नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘यात्री’ कविताभित्रको अध्यात्म

(सारसंक्षेप – लक्ष्मीप्रसाद देवकोटा नेपाली कविताको फाँटमा उल्लेख्य योगदान दिने व्यक्ति हुन् । उनको ‘यात्री’ कविता आध्यात्मिक विषयवस्तुमा आधारित देखिन्छ । पूर्वीय मनीषीहरूका चिन्तन र मननमा सुझाएइको अध्यात्म दर्शनको शरीररचना विज्ञानलाई मूल सिद्धान्त मानी ‘यात्री’ कवितामा आध्यात्मिकता पहिल्याउने कार्य प्रस्तुत लेखमा गरिएको छ । यस कवितामा कविले मानिसको काँधमा चढी मन्दिरमा पूजा गर्न हिँडेको ‘यात्री’लाई तिमी कुन मन्दिरमा, के सामग्री लिएर पूजा गर्न जाँदैछौ ? भनी गरिएका प्रश्न र तिनको उत्तर समेटिएको छ । यसमा कविले यात्रीलाई ईश्वरको प्राप्ति मानिसद्वारा बनाइएका कृत्रिम वस्तुमा हुँदैन शरीरभित्र हुन्छ भनी शरीरका अङ्ग र तत्त्वहरूलाई ईश्वर बस्ने मन्दिरका रूपमा प्रस्तुत गरेका छन् । त्यसैले यस कविताको विश्लेषणबाट ईश्वरको साक्षात वास भएको स्थान मानव शरीर हो, ईश्वरको खोजी शरीरभित्रै गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ ।)

शब्दकुञ्जी : शरीररचना, अध्यात्मिकता, मन्दिर, यात्री, दर्शन आदि ।

१. विषय परिचय

लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६–२०१६) बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् । उनले नेपाली साहित्यका कविता, निबन्ध, कथा, नाटक, उपन्यास र समालोचना विधामा कलम चलाए पनि कविता र निबन्ध विधामा उनको विशेष योगदान रहेको देखिन्छ । उनको ‘यात्री’ कविता ‘भिखारी’ (२०१०) कविता सङ्ग्रहमा सङ्कलित छ । उनका करिब छ सय फुटकर कवितामध्ये ‘यात्री’ मानवतावादी कविता हो । देवकोटालाई मानवतावादी, आस्तिक, प्रकृतिप्रेमी, क्रान्तिकारी र राष्ट्रवादी कविका रूपमा चिनाइएको छ (भट्टराई, २०५१, १८०–१८४) । उनको मानवतावाद ‘समानता, स्वतन्त्रता र भातृत्व’को फ्रान्सेली दर्शनमा आधारित रही प्रकृति, ईश्वर र मानवका त्रिभुज सम्बन्धमा केन्द्रित रहेको छ (त्रिपाठी र अन्य, २०४५, १४४) । यो दर्शनले मानिसको उपकार, सेवा र भलाइमा विश्वको भलाइ छ भन्ने मान्यता राख्दछ (भट्टराई, २०५१, १८०) । उनले “मानवतावादी पृष्ठभूमिमा ईश्वरको जुन स्थापना गरेका

डा. खगेन्द्र घोडासैनी
डा. खगेन्द्र घोडासैनी

छन्, त्यो उच्चकोटीको छ” (जोशी, २०४५, ४९) तर देवकोटाको यो दर्शन फ्रान्सेली मानवतावादमा मात्रै सीमित देखिँदैन । यसको सम्बन्ध पूर्वीय मनीषीहरूका रचना वेद, उपनिषद् र गीतामा प्रतिपादित शरीररचना विज्ञानसँग पनि छ । ईश्वरलाई प्रत्यक्ष वा साकार रूपमा मानवबाहेक अरू प्राणी र वस्तुतर्फ केन्द्रित गराउने पाखण्डीहरूको विरोध र वेद, उपनिषद् र गीतामा प्रतिपादित ईश्वरको स्थापना ‘यात्री’ कवितामा गरिएको छ । त्यसैले यस लेखमा ‘वेद, उपनिषद् र गीतामा प्रतिपादित शरीररचना र आध्यात्मिक चिन्तन तथा ‘यात्री’ कविताको विचारमा समानता छ’ भन्ने विषयलाई प्रमुख प्राक्कल्पना बनाइएको छ । लक्ष्मीप्रसाद देवकोटा चिन्तन र मनन गर्ने दार्शनिक कवि हुन् । उनका विचारमा देखावट र लोकप्रियताका पछि लाग्ने मानिसहरू बोक्रे हुन् । बोक्रे चिन्तन अँगालेका मानिसहरू भित्र हेर्न छाडेर बाहिर हेर्न थाल्दछन् (देवकोटा, २०५७, ६५) । हरेक वस्तुमा रहस्यको मात्रा नदेख्ने यथार्थवादी बोक्रे हो (देवकोटा, २०५७, ८५) । त्यसैले हरेक वस्तुलाई सतही र वस्तुगत रूपमा हेर्ने तर गहिराइमा नजाने चिन्तन बोक्रे चिन्तन हो । देवकोटाले ईश्वरको खोजी गर्दा पनि त्यसको गहिराइमा पुगेर निष्कर्ष निकालेका छन् । ‘यात्री’ कवितामा ईश्वरको चिन्तन गहिराइमा गएर गरिएको छ । ‘यात्री’ कवितामा व्यक्त आध्यात्मिकता पहिल्याउनु यस लेखको प्रमुख उद्देश्य हो । यो उद्देश्य हाँसिल गर्न ‘प्रस्तुत लेखमा ईश्वर प्राप्तिमा मनुष्य शरीरको के कस्तो महत्त्व रहेको हुन्छ’ भन्ने कुरालाई प्रमुख समस्या मानी ‘यात्री’ कवितामा पाइने आध्यात्मिकताको विश्लेषण गर्ने प्रयास गरिएको छ ।

