नेपाली साहित्यको सम्पूर्ण पत्रिका

हाम्रो किबोर्डभित्रको भाषिक अराजकता

भाषिक शुद्धीकरण अभियान, डा. मतिप्रसाद ढकालका साथ

उठान:

सूचना र प्रविधिको द्रुततर विकाससँगै नेपाली भाषालाई पनि सूचना र प्रविधिसँग संयोजन र अद्यावधिक गर्दै जानु अति आवश्यक छ । त्यसै सन्दर्भमा स्मार्ट फोनका लागि भनेर तयार गरिएको हाम्रो किबोर्ड मोबाइल एप्सले पनि नेपाली भाषाका धेरैजसो प्रयोक्ताहरूलाई नेपाली भाषामा नै आफ्ना विचारहरू आदानप्रदान गर्न सजिलो र सहज बनाएको छ । यसमा एकदुईओटा अक्षर टाइप गर्नेबित्तिकै सम्बद्ध शब्द देखाउने र पूरै शब्द टाइप गरिरहनुपर्ने झन्झटबाट पनि प्रयोक्ताहरू मुक्त छन् तर यसमा भण्डारण गरिएका अधिकांश शब्दहरू दोहोरो वर्णविन्यास र त्रुटिपूर्ण रहेकाले नेपाली भाषाको शुद्ध लेखनमा यसले नकारात्मक प्रभाव पार्दै गएको छ र यसतर्फ प्रयोक्ताहरू अत्यन्त सचेत हुनु आवश्यक छ ।

भाषाप्रेमीहरूको गम्भीर चिन्ताः

भाषिक शुद्धीकरण अभियानअन्तर्गत मैले गत हप्ता फेसबुकमा ‘म किन बधाइ लेख्न रुचाउँछु ?’ भन्ने शीर्षकमा दीर्घ ‘बधाई’ होइन ह्रस्व ‘बधाइ’ लेख्नुपर्छ भन्ने तार्किक विचार प्रस्तुत गरेको थिएँ । त्यसै सन्दर्भमा भाषाप्रेमी विद्वान् लक्ष्मीशरण अधिकारीले “मोबाइल टाइपमा त बिद्या, बिद्यार्थी, बिद्यालय, बिज्ञान, बिपरित, बिज्ञापन देखाउँछ, के यी शब्दहरूलाई शुद्ध मान्न सकिन्छ त ?” भनेर प्रश्न गर्नुभयो । निश्चय नै मैले पनि मोबाइलमा यस किसिमका त्रुटिहरू बारम्बार देखिरहेको थिएँ तर उहाँले उल्लेख गरेजस्ता गम्भीर त्रुटितर्फ मेरो ध्यान जान सकेको थिएन । त्यसैले मोबाइलमा यसरी सेटिङ गरेर कुन कम्पनीले हाम्रो किबोर्ड एप्स निकालेको होला भनेर अशुद्ध शब्दलाई निराकरण गर्ने दिशातर्फ मेरो ध्यान आकृष्ट भयो । सोही फेसबुक विचारका सन्दर्भमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा. विद्यानाथ उपाध्यायले “ती शब्द त संस्कृत तत्सम हुन्, विद्वान्, विद्यालय नै भन्नु, लेख्नुपर्छ, लेख्न त पढेलेखेकाले पनि बिद्धालय लेख्छन्, त्यो शुद्ध हुन्छ र ?” भन्ने प्रश्न गर्दै उहाँले “मेरै नाम कतिले विधानाथ वा विध्यानाथ लेखेको देख्दा दिक्क लाग्छ” उल्लेख गर्नुभएको थियो भने भाषाचिन्तक एवं कवि रमेश खकुरेलले “विद्ध आलय” उल्लेख गर्दै आश्चर्य प्रकट गर्नुभएको थियो । निश्चय नै पढेलेखेका व्यक्तिहरूले नै ‘विद्या’ शब्दलाई शुद्ध लेख्न नसकी विधा, विध्या र बिद्धा लेख्ने गरेका छन् भने ‘विद्यालय’ शब्दलाई सन्धिविच्छेद गर्दा कुनै विद्यार्थीले ‘बिद्ध+आलय’ गर्यो भने कुनै आश्चर्य हुँदैन । विद्वान्हरूको भाषाप्रतिको यो चिन्ता त एउटा प्रतिनिधिमूलक चिन्ता हो र यस्तो चिन्ता गरिरहने चिन्तकहरू नेपालमा यत्रतत्र सर्वत्र छन् तर तिनको चिन्तालाई निराकरण गर्ने प्रयास हुनुको सट्टा यस्ता चिन्ताहरूलाई मलजल गरिरहने बाध्यता परिस्थिति बढ्दै गएको छ ।

