नेपाली साहित्यको सम्पूर्ण पत्रिका

दाहाल यज्ञनिधिको स्मृतिमा पाल्पालीसहित तीनजना सम्मानित

साहित्यपोस्ट
साहित्यकार एवम् सञ्चारकर्मी दाहाल यज्ञनिधिको दोस्रो स्मृति दिवसको अवसरमा संक्षिप्त कार्यक्रम आयोजन गरी तीनजना प्रतिभालाई सम्मान गरिएको छ । आयोजक संस्थाका संयोजक रमेश शुभेच्छुकानुसार स्मृति सभाबाट गरिने विविध कार्यक्रममध्ये आज पहिलो कार्यक्रम गरिएको हो ।

मंगलबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा साहित्यकार पाल्पालीकै निवासमा आयोजित विशेष कार्यक्रममा तीनैजनालाई प्रा. राजेन्द्र सुवेदीले सम्मान अर्पण गरेका हुन् ।

कार्यक्रममा दाहाल यज्ञनिधि स्मृति सभाले मृगौला पीडित साहित्यकार एवम् अधिवक्ता बिके पाल्पालीलाई नगद २५ हजारसहित सम्मान गरेको हो । लामो समयदेखि मृर्गौला रोगबाट पीडित पाल्पालीको सिर्जनशीलता र उपचारमा आर्थिक सहयोग होस् भनेर सम्मान प्रदान गरिएको बताइएको छ । त्यसैगरी दाहाल यज्ञनिधि स्मृति सभाले काभ्रेकी सरिता कोइराला र धादिङकी सीता सिम्खडालाई २५ हजार नगदसहितको दाहाल यज्ञनिधि स्मृति सम्मान २०७७ संयुक्तरूपमा अर्पण गरेको छ ।

सरिता कोइराला ह्विलचियर प्रयोग गर्ने एयरपोर्टमा कम्प्युटर अपरेटरको काम गर्ने कर्मचारी हुन् । उनलाई लेखन र भिन्न क्षमताकी नवप्रतिभाको रूपमा सम्मान प्रदान गरिएको हो । सीता सिंखडालाई अर्पण गरिएको सम्मान पत्रमा लकडाउनको अवधिमा ठेलामा सुताएर मृर्गौला पीडित श्रीमतीको डायलासिस गराउँदै आएका डम्बरबहादुर सिम्खडाको समाचार कान्तिपुर दैनिकमा पढेर उहाँलाई भेटी सहयोग गर्ने उद्देश्यले सीतालाई सहयोगस्वरूप सम्मान गरिएको व्यहोरा उल्लेख गरिएको छ । कार्यक्रममा सीता उपस्थित हुन सकिनन् । उनका नामको सम्मान उनका श्रीमान डम्बर बहादुर सिम्खडाले ग्रहण गरे ।

प्रमुख अतिथि सुवेदीले तीनैजना आआफ्नै किसिमले जीवन सङ्घर्ष गरिरहेका व्यक्तिलाई सहयोग र सम्मानका लागि चययन गरेकोप्रति समितिको असल कामको प्रशंसासहित खुसी व्यक्त गरे ।

कार्यक्रममा स्मृति सभाका संयोजक रमेश शुभेच्छुले दाहाल यज्ञनिधिको सोच र आदर्शलाई अनुसरण गर्दै सम्मानका लागि पात्र चयन गरिएको बताए । “हामीले दाहाल यज्ञनिधिलाई गुमाएको दोस्रो वर्ष भइसकेको छ”, स्मृति सभाका संयोजक शुभेच्छुले दाहालका विषयमा पनि प्रकाश पार्दै भने, “हामीले उहाँकै सोच र आदर्शलाई आधार बनाएर सम्मानित व्यक्तित्व चयन गरेका हौँ । हामीले गर्ने बाँकी काम पनि उहाँको आदर्शलाई दायाँबायाँ हुन नदिने गरी गर्ने छौँ ।”

कार्यक्रममा डा. विष्णु राईले सहभागी र पुरस्कार ग्रहण गर्ने प्रतिभाहरूलाई समितिका तर्फबाट धन्यवाद ज्ञापन गरे । साहित्यकार एवम् पत्रकार ठाकुर बेल्बासेले संस्थाको परिचय दिँदै थप कार्यक्रमका बारे जानकारी थिए । उनकाअनुसार संस्थाले सीमान्तकृत एवम् समस्यामा परेका प्रतिभाहरूको सहयोगलाई लक्ष्य बनाएको बताए । कार्यक्रममा कवयित्री गीता सापकोटाले दाहालकै कविता वाचन गरेर दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिन् । कार्यक्रममा साहित्यकार डम्बर घिमिरे,सञ्चारकर्मी कृष्ण कँडेल, सञ्चार कर्मी लुइटेल दिनेशलगायत पाल्पालीका परिवारका सदस्य र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

स्मृति सभाका संरक्षक सुधा दाहाल र सदस्य निलम कार्की निहारिका काठमाडौँ बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको समतिका सदस्य लुइटेल दिनेशले जानकारी दिए ।

Loading...