 

प्रस्तुत अध्ययनमा ‘यात्री’ कविता र यसको विषयवस्तुसँग सम्बन्धित विभिन्न कृति, लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ ।

 २. अध्ययन विधि
यस अध्ययनमा निम्नानुसारको अध्ययन विधि अवलम्बन गरिएको छ स्
२.१ अनुसन्धानको ढाँचा : यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा कृतिबाट प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।
२.३ जसङ्ख्या र नमुना छनोट : प्रस्तुत लेखमा लक्ष्मीप्रसाद देवकोटाका सबै कवितालाई जनसङ्ख्याका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावनारहित नमुना छनोट पद्धतिअन्तर्गतको उद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा देवकोटाका रचनामध्ये उनको ‘यात्री’ कविता छनोट गरिएको छ ।
२.४ तथ्याङ्क सङ्कलन : प्रस्तुत अध्ययनमा ‘यात्री’ कविता र यसको विषयवस्तुसँग सम्बन्धित विभिन्न कृति, लेखहरूलाई आधार बनाएर तथ्य सङ्कलन गरिएको छ ।
२.५ तथ्याङ्क सङ्कलनका साधन : यस अध्ययनमा दस्तावेजको विश्लेषण गर्न प्राथमिक र द्वितीय स्रोतका विभिन्न प्रकाशित पुस्तक, पत्रिका र लेखहरूको उपयोग गरिएको छ । त्यसैले यसमा प्रकाशित दस्तावेजमा प्राप्त तथ्यको विश्लेषण गरी निष्कर्ष निल्काने प्रयास गरिएको छ ।
२.६ तथ्याङ्क विश्लेषण प्रक्रिया : प्राप्त तथ्यको वर्णन, तुलना र त्यसको पुष्टिका लागि उदाहरणसमेत दिई विश्लेषण गरेर निष्कर्षमा पुग्ने काम गरिएको छ । उदाहरण र समीक्षात्मक विश्लेषण गरेर निष्कर्ष निकाल्ने प्रयास गरिएको यस लेखमा आगमन विधिबाट विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।

३. सैद्धान्तिक पर्याधार
‘यात्री’ कवितामा प्रतिपादित विचारलाई उपनिषद्, गीता, वेद र श्रीमद्भागवत्को शरीररचना विज्ञानको सैद्धान्तिक आधारमा अनुसन्धानात्मक व्याख्या र विश्लेषण गरी निष्कर्ष निकालिएको छ । यस कविताको सैद्धान्तिक पर्याधार शरीररचना विज्ञान हो । यो सिद्धान्त वेद, उपनिषद् र गीतामा प्रतिपादित छ । अध्यात्म दर्शनमा शरीरलाई ईश्वर प्राप्तिको साधन मानिएको छ । “शान्तकारं….योगिभिर्ध्यानगम्यं” योगीजनले ध्यान गरेर ईश्वरको अनुभव गर्छन् अनि “यं ब्रह्मा ….ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो” (श्रीमद् भागवत् महापुराण, १२, १३(१) योगीजन ध्यानमा स्थित भएर मनले ईश्वरको दर्शन गर्दछन् जस्ता भनाइले ध्यानलाई र कर्मयोगलाई महत्त्व दिइएको देखिन्छ । ध्यान र कर्म योग शरीरद्वारा गरिने भएकाले शरीर ईश्वर प्राप्तिको साधन मानिन्छ । ब्रह्मचारीको वेशमा आएका महादेवले उनैको प्राप्तिका लागि तपस्यारत पार्वतीलाई यस्तो भनेका छन् “अपि क्रियार्थ सुलभं….शरीर माद्यं खलु धर्म साधन” (कुमारसम्भव, ५÷३३) अर्थात् धर्मका जति काम छन्, तिनमा शरीरको रक्षा गर्नु सबैभन्दा पहिलो काम हो । यसैले धर्मको साधना गर्ने माध्यम शरीर बनेको देखिन्छ ।

ईश्वरको वासस्थान मानव शरीरमा हुन्छ भन्ने कुराको वर्णन मुण्डकोपनिषद्मा यसरी व्यक्त गरिएको छ–
पुरुष एवेदं विश्वं कर्म तपो ब्रह्म परामृतम् । एतयो वेद निहितं गुहायां सोऽविद्याग्रन्थिं विकरतीह सोम्य” (गोयन्दका, २०६८, २३०) अर्थात् हृदयरूप गुफामा लुकेका यी अन्तर्यामी परमेश्वरलाई जसले जान्दछ, त्यसले यस मनुष्य शरीरमा नै अविद्याजनित अन्तःकरणको गाँठो खोल्न सक्छ । यसको आशय होस यस्तो व्यक्ति सबै प्रकारका संशय र भ्रमरहित भएर परब्रह्म पुरुषोत्तमलाई प्राप्त गर्दछ । यस्तै आशय अर्को मन्त्रमा पनि प्रकट गरिएको छ– “आविः सन्निहितं गुहाचरं नाम महत्पदमत्रैतत्समर्पितम् । एजत्प्राणन्निमिषच्च यदेतज्जानथ सदसद्वरेण्यं परं विज्ञानाद्यद्वरिष्ठं प्रजाना ” (गोयन्दका, २०६८, २३०) अर्थात् सर्वशक्तिमान्, सर्वज्ञ र सर्वव्यापी परमेश्वर प्रकाश स्वरूप छन् । उनी सम्पूर्ण प्राणीहरूका अत्यन्त नजिक उनैका हृदयरूपी गुफामा लुकेर बस्नाले नै उनी गुहाचर नामले प्रसिद्ध छन् । हलचल गर्ने, सास फेर्ने, आँखा चिम्लिने जति प्राणी छन्, ती सबै यिनै परमेश्वरमा स्थित अर्थात् समर्पित छन् । सबैका आश्रय यी परमात्मा नै हुन् । तपाईं यिनलाई जान्नुहोस् । यी सत् र असत् अर्थात् कार्य र कारण एवं प्रकट र अप्रकट सबै हुन् । सबैद्वारा वरण गर्न योग्य र अत्यन्त श्रेष्ठ तथा सम्पूर्ण प्राणीहरूको बुद्धिभन्दा पर अर्थात् अज्ञेय छन् ।

