नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पारिजात: आन्दोलनभित्र, आन्दोलनबाहिर

कविताकाे कथाः पारिजात र उनकाे आन्दोलन

पारिजातको नाम नेपाली साहित्यको आकाशमा चम्किरहने नामको रूपमा पाठकको मस्तिष्कमा दर्ता भएको छ । नेपाली समाजमा दुई ढुङ्गामा खुट्टा राख्नु हुँदैन भन्ने मानसिकतालाई पारिजातले  चिर्दै अलग अलग विधामा कलम चलाएकी छन् । उनले जुन विधामा टेकेर कलम चलाए पनि पाठकलाई निराश बनाउने काम गरिनन् । उनका कृतिहरू नेपाली साहित्यमा अब्बल कृतिकै रूपमा चिनिएका छन् । आज हामीले उनका कवितामाथि कुरा गरे पनि उनले आख्यान विधामा पाएको मदन पुरस्कार छुटाउनु हुँदैन । त्यसो त पारिजातलाई मदन पुरस्कार पाउने पहिलो महिलाको रूपमा पनि नेपली समाजले चिन्दैआएको छ ।

हामीले पारिजात भनेर चिनिरहँदा उनको वास्तविक नाम भने  हाम्रो मस्तिष्कबाट ओझेल हुन दिइरहेका त छैनौँ ? बिष्णुकुमारी वाइवा मात्र भन्ने हो भने नेपाली पाठकले के आँखा चिम्लेर नै पारिजातको तस्बिर सम्झन्छ ? प्रश्न छ । खैर, उनलाई नेपाली साहित्यले पारिजात नै भनेर आफ्नो कित्तामा समावेश गरेको भने पक्कै हो ।

उनको स्वभाव पानीमा रुझ्नु, कल्पना गर्नु थियो । सा–साना कुराले उनलाई निकै गहिरो प्रभाव छाड्ने गर्दथ्यो ।

उनका कृतिहरू प्रगतिवादी, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद, विसङ्गतिवादको भाव छाडेको पाइन्छ । राजनीतिक यात्रामा पनि उनको विशेष भूमिका रहेको पाइन्छ । पारिजात वि.सं. २०३५ र २०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भइन् । वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रहेको थियो ।

उनको आन्दोलन कविता निकै नै चर्चित कविता हो । जब जब मानिसहरू वा शोषित र उत्पीडितहरू आफ्ना हक, अधिकार, स्वतन्त्रता र पहिचानका लागि सडकमा उत्रन्छन् तब तब उनको आन्दोलन कविताको माग हुन्छ । मौन भएर बसेको यस कविताले आन्दोलनमा एक भाषा बनेर अग्र पङ्क्तिमा उभिएको भान हुन्छ । प्रस्तुत छ पारिजातको आन्दोलन कविता ।

आन्दोलन

चुँडालेर बन्धनबाट
आँप, बेल र पीपलको पातहरूका
एउटी विवश बेहुलीको चाहना जस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति
ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्तैन
एउटाले अर्कोलाई मार्नैपर्छ
यसो गर्नलाई
तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ ।

मण्डप भित्र मन्त्रहरूले कति दिन
छलाउन सक्छ मुक्तिलाई
के हो र मन्त्र मुक्तिको निम्ति ?

लात्ते भकुण्डो होइन मुक्ति
भरौटे खेलाडीहरूको छलाउनलाई यता र उति
होस गर्न पर्छ यस्तो सोच्नलाई
मुक्ति साङ्लामा बाँधिइन सक्ने बस्तु होइन
आकाश भरी पहिले बाटै
तैनाथ गरेर छरिता बाजाहरूको जमातमा
उडाउँछन् शान्तिकामी हातहरू सेता परेवाहरूको जोडा
शान्तिका प्रतीकहरू, रक्ताम्य अन्तरिक्ष
होस गर्नु विडम्बना हुनेछ लुम्बिनी र शान्ति क्षेत्र
काँक्रा र फर्सीका बिऊ जस्तो
पट्ट पट्ट फुटेर समयअनुकूल माटो र ऋतुमा
झाँगिदै, लहरिँदै जान्छन् आन्दोलन बनेर
मुक्तिका चाहनाहरू
चुँडालेर कथित बलियो बन्धनबाट
आँप, बेल र पिपलका रंगीचंगी पातहरूको ।

होस गर्न पर्छ यतिखेर
निर्धाका मुटु निचोर्नेहरूले
शक्तिशालीका मुटु निचोर्ने हातहरू यता पनि तयार छन्
एकपछि अर्को लस्कर लागेर ।

मुक्तिको पक्षमा होस् वा शोषितको वकालत गर्नलाई होस्, पारिजातको आन्दोलन कविताले नेपाली साहित्यमा मात्र नभएर नेपाली राजनैतीक उथलपुथलमा समेत भूमिका खेलेको पाइन्छ ।

