नेपाली साहित्यको सम्पूर्ण पत्रिका

भस्मासुरको देशभित्र देशको खोजी

आजका बहुसङ्ख्यक मानिसको जीवन समस्याग्रस्त र जटिल छ । समस्या र जटिलताहरूले थोपरेको पीडा, छटपटी, अन्याय, अत्याचार, शोषण र दमन आदिसँग लड्दै बिताइरहेका हरेक मानिसहरूका आफ्नै व्यथाहरू छन् । विकृति विसङ्गतिले ग्रस्त सामाजिक संरचना पनि हाम्रै आँखा अगाडि छ । र त साहित्यकारहरू जीवन जगत्कै अनुभूतिको अभिव्यक्तिलाई आफ्ना सिर्जनामा प्रस्तुत गर्दछन् । मानिसको यथार्थ जीवनलाई आत्मसात गर्ने सन्दर्भमा कविताले कुनैबेला मान्छेका दुःख पीडालाई उद्घाटित गर्छ भने कुनैबेला सुख र आनन्दलाई । त्यसैले भाव, विचार र अनुभूतिको कलात्मक र प्रभावात्मक अभिव्यक्तिलाई नै हामी कविता भन्छौँ । जीवन–जगत्का भोगाइका भावले कविता कसिलो बन्दछ । कसिलोको अर्थ कविताभित्र भएको नैतिकता, आदर्श र सौन्दर्य पक्ष हो । दिव्यदृष्टि, सौन्दर्य चेतना र स्वतःस्फूर्त संवेदनीयताका आधारमा आफ्नो परिवेशबाट उपलब्ध अनुभूतिलाई सशक्त रूपमा कविले प्रस्तुत गर्ने हुँदा कविताले हृदयमा निनाद उत्पन्न गराउने धर्म राख्दछ ।

 

एउटा कृतिभित्र आएको दृष्टि नितान्त उही लेखकको मात्रै भयो भने त्यो कृतिले सामाजिकता प्राप्त गर्न सकेन भन्ने अर्थ बुझ्नु पर्दछ ।

साहित्य लेखनमा युवा पिँढी डटेर लागेको साहित्यका पाठकलाई बोध भएको छ । यतिबेला साहित्य बजार उपन्यास, कथा र कविताको माहोलले तातेको देखिन्छ । आख्यान र काव्य दुवै विधामा युवाहरूको उपस्थिति सक्रिय रहेको मान्नु पर्दछ । कवितामा होस् या आख्यानमा यतिबेला आम पाठकले चाहेको कुरा नै चिन्तन हो चिन्ता होइन । एउटा कृतिभित्र आएको दृष्टि नितान्त उही लेखकको मात्रै भयो भने त्यो कृतिले सामाजिकता प्राप्त गर्न सकेन भन्ने अर्थ बुझ्नु पर्दछ । पाठकले कुनै कृतिमा देश भेटेनन् भने, समाज भेटेनन् भने र दर्शन भेटेनन् भने त्यो कृति कसका लागि हो त ? कृति सार्वजनिक भएपछि त्यो सबैको हुन्छ, सामाजिक हुन्छ । र, कृतिले सामाजिक परिघटनाहरुलाई बोक्न सक्नु पर्दछ । लेखकको चिन्तन र विचारले सामूहिक विश्वदृष्टि दिन सक्नु पर्दछ ।
आफ्नो कविता सङ्ग्रहसहित साहित्य बजारमा आउने कविहरूको भिड नै लागेको छ । कविताप्रतिको यो मोह कविमा मात्र नभएर पाठकहरूमा पनि बढेको छ । यसलाई कविता साहित्यको दरिलो उपलब्धि मान्नु पर्दछ । कविता रुचाउने पाठकहरुलाई कति कविले न्याय गर्न सके त कति कविले प्रचारप्रसार मात्रै गरे खास कविताको मर्मलाई पाठकसमक्ष पस्किन सकेनन् । आफ्नो पहिलो कविता सङ्ग्रह भस्मासुरको देश लिएर युवा कवि वाक्सेली थापा यतिबेला कविता बजारमा आफ्नो स्थान खोजिरहेका छन् । सङ्ग्रहमा रहेका एकाउन्नवटा कविताभित्र उनी कविताको वर्णन–कौशलमा निपूर्ण रहेका छन् । उनका कविताको भावभूमि नै सामाजिक विकृतिलाई हटाएर स्वच्छ समाजको निर्माण गर्नु रहेको देखिन्छ । तर कवि एवम् साहित्यकार सामाजिक यथार्थलाई साहित्यमा प्रतिबिम्बका रुपमा प्रस्तुत गर्नुका सट्टामा आफै निर्माणकर्ता हुन पुग्यो भने त्यो कविता नभएर एउटा नारा मात्रै हुन्छ । कथामा होस्, उपन्यासमा होस् या कवितामा होस् लेखक बढी निर्णायक कर्ता बन्यो भने त्यस्तो साहित्यले दिन चाहेको विषयवस्तु भेटिँदैन र नचाहिने कुराको फेहरिस्ता बढेको देखिन्छ ।