 

मानिसको शरीरलाई क्षेत्रका नामले पुकारिन्छ अनि जसले यसलाई जान्दछ उसलाई क्षेत्रज्ञ भनिन्छ ।

उपनिषद्का यी मन्त्रमा ईश्वरको वासस्थान सजीव प्राणीहरूका अन्तरमा हुन्छ भनिएको छ । त्यसकारण उपनिषद्ले ईश्वरको खोजी मानव शरीरभित्रै गर्न प्रेरित गर्छन् । मानिसद्वारा बनाइएका बाहिरी साधनहरू जस्तै तीर्थ, धर्मस्थान र धर्मग्रन्थमा ईश्वरलाई खोज्न प्रेरित गर्दैनन् । हाड, छाला, मासु, रगत र नसाहरूबाट ईश्वरले नै बनाएको शरीररूपी घर नै वास्तवमा ईश्वरलाई खोज्ने ठाउँ हो । शरीर नै ईश्वर प्राप्तिको साधन हो, त्यसैमा खोज्नुपर्छ । यसबाट उपनिषद्ले शरीररचना विज्ञानलाई महत्त्व दिइएको देखिन्छ ।

मानिसको शरीरलाई क्षेत्रका नामले पुकारिन्छ अनि जसले यसलाई जान्दछ उसलाई क्षेत्रज्ञ भनिन्छ । जसरी क्षेत्र (भूमि) मा बिउ रोपेपछि त्यसको गुणअनुसार फल फल्दछ र त्यसको उपभोग किसानले गर्नुपर्दछ त्यसैगरी यो शरीरमा रोपिएका कर्मका संस्काररूप बिउको फलरूपी परिणाम जीवात्माले भोग्नु पर्दछ (गीता, १३, १) । शरीररूपी क्षेत्रमा पञ्च महाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश), अहंकार, बुद्धि र मूल प्रकृति (सत्त्व, रज र तम गुणको साम्यावस्था), दस इन्द्रियहरू, मन र पाँच इन्द्रियका विषयहरू (शब्द, स्पर्श, रूप, रस र गन्ध) तथा इच्छा, द्वेष, सुख, दुःख, स्थूल शरीरको पिण्डीय चेतना र घृति (राजसी भोगको इच्छा) जस्ता विकारहरू रहेका हुन्छन् (गीता, १३, ५–६) । क्षेत्रज्ञ पुरुषहरूले शरीरभित्रै गएर योग, अभ्यास र ध्यानका माध्यमबाट परम पुरुषलाई प्राप्त गर्न सक्छन् । ती परमात्मा चराचर सम्पूर्ण प्राणीहरूका भित्र र बाहिर परिपूर्ण छन् अनि चर र अचर पनि उनै छन् । उनी सूक्ष्म भएर अविज्ञेय छन् तथा धेरै नजिक भएर पनि नजान्नाले टाढा छन् (गीता, १३, १५) । ती परब्रह्म ज्योतिहरूका पनि ज्योति एवं मायाबाट धेरै टाढा छन् । ती परमात्मा बोधस्वरूप जान्न योग्य एवं तत्त्वज्ञानबाट प्राप्त गर्न योग्य छन् अनि सबैका हृदयमा विशेष रूपले स्थित छन् (गीता, १३, १७) । परमात्मा सबै प्राणीहरूका हृदयमा स्थित सबैका आत्मा हुन् तथा सम्पूर्ण प्राणीहरूका आदि, मध्य र अन्त पनि उनी नै हुन् (गीता, १०, २०) । उनलाई मन र इन्द्रियसहित वशमा राख्नेवाला आशा र सङ्ग्रहरहित योगीले एक्लै एकान्त स्थलमा बसेर आत्मालाई निरन्तर परमात्मामा लगाएपछि प्राप्त गर्न सक्छ (गीता, ६, १०) । परमात्मालाई प्राप्त गर्न भक्ति गर्नेहरू अर्थार्थी (पैसाका लागि), आर्त (सङ्कट निवारण), जिज्ञासु (परमात्माको यथार्थरूप जान्न चाहने) र ज्ञानी (ज्ञान चाहने) गरी चार प्रकारका हुन्छन् (गीता, ७, १६) । अनि यस्ता भक्तमध्ये परमात्मामा नित्य एकीभावले अनन्य प्रेम भक्तिवाला ज्ञानी भक्त अति उत्तम छन् किनभने परमात्मालाई तत्त्वले जान्न चाहने ज्ञानीका लागि उनी प्रिय छन् र ज्ञानी भक्त उनलाई प्रिय लाग्दछन् (गीता, ७, १७) । यस्तै उत्पत्ति र विनाशको गुण भएका सम्पूर्ण पदार्थहरू ईश्वरको अधिनमा छन् । त्यस्ता ईश्वर मनुष्य शरीरमा अन्तर्यामी रूपले सदैव विद्यमान रहेका हुन्छन् (गीता, ८. ४) । जो व्यक्ति अन्तकालमा पनि परमात्मालाई नै स्मरण गरेर शरीर त्याग गर्दछ, उसले परमात्माको साक्षात् स्वरूपलाई प्राप्त गर्दछ । यसमा कुनै संशय छैन । जुन मनुष्यले अन्तकालमा जुन जुन भाव स्मरण गर्दै शरीर त्याग गर्दछ, त्यो त्यो भाव नै उसलाई प्राप्त हुन्छ किनकि ऊ सधैँ त्यसै भावमा लागि परेको हुन्छ (गीता, ८. ५ र ६) । यसरी गीताले पनि शरीरलाई भगवत् प्राप्तिको साधन मानेको छ ।

