नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पुस्तक समीक्षा कसरी लेख्ने?

तपाईं आफ्नो लैङ्गिक पहिचान बिर्सनुहोस् । पुरुष वा महिला भएर समीक्षा लेख्दा लैङ्गिक आग्रहले घुसपेठ गर्छन् ।

पुस्तक समीक्षा लेख्ने र समीक्षक बन्ने रहर धेरैलाई हुन्छ । तर थोरैसँग यस विधामा हात हाल्ने आँट अथवा ज्ञान हुन्छ । यो एउटा जोखिमपूर्ण प्राज्ञिक अभ्यास पनि भएकोले थोरैले मात्र यसलाई अँगाल्छन् । धेरैले प्रयास गरे पनि थोरैले त्यस प्रयासलाई निरन्तरता दिन्छन् । पुस्तक किन्नुपर्यो, समय लगाएर, दोहोर्याई–तेहेर्याई पढ्नुपर्यो, लेख्नुपर्यो, पत्रिकाको सजिलो अप्ठेर र इच्छाअनुसार म्याद कुर्नुपर्यो, र छापिएपछि कुनै पनि प्रकारका आसन्न प्रतिक्रियको समना गर्न कम्मर कसेर तयार रहनुपर्यो ।

समीक्षा गर्नका लागि हातमा टिपिएको पुस्तकको मात्रै होइन, त्यसले समेट्ने विविध सिद्धान्त, त्यसको विधागत जानकारी, त्यस्तै अन्य पुस्तकको जानकारी, त्यसको लेखकको बारेमा धेरथोर जानकारी (नवसमालोचनावादीले यो पर्दैन भन्छन्, म पर्छ भन्छु) समेटिएको समय र परिवेश आदिको जानकारी हुनु अनिवार्य आवश्यक छ । साथसाथै विवेचनामा प्रयोग हुने प्राविधिक शब्दहरूको ज्ञान र मानक नेपाली अथवा समीक्षा लेख्ने भाषाको राम्रो ज्ञान पनि जरुरी हुन्छ । लेखिएको समीक्षा विश्वसनीय हुनका लागि समीक्षकको अध्ययन र ज्ञानको क्षेत्र पनि विश्वसनीय र व्यापक हुनु जरुरी हुन्छ । हुन त समीक्षा सबैले लेख्न सक्छन् भन्ने पनि गरिन्छ, तर त्यसको प्रभावकारिता कमजोर भयो भने के अर्थ ?

महेश पौड्याल

पुस्तक समीक्षा कसरी लेख्ने भन्ने विषय द्वितीयक विषय हो । पहिलो विषय हो, यो बाटो कण्टकाकीर्ण र अप्जसिलो छ, तरै पनि हिँड्छु भन्ने अठोट । सबै लेखकले समीक्षा स्वीकार्छन् भन्ने हुँदैन । सबै सम्पादकले समीक्षा छापिदिन्छन् भन्ने पनि हुँदैन । तर, आत्मविश्वासपूर्ण ढङ्गले, बाटो नबिराइकन हिँड्ने प्रतिबद्धता चाहिन्छ । र त्यो धैर्य पनि चाहिन्छ । धेरै रिसाउँछन् । केहीले सम्बन्धै विच्छेद पनि गर्छन् । स्वभावैले लेखकहरू प्रशंसा खोज्छन्, तर समीक्षकले वस्तुपरक ढङ्गले जे सत्य हो त्यो भन्ने हो । ‘मैले यस्तै देखेँ’ भनेर आत्मगत कुरा भन्न पाइँदैन ।

पुस्तक समीक्षाका लागि केही टिप्स यहाँ दिइएको छ । माथि उल्लेख गरिएजस्तो प्रतिबद्धता हुने जो कोहीले पनि यी बुँदामाथि मनन गर्न सक्छ । यी बुँदालाई नजरअन्दाज गरेर कसैले आफ्नो नविन र मौलिक कसि बनाउँदा पनि हुन्छ ।

१. पुस्तकका बारेमा प्रारम्भिक जानकारी सङ्कलन गर्नुस्ः किताबको नाम, विधा, प्रकाशन, प्रकाशन मिति, संस्करण, पृष्ठ सङ्ख्या, मूल्य आदि ।

