नेपाली साहित्यको सम्पूर्ण पत्रिका

ठिटा-ठिटीहरूको स्वप्नयात्राः काव्यात्रा

काव्यालय नयाँ पुस्ताद्वारा नयाँ पुस्तामाझ, नेपाली साहित्य प्रोत्साहन अभियान हो ।

३ वर्षअघि, आफैँ कमाउने बाटो पहिल्याएर सक्दो पढ्ने उद्देश्यले गाउँबाट अवसरहरूको सहर काठमाडौँ पसेको एउटा ठिटो, आफ्नो सपनाहरू तुहिँदै गरेको भयानक यथार्थ स्वीकार गर्न नसकिरहँदा कुनै व्यस्त गल्लीको अनाम सहरमा छटपटीहरूका बीच निदाउने कोसिस गरिरहेथ्यो । उता अर्की ठिटी, आफ्नो सपनाको बाटो हिँड्न आफ्नाहरूसँगै लड्नुपर्दा रात र दिन एउटै महसुस गरिरहेथी । त्यही सहरमा कथाहरूको सिकार गर्दै अर्को ठिटो पनि भर्खर सपनाको पखेटा हाल्दै थियो । एक-अर्काबाट अञ्जान यी तीनको नाटकीय ढङ्गबाट एकसँग अर्को गर्दै परिचय हुन्छ । त्यसपछि भेट र आफ्ना सपनाहरूको हालखबर साटासाट ! ती सपनाको मिलनबिन्दूको पत्तो लाग्छ । यी तीनैजना एक किसिमले जोगी हुन्छन्, संसारभन्दा अलग्गै हिँड्न खोजिरहेका; यस अर्थमा कि संसारको प्राथमिकता धन भइरहँदा यिनको प्राथमिकता आफ्नो सपना थियो ।

तीनको टोलीमा एक थपिएर जम्मा चारजनाको टोली स्वप्नयात्राका लागि अघि बढ्यो ।

कुनै पनि सफल अभियानको लागि सर्वप्रथम त एउटा सबल टिमको जरुरी हुन्छ । यी तीनको सानो टोलीले आफूजस्तै स्वप्नजोगीहरूको खोजी गर्न थाल्यो । यस दौरानमा धेरैजनाको आउने र जाने क्रम रह्यो । मानौँ यी तीनजनाको टोली सपना नाउँको एउटा वृक्ष बोकेर बसेको चौतारी हो र त्यसको छहारीमा क्षणभरलाई सुस्ताउन बटुवाहरूको आवतजावत चलिरहन्थ्यो । तीनको टोलीमा एक थपिएर जम्मा चारजनाको टोली स्वप्नयात्राका लागि अघि बढ्यो । जसमध्ये राजकुमार नेपाल, प्रवीण पौडेल, रितेश गुरुङ र यो लेखिरहने ठिटी ।

हाम्रो यात्रा तीन वर्षअघि लिट्रेचर पार्कदेखि सुरु भएको थियो । तर, दैनिक साहित्यिक खुराक पस्किएर पठन-लेखन संस्कृतिको विकास गर्ने त्यस यात्राक्रममा अचानक उत्साहित पखेटाहरू काटिन पुगेका थिए । यस समस्या आइपर्नुमा हामी आफैँ दोषी थियौँ । प्राविधिक पाटोमा सम्पूर्ण दक्षता हाँसिल नभइसक्नु र कमजोर आर्थिक स्थितिका कारण यथेष्ट स्रोत-साधन जुटिनसक्नुले सुरुवाती चरणको यात्रा एक वर्ष पुग्दानपुग्दै स्थगित भएको थियो ।

घर र समाजबाट प्राप्त असहयोगका बाबजुद हामीले अर्को एक वर्ष स्रोत-साधन जुटाउने र अझै बढी प्राविधिक दक्षता हाँसिल गर्नमा खर्च गर्यौँ ।