भगवत् प्राप्ति बाहिरी कर्म गरेर हुँदैन भन्ने कुरा मुण्डकोपदिषद्मा यसरी उल्लेख गरिएको छ–“प्लवा ह्येते अदृढा यज्ञरूपा, अष्टादशोक्तभवरं येषु कर्म । एतच्छेयो येऽभिनन्दति मूढा, जरामृत्युं ते पुनरेवापि यान्ति”(गोयन्दका, २०६८, २१६) । अर्थात् नित्य, दर्श, पौर्वमास, चातुर्मास आदि अठार प्रकारका यज्ञका भेद छन् । सकाम कर्मको वर्णन गरिएका यी यज्ञरूपी अठार प्रकारका डुङ्गाहरू दृढ छैनन् । यिनका सहायताले संसाररूपी समुद्रबाट पारी पुग्न त परै जाओस् यस लोकका वर्तमान दुःखरूपी ससाना नदीहरू तरेर स्वर्गसम्म पुग्ने कुरामा शङ्का छ । जसले यिनैबाट जीवको कल्याण हुन्छ भन्ने ठान्दछन् ती मूर्ख हुन् किनभने यी लक्ष्यमा नपुगेर बिचमै छिन्नभिन्न हुन्छन् । यस रहस्यलाई नबुझेर जो मूर्खहरू यी सकाम कर्महरूलाई जन्ममृत्युको निराकरणका उपाय ठान्दछन्, यिनको प्रशंसा गर्दछन्, तिनले अवश्य जन्ममृत्युका दुःखहरू झेल्ने छन् । ऐतरेयोपनिषद्मा मानव शरीरको सृष्टि हुँदादेखि नै यसमा प्रत्येक देवताको वास रहेको भनिएको छ– “अग्निर्वाग्भूत्वा मुखं प्राविशद्वायुः प्राणो भूत्वा नासिके प्राविशद् आदित्यश्चक्षुर्भूत्वाक्षिणी प्राविशद्दिशः श्रोत्रं भूत्वा कर्णो प्राविशन्नोषधिवनस्पतयो लोमाग्नि भूत्वा त्वचं प्राविशंश्चन्द्रमा मनो भूत्वा हृदयं प्राविशन्मृत्युरपानो भूत्वा नाभिं प्राविशदापो रेतो भूत्वा शिश्नं प्राविशन” (गोयन्दका, २०६८, २८०) । अर्थात् सृष्टिकर्ता परमेश्वरको आज्ञा पाएर अग्नि देवताले वाक् इन्द्रियको रूप धारण गरी परमात्माले सृष्टि गरेका मनुष्यको मुखमा प्रवेश गरेर जिब्रालाई आफ्नो आश्रय बनाए । त्यसपछि वरुण देवता पनि रसना इन्द्रिय बनेर मुखमा प्रविष्ट भए । वायु देवता प्राण भएर नासिका मार्गबाट छिरेर सम्पूर्ण शरीरमा प्रविष्ट भए । अश्विनीकुमार पनि प्राणको रूप धारण गरेर नासिकामा प्रवेश गरे । सूर्य देवता नेत्रेन्द्रिय बनेर आँखामा, दिशाभिमानी देवता श्रोतेन्द्रिय बनेर दुबै कानमा, औषधि र वनस्पतिका अभिमानी देवता रौँ बनेर छालामा, चन्द्रमा मनको रूप धारण गरेर मनमा, मृत्यु देवता अपानको रूप धारण गरेर नाभीमा अनि जलका अधिष्ठातृ देवता वीर्य बनेर लिङ्गमा प्रविष्ट भए । यसरी सम्पूर्ण देवताहरू इन्द्रियको रूप धारण गरेर आआफ्नो उपयुक्त ठाउँमा प्रवेश गरी स्थिर भएर बस्न थालेको उल्लेख गरिएको छ ।