सान्दर्भिक पोस्ट
महेश क्षितिज

कवि वाक्सेली थापा सामाजिक परिघटनालाई जीवन्तता प्रदान गर्दै कवितामा सामाजिक समस्या देखाउँदै उज्यालो समाधान पनि हेर्न रुचाउँछन् । उनले चाहेको उज्यालो आफ्नो व्यक्तिगत स्वार्थको उज्यालो होइन । कविलाई थाह छ व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर केही लेख्न सकेमा त्यसले समूहको समानधर्मितालाई बोक्न सक्छ र सबैले आफ्नो महसुस गर्न सक्छन् । उज्यालो एवम् शान्तिलाई नै कविताको मुहान बनाउन सिपालु थापाले अँध्यारो पक्षलाई हटाउन समूहको साझा समानधर्मितालाई हतियारको हरक, लुकामारी र गान्धी समय, सिंहदरबार, छातीमा बिझाइरहेको ड्रगन, सदरमुकाम, भस्मासुरको देश, सिरानघरे माइलो कवितामा देखाएका छन् । कवि समूहको आवाजलाई यसरी लेख्छन् ः

जसरी कि
सुटुक्क बुद्घले मध्यरातमै छोडेथे दरबार
प्रत्येक दिन देखिरहेछु
मध्यरातमै जन्मिरहेछन्
समयका नयाँ कृष्ष्णहरु
र खेलिरहेछन् उकलौटी खेल
खै्र कसरी सिक्यो समयले
अँध्यारो पर्दाभित्र यसरी खेल्न । (अँध्यारो पर्दाभित्र)

 

कवि वाक्सेली थापाका कविताहरु नेपाली समाजको विगत दशकको यथार्थसँग सम्बद्घ रहेको पाइन्छ ।

कविता सौन्दर्यको पुजारी हुनुपर्दछ, नैतिकताको छहरा हुनुपर्दछ अनि आर्दशको दर्पण पनि हुनुपर्दछ । प्रकृतिको विराट रूपको माध्यमद्वारा मानवीय जगत्, संस्कृति, दर्शन र भूगोललाई कविले चिनाउन सक्नुपर्दछ । कविता भनेको मूलतः जीवन जगत्को आलोचना हो भन्ने कुरा कविहरूले बुझ्नु जरुरी छ । कवि वाक्सेली थापाका कविताहरु नेपाली समाजको विगत दशकको यथार्थसँग सम्बद्घ रहेको पाइन्छ । यस सङ्ग्रहभित्र रहेका कतिपय कविताको सामाजिक पृष्ठभूमि तत्कालीन जनयुद्घ र त्यसका क्रिया प्रतिक्रियाबाट प्रभावित नेपाली समाज र नेपाली मानसिकता रहेको बुझिन्छ ।

ठूलो अर्को नरमेध नहुने बुझेर
अब थन्क्याउनुपर्छ कोतगार्डमा
बन्दुकको डरलाग्दो हँुकार
त्यागेर बारुद पर्व
आफैँले बालेको घातक आगोमा
आाफैँ भस्म नहुने सर्तमा । ( धाँजाहरुका बिरुद्घमा)