साहित्यको क्षेत्रमा केही गर्छु भनी लाग्ने अधिकांशले सहयोगभन्दा धेरै असहयोग नै प्राप्त गर्छन् । कारण, समाज अर्थमुखी छ र साहित्य, अर्थका मामिलामा अझै पनि विलम्ब पाइला चाल्छ, कमसेकम हाम्रो जस्तो विकासोन्मुख मुलुकमा । खैर, यस विषयमा केही गर्न सकिन्छ कि भन्नेमा हामी स्वयं प्रयासरत छौँ । घर र समाजबाट प्राप्त असहयोगका बाबजुद हामीले अर्को एक वर्ष स्रोत-साधन जुटाउने र अझै बढी प्राविधिक दक्षता हाँसिल गर्नमा खर्च गर्यौँ । यसरी गल्तीबाट पाठ सिकेर पुनः उदाउन हामीलाई एक वर्ष लागेको थियो र जन्मिएको थियो ‘काव्यालय’ जसले पनि गत महिना आफ्नो एक वर्षको यात्रा पूरा गरिसकेको छ ।

साहित्यमा लगानी गर्न डराइरहेको समाजलाई आजको भोलि नै परिवर्तन गर्न असम्भव छ । सर्वप्रथम त लेख्ने र पढ्ने बानीको विकास गर्न जोड दिनु नै यस लक्ष्यप्राप्तीको आधारभूत सूत्र हो । आफ्नो दिल र दिमागमा भएको कुरा लेख्ने र सुनाउने अवसर खोजिरहेकाहरूलाई त्यो अवसर जुटाइदिनु यस मानेमा सूक्ष्म मुद्दा देखिए तापनि प्राथमिक ठहरिन्छ । साहित्यपारखीहरूका लागि लेखन एक नित्यकर्म र पठन एक स्वभाव बनोस् र बल्ल यस क्षेत्रमा सम्भावना देख्ने आँखाहरू पनि बढ्नेछन् । काव्यालय यही सोचलाई केन्द्रमा राखेर यात्रारत छ ।

काव्यालय नयाँ पुस्ताद्वारा नयाँ पुस्तामाझ, नेपाली साहित्य प्रोत्साहन अभियान हो ।

जो वर्षौँदेखि लेखिरहनुभएको छ, लेखेरै आज समाजमा चिनिनुभएको छ, वहाँहरूमा साहित्यप्रति पहिल्यै रस बसिसकेको छ । साहित्यको ऊर्जा र यसले मानसिकतामा ल्याउने उन्नत परिवर्तनसँग वहाँहरू पहिल्यै परिचित हुनुहुन्छ । यो खुशीको कुरा हो । यहाँ हरेक दिन साहित्यसँग प्रथम साक्षात्कार गर्ने कति हुनुहुन्छ होला ? आजै मात्र पहिलोपटक आफ्ना भावनाहरूलाई काव्यिक छाँटमा व्यक्त गरेर आफैँ चकित पर्ने कति हुनुहुन्छ होला ? आजै मात्र कलेजको लाइब्रेरीबाट वा बुवाको पुरानो सन्दुकबाट संयोगवश फेलापरेको कथा वा उपन्यासको किताब पढेर जीवनमा पहिलोपटक हृदयबाट आनन्दित हुने कति हुनुहुन्छ होला ? काव्यालय, साहित्यका त्यस्ता कोपिलाहरूलाई पनि समानान्तर रूपमा अघि बढ्ने अवसर मिल्नुपर्छ भन्नेमा दृढता राख्दछ । यस अर्थमा, काव्यालय नयाँ पुस्ताद्वारा नयाँ पुस्तामाझ, नेपाली साहित्य प्रोत्साहन अभियान हो ।

आफ्नो यात्रामा अविरल लागिराखियो भने, कतै न कतै पाइलाको डोब गाढासँग बस्ने नै रहेछ । गत महिना, असार १४ का दिन काव्यालयले आफ्नो पहिलो वर्षोउत्सव पूरा गरेको छ । काव्यकर्मप्रतिको हाम्रो अविरल लगाव र मिहेनत देखेर मञ्जरी प्रकाशन र टेकसाथीद्वारा प्रायोजनमा साथ-सहयोग प्राप्त भयो । जसकारण हामीले वर्षभरि प्रकाशित रचनाहरूमध्येबाट ‘आर्टिकल्स अफ द इयर’ अन्तर्गत ५ रचनालाई चुनेर प्रोत्साहनस्वरूप उपहार वितरण गर्न सक्षम भयौँ । यात्राको क्रम जारी छँदै छ र आशा छ यस्तै कृतार्थ हुनसकिने क्षणहरू यस दौरानमा अझै थपिँदै जाने छन् ।