वेदमा पनि देवताहरूको वास शरीरमा छ भनिएको छ– “पुरुष एवेदं सर्वं यद्भूतं यच्च भाव्यम् । उतामृतन्वस्येशानो यदन्नेनातिरोहति” (शुक्ल यजुर्वेद संहिता, सन् १९८७, ५२४) अर्थात् यो संसारमा जे जति निर्मित भएको छ त्यो सबै एउटै परम पुरुषबाट भएको हो । ती परम पुरुष सधैँ सबैमा व्याप्त छन् । ती अमरत्व प्रदान गर्नेवाला हुन् । तीबाहेक अमरत्व प्रदान गर्नेवाला अरू कोही छैन । “चन्द्रमा मनसो जातश्चक्षोः सूर्यो अजायत, श्रोताद्वायुश्च प्राणश्च मुखादग्निरजायत” (शुक्ल यजुर्वेद संहिता, सन् १९८७, ५२६) अर्थात् सर्वव्यापक परमात्माका मुखबाट चन्द्रमा, आँखाबाट सूर्य, कानबाट वायु र प्राण तथा मुखबाट अग्निको उद्भव भयो । यसरी ती परम पुरुष नै सम्पूर्ण देवताका स्रोत हुन् । त्यसैले देवताको उत्पत्ति पनि उनै ईश्वरबाट भएको हो । यसरी उत्पन्न भएका देवताहरूको वास मानव शरीरमा नै रहेको हुँदा तिनको खोजी पनि शरीरमै गएर गर्नु पर्ने कुरा वेदले औँल्याएको देखिन्छ ।
यसरी मावन शरीरका तत्त्वहरूलाई सबल बनाउने देवताको वास पनि शरीरभित्रै रहेको कुरा अध्यात्म दर्शनमा बताइएको छ । मानव शरीरका यी तत्त्वलाई वास्तुकलाका उपकरणका रूपमा अथ्र्याई लक्ष्मीप्रसाद देवकोटाद्वारा ‘यात्री’ कवितामा मानव शरीरलाई ईश्वरको वासस्थान मानिएको छ । प्रस्तुत लेखमा अध्यात्म दर्शनको यही शरीररचना विज्ञानलाई सैद्धान्तिक आधार मानी ‘यात्री’ कविताको विश्लेषण गर्ने प्रयास गरिएको छ ।

४. छलफल र विश्लेषण

संरचना, विषयवस्तु, मूलभाव वा विचार, भाषाशैली र शीर्षक जस्ता उपशीर्षक राखी ‘यात्री’ कवितामा आध्यात्मिकता पहिल्याउने कार्य निम्नलिखित रूपमा गरिएको छ

४.१ संरचना

यात्री’ कवितामा जम्मा ४२ हरफ छन् । चार हरफको एक श्लोक मान्ने हो भने यस कवितामा जम्मा साढे दस श्लोक हुन जान्छ । हरफ र श्लोक सङ्ख्याका आधारमा यो कविता लघु आकारमा संरचित छ । यो कविता मात्रिक छन्द अन्तर्गतको ‘ऊर्मि’ छन्दमा लेखिएको छ । विषम पाउमा १६ र सम पाउमा १४ मात्रा हुने अर्धसम छन्दलाई ‘ऊर्मि’ छन्द भनिन्छ । यसमा सङ्गीतको प्रधानता रहेको हुन्छ (सापकोटा, २०५२, ५४) जस्तै :

कुन् मन्–दिर्–मा जान्–छौ या–त्री
२ २ २ २ २ २ २ २ . १६ मात्रा विषम पाउ

कुन् मन्–दिर्–मा जा–ने हो ?
२ २ २ २ २ २ २ . १४ मात्रा सम पाउ

यसरी विषम पाउमा १६ मात्रा र सम पाउमा १४ मात्राका ४२ हरफबाट यो कविता संरचित भएको देखिन्छ ।

