नेपाली साहित्यको सम्पूर्ण पत्रिका

बस्नलाई अग्ला घर हुने तर खेल्नलाई आँगन नहुने सहर

कवि र कवितादृष्टि

आजको शृङ्खलामा हामीले कवि श्रीदीप दाहालको कवितामाथि कवि मोहन सङ्ग्रामको टिप्पणी लिएर आएका छौँ । प्रस्तुत छ कवि दाहालको तीन कवितामाथि टिप्पणीकारको टिप्पणी ।

बस्नलाई अग्ला अग्ला घर हुने तर खेल्नलाई आँगन नहुने सहर

 

१. बाग्मती कविता

श्रीदीपका कविताहरू मोतीका दानाजस्ता लाग्छन् । जसलाई उसले कल्पनाको सागरको गहिराईसम्म पुगेर जतनले ल्याएको छ । प्रस्तुत कविता बाग्मती पढ्नेले यो कुरा सजिलै महसुस गर्न सक्छन् । कविता पढ्दा अर्को पनि के कुरा महसुस हुन्छ भने, श्रीदीपसँग हरेक वस्तुलाई हेर्ने पृथक दृष्टिकोण छ, आफ्नै दृष्टिकोण छ । एउटा कविलाई आम मान्छेभन्दा पृथक बनाउन यो महत्वपूर्ण पनि हुन्छ । बर्षौँ देखि बोलिदैँ आएको कहावत ‘नपत्याउने खोलाले बगाउँछ’ माथि कवितामा कविले पेश गरेको सजीव उदाहरण र सीमित शब्दको प्रयोगले कविताप्रति कवि कति गम्भीर छ भन्ने प्रष्ट हुन सकिन्छ ।

कविः श्रीदीप दाहाल

२. स्ट्यान्डर्ड

कविता पढ्दा लाग्छ, कवि औपचारिक दुनियाँसँग दिक्क भैसके । केही न केही नाममा कहिले आफैँसँग कहिले दुनियाँसँग नाटक गरेर जिन्दगीलाई रंगमञ्च बनाउने समुदायसँगको आक्रोस कविले व्यक्त गरेका छन् । कविता मार्फत कवि तर्क गर्छन्, ः स्ट्यान्डर्डको नाममा गिलासको पिँधमा थोरै चिया छोड्नेहरूले, थालको कुनामा अलिकति खाना छोड्नेहरूले जीवनका केही कुनाहरू बाँच्न पाएका हुँदैनन् । यो रंगमञ्चमा बाँच्दा नाटक गर्न नचाहानेहरू दोषी देखिन्छन्, कविताको अन्तिम पङ्तिmमा औपचारिताको नाममा बेहिसाब गर्नुपर्ने प्रेम पनि औँला भाँचेर गर्नु पर्ने स्थिती व्यक्त गर्दै कविले प्रेमिकालाई सोधेको प्रश्नले कवितालाई झनै सशक्त र सान्दर्भिक बनाएको छ ।

जिन्दगी गणितमा हिसाब गरेर जीवन कटाउने सहरका घरबेटीले केटाकेटीको मनको हिसाब राख्न सक्दैन

३. खेल्ने उमेरमा

बस्नलाई अग्ला अग्ला घर हुने तर खेल्नलाई आँगन नहुने सहर र यहाँका खेल्ने उमेरका केटाकेटीसँग कविता सम्बन्धित छ । सबै जिन्दगी गणितमा हिसाब गरेर जीवन कटाउने सहरका घरबेटीले केटाकेटीको मनको हिसाब राख्न सक्दैन । कविले कवितामा विषयवस्तु मात्र नभई लयमा पनि खुब मिहेनत गरेको भेट्न सकिन्छ । कविता पढ्ने जो कोहीले पनि यसको लय भेट्टाउन सक्छ । एउटा अंश छ ः

जहाँ आँगन हुँदैन
घर अगाडि
घर अगाडि
गाडी हिँड्छ
कहिलेकाँही केटाकेटी कुल्चेर
जहाँ करेसा हुँदैन
घर पछाडि
घर पछाडि
ठाउँ नछाडि
कसैले अर्को घर बनाउँछ ।

कविले यो कवितामा बीचबीचमा थुप्रै पन्च लाइनहरू लेखेका छन् जो सिधै पाठकको हृदय भित्रैसम्म पुग्न सक्छन् । समग्रमा श्रीदीपका कविताहरू सरल र गहिरा छन् । यस्तो भन्नुको तात्पर्य के हो भने :  श्रीदीपले पाठकहरुलाई सजिलो बाटोबाट गहिराईसम्म पुर्याउने क्षमता राख्छ ।