उनको याे कविता विभिन्न अङ्कमा छापिएका छन् । उनले प्रस्तुत कविता कुन मितिमा लेखिन् भन्नेकुरा चाहिँ गोप्य नै छ । वा भनौँ प्रथमपटक कहाँ र कहिले प्रकाशित भयो भन्ने ज्ञात नभए तापनि पारिजातका कविताहरूमा उनको आन्दोलन कविता भेट्न सकिन्छ ।

युवाकवि शरद ऋतुले बुझेकाे पारिजात र आन्दोलन कविताः

कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जीलिङमा हुर्किएकी पारिजातको जीवन कुनै मिथक जस्तो लाग्छ । आदर्शजस्तो सुनिने सङ्घर्ष यथार्थमा नै उनको जीवनको पर्यायवाची थियो । अस्तित्ववादी, विसङ्गतिवादी कला–यात्राको रूझानदेखि जीवनवादी, प्रगतिशील विचार साहित्यसम्मको उनको यात्रा आफैँमा एउटा विशद ग्रन्थ हो र राजनीतिक/वैचारिक प्रगतिवादीहरूका निमित्त आदर्श संहिता पनि ।

रिमालको आमाको सपनाजस्तै पारिजातको सपना पनि उही छ, मुक्ति । आन्दोलन, सत्ताप्राप्ति र राजनीतिका विविध स्वार्थहरूका विशृङ्खल क्रीडाभूमि रहिआएको यो देशका सचेत, चेतनशील कवि,लेखकहरूको सपना र सङ्घर्ष सधैँ उही नै छ । प्रस्तुत कवितामा पनि उनी तमाम प्रकारका बन्धन, अव्यवस्था र अन्यायहरूका विरूद्ध मुक्तिको चाह राख्छिन् । मुक्ति अवश्यम्भावी छ । मुक्तिका चाहहरू काँक्रा, फर्सीका बिऊ जस्तो पट्ट फुटेर समयानुकूल माटो र ऋतुमा झाँगिदै, लहरिँदै जान्छन् । बन्धन र अन्यायका प्रतिरोधमा लाखौँ स्पार्टाकसहरू लामबद्ध हुँदैछन् र एकदिन सबै जञ्जीरहरू चुँडालेर स्वतन्त्रताको गीत गाउनेछन् ।

शरद ऋतु

पारिजातको जीवन–प्रवृत्तिमा मुखर भएर झल्किने न्याय–चेतना, जुझारूपन, साहस, अठोट उनका पछिल्ला रचनाहरूमा पनि समानधर्मी भएर देखिन्छन् । रायन, रामेश, मञ्जुल, निर्मल लामा, मोहनविक्रम सिंह लगायत अरू थुप्रै सङ्गत, अध्ययन र चिन्तनले जीवनमुखी विचारधाराप्रति एकनिष्ठ उनको जीवनको पछिल्लो कालखण्ड र रचनाधर्मिताले तमाम विपन्न, सर्वहारा, समाजको पिँधमा परेका वर्ग र जातिका लागि न्यायको आन्दोलनमा काँधमा काँध मिलाएर बढेको पाइन्छ ।

उनी कृत्रिम, मुर्दा शान्तिको पक्षमा होइन, जीवन झैँ गतिशील र शाश्वत न्याय, समानता र शान्तिको पक्षमा दृढ छिन् । उनलाई थाहा छ, शासकको कथित तानाबाना या छलछामहरूले मुक्तिको बाटो टाल्न/छेक्न सक्दैन । मुक्ति त्यति कमजोर या लाचार विषय होइन । जस्तोसुकै प्रतिबन्ध या रोकावट भए पनि मुक्तिकामी योद्धाहरू त्यसलाई परास्त गर्न सक्षम छन् या हुनेछन् ।

सतहमा जतिसुकै तरङ्गहरू थपिए पनि अन्तर्यको शासकिय प्रवृत्ति, राज्य या सत्ताको विभेदात्मक चरित्र विगतदेखि वर्तमानसम्म उस्तै जड नै छ । प्रखर समय चिन्तन र सत्योन्मुख जीवनवादी चेतनाले आलोकित रचनाहरू लामै काल–अवधिसम्म पनि आफ्नो अस्तित्व प्रमाणित गर्न सक्षम हुन्छन् । पारिजातका अन्य रचनाहरू जस्तै प्रस्तुत कविता वर्तमानमा पनि उस्तै समयसापेक्ष र सान्र्दभिक छ । यस्ता कविताहरूले परिवर्तनका लागि समय–समयमा उठ्ने आन्दोलनहरूमा र परिवर्तनकामीहरूको विचार निर्माणको तहमा पनि बलियो टेवा पुर्याउँछन् ।