४.२ विषयवस्तु

‘यात्री’ कविता ईश्वरको खोजी र त्यसको प्राप्तिका साधन वा तरिकासँग सम्बन्धित विषयवस्तुमा आधारित देदिन्छ । यसमा मानवतावादी, रहस्यमय तथा शरीररचनाका शिल्पबाट ईश्वरको वासस्थान औंल्याइएको छ । यहाँ मानिसहरूको काँधमा चढी ईश्वरको खोजीमा हिँडेको यात्रीलाई सम्बोधन गर्दै कविले हे यात्री ! तिमी मनुष्य शरीरमा रहेका अविनाशी, बाहिरी आँखाले देख्न नसकिने सर्वशक्तिमान् ईश्वरको खोजी गर्न कुन मन्दिरमा जाँदैछौ ?, त्यहाँ जान तिमीले साथमा लैजाने पूजा सामग्री के हो ?, त्यो पूजा सामग्री सँगै कसरी लैजान्छौ ? अनि ईश्वरको साक्षात् वासस्थान भएका मनुष्यको काँधमा चढेर कुन देवपुर आर्थात् ईश्वरको घर जान खोज्दैछौ ? भनी प्रश्न गरेका छन् । यिनै प्रश्नको उत्तरमा कवि भन्छन्– हाडहरूको सुन्दर खम्बा भएको, मासुरूपी पिण्डको भित्ता भएको, मस्तिष्करूपी सुनको छानो भएको अनि नौ ओटा इन्द्रियहरूका ढोका भएको, नसारूपी नदीका तरल तरङ्गमा रगतरूपी पानी बगेको मनुष्य शरीर अपार छ । हे यात्री ! तिमी कुन मन्दिर खोज्दैछौ ? ईश्वर बस्ने मन्दिरको द्वार कुन हो ? तिमीलाई थाहा छ ? मानिसको मनरूपी सुन्दर सिंहासनमा नै जगदीश्वर विराजमान छन् । यो चेतन शरीर नै ती हिरण्मय ज्योतिरूपी परमात्मा बस्ने ठाउँ हो । मनुष्यको शिर नै ईश्वररूपी मन्दिरका शिरको मुकुट हो । शरीररूपी यो सुन्दर मन्दिर विश्वभरि छ अर्थात् शरीरमा भएर पनि जगत्व्यापी छ । ईश्वर शरीरभित्र छन् तर तिम्रो खोजी बाहिर छ । बाहिरी आँखाद्वारा बाहिरी सहरमा ईश्वर खोज्दै छौ जहाँ ईश्वर छैनन् । ईश्वरको वासस्थान गहिराइमा छ, तिमी भने सतहमा खोजी गरिरहेका छौ । ईश्वरसँग भेट गर्न चाहन्छौ भने हृदयको ज्ञानरूपी बत्ती बाली हेर । हे यात्री साथी ! ईश्वर बिच सडकमा हिँडिरहेका छन् । असल काम गर्ने हातहरू ईश्वरले चुम्दछन् । ईश्वरका जादुगरी हातले सेवकहरूको साथ दिन्छन् । ईश्वरको आफैँभित्र अनुभूति गर्नेहरूले उनलाई सडक किनारमा बसी चराहरूको भाषामा गीत गाएको देख्छन् । यस्तै उनी मानिसहरूका दुख र पीडाको गानामा बोल्दछन् । यी चर्मचक्षुले र कानले ईश्वरको कहीँ कतै दर्शन र श्रवण हुँदैन किनकि उनी अगम, अदृश्य र अपरम्पार छन् । त्यसैले हे यात्री ! तिमी कुन मन्दिरमा जान्छौ ? ईश्वरको वास भएको मानव शरीररूपी परिचित देशलाई छोडी कुन नयाँ र बिरानो देशमा जाँदैछौ ? त्यो बिरानो देशमा ईश्वरलाई खोज्न नजाऊ, बरु फर्क । जाऊ मानिसहरूको पाउमा मलम लगाऊ । स्वयं ईश्वर नै मानिसको रूपमा आएका हुनाले त्यो दिव्य मुहार हँसाऊ भनी संसारका बाहिरी वस्तुमा ईश्वरको खोजी गर्दै भड्कीएका यात्रीलाई लक्षित गर्दै ईश्वर प्राप्तिको साधन शरीर हो । यही शरीरभित्र गएर खोज । चर्मचक्षुले ईश्वर देखिँदैनन् बरु मानव सेवा गरेर प्रत्यक्ष ईश्वरको दर्शन गर भनी कविले यस कवितामा ईश्वर प्राप्तिको साधन पनि पहिल्याउने काम गरेका छन् । त्यसैले ‘यात्री’ कविताको मूल विषयवस्तु ईश्वरको खोजी र त्यसको प्राप्तिका उपायहरूसँग सम्बन्धित रहेको देखिन्छ ।

‘यात्री’ कविताको विषयवस्तु वेद, उपनिषद् र गीताद्वारा प्रतिपादित जन्म र मृत्युको चक्रबाट मुक्त हुन चाहने जिज्ञासुका लागि सुझाइएको अध्यात्म दर्शनमा आधारित छ । यसमा बाहिरी वस्तुमा ईश्वर खोज्नेहरू आफूले बनाएका संरचना वा मन्दिरमा जान स्वयं ईश्वरले बनाएका मन्दिररूपी मानवको काँधमा चढेर पुण्य आर्जन गर्न खोज्ने पाखण्डीहरूप्रति व्यङ्ग्य गर्दै तिनका क्रियाकलापको विरोध र ईश्वरको सर्वव्यापकताको सिद्धि गर्ने विषयवस्तुको उपस्थापन कविले गरेका छन् ।

४.३ मूलभाव वा विचार

‘यात्री’ कवितामा दार्शनिक विचार र मानवतावादी भावना पाइन्छ । कविले अध्यात्म दर्शनलाई सरल र शिष्ट तरिकाले प्रस्तुत गरेका छन् । यो शान्त रसयुक्त कविता हो । अध्यात्म दर्शन भक्ति भावना प्रधान दर्शन हो । मानवतावादी दर्शन हो । यसले ईश्वरको सर्वव्यापकत्व स्वीकार गर्छ तर ईश्वरको बाहिरी रूपमा दर्शन हुन्छ भन्ने भ्रम पाल्दैन । यदि बाहिर ईश्वरको दर्शन हुन्छ भने त्यो केवल प्राकृतिक कुरामा हुन्छ मानिसहरूले बनाएका कृत्रिम वस्तुमा हुँदैन । दुःखी मानिस, उनीहरूको सेवा, चराको बोली आदि प्राकृतिक कुरा हुन् । ईश्वर सर्वव्यापक भए पनि उनको प्राप्ति मानव अन्तर्हृदयमा हुन्छ । ईश्वर अनुभवगम्म विषय हो, प्रत्यक्ष दर्शन हुने ठोस, तरल वस्तु होइन । ईश्वरलाई चर्मचक्षुले हेर्न खोज्नु मूर्खता हो । मानिसको काँधमा चढेर ईश्वरलाई खोज्न बाहिर हिँड्नु त झन महामूर्खको काम हो । यो तरिकाले ईश्वरको प्राप्ति त के उनको गन्धसमेत पाउन सकिँदैन । ईश्वरको प्राप्ति शरीरभित्रै गएर खोजी गर्नाले हुन्छ । मनुष्य शरीर नै ईश्वर बस्ने असली र वास्तविक घर हो भन्ने मूल भाव वा विचार ‘यात्री’ कवितामा व्यक्त भएको पाइन्छ ।

