नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नवपुस्ताः कसैलाई पिसिआरभन्दा पहिले आँखाको चिन्ता, कसैलाई अर्थतन्त्र र राजनीतिमा चासाे

देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । यस्तोबेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाए ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्नेछौँ:

ओजस्वी आचार्य: “भारतले गरेको अतिक्रमणले मभित्रको देशभक्ति र न्यायबोधमा तरङ्ग थपिदियो।”

ओजस्वी आचार्य

मुहारमा अन्योलता, अगाडि ‘वाटर सप्लाई इन्जिनियरिंग’को मोटो किताब, र आँखाभरि फेसबुकको नोटिफिकेसन प्यानल; यही अवस्थामा इन्जिनियरिंग अध्ययन संस्थानको “चैत्र ६ गतेदेखिको परिक्षा अर्को सूचना नआउँदासम्मको लागि रद्द ।” भनेर आएको सूचनासँगै मेरो पर्सनल लकडाउनको समय सुरु भएको थियो । संयोग भनौं वा विडम्बना, हाल यो लेख्दै गर्दा पनि टियुले केही दिनअगाडि रोकिएका परीक्षा भाद्रमा हुने भनेर निकालेको सूचनाले म ठ्याक्क उही अवस्थामा छु ।अन्योलता, अगाडि उहीँकिताब, र ध्यान फेसबुकका खबरहरूमा । लाग्छ, टियुले एक सेमेस्टर सकिने समयमा एउटा चक्र भने पूरा गरिदियो। विद्यार्थीको परिचयमा बाँधिएका हामी अहिल्यै एउटै खुड्किला रोकिएका छौँ।

अहिले यी दुई समरूपी विन्दुहरू बीचको समयलाई फर्केर हेर्दा, धेरैजसो विद्यार्थीको झैँ मेरो सिर्जनशीलता पनि केहीहदसम्म टियुको अनिर्णयको मारमा परेको छ। यसका बावजुद पनि यो लामो फुर्सदलाई समय सार्थक र उपयोगी बनाउन मैले धेरै प्रयास गरेँ। हाल विश्वको भयाभह स्थिति र विक्षुब्ध समाजको हरेकको मानसिकतामा गहिरो प्रभाव पारेको छ। यस्तो बेला मेरो सबैभन्दा ठूलो उपलब्धी अाफूलाई मानसिक रूपमा स्वस्थ बनाउनु नै हुन्छ। ठूलो परिवारको उपस्थितिमा रहनु र निरन्तर सुन्दर बेनी बजारवरिपरि वेगसँग हुत्तिने पवन, हँसिला पहाड, स्वतन्त्र कालीगण्डकी, निश्चल झरनासँगको निरन्तर अन्तरक्रियाले काठमाडौँको जीवन्त वातावरणको कमी हुन दिएन। साथै बेनीमा समयसँग थपिएको नयाँपनलाई निहाल्नु र बाल्यकालको स्मृतिका भिज्नुले पनि मभित्र उमंग थपिदियो।

यानी अल्बर्सले भनेकी छिन्, “कला त्यो हो जसबाट तिमीले एक फरक सुखको सास फेर्ने छौँ।” उनको यो भनाइलाई नै मेरो समयले समात्यो। म कलाको विभिन्न विधाको नजिक रहेर जीवनलाई नयाँ ढंगले अध्ययन गर्न चाहन्छु। चाहे प्रकृतिको अद्भुत कला होस्, वा हामी मानवहरूको शैलीद्वारा रचित सुन्दर कला। एउटा कलम वा एउटा चलचित्र वा एउटा किताबमा मात्र पनि जीवनको महिमालाई उदाहरणीय तरिकाले प्रतिबिम्बित गरेको हुन्छ। कतिले एउटा किताबमै जीवनका उत्कृष्ट सार भेटेका हुन्छन्, कतिले किताबबाट नै जीवनको रहस्य छामेका छन्। त्यसरी नै साहित्य, संगीत, चलचित्र, खेलकुद र कलम, यी नै मेरो समयको अभिन्न सहयात्री बने र मेरो दुरुस्तताको कारक पनि।