अन्त्यमा :

कविः मोहन सङ्ग्राम

श्रीदीप र कविता

आर आर नजिकै
कुनै गल्लीको
चियापसलको कुनामा चुरोट पिउँदै
श्रीदीप दाहाल धुवाँको अक्षरले कविता लेख्छ ।

नबुझिने पारामा
धुवाँको अक्षरले क्रान्तीको कविता लेख्छ
नजानिदो पारामा
धुँवाको अक्षरले यौनको कविता लेख्छ

मिडियाले धुवाँको अक्षर चिन्दैन
धुँवाले मिडियाको अनुहार धमिलो देख्छ

यसरी हरेक दिन
तातो हावाले माथि उडाइरहेछ
श्रीदीपको कविता
ढुक्क भएर बस् श्रीदीप
एकदिन तेरो कविता आकाशले बाचन गर्नेछ ।

मोहन संग्रामद्वारा टिप्पणी गरिएका कवि श्रीदीप दाहालको तीन कविता यहाँ प्रस्तुत छ ।

१. बाग्मती

सानो भएर के गर्नु
सबैभन्दा धेरै मान्छे
यही खोलाले बगाएको छ ।
जुन खोलाले
आफू बग्ने
क्षमता नै गुमाएको छ ।
त्यही खोलाले
सबैभन्दा धेरै मान्छे
बगाएको छ ।
बगाइरहेको छ
बगाइरहेको हुन्छ ।
जहिल्यै गएर हेर्दा पनि
पत्याउनु हुन्छ ?
हो, नपत्याउने खोलाले बगाउँदो रहेछ ।

२. स्ट्यान्डर्ड

स्ट्यान्डर्डको नाममा
भातमाराहरू
अलिकति भोक पेटमा छाड्छन्
अलिकति भात प्लेटमा छाड्छन्
स्ट्यान्डर्ड नाममा
भातमाराहरू
चाटीचुटी आफ्नो जिन्दगी पनि जिउन सक्दैनन् ।

छाडेकै भरमा
आफ्नो स्ट्यान्डर्ड झल्कन्छ भने
राधा !
मैले तिमीलाई
कति माया गरेपछि
तिमीलाई छाड्नुपर्छ ?
स्ट्यान्डर्डको नाममा ।

३. खेल्ने उमेरमा

खेल्ने उमेरमा खेल्न नपाउँदा
खेल्दा घरबेटी जहिल्यै कराउँछ
जीवनमा कहिल्यै बाल्यकाल नआएझैँ
जीवन निः सन्तान भएर गुज्रिएकोझैँ गर्छ
घर अगाडि नखेल्नु भन्छ ।

जहाँ आँगन हुँदैन
घर अगाडि
घर अगाडि
गाडी हिँड्छ
कहिलेकाहीँ केटाकेटी कुल्चिएर ।

जहाँ करेसा हुँदैन
घर पछाडि
घर पछाडि
ठाउँ नछाडि
कसैले अर्को घर बनाउँछ ।
अनि घरबेटी
घर अगाडि नखेल्नु भन्छ
यसरी भन्छ
ऊ सधैँ हार व्यहोरेको
भूपू खेलाडी हो ।
भने जसरी भन्छ
जसलाई खेलभन्दा जीतसँग प्रेम छ ।
उसलाई थाहा छैन
खेल जित्न जितको होइन
खेलको मोह हुनुपर्छ ।

ऊ त महिना मरेको हिसाब राख्छ
मन मरेको हिसाब राख्दैन ।

तँ यो कुरा किन बुझ्दैनस् घरबेटी
केटाकेटीले बल खेल्दा
तेरो घरको झयाल फुट्छ ।
केटाकेटीले नखेल्दा
उसको मनको झ्याल फुट्छ ।
तँ यो कुरा किन बुझ्दैनस् घरबेटी
घरकोभन्दा मनको झ्याल महँगो हुन्छ ।
र कोमल पनि ।

खोलो मिचेर
घर बनाउँदा
एकदिन पक्कै आउँछ
खोलो पाहुना लाग्न ।

तेरो घरमा पाहुना लाग्न
गएका बलहरूले संकेत गर्छन्
त्यहाँ पहिला चौर थियो
केटाकेटीलाई सडकमा खेल्न दे ! घरबेटी
तँ चौरमा बसेर फूर्ति  लगाउनू ।

एउटा बूढो मान्छे
बच्चैमा मरेको
कसैले मलाई जोक सुनाएको थियो
सायद यो साँच्चै हुन्छ
खेल्ने उमेरमा खेल्न नपाउँदा ।

Loading...