४.४ भाषाशैली

‘यात्री’ कविता सम्बोधन शैलीमा लेखिएको छ । यहाँ कविले ‘यात्री’लाई सम्बोधन गर्दै आफ्ना जिज्ञासा अघि सारेका छन् अनि तिनको आफैँ उत्तर पनि दिँदै गएका छन् । यस कवितामा प्रचलित तत्सम, तद्भव र आगन्तुक शब्दको प्रयोग पाइन्छ । यसमा ताज, तिलस्मी, दिवार, मलम जस्ता आगन्तु शब्द, मन्दिर, यात्री, सामग्री, पूजा, देवपुरी, सुन्दर, मांसपिण्ड, मस्तिष्क, इन्द्रिय, तरल, तरङ्ग, सिंहासन, जगदीश्वर, चेतन, ज्योति, हिरण्मय, विश्वक्षेत्र, ईश्वर, चर्मचक्षु, हृदय, प्रचुर, दर्शन, आर्त, दिव्य मुहार, अपार जस्ता तत्सम र काँध, साथ, कसोरी, लाने, छाना, गाना, ताना, काना, पाउ, घाउ, हँसाऊ जस्ता तद्वभ र झर्रा शब्द प्रयोग भएका देखिन्छन् । शब्द प्रयोगका दृष्टिले यो कविता सरल छ । यसमा मानव शरीरका अङ्ग र यसका तत्त्वलाई वास्तुकलाका सामग्रीका अर्थमा प्रयोग गरी ईश्वर निर्मित मानव शरीर नै मन्दिर हो र यही नै ईश्वर प्राप्तिको असली साधन हो भनिएको छ । मानिस र उसको सेवाबाटै ईश्वरलाई खुसी पार्न सकिन्छ । बाहिरी पूजा र पूजा सामग्रीको कुनै अर्थ छैन । ईश्वर अनुभूतिजन्य विषय भए पनि मानिसहरू चर्मचक्षुले हेर्न खोज्दछन् अनि नपाउँदा निराश हुन्छन् । ईश्वरलाई पाउने देश अर्थात् शरीरलाई छोडेर विदेश अर्थात् मन्दिरतिर धाइरहेकाले खाली हात फर्किनु परेको कुरालाई यसमा व्यङ्ग्य पनि गरिएको छ । ईश्वर भित्र छन्, गहिराइमा छन्, जताततै छन्, सेवकहरूसँग ईश्वर सधैँ रहन्छन् । सडक किनारमा चराको बोलीमा र मानिसहरूका पीडा र दुःखका भावनामा ईश्वर बोल्दछन् । मानिसहरूले यिनमा ईश्वर खोजी गर्दैनन् बरु मानवताकै खिल्ली उडाउने गरी मानिसहरूका काँधमा चढेर आफैँले बनाएका मन्दिरमा ईश्वर खोज्न तम्सिन्छन् ।
यसरी ईश्वर खोज्ने मानिसलाई देवकोटा अन्धकारमा रुमल्लिएको यात्री भन्दछन् । घरभित्र वा आफैँसँग भएको वस्तु बाहिरतिर खोज्दै हिँड्ने मूर्ख मानिसहरूलाई देवकोटाले मानवता विरोधी ठहयाएका छन् । त्यसैले यो कविता भाव अनुकूलको भाषामा लेखिएको छ । यस कवितामा प्रश्न र उत्तरको शैली पाइन्छ । कवि स्वयंले प्रश्न गरी त्यसको उचित समाधान पनि खोजेर हाम्रा अघि राखेका छन् । यस्ता प्रश्न र उत्तर सँगसँगै आएका हुनाले यो प्रश्नोत्तर शैलीमा रचिएको कविता हो । यसमा मानव शरीर र ईश्वरको वर्णन गरिएको छ । त्यसैले यसमा वर्णनात्मक शैली पनि पाइन्छ ।

४.५ शीर्षक

‘यात्री’ कवितामा एकशब्दे शीर्षक राखिएको छ । एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारी साधनद्वारा जाने कामलाई ‘यात्रा’ भनिन्छ । यसरी ‘यात्रा’ गर्ने व्यक्ति नै ‘यात्री’ हो । यस कविताको ‘यात्री’ मन्दिर जाँदै गरेको हुनाले यसले तीर्थतर्पको यात्रालाई सङ्केत गरेको छ । यो ‘यात्री’लाई ईश्वरको पूजा गर्ने उद्देश्यले मन्दिरतर्फ जाँदै गरेको भन्ने अर्थमा आएको हुनाले यसले ‘तीर्थयात्री’को पर्याय बुझाएको छ । तीर्थयात्रा गर्ने व्यक्तिले पूजाको सामग्री पनि बोकेको हुन्छ । यात्रा गर्दा अपनाइने साधन पनि हुन्छ । यस कविताको ‘यात्री’ बाहिरी संसारमा ईश्वर प्राप्त गर्ने लालसाले मानिसको काँधमा चढी ईश्वरको खोजी गर्दै गरेको देखिन्छ । उसको यो क्रियाकलाप देखेर कविले स्वयं मानिसको शरीर ईश्वरको मन्दिर हो, त्यसभित्र बस्ने आत्मा नै ईश्वरको प्रतीक हो । संसारमा बाहिर ईश्वर देखिँदैनन् । ईश्वर सर्वत्र छन्, उनलाई खोज्न कुन देवपुरीमा हिँडेको हो भनी यात्रीसँग प्रश्न गर्दै तिनको उत्तर पनि आफैँ दिएका छन् । कविले पीडा, दुःखमा रहेकाहरूको सेवाबाट ईश्वरको आफैँभित्र अनुभूति गर्न सकिन्छ भनेका हुनाले ईश्वर पाउन हिँडेको ‘तीर्थयात्री’ भन्ने सन्दर्भमा ‘यात्री’ कविताको शीर्षक सार्थक र उपयुक्त रहेको देखिन्छ ।