फुर्सदको बेलामा केही कविताहरू लेखेँ, प्रकृतिलाई सम्झेर लेखेँ, समाज सम्झेर लेखेँ, प्रेम सम्झेर लेखेँ, राजधानी सम्झेर लेखेँ, समय सामान्य नभए पनि कविताबाट नै मेरो आमजीवन बाचेँ भन्दा अतिशयोक्ति नहोला।

भिन्नभिन्न भाषाका चलचित्रहरू पनि हेरियो। मलाई विशेषगरी क्राइम, थ्रिलर, मिस्ट्रीका मुभी मन पर्छन्। तर अहिले सबै जनराका मुभीहरूलाई चाख्ने मैका पाए। Dead Poets Society, Good Will Hunting जस्ता मुभीले मनलाई नयाँ उर्जा दिए, जिन्दगी जिउने नयाँ शैली सिकाइदिए र परिवेशहरूलाई नयाँ कोणबाट विश्लेषण गर्न बाध्य बनाए । हेर्न मन लागेका तर नहेरेका मुभी कुनै बाँकी छोडिएन।

अहिलेको स्थितिले निम्त्याएको ठूलो समस्या भनेको डिप्रेसन र मानसिक रोग हो। यसबाट म आफू प्रभावित नभए पनि आफ्नै उमेरका साथीसंगी यसको चपेटामा परेको देख्दा मन खिन्न भइरह्यो। त्यसमाथि केही ठूला र सम्माननीय नामहरूले समेत यसबाट उम्कन नसकेको समाचारहरू दिनदिनै आइरहेका छन् । यस्तो अवस्थामा म आफू एक जिम्मेवार नागरिक र संवेदनशील मानिस भएकाले मैले यस विरुद्द केही गर्नुपर्ने सोच बनाए । यसैको लागि काठमाडौँ भ्याली लिओ क्लबको प्रोजेक्ट मन-मस्तिष्कको माध्यमबाट आफूजस्तै युवाहरूलाई कला साहित्यको क्षेत्रमा आफ्नो मन र मस्तिष्क संलग्न गराइराख्न प्रोत्साहन गर्नका निम्ति केही कार्यक्रमहरूमा क्रियाशील भएँ। आफ्नो भावनात्मक स्थिरता र स्वस्थतामा पनि यो क्रियाशीलताले मदत गर्यो।

अध्ययनका लागि पनि यो परिवेशले साथ दियो। मुख्यतः अर्थशास्त्र अध्ययनमा नै मेरो समय बित्यो।पहिल्यैदेखि रुची भए पनि समयको अभावमा अध्ययनको मौका मिलेको थिएन, कोभिडले भनौं वा आफ्नो रुचीले हो, जुराइदियो।यसले मेरो प्रत्येक विचारहरु र अनुभवमा एउटा नयाँ आर्थिक कोण थपिएको आभाष हुन्छ। एक आमनागरिकको जीवनमा अर्थशास्त्रको यो व्यवस्था कतिसम्म सम्बन्धित रहेको छ र यसले कसरी हामीले बोक्ने विचारहरूलाई असर गरको छ जस्ता कुराहरूसँग सचेत भए। अर्थशास्त्रको पूर्ण अन्धकारबाट थोरै उज्यालोतर्फ अग्रसर रहेर चालेको यो पाइलालाई उपलब्धी नै मान्छु। यसबाहेक करिब आधा दर्जन जति अंग्रेजी र नेपाली साहित्यका किताब पढेँ ।

राजनीतिले पनि यो समयलाई उति निष्कृय हुने ठाउँ दिएन। भारतले गरेको अतिक्रमणले मभित्रको देशभक्ति र न्यायबोधमा तरङ्ग थपिदियो। नयाँ नक्साको समर्थनका लागि सामाजिक सञ्जालबाटै भए पनि सहभागीता र हौसला देखाइयो। अभियान पूर्णरूपमा सफल हुन त अझ कैयौँ वर्ष, देशले आजसम्म नदेखेको साहस र सैयौं विभुतिहरूको देशभक्ति चाहिएला तर जे सुकै होस्, अभियानले देशको माया ब्युँताइदियो, केही साथीहरू जुराइदियो र सबैभन्दा महत्वपूर्ण केही सिकाइदियो।

