिति मल्लको मानवन्याय शास्त्र, राम शाहको कथित सुधारवादी नीति भनौँ या जङ्गबहादुर राणाले पारित गरेको विस.१९१० को मुलुकी ऐन; यी तमाम नश्लवादी कानुन दलितका विरुद्ध थिए भने कथित उपल्लो जात भनिएकाको हितमा थिए । सर्सर्ती तत्कालीन नश्लवादी कानुन बाहुनवादी रहेको तथ्य यसका नीति-नियमबाट थाहा हुन्छ ।

तत्कालीन एकल जातिय कानुनको प्रभाव आजसम्म पनि समाजको गतिविधिमा देखिन्छ । आफ्ना छोराछोरीको विवाहको लागि भाँडामा लमी खटाएर चिनो-कुडिलो मिलाएर लगन जुराउने समाज हाम्रै हो । वि.स. २०७७ जेठ १२ नवराज विक नाम गरेका युवाले कथित उपल्लो थरकी शुष्मा मल्लसँग प्रेमविवाह गर्न खोज्दा नवराजसहित अन्य पाँच युवाको सामुहिक हत्या भयो । दैलेखका सेते दमाईका छोराले ठकुरी थरकी युवतीसँग प्रेमविवाह गर्दा केटी पक्षको कुटपिटबाट सेते दमाईको हत्या भएको थियो । यी तमाम घटनाको प्रमुख कारण कथित दलितले कथित गैरदलितसँग सम्बन्ध गाँस्ने भयो, हाम्रो जातमाथि कथित दलितले धावा बोल्यो भनेर सारा गाउँ मिलेर हत्या गरियोको हो । फलतः दलित समुदायको सामाजिक, धार्मिक, सांस्कृतिक स्वतन्त्रता हनन् भयो । उसलाई समाजको हरेक कार्यमा बहिष्कारको नीतिद्वारा टाढा राखियो । जातलाई प्रमुख आधार देखाएर धार्मिक समाजिक र सांस्कृतिक दूरी कायम गर्नुपर्ने धार्मिक कानुन बनाइयो । नवराज विक, सिते दमाई, अजित मिजारको मृत्युको प्रमुख कारकतत्व बाहुनवाद हो । बाहुनवादी कथित नीति-नियमले कलिला युवाको हत्या गर्न अग्रसर बनायो ।

हिन्दूवादी जात व्यवस्थाले एउटा निश्चित समुदायलाई, विशेषगरी तागाधारी समुदाय र उसको हेजेमनी पछ्याउँदै गरेको आदिवासी जनजाति समुदायमा बाहुनवादी अहंकारवादी संक्रिण सोच प्रदान गर्यो । जनजाति समुदाय जसको समाजिक  रीतितिथि, भाषा, संस्कार छुट्टै छ, उसले ब्राह्मण संस्कृतिलाई पछ्याउने काम गर्यो । आफ्नो झर्रा रीतिरिवाजलाई किनारमा लगाउँदै, बिर्सदै, ब्राह्मण समुदायका कर्मकाण्डको अभ्यास आफ्नो जीवनपद्धतिमा लागू गर्यो । सोही कारणले जनजाति समुदायमा पनि बाहुनवादी उच्चजातिय अहंकारी प्रवृत्ति देखियो । हामीमा पनि दलित समुदायलाई दमन गर्नुपर्छ भन्ने दानवीय मानसिकताको विकास भयो । यिनै नश्लवादी तथा जातिवादी निच चिन्तनको कारण कयौँ अन्तरजातिय विवाह गरेका क्रान्तिकारी मनहरूको हत्या भयो । जातविरोधी शक्तिलाई थुनछेकको सामाजिक र सांस्कृतिक षड्यन्त्र स्थापना भयो । अझ दलित र गैरदलित विद्रोही शक्तिलाई तहसनहस पार्ने षड्यन्त्रको रूपमा बाहुनवादलाई समाजको अग्रस्थानमा राख्न जातवादी-बाहुनवादी भाइरसह? मूलमन्त्र बनाएर लागिपरेको देखिन्छ ।

रोटी र बेटीको सम्बन्ध अस्वीकार गर्नेजस्ता बाहुनवादी क्रियाकलाप दलित समुदायभित्र पनि देखिन्छ । जुन निन्दनीय छ ।

अर्कोतिर दलित समुदायभित्र पनि बाहुनवादको जीवाणु सलबलाएको देखिन्छ । सदियौँदेखि जातिय आधारमा दमन सहेको समुदायमा पनि बाहुनवादी प्रवृत्ति देखिन्छ । कामी समुदायले दमाई समुदायलाई विभेद गर्ने । रोटी र बेटीको सम्बन्ध अस्वीकार गर्नेजस्ता बाहुनवादी क्रियाकलाप दलित समुदायभित्र पनि देखिन्छ । जुन निन्दनीय छ । यस्ता विभेदकारी प्रवृत्तिको घोरभत्सना हुनुपर्छ ।