५. निष्कर्ष

‘यात्री’ कविताले अँगालेको शरीररचनापरक आध्यात्मिक जीवनदर्शन फ्रान्सेली दर्शनसँग मिल्दोजुल्दो भए पनि देवकोटाले पूर्वीय जीवनदर्शनबाट यसको प्रेरणा पाएको देखिन्छ । देवकोटा संस्कृतका पनि ज्ञाता थिए । उनको प्राचीन आर्य संस्कृतिप्रति अगाध आस्था र श्रद्धा थियो । उनी गम्भीर चिन्तन र मनन गर्थे । उनका निबन्धमा पनि सतही रूपमा गरिने चिन्तनलाई बोक्रे चिन्तन भनिएको छ । कुनै पनि कुराको गहिराइमा नगई त्यसको मर्म नुबुझी त्यसलाई अँगाल्ने वा अन्धानुकरण गर्ने मानिसहरू प्रशस्तै हुन्छन् । तिनीहरू ईश्वरको प्राप्तिका लागि गरिने उपाय वा साधनहरू अपनाउँदा पनि सत्य, तथ्य र यथार्थ कुराको खोजी नगरी बोक्रे चिन्तनका पछि लागेका हुन्छन् । तिनै मानिसहरू मध्येको ‘यात्री’ कविताको यात्री मानिसको काँधमा चढेर मन्दिरमा गई पाषाण मूर्तिको पूजा गरेर ईश्वर प्राप्ति गर्ने अभिलाषा राख्दछ जुन कुरा अध्यात्मदर्शन र शरीररचना विज्ञानसँग मेल खाँदैन । अध्यात्मदर्शनसँग सम्बन्धित पूर्वीय मनीषीका चिन्तन, खोज र धरोहरहरू वेद, उपनिषद्, गीता, श्रीमद्भागवत् जस्ता शास्त्रहरूमा ईश्वरको प्राप्ति शरीरमा गएर खोजी गर्नाले हुन्छ भनिएको छ । देवी देवताको वासस्थान पनि यही मानव शरीर नै हो । जिउँदो जाग्दो मानव शरीर नै ईश्वरको असली मन्दिर हो । मानवका वेदना, पीडा र आँसु पुछेर उनीहरूको सेवा गर्नाले सबै मानवप्रति समभाव राख्नाले मानवताको कदर हुन्छ । ईश्वर पनि यस्तै सेवकहरूलाई देखेर प्रसन्न हुन्छन् । ईश्वरको खोजी शरीर बाहिर त्यो पनि मानिसले बनाएका कृत्रिम वस्तुमा खोज्नु निरर्थक काम हो र बोक्रे चिन्तन हो । ईश्वर सर्वव्यापक छन् तर उनलाई चर्मचक्षुले देख्न सकिँदैन, आफैँभित्र अनुभव गर्न सकिन्छ भनिएको छ । त्यसैले ‘यात्री’ अध्यात्मिक कविता हो । यसले ईश्वरलाई आफैँभित्र खोज्न प्रेरित गर्दछ भन्ने निष्कर्ष निकालिएको छ ।

 सन्दर्भ कृतिसूची

कालिदास (२०२१). कुमारसम्भव महाकाव्यम्, काशी :पण्डित पुस्तकालय ।
गोयन्दका, हरिकृष्ण दास (२०६८). ईशादि नौ उपनिषद्, (तिसौं संस्करण), गोरखपुर स् गीता प्रेस ।
घोडासैनी, खगेन्द्र (२०७४).‘यात्री’ कविताको शरीररचनापरक विश्लेषण’ हैमप्रभा–१६, (पृ.२३–३१) ।
जोशी, ताराप्रसाद, सम्पा. (२०४५). नेपाली कविता संग्रह भाग–२, काठमाडौं, भोटाहिटी स् रत्न पुस्तक भण्डार ।
त्रिपाठी, वासुदेव र अन्य, सम्पा. (२०४८). नेपाली कविता भाग–२, ललितपुर स् साझा प्रकाशन ।
देवकोटा, लक्ष्मीप्रसाद (२०५७). लक्ष्मी निबन्ध सङ्ग्रह, ललितपुर स् साझा प्रकाशन ।
देवकोटा, लक्ष्मीप्रसाद (२०६०). भिखारी, ललितपुर स् साझा प्रकाशन ।
भट्टराई, घटराज, सम्पा. (२०५१). प्रतिभै प्रतिभा र नेपाली साहित्य, काठमाडौं स् एकता बुक्स डिस्ट्रिव्युटर्स, प्रा.लि. ।
लुइटेल, खगेन्द्रप्रसाद (२०६०). कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं स् नेपाली राजकीय प्रज्ञा प्रतिष्ठान ।
शुक्ल यजुर्वेद संहिता, उवट–महिधर भाष्येण च समन्विता (सन् १९८७). वाराणसी स् मोतीलाल बनारसी दास ।
श्रीमद्भगवत्गीता (२०६८). गोरखपुर स् गीताप्रेस ।
श्रीमद्भागवत् महापुराण (सन् १९९४). दिल्ली स् चौखम्बा संस्कृत प्रतिष्ठान ।
सापकोटा, नाराणप्रसाद (२०५२). छन्दोऽलंकारमाला, लेखक स्वयं प्रकाशन ।

 

Loading...