अहिले पनि फर्केर हेर्दा यी चार महिनामा अझै केही बढी गर्न सकिन्थ्यो कि झैँ भने लाग्छ, केही समय अझ सिर्जनशील हुन सक्थेँ । तर मस्तिष्कमा रहेको नवीन ज्ञानले कुनै कुराको पछुतो हुन खासै दिएको छैन न त यो समयबाट व्यक्तिगत रूपमा कुनै गुनासो छ। स्थिति छिटै सहज होस्, सबै स्वस्थ हुन् र काठमाडौँमा बर्षामा रुझेको परिवेशमा फेरि उसैगरी छिट्टै घुम्न सकियोस् भन्ने अग्रिम चाहना छ।

विश्वास पौडेल:  “अब पिसिआरभन्दा पहिले आँखाको जाँच गराउनु छ ।

विश्वास पौडेल

राजधानी विद्यार्थीको रहर हैन बाध्यता हो । मलाई यस्तै लाग्छ । मेरो गाउँकै ठूलो विद्यालयमा व्यवस्थापन संकायको पढाइ गराउन भव्य पुराणको आयोजना गर्न परेको तितो वास्तविकताले धेरै अर्थ बोकेको छ । समाजको । प्रवृत्तिको अनि शिक्षा र चेतनास्तरको ।

सहर, रहर, बाध्यता र वास्विकतामा कतै रूमलिरहको जीवन र दैनिकीलाई एकपल्ट नजिकैबाट नियाल्ने मौका लक डाउनले दियो ।

चैत्र ५, नाइट गाडीमा काठमाडौंबाट झापा आउँदैगर्दा सायद थानकोट नकट्दै पत्तो पाइयो, अब सबैकुरा बन्द हुँदैछ, चाँडै नै बन्दाबन्दी हुनेछ । घर बसाइ लम्बिने निश्चित भयो । गदगद हुँदै थियो कताकता मन । मनोवादमा “आफ्नै मस्तिष्कले “२ जोर लुगा बोकेर पुस्तक सबै काठमाडौँ राखेर घर हिडेंको भेटिस् अब !” भनेजस्तो लाग्यो ।

“काठ्माडौँमा फोहोर जता पनि हुन्छ, यो सरकारले व्यवस्थापन नै गर्दैन” भन्दै पोटेटो चिप्स खाएर खोलचाहिँ कमलविनायक जाने बसबाट हुँइक्याउने म नै हो । तर अब म असल नागरिक भइसकेको छु । म काहीँ हिँड्ने छैन । किन हिँड्नु र ? बल्ल बल्ल त आराम भएको छ । सहरको हतासबाट । भीडबाट, प्रदुषणबाट । निष्ठुर सहर !

कोरोनाको कहर विस्तारै बढ्दै गइरहेको थियो विश्वमा । हाम्रा देशका निकै विज्ञ सम्माननीय व्यक्तित्वले भनिदिए, “नेपालमा कोरोना छैन, कोरोनामुक्त देश हो नेपाल ।” त्यसैले मैले पनि घमण्डका साथ लेखिदिए फेसबुक स्टाटस, “ पशुपति पुगेर बाग्मती पुलमाथि मास्क खोल्दै उसले भन्यो, ‘लास जलेको अत्तरमा अयचयलब बाँच्न सक्दैन ।’ जय भोलेनाथ ।” यसबेलासम्म मेरो देश यही आशाको त्यान्द्रोमा बाँचेको थियो । आर्याघाटमा जीवन थियो, आशा अनि भरोसाको । यो अन्धभक्ति थियो या अन्धोपनको भक्ति ? सरोकारवालाको काम देख्दा आज भोट खसाल्ने हातको चोइटाले खाना पकाएर नि नखानु जस्तो लाग्छ ।

घर पनि आइयो । २ –४ दिन आराम भएपछि पुलकित पनि भइयो । तर, घरको जेठो छोरो, पढाइ पनि अन्तिम वर्षमा पुर्याएको, परिस्थितिले जिस्काउन थाल्यो । बढ्दो अभाव र आपूर्तिको खाडलले काउकुती लाग्न थाल्यो । जीवन यस्तो मोडमा आएर अडियो कि गरेर खान पनि नपाइने र नगरी खान पनि नपाइने ।