 

श्रद्धाञ्जली लेख्ने कि श्रद्धाञ्जलि ?

हाम्रो किबोर्डमा ‘श्रद्धा’ शब्द लेख्ने बित्तिकै ‘श्रद्धाञ्जली’ र ‘श्रद्धाञ्जलि’ दुवै शब्द देखापर्छन् । यी दुवै शब्द शुद्ध रहेछन् भनेर धेरैजसो प्रयोक्ताहरूले सुरुको शब्द थिच्ने गर्छन् भने केही प्रयोक्ताले ‘श्रद्धाञ्जलि’ पनि थिच्ने गर्छन् । कसैको मृत्यु हुँदा फेसबुकमा राखिएका समाचारमा मृतकप्रति यी दुवै शब्दको प्रयोग गरिएको पाइन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशले २०४० को पहिलो संस्करणदेखि हालसम्म ‘श्रद्धाञ्जली’ शब्दलाई मात्र प्रविष्टि दिइएको छ तर ‘श्रद्धाञ्जलि’ शब्दलाई हालसम्म प्रविष्टि नै दिएको छैन, जसका कारण ‘श्रद्धाञ्जलि’ शब्द त अशुद्ध रहेछ, प्राज्ञिक शब्दकोशमा भेटिएको ‘श्रद्धाञ्जली’ शब्द मात्र शुद्ध हो भन्ने भ्रम प्रयोक्ताहरूमा पर्न गएको छ । संस्कृतमा ह्रस्व अन्तमा रहेको ‘अञ्जलि’ शब्द मात्र शुद्ध मानिन्छ । ‘श्रद्धाञ्जलि’ तत्सम शब्द भएका कारण यसलाई अन्तमा दीर्घ लेख्नुलाई अशुद्ध ठान्नुपर्छ । अनुपयुक्त ‘श्रद्धाञ्जली’ शब्दलाई मानक ठहर्याउने नेपाली बृहत् शब्दकोशको दुष्प्रयास हाम्रो किबोर्डको भन्दा पनि बढ्ता असह्य छ ।

पुर्व लेख्ने कि पूर्व ?

हाम्रो किबोर्डमा ‘पुर्व’ र ‘पूर्व’ दुवै शब्द शुद्ध ठानेर राखिएका छन् । नेपाली भाषामा शुद्ध र अशुद्ध शब्दको सामान्य ज्ञान नभएका प्रयोक्ताले सिफ्ट नथिचीकन ‘पुर्व’ शब्द लेख्न पाएपछि सिफ्ट थिचेर ‘पूर्व’ लेख्ने प्रयास नै गर्दैनन् । ‘पुर्व’ शब्द नै शुद्ध ठहरिएपछि किबोर्डमा उपलब्ध हुने पुर्वक, पुर्वाग्रह, पुर्वाधार आदि शब्दलाई अशुद्ध ठहर्याउने चासो पाठकले राख्तैनन् । हाम्रो किबोर्ड केवल किबोर्ड मात्रै नभएर सहयोगी शब्दकोश पनि भएका कारण यसले पुर्व/पूर्व, पुर्वाधार/पूर्वाधार आदि दोहोरो प्रविष्टिलाई निरुत्साहित गरी पूर्व, पूर्वक, पूर्वाग्रह, पूर्वाधार आदि शुद्ध शब्दलाई मात्र प्रविष्टि दिने प्रयासमा सम्बद्ध उत्पादक कम्पनीको ध्यान आकृष्ट हुनुपर्छ ।

इ लेख्ने कि ई ? 