२. लेखकका अन्य कृति, तिनीहरूको विधा र अलिकति भए पनि विषयवस्तु थाह पाउनुस् ।

३. जुन विधाको पुस्तक हो, त्यस विधाबारे सैद्धान्तिक र संरचनात्मक जानकारी, र पछिल्लो समय त्यस विधामा लेखिएका अन्य केही समकालीन पुस्तकको जानकारी सङ्कलन गर्नुस् ।

४. पुस्तक पढ्दैखेरी समीक्षा गर्नु छ भन्ने कुराको हेक्का राख्नुस् । त्यसो भयो भने, पछि सम्झनुपर्ने कुरालाई रेखाङ्कन गरिन्छ । चिनो लाइन्छ । सम्झनुपर्ने कुरा सम्झनामा राखिन्छ । सबल पक्षहरूको टिपोट बनाइन्छ । दुर्वल पक्षहरूलाई पनि चिनो लगाएर ध्यानमा राखिन्छ ।

५. पुस्तकमा प्रयुक्त कथानक, अथवा तथ्याङ्कलाई सुरुदेखि नै आलोचनात्मक ढङ्गले हेर्नुस् । के कुराहरू विश्वसनीय छन्? संभावित छन्? भ्रामक छन्? अथवा, सिर्जनशील छन्? अथवा छैनन्? निक्र्यौल गर्नुस् । प्रभाववादको चपेटमा पर्नु हुँदैन समीक्षक । यहाँनेर एउटा चिकित्सकको दृष्टान्त सटिक हुनसक्छ । बिरामीले जति नै रोइकराइ गरे पनि, जति नै पुराना कथा सुनाए पनि, र जति नै बिलौना गाए पनि एउटा चिकित्सक त्यसै रोदनसँग पग्लिएर बग्न मिल्दैन । ऊ आफ्नो ठाउँबाट कुनै पनि संवेदनाले विचलित नभई बस्नुपर्ने हुन्छ । समीक्षक पनि त्यस्तै हो । कथासँगै आँसु बगाउने, पात्रसँगै रोइदिने पाठक प्रभावको बशमा पर्छ । ऊ आलोचनात्मक बन्नै सक्दैन ।

७. भाषा कस्तो छ? शुद्ध छ? अशुद्ध छ? प्रयोगशील छ? क्लिष्ट छ? सरल छ? प्राञ्जल छ? सम्प्रेष्य छ? पत्ता लाउनुस् ।

८. पुस्कतको कभरमा के छ? कभर र कथ्यका बीच सामाञ्जस्य छ वा छैन? भित्रको प्राविधिक पक्ष कस्तो छः लेआउट, फोन्टको आकार, छापा, कागजको गुणवत्ता आदि पनि हेर्नुहोस् ।

९. चित्र छन्? चित्र र कुरोको बीचमा सामञ्जस्य छ वा छैन? चित्र सम्पादन गरिएको छ वा छैन? चित्रहरू कथ्यको सांस्कृतिक परिवेशमा फिट छन्?

१०. यी तमाम कुरा विचार गरेपछि तपाईंसँग अब पुस्तकको सबल पक्ष, दुर्वल पक्ष, यसको ऐतिहासिक, समाजिक अथवा प्राज्ञिक मूल्यको जानकारी रहन्छ, र लेखकलाई दिनुपर्ने सम्यक सुझावको सूची पनि रहन्छ ।

अब तपाईं समीक्षाका लागि तयार हुनुहुन्छ ।

लेख्नुपूर्व :

यी माथिका कुरामा स्पष्ट भएपछि, यी कुरामा ध्यान दिनुहोस्ः

१. तपाईं आफ्नो लैङ्गिक पहिचान बिर्सनुहोस् । पुरुष वा महिला भएर समीक्षा लेख्दा लैङ्गिक आग्रहले घुसपेठ गर्छन् ।

२. तपाईं आफ्नो धार्मिक, क्षेत्रीय अथवा जातीय पहिचान बिर्सनुहोस् ।

३. तपाईं आफ्ना सैद्धान्तिक अथवा राजतैतिक आग्रह पनि बिर्सनुहोस् ।

४. लेखकसँग तपाईंको कुनै प्रकारको करिबी सम्बन्ध, मनमुटाव अथवा दुष्मनी छ भने त्यो पनि बिर्सनुहोस ।