आमाको छातीमा निकै समस्या भइसकेको रहेछ । यदाकदा दशैँमा मात्र घरमा आउँदा छोरा देख्दाको आनन्दले हो या दशैँमा अभावका अरू पीडा अझ सतही भएकाले हो, यो विषय ओझेल परेको थियो । धेरै दिनको घर बसाइमा यो समस्या लुकेन, लुक्न सकेन ।

स्कुटर किन्न पाए यो घाममा यत्ति साह्रो हुन्थेन । दैनिक ८–९ कि.मी. स्कूलसम्म साइकल चलाएर पुग्न निकै गाह्रो पर्न थालिसकेको कुरा आमाको ढल्कदैगएको उमेरले पनि प्रष्ट पार्छ । समाधान खोज्न आमाहरू पहिलैबाट सिपालु हुन् । तर यो समाधान मेरै कारणले अड्केर बस्यो । मन अमिलो भयो । कहिलेकाहीँ यसो साथीहरू भेला हुँदा खेलेको म्यरिज तासमा हारेको पैसाले पनि मस्तिष्कमा ताण्डव नृत्य गर्न थाल्यो । कतै म यो पसिनाको अवमूल्यन त गरिरहेको छैन ?

पुरानो डायरी पल्टाएँ एकदिन । कक्षा दशको बिदाइमा स्कूलले दिएको सम्झना, जसमा सहपाठीहरूले आफ्ना भावना लेखेका छन्, विचार पोखेका छन् । पल्टाउँदै गएँ । सकिए । म खासै पपुलर रहेनछु, धेरैले भरेनछन् । आज ती खालीपाना भर्ने साथी पनि सम्पर्कमा छैनन् । बिर्तामोड पनि सहर न हो । त्यो पनि निष्ठुर नै छ । चित्त बुझाएँ ।

कोरोना संक्रमितको संख्या ५-१० भन्दाभन्दै सय, हजार हुँदै लम्कदै छ । ज्यान गुमाउनेको संख्या पनि बढ्दै छ । सरकारमा भ्रष्टचार संस्थागत भएर सामान्य रितझैँ भइसकेको छ । खाडीमा पिल्सिएका युवाको रेमिट्यान्समा करोडौँका कार्पेट फेर्ने सरकारबाट राहात र उद्धारको आश राख्नु मूर्खताबाहेक केही होइन । अनलाइन पढाएजस्तो गरेर लाखौंको बिल पठाउन उद्दत निजी संस्थानहरूको त झन के कुरा गर्नु ?

अध्यादेशदेखि राजीनामा मागसम्म आइपुग्दा राजनीतिले लाज पचाइसकेको छ । १० वर्षे जनयुद्धको जन्मभूमि रूकुममा जातीय हिंसा भड्किएर प्रेमीको हत्याले गणतन्त्रमात्र नभई हाम्रो समाजको धरातललाई उदाङ्गो बनाइसकेको छ । श्वास गन्हाइसक्दा पनि मञ्जनलाई दोष दिने नेतृत्वको दुःख देखेर कुन युवा सडकमा ननिस्केला ?  बालुवाटारमा पानीको फोहोरा खाएर माइतीघरमा फूल बाँढ्ने युवाबाट अभिभावक सरकारले आजसम्म पनि केही पाठ सिकेको छैन । भ्रष्टचार संसदमा सुट र टाईमा मग्न हुँदा अव्यवस्थित क्वारेन्टिनमा बलत्कार हुनु र बढ्दो आत्महत्यामा सहसम्बन्ध नदेख्नु बयलगाढाको दोष हो, जसमा चडेर अमेरिका पुग्न सम्भव छैन ।

लक डाउन सकिएको घोषणा भयो । लकडाउन किन गरिएको थियो ? किन सकियो ? यी प्रश्न अझैं पनि मस्तिष्कमा खेलिरहन्छन् । विचाराधिन मुद्दामा बोल्नु राम्रो होइन । तर, रञ्जन कोइराला एकदिन पनि जेलबाहिर निस्कनु भनेको अर्की चेलीको आयु घट्नु हो । सरकारका तीनै अंग गलेको व्यवस्थामा आफ्नो भविष्य अन्योल देखिरहेको मैले अब जताततै बेथिति, अनियमितता, अनिर्णय, दण्डहिनताबाहेक केही देख्नै छाडेँ । सायद मलाई मोतिबिन्दु नै भएको छ । साँच्चै, अब