हाम्रो किबोर्डमा एउटै शब्दमा ह्रस्व र दीर्घ दुवै ‘इ’ वर्णको प्रयोग गरिएका शब्दहरू पनि पाइन्छन्, जसका कारण प्रयोक्ताहरूमा अन्योल देखिन्छ । ‘मिठाइ’ शब्दसँग ‘मिठाई’ मात्र होइन ‘मिठाइँ’ शब्द पनि रहेको छ । ‘मिठाई’ त कसैले दीर्घ पनि लेख्न सक्ने सम्भावना रहला तर अनर्थक ‘मिठाइँ’ शब्द कसरी त्यहाँ समावेश भयो ? भन्ने कुरा आश्चर्यलाग्दो छ । नेपालीमा ‘आइ’ प्रत्यय ह्रस्व हुने भएकाले ‘मिठाइ’ शब्द शुद्ध हो र ‘मिठाई’ तथा ‘मिठाइँ’ शब्द अशुद्ध हुन् भनेर सोच्ने क्षमता सर्वसाधारण प्रयोक्तामा कम हुने भएकाले यी तीनओटै शब्द प्रयोगमा आउन सक्छन्, जसका कारण भाषामा शुद्धता कायम गर्दै जान गाह्रो हुनेछ । हाम्रो किबोर्डले त ‘मिठाइ’ शब्द विकल्पमा देखायो तर हाम्रो प्राज्ञिक शब्दकोश (२०४०—२०६७) ले ‘मीठो+आइ’ का आधारमा ‘मिठाई’ शब्दलाई शुद्ध ठानेको छ । ह्रस्व इकार अन्तमा हुने ‘आइ’प्रत्यय लागेर किन दीर्घ ईकारान्त ‘मिठाई’ त्रुटिपूर्ण शब्दको प्रविष्टिले २०४० सालदेखि हालसम्म निराकरण पाउन सकेन ? भन्ने कुरामा कसैको ध्यान जान सकेको छैन ।

हाम्रो किबोर्डले ‘मिठो’ र ‘मीठो’ दुवै शब्दलाई शुद्ध ठानेको छ तर प्रज्ञाका पुराना शब्दकोश (२०४०–२०५८) ले ‘मीठो’लाई र नयाँ शब्दकोश (२०६७–२०७५) ले ‘मिठो’लाई शुद्ध ठानेका छन् । वास्तवमा ‘मिष्ट– मिट्ठ– मीठो’ यसरी शब्दको विकास भएको हो र प्राकृतबाट नेपालीमा आउँदा क्षतिपूर्ति दीर्घीभवनको भाषाविज्ञानी मान्यताले दीर्घ भएर ‘मीठो’ बन्न पुगेको हो । ‘स्वीकार्नु’ र ‘स्विकार्नु’ जस्ता शब्दलाई पनि हाम्रो किबोर्डले शुद्ध ठानेको छ । नेपाली भाषाका नयाँ निर्देशकहरूले ‘स्विकार्नु’लाई शुद्ध ठान्छन् तर विद्यार्थीले सँगसँगै आएका ‘स्वीकार’ र ‘स्विकार्नु’मध्ये एउटामा दीर्घ र अर्कामा किन ह्रस्व लेखिएको हो ? भनेर प्रश्न गरेका खण्डमा त्यसको चित्तबुझ्दो जवाफ हाम्रो भाषाका नयाँ निर्देशक र प्रायः सबैजसो शिक्षकमा छैन । वास्तवमा यस्ता तत्सम प्रकृतिका शब्दलाई प्रकृतिको सुरक्षा गरेर लेख्ने बानीको विकास गर्न सकियो भने विद्यार्थीले ‘स्विकार्छ’ शब्दका सादृश्यमा ‘स्विकार’ लेख्ने किसिमका गल्तीहरू गर्ने थिएनन् ।

उ लेख्ने कि ऊ ?