कवि सरिता तिवारीका नजरमा आन्दोलन कविताभन्दा बाहिरकी पारिजातः

नेपाली साहित्य लेखन र समग्र बौद्धिक आन्दोलनमा पारिजात एउटा युग हुन् । उनको युग असामान्य रूपले ठूलो बौद्धिक बहस र आन्दोलनहरूको कोलाहलले भरिएको म पाउँछु । २००७ सालको परिवर्तनपछि विश्वव्यापी बौद्धिक लहरले रन्थनिँदै लेख्नेहरूको नयाँ छिमलमा पारिजात अग्रणीमध्ये एक रहिन् । लेखन र सामयिक बहस दुवैमा युग निर्माण र संक्रमणको नेतृत्व गर्ने पात्रका रूपमा पारिजातको उपस्थिति धेरै नै उम्दा रह्यो । यसमा फरक मत छैन ।

सरिता तिवारी

पारिजातले किशोरी उमेरदेखि नै कविताहरू लेखिन् । सुरुका कवितामा उमेरजन्य सहज, स्वभाविक प्रेम,प्रणय र वियोगका भाव नै आए तर समयक्रममा उनका कविताले एकालापीय बौद्धिक संवाद गर्न थाले । पहिलो कविता संग्रह ‘आकांक्षा’ देखि जीवनको उत्तराद्र्धसम्मका कविताको विचार, संरचना र बुनोटसम्मै पारिजात अरु विधामा जस्तै आयमिक छिन् । राजनीतिक चेतना र सामाजिक बोधको तहमा पुगेर लेख्न थालेपछि उनको मुखरता झनै स्पष्ट र खरो हुन्छ । स्वच्छन्दातावादी वा अस्तित्ववादी,शून्यवादी दर्शनले प्रेरित भएर लेखिँदाका उनका कविता जति आत्मकेन्द्रित र निजी छन् । जीवनका सामुहिक संघर्ष र उद्वेलनले प्रेरित भएर लेख्न थाल्दाका कविताको भाव ठीक विपरीत छन् ।

प्रेमसँगै प्रणय र दुरन्त साथको अपिल गर्ने सुरुका कवितामा उनलाई कसैकी प्रेमिका र स्वास्नी बन्ने चाहले आत्मसमर्पित मुद्रामा उभ्याइदिएको जस्तो लाग्छ । जस्तो कि–

प्रिये, आज मैले जीवन बिसर्जन गरेँ
के मलाई समात्न दिन्नौ
सम्झनाको त्यो झिनो धागो
जसमा झुण्डिँदै झुण्डिँदै मैले
अन्तिम सास निभाउनु छ?( आधार)
यही संग्रहको अर्को एउटा कवितामा उनी भन्छिन्
म तेरै आत्माको अनन्त साथी
तेरै सिन्दूरकी दीर्घपथगामिनी (सिन्दूरको आकांक्षा)

विचारबोधका आयमिक यात्रामा उनका शब्द फेरिन थाले तर ती घोर एब्सर्डिटीले कुँदिएका छन् । अस्तित्वचिन्तन र मृत्युबोधको गहिरो भावनात्मक दवाबमा लेखिएका कविता हुन् ,यी जहाँ उनी भन्छिन्,

यो होशको संसारमा
मभित्र कोही मरिरहेछ (पागल हुन्छु कि)

लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र’ यस्तै भावको उत्कर्ष अभिव्यक्ति हो ।

पछिल्ला कविता सबैभन्दा बढी जीवनप्रतिको लालसा र सामुहिक लडाइँको प्रतिबद्धताले भिजेका छन् । उनको व्यक्तिगत जीवनजस्तै छ कवितामा बाँचेको शब्दको जीवन पनि । यही चरणमा आएर उनले ‘मानुषी’ जस्तो युगान्तकारी कविता रचिन् ।बैंसालु वर्तमान कवितासंग्रह उनको वैचारिक जीवनको पछिल्लो मेनिफेस्टो नै हो भन्दा हुन्छ । ‘म कोलाहल जन्माउन खोज्दैछु’, ‘तिमी मान्छेका जात हाै’,‘एउटा स्वास्नीमान्छेको अन्तर्वार्ता’, ‘एउटा तारा जलेरै आउनुपर्छ’ जस्ता कविता उनको वैचारिक कायाकल्पका प्रमाण हुन् ।

म समीक्षक होइन, शब्दशक्ति र भावको गुणदोष मात्रै खुट्याएर पढ्न, म आफूभित्र एउटा कविलाई जिउँदो राखेर कविता पढ्न रुचाउँछु । विचारका हरेक आयामकी पारिजातलाई म समान प्रेमले पढ्छु तर चेतना बनाउने तहमा उक्लेकी पारिजात मलाई विशेष लाग्छिन् । कसैलाई पढ्न सिफारिस गर्नुपरे म ‘बैंसालु वर्तमान’ रोज्छु ।

Loading...