काव्यालय पाठक र लेखकहरूसँग औपचारिकता नभएर बरू मित्रता गर्दै अघि बढिरहेको छ ।

यात्राकै कुरा गर्नुपर्दा, काव्यालयको यात्रालाई म एउटा जीवन्त यात्रा भन्न रुचाउँछु । जसरी जन्मपश्चात् एउटा अञ्जान शिशुले जीवनको यात्रा जानी-नजानी गर्छ । जीवनको यात्रा एउटा अञ्जान शिशुले दिनानुदिन परिपक्व हुँदैगर्दा जसरी जिउनेक्रममा जीवन

श्रीजु सरल

लाई सिकेर, जानेर गर्दै जान्छ, काव्यालयको यात्रा त्यस्तै जीवन्त चलिरहेको छ । गल्ती र कमजोरीहरूका कारण लड्दै, उठ्दै र अर्कोपटक त्यही बाटोमा कसरी नलडी हिँड्ने ? काव्यालय पनि काव्यकर्म गर्ने दौरानमा यी कुरा सिक्दै अघि बढिरहेको छ । यस अर्थमा, काव्यालय पाठक र लेखकहरूसँग औपचारिकता नभएर बरू मित्रता गर्दै अघि बढिरहेको छ । यसर्थ यो काव्याभियान कुनै संस्थागत प्रक्रियाभन्दा बढी साथी-साथीबिचको ‘कम्बाइन्ड स्टडी’ हो भन्दा फरक नपर्ला ।

विशेष गरी नयाँ र युवा लेखकहरूको बाहुल्यता भएको काव्यालयको अनलाइन पोर्टलमा मुक्तक, हाइकू हुँदै गजल, कविता, कथा, निबन्ध, संस्मरण, पत्र-साहित्य, पाठकीय समीक्षा, विचार एवं निर्बन्ध लेखहरूसम्म हामीले समेट्दै आइरहेका छौँ । काव्यालयमा एकातर्फ समाजको यथार्थ चित्रण र सँगसँगै अर्कोतर्फ कल्पनाशीलतामा निर्बन्ध विचरण गरी लेख्ने दुवै धारका युवा-कलमहरू समेटिँदै आएका छन् । काव्यालयको सुरुवाती दिनहरूमा ‘स्याटर्डेकलम’ शीर्षक अन्तर्गत हरेक शनिबार पाँच-पाँच साहित्यिक खुराक पस्किँदैआएका थियौँ भने समयक्रमसँगै ‘मिस्ट्रीटेलर’ शीर्षकको स्तम्भ थपेका छौँ जसमा महिनाको दुई शुक्रबार रितेश गुरुङका (मिस्ट्री, फ्यान्टासी र थ्रिलर विधाका) रचनाहरू प्रकाशित हुँदै आइरहेका छन् । त्यस्तै, पोखराका युवालेखक त्रिवेणीको स्तम्भ ‘दोभान’ मा पनि यथार्थपरक एवं खोजमूलक लेखहरू महिनाको दुई बुधबार प्रकाशित हुँदै आइरहेका छन् ।

भोलि के हुन्छ ? आज थाहा नहुनु प्राकृतिक कुरा हो । तर सपना देख्नु र भोलि यस्तो गर्छु भनी सोच्नु/कल्पनु मानिसको स्वभाविक गुण । त्यही गुणले काव्यालय पनि अप्रभावित रहेको छैन । समय र शुभेच्छुकहरूको माग अनुरूप काव्यालयको परिकल्पना, अब साहित्यको पोड्कास्ट र प्रकाशनतर्फ उन्मुख छ ।

उन्मेश आँखाले देखेको सपना पूरा हुन्छन् पनि भनिन्छ ।

खैर, ‘प्राकृतिक नियमानुसार भोलि के हुन्छ ? आज थाहा हुँदैन’ त अघि पनि भनेँ तर उन्मेश आँखाले देखेको सपना पूरा हुन्छन् पनि भनिन्छ । हामी प्रकृतिको अनिश्चितताले व्याकुल हृदयलाई उखानहरूको हौसलाले सुनिश्चित् रहन सान्त्वना दिँदै साहित्यपारखी एवं शुभेच्छुकहरूको माया, साथ र सहयोगले अघि बढिरहेका छौँ ।

Loading...