हाम्रो किबोर्डमा एउटै शब्दमा ह्रस्व उकार र दीर्घ ऊकार दुवैको प्रयोग भएका शब्दहरूको सङ्ख्या पनि अत्यधिक छ । ‘सासू’ मात्र हुनुपर्नेमा ‘सासु’ पनि छ । ‘पूर्ण’ मात्र शुद्ध हो भन्ने ख्याल नगरिएका कारण ‘पुर्ण’ पनि समावेश गरिएको छ । ‘सुखी’ शब्द शुद्ध हो भन्ने थाहा नपाउनेलाई ‘सूखी’ शब्दले पनि झुक्याउने अवसर हाम्रो किबोर्डले नै दिएको छ । ‘फुर्तिलो’ मात्र नभएर ‘फूर्तिलो’ पनि शुद्ध ठानिएको छ । ‘लुट’ मात्र शुद्ध ठानिनुपर्नेमा ‘लूट’ शब्दले पनि सर्वसाधारण प्रयोक्ताका आँखामा लुटपाट मच्चाएको छ । यस किसिमको दोहोरो प्रयोगलाई निराकरण गर्ने दिशामा सम्बद्ध कम्पनी र प्रयोक्ताहरू स्वयंको पनि विशेष ध्यान जानु आवश्यक छ ।

ब लेख्ने कि व ?

हाम्रो किबोर्डमा सबैभन्दा बढ्ता असावधानी ‘व’ लेख्नुपर्ने शब्दमा ‘ब’ देखिएको छ । विद्या, विद्युत्, विद्युतीय, विद्रोह, विश्व, विश्वास, विशेष, विशाल, विशिष्ट, विकास, विस्तार, वृद्ध, अवस्था, विपरीत, विज्ञानजस्ता शब्द शुद्ध हुन् भन्ने ख्याल गर्न सकेको भए हाम्रो किबोर्डद्वारा बिद्यार्थी, बिद्यालय, बिद्धुत्, बिद्धुतिय, बिश्व, बिश्वबिद्धालय, बिश्वास, बृद्ध, अबश्था, विशेश, बिशेष, बिशाल, बिज्ञापन आदि शब्दहरूमा ‘ब’कारको प्रयोग नै हुने थिएन । ‘वीकाश’ शब्द (अष्टाध्यायी ६।३।१२३) शुद्ध हो भन्ने कुरा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञिक शब्दकोशले बुझ्न सकेको भए ‘विकाश’लाई ‘बिकाश’ गर्न हाम्रो किबोर्ड पनि अग्रसर हुने थिएन होला ।

श लेख्ने कि ष-स ?

हाम्रो किबोर्डमा तीनओटै श, ष, सका सम्बन्धमा पनि अन्योल देखिन्छ । पुराना शब्दकोश (२०४०–२०५५)मा ‘शहर’ र ‘शहरीकरण’ लेख्न निर्देशन दिइएको भए पनि नयाँ शब्दकोश (२०५८–२०७५) मा भने ‘सहर’ र ‘सहरीकरण’ लेख्न निर्देशन दिइएको छ । यसका बारेमा नेपालीमा विवाद कायमै रहेका कारण हाम्रो किबोर्डमा यस्ता दोहोरै शब्द समावेश हुनु अस्वाभाविक होइन । वास्तवमा आगन्तुक शब्दमा एउटै ‘स’को प्रयोग गर्ने विषयमा सहमति जनाउन उपयुक्त भएकाले हाम्रो किबोर्डले पनि यस्ता आगन्तुक शब्दमा एउटै सकारको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसका विषयमा भारतीय प्रवासी नेपाली प्रयोक्ताहरूको विमति रहनु अस्वाभाविक देखिँदैन ।

हाम्रो किबोर्डले ‘विशेष’ शब्दलाई ‘विषेश’ र ‘बिशेश’ शब्दको प्रयोग गरेका कारण धेरैजसो पत्रकार र फ्ल्यास ब्यानर बनाउनेहरूले ‘विषेश’ शब्दलाई शुद्ध ठानेर प्रयोग गर्ने गरेको भेटिन्छ । तसर्थ यस किसिमका अशुद्धिहरू निराकरण गर्न हाम्रो किबोर्ड उत्पादक कम्पनीको ध्यान जानु आवश्यक छ ।

हलन्त लेख्ने कि अजन्त ?