५. तपाईंलाई यो समीक्षा लेखेवापत लेखक वा प्रकाशक अथवा उनीहरूका करिबीहरूबाट कुनै नाजायज (पारिश्रमिक अथवा प्राज्ञिक मूल्याङ्कनबाहेकको) फाइदा हुने सम्भावना छ भने समीक्षा लेख्ने काम बन्द गरिदिनुहोस् । किनकि, त्यस स्थितिमा तपाईंले आरति लुख्नुहुन्छ । पाठकबाट जस, यश, कीर्ति हाँसिल हुने, अथवा आफ्नो प्राज्ञिक उन्नति हुने कुरो यस कर्मबाट बोनसमा आउने कुरा हो । यो समीक्षा पढेर लेखकले के भन्ला भन्ने चिन्ता तपाईंको मनमा छ भने तपाईं कमजोर समीक्षक हो ।

६. यो तिरन–तारनको खेती होइन । यो विषय दिमागमा रहनु हुँदैन ।

७. तपाईं सम्पादक अथवा लेखकले दिएको दृष्टिविन्दुबाट नलेख्नुहोस् । पुस्तकले जे माग्छ, त्यो अन्तिम ।

८. जतिपल्ट, र जुन कोणबाट प्रश्न गर्दा पनि पुस्तक अब्बलै सावित हुन्छ भने अब्बलै हो । अन्यथा होइन । पुस्तकलाई प्रश्न गर्दा आफ्ना निजी आग्रहलाई त्यागेर, तटस्थ प्रश्न गर्नुहोस् ।

समीक्षा लेखन

समीक्षा लेखनको कुनै स्थापित संरचना छैन । त्यसैले, समीक्षकले सकेसम्म आफ्नै मौलिक शैली बनाउनु राम्रो । सकिएन भने, यसो गरे पनि हुन्छः

१. सुुरुमै पाठकको ध्यान तान्नु जरुरी छ । तथ्याङ्क र विवरणले ध्यान तान्दैन । त्यसका लागि कुनै कथाशैलीको प्रसङ्ग, अथवा केही प्रश्नबाट सुरु गर्नु राम्रो ।

२. यी प्रसङ्ग अथवा प्रश्न राखेपछि पुस्तकको कुरा जोड्नुहोस्ः पुस्तक, लेखक, प्रकाशन, प्रकाशन सन्दर्भ अथवा अरु केही आवश्यक कुरो, प्रकाशन समय, चर्चा, पुरस्कार..आदि ।

३. अब पुस्तकमा के छ, त्यो भन्नुहोस्, संक्षेपमा ।

४. पुस्तकमा के छैन, त्यसको चर्चा गर्ने होइन । शीर्षक पढ्दा यो चाहिँ हुनुपर्ने भन्ने लागेको, तर भित्र पढ्दा नभनेटेको कुरा छ भने प्रश्न उठाउन पाइन्छ । अथवा, एउटा समूहका सूचनामा केही छुटे भने सम्झाउन पाइन्छ ।

५.अब पुस्तकले अघि सारेका तथ्य र कुराको सामाजिक, साहित्यक, प्राज्ञिक मूल्यको कुरा गर्नुस् ।

६. पुस्तकका सबल पक्ष केके छन्, लेख्नुहोस् ।

७. पुस्तकका दुर्वल पक्ष केके छन्, लेख्नुहोस् ।

८. लेखकलाई दिनुपर्ने केही सुझाव छ? छ भने, दिनुहोस् । छैन भने त छैन ।

नोटः

राम्रो समीक्षकलाई हेक्का हुनुपर्छ कि कुनै पनि दृष्टिकोण वैयक्तिक हुने हुनाले अन्तिम सत्य होइन । त्यसैले, विशेषण प्रयोग गर्दा सधैँ सचेत हुनुपर्छ । अब्बल, शक्तिशाली, अत्यन्तै शक्तिशाली, प्रभावशाली, कोशेढुङ्गो, उत्कृष्ट, निकृष्ट, निम्न कोटिको…आदिआदि विशेषण प्रयोग गर्नु हुँदैन । किताब बलियो छ भने, ती बलिया पक्षको विश्लेषण गर्ने हो । पाठकले आफैँ विशेषण जुराउँछन् । निकृष्ट छ भने पनि, किताबको कमजोर पक्ष केलाइदिएपछि पाठकले आफैँ निकृष्ट भएको निचोड निकाल्छन् । समीक्षाका नामका पुस्तकको विज्ञापन नगर्नुहोस् । यो किताब पढ्न योग्य छ वा छैन भन्ने एउटा वस्तुगत निचोड पाठकले तपाईंको समीक्षा पढेपछि निकालोस् ।

राम्रो समीक्षा लेख्नुहोला, शुभकामना !

Loading...