बाहुनवादका दासहरू विभेदकारी कुचिन्तनलाई सफल पार्न समाजका कुना कुनामा जातिवादको भाइरस फैलाउन सफल भएका छन् । सामाजिक भाइचारा ध्वस्त पार्न सफल भएका छन् । दलित मार्न अग्रसर देखिएका छन् । दलितको मृत्यु सस्तो बनाउन सफलता हात पारेका छन् । यस्ता विभेदकारी, विखण्डनकारी मानसिकतालाई जीवित राख्न बाहुनवादले अहम् भूमिका खेलेको छ । समाजलाई जातियताका आधारमा बाँड्न र भाँड्न सफल भएको  छ ।

विभेदकारी र उच्च जातिय अहंकारी वादहरू जबसम्म जीवित हुन्छन् तबसम्म समाज चिराचिरामा विभाजित हुनेछ । बाहुनवादको रजगज कायम हुनेछ । मानिस मानिसबीच अमानवीय खाडलको सृजना हुनेछ । समानता, समाजिक स्वतन्त्रता र भाइचाराको हत्या हुनेछ ।

नश्लवादी प्रवृत्तिको सीमा हुँदैन, सिद्धान्त हुँदैन । विशुद्ध कुसंस्कारबाट प्रचालित हुन्छ । बाहुनवादी प्रवृत्तिजस्तै पश्चिमा मुलुकमा विभेदकारी नीति थियो , अझैसम्म बेलाबखत रङभेदका घटना घटेको देखिन्छ ।

अर्कोतिर काला समुदायलाई हिन नजरले हेरिन्थ्यो । उसको सम्पत्ति तथा सामाजिक स्वतन्त्रता खोसिएको थियो ।

बेलायती विस्तारवादी तथा साम्राज्यवादी नीति अनुसार पश्चिमा गोराहरूमा नश्लवादी चिन्तन हावी थियो । एक रङ, वर्णले विश्वमा राज गर्नुपर्छ भन्ने एकल नश्लवादी मानसिकता गोरा समुदायमा देखिएको थियो । उक्त नश्लवादी चिन्तनलाई टेवा पुर्याउने  “ह्वाइटस् म्यान बर्डन” शब्दावली अङ्ग्रेजी कवि रुडयाड किपलिङले सन् १८८९ तिर प्रतिपादन गरेको थिए । जसको मुख्य आशय भनेको सेतो अर्थात् गोरो छाला भएका मानिस सभ्य, राम्रा, विवेकशील, ज्ञानी तथा अन्य राम्रा मानकको रूपमा हेरिन्थ्यो । सबै राम्रो ज्ञानले भरिपूर्ण गोरा हुन् भन्ने नश्लवादी भाव उक्त कुचिन्तनमा थियो । जब कि काला छाला भएका अफ्रिकी मुलवासीलाई नकारात्मक मानकसँग तुलना गरिन्थ्यो । काला समुदायका मानिसलाई  नराम्रा, अज्ञानी, हिंस्रक इत्यादिको चस्माबाट हेरिन्थ्यो । गोरा वर्णलाई उच्चश्रेणीको मानिस ठानिएको थियो । उसका हरेक क्रियाकलापलाई संस्कार र सभ्यताको रूपमा मानिन्थ्यो । उसलाई ज्ञान-विज्ञानको भण्डारको रूपमा चित्रण गरिन्थ्यो । अर्कोतिर काला समुदायलाई हिन नजरले हेरिन्थ्यो । उसको सम्पत्ति तथा सामाजिक स्वतन्त्रता खोसिएको थियो । रैथाने समुदायलाई आफ्नो मातृभूमिमा शरणार्थीको दर्जा गोराले  दिएका थिए । काला समुदायमाथि गोरो छाला भएकै कारणले युरोपियनले अमानवीय गतिविधि लादेका थिए ।

पश्चिमाको ह्वाइट म्यान वर्डन र हिन्दूको बाहुनवादको रूप र सार एउटै हो । समाजको सिमान्तकृत समुदायलाई दलदलमा राख्ने नश्लवादी प्रपञ्च हो । आफ्नो भेषभूषा, रूपरङ, चालचलनलाई राम्रो देखाउने नश्लवादी षड्यन्त्र हो । जसरी काला जातिका मानिसलाई गोरा समुदायले आफ्नै ठाउँमा बिरानो बनाए । आफ्नै मातृभूमिमा सुकुम्बासी बनाए । कथित संस्कार र सभ्यताको नाममा काला जातिको अफ्रिकन मौलिक संस्कृतिमाथि गोरा जातिले क्रिस्चियन मिसिनेरी प्रवेश गराएर तहसनहस पारिदिए । राजनीतिक, संस्कृतिक र आर्थिक रूपले दासत्वमा बस्न बाध्यात्मक परिस्थिति निर्माण गरिदिए । त्यस्तै हिन्दू धर्ममा पनि बाहुनवादको छत्रछायामा दलितमाथि राजनीतिक, सामाजिक, धार्मिक र सांस्कृतिक तवरबाट बहिस्कार गरियो । दलितका हरेक कामकाजलाई हिन नजरले हेरियो । फलतः दलित समुदायलाई अछुतको पगरी थमाएर समाजिक स्वतन्त्रता हनन् गरियो । दलितमाथि धर्म-संस्कारको नाममा सामाजिक र मानसिक यातना दिइयो । आजको मितिमा पनि कथित सभ्य समाजले दलितको मनमस्तिष्कमा चोट दिएको छ । समाजको कुना कुनामा बाहुनवादले सृजना गरेका अनगिन्ती सामाजिक अपहेलना दलितले सामाना गर्नुपरेको छ ।

बाहुनवादी जवाफ उदेकलाग्दो छ । विभेदको अन्त्य भइसकेको छ, हामी सबै बराबर जस्ता ढोँगी उत्तर दिएर बाहुनवादलाई प्रशय दिएको देखिन्छ ।

यी तमाम पिडाको उत्तर कसले दिने ? निश्चितरूपमा बाहुनवादी समाजले दिनुपर्ने हो, यसका दासहरूले जिम्मेवारी लिनुपर्ने हो । समाजमा कालो संस्कृति फैलाएर समाजिक भाइचारा भाँड्ने जिम्मेवारी बाहुनवाद र उसका दासहरूले लिनुपर्ने हो । तर विडम्बना, बाहुनवादी जवाफ उदेकलाग्दो छ । विभेदको अन्त्य भइसकेको छ, हामी सबै बराबर जस्ता ढोँगी उत्तर दिएर बाहुनवादलाई प्रशय दिएको देखिन्छ  ।

भाषणमा सबैले जात छैन भनेको सुनिन्छ । तर जब घरमा बिहेवारी सम्बन्धको कुरा चल्छ तब जात, गोत्रको कुरा तिनै कथित सुधारवादीको क्रियाकलापमा बाहुनवाद अर्थात् जातभातको चर्चा चलाएको देखिन्छ । कानुनका धारमा समानताको नीति, नियम र ऐन छन् तर दैनिक जीवनमा उही जातीय घिनलाग्दो चित्र देखिन्छ । मानिस जातको नाममा हत्या गर्न अग्रसर हुन्छ ।

जातलाई सामाजिक प्रतिष्ठा ठानेर दलितको हत्या भएका धेरै घटना छन् । कयौँ दलित गाउँबाट निकालिएका छन् । कयौँको सम्पत्ति जफत गरिएको छ । यी तमाम घटनाको एकमात्र कारण भनेको  बाहुनवाद हो । जबसम्म बाहुनवादलाई  तहसनहस गरिँदैन तबसम्म समाजमा विभेद कायम रहन्छ । भाषण, गफ दिन सहज र सरल हुन्छ तर कार्यन्यवन गर्न मानिसलाई गाह्रो हुन्छ । वर्तमान परिपेक्ष्यमा नेपाली समाजले समाजिक जटिलता भनेको ढोँगीपन हो ।

बाहुनवाद जीवित हुनेभनेको समाज राजनीतिक दुर्घटनामा फस्नु हो । राज्यको दुर्गति हुने । नेपाली समाजलाई प्रगतितिर लग्ने कि दुर्गतितिर ?

बाहुनवादलाई जीवनपद्धति राख्नु नै नेपाली समाजको ठूलो भुल रहेको छ । विशेषगरी तागाधारी समुदायले बाहुनवादलाई आफ्नो सामाजिक र सांस्कृतिक मन्त्रको रूपमा अभ्यास गरेको देखिन्छ । जब कि जनसंख्या तथा राजनीतिक पहुँचमा तागाधारी समुदायको बाहुल्यता छ । निर्णायक तहमा उसको उपस्थित बाक्लो छ । शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक उपस्थिति तागाधारीको बलियो छ । नेपाली समाजमा जातिय सवालमा तागाधारी समुदाय नसच्चिए बाहुनवाद जीवित रहन्छ । बाहुनवाद जीवित हुनेभनेको समाज राजनीतिक दुर्घटनामा फस्नु हो । राज्यको दुर्गति हुने । नेपाली समाजलाई प्रगतितिर लग्ने कि दुर्गतितिर ?

राष्ट्रलाई प्रगतिपथमा लैजानुको पहिलो पाइला बाहुनवादको अन्त्य गर्नुपर्छ । समाजको सबै वर्ग, तहतप्काबाट नश्लवादी, विभेदकारी नीति अङ्गालेको बाहुनवादलाई सदाको लागि तहसनहस पार्नुपर्छ । अनि मात्र समतामूलक समाजको निर्माण हुन्छ । भाइचारा तथा एकतामार्फत् अग्रगामी पथतिर लम्कन सकिन्छ ।

जब समाजमा जात रहँदैन तब मानिसलाई जता जान पनि सरल र सहज हुन्छ । अबको नेपालले सहजता खोज्ने हो । जटिलता त्याग्ने हो ।

Loading...