हाम्रो किबोर्डमा अजन्त मात्र लेख्नुपर्ने शब्दलाई हलन्तका रूपमा समेत तथा हलन्त मात्र लेख्नुपर्ने शब्दलाई अजन्तमा समेत उल्लेख गरिएको पाइन्छ । सदैव अजन्त हुनुपर्ने ‘दुःखद’ र ‘वरिष्ठतम’ शब्दलाई हलन्त ‘दुःखद्’ र ‘वरिष्ठतम्’ पनि बनाइएको छ भने सधैँ हलन्त लेख्नुपर्ने ‘आत्मसात्’ शब्दलाई अजन्त ‘आत्मसात’ पनि उल्लेख गरिएको छ । धेरैजसो पत्रपत्रिकाहरूमा सम्भवतः यसकै प्रभावमा ‘दुःखद्’ अनुपयुक्त शब्दको प्रयोग भएको देख्न सकिन्छ । तसर्थ यस्ता अनुपयुक्त शब्दको प्रयोगबाट प्रयोक्तालाई बचाउन पनि सम्बन्धित निकायको ध्यान जानुपर्छ ।

थप अशुद्धिहरू

हाम्रो किबोर्डमा ‘स्वस्थ’ मात्र लेख्नुपर्नेमा ‘स्वास्थ’, ‘स्वास्थ्य’ मात्र लेख्नुपर्नेमा ‘स्वस्थ्य’, ‘एकाइ’ मात्र लेख्नुपर्ने ‘इकाइ’ र ‘इकाई’, ‘अत्यधिक’ मात्र लेख्नुपर्नेमा ‘अत्याधिक’, ‘उपर्युक्त’ लेख्नुपर्नेमा ‘उपरोक्त’जस्ता अनुपयुक्त शब्दहरूको प्रयोग गरिएको छ । त्यसैले यस्ता अनुपयुक्त शब्दहरूको प्रयोग हुनबाट बचाई नेपाली भाषालाई स्तरीय र मानक बनाउन पनि हाम्रो किबोर्ड एप्स उत्पादक कम्पनीको ध्यानाकर्षण हुनु जरुरी छ ।

बैठान
नेपाली भाषाको शुद्ध लेखनका सन्दर्भमा सर्वप्रथम प्रयोक्ताहरू नै सचेत हुन नसक्ने हो र सजिलोका लागि तयारी खाजाजस्तै तयारी शब्दमा मात्र बढ्ता विश्वास गर्दै त्यसको संरचना अनि शुद्धताका बारेमा प्रयोक्ता स्वयंले चासो नराख्ने हो भने एकाध व्यक्तिको चिन्ता र चासोले चलाइएका शुद्ध लेखनका अभियानहरू सार्थक र सफल हुन सक्ने छैनन् । साथै सूचना र प्रविधिको द्रुततर विकासलाई ध्यानमा राखेर तयार गरिने हाम्रो किबोर्डजस्ता एप्स र शब्दकोश एप्सका निर्माताहरूले आफ्ना कमीकमजोरीहरूलाई आत्मसात् गरेर तिनलाई निराकरण गर्दै जाने विषयमा गम्भीर नबन्ने हो भने नेपाली भाषाको शुद्धता कायम गर्दै जान निकै जटिलताहरू थपिने छन् । तसर्थ सर्वसाधारण प्रयोक्ताहरू मात्र होइन नेपाली शब्दकोश र हाम्रो किबोर्डजस्ता एप्सका निर्माताहरूको यथासमयमै यस विषयमा गम्भीर ध्यानाकर्षण हुनु अति आवश्यक देखिन्छ ।

Loading...