शक्तिशाली अनुभूतिको स्वतःस्फूर्त प्रवाह मानेर हेर्दा वाक्सेली थापा युद्घ चाहदैनन् । युद्घले अशान्ति र आँसु मात्रै निम्त्याउँछ त्यसैले हाम्रा लागि युद्घ बर्जित छ र शान्ति प्रिय छ भन्छन् । कविका हेराइमा देश जून फुल्ने बारी हो र जून भनेका धरतीका सन्तानहरु ह्ुन् । हत्या हिंसा आतङ्कले सन्तानहरू निमिट्याँन्न पार्दै लगेको देखेर चित्त नबुझेको गुनासो गरेका छन् ।
कविले जुन दृष्टि राखेर कविता लेखेका छन् त्यो दृष्टिलाई समर्थन गर्नेहरुको जमात पनि थियो र असमर्थन गर्नेहरुको जमात पनि थियो । ज्ञानेन्द्र शाह राजालाई कतिले विरोध स्वरुप चोर भनेको तर चोर शब्दले सम्बोधन नगर्न कवि सबै क्रान्तिकारी साथीहरुलाई आग्रह पनि गर्दछन् । ज्ञाने चोर होइन शीर्षक झट्ट सुन्दा कवि राजा पक्ष्यका मान्छे हुन् कि भन्ने भान त आउँछ तर वास्तबमा कवि कवितामा ज्ञानेन्द्रजस्ता मान्छेहरुले आपूmलाई कसैले चोर भन्दा मनमा कस्तो भावना जागृत हुन्छ भन्ने मनोविज्ञाानलाई यसरी देखाउन खोजेका छन् ः

क्रान्तिकारी साथीहरु हो
भो यसरी नारा नलगाऊ जथाभावी
आक्रोसले तातेको सडकमा
ज्ञाने चोर होइन । (ज्ञाने चोर होइन )

सहरी जीवनका सुखहरू भन्दा ग्रामीण जीवनका दुःखहरूलाई कविले बढी प्राथमिकता दिएको देखिन्छ । सामाजिक सांस्कृतिक परिघटनाहरू पनि कविले जीवन्त रूपमा उठाएका छन् । नेपालको राजनीतिमा भइरहने उतारचढाव, राजनीतिक दल, नेता, समाजका प्रभुत्वशाली वर्गप्रति पनि कविको ठूलो गुनासो रहेको देखिन्छ । जनताहरूले न त लोकतन्त्रको महसुस गर्न पाए न त गणतन्त्रको नै । जो शक्तिमा छ अर्थात् जोसँग सत्ता छ उनीहरुले मात्र गणतन्त्रको अनुभूत गरेका छन् । विकृति र विसङ्गतिले देश, समाज र हरेक मान्छेलाई जकडेपछि कविले आफ्नै जिन्दगीलाई पनि अरुकै इशारामा चलाउनु परेको बाध्यतालाई देखाएका छन् ।
कवि थापाका कविताहरूमा सीमान्तकृत वर्ग बोलेका छन् । जुन कुराले मन छुन्छ त्यही कुरालाई इमान्दारीपूर्वक अभिव्यक्ति बनाउनु कविको आफ्नो निजात्मकता हो । अन्धो राष्ट्रवादी नाराभन्दा सघन राष्ट्रवाद र राष्ट्रप्रेममा यिनको कवितात्मक कल्पना तीब्र भएको देखिन्छ । आपूm बाँचेको युगमा भएका सामाजिक परिघटनाहरुकै सेरोफेरोमा कवि आफ्नो कविताको परिवेश निर्धारण गर्दछन् । यति हुँदाहुँदै पनि कवि कतिपय कविताभित्र आफै हराएका छन् । कविताभित्र कसरी पस्ने र कसरी निस्कने हो भन्ने प्रयासमा कवि जेलिएका छन् । बढीभन्दा बढी नेता एवम् राजनीति विषयक कविता भएकाले सबै कवितामा एकै किसिमको स्वाद पनि यहाँ भेटिन्छ । प्रथम पुरुषीय क्रियापदमा उचित भाषिक चिह्न प्रयोग नहुँदा भाव खजमजिएको तथ्यलाई कविले बुझ्न सकेका छैनन् । यी साना तर गम्भीर कमजोरीलाई कविले सुधार्नु पर्ने हुन्छ । समग्रमा थोरै कमजोरीका बीचमा पनि भस्मासुरको देश कविता सङ्ग्रहभित्रका एकाउन्नवटै कविताहरू वर्तमान समयका बिम्ब हुन् । यथार्थवादी स्वरमा प्रभावपूर्ण कविता लेख्ने कवि वाक्सेली थापाको यो सङ्ग्रह पठनीय रहेको छ ।

विधा:  कविता
प्रकाशक : बालाजी पब्लिकेशन
पृष्ठ : १२५
कृतिकार : वाक्सेली थापा
मूल्य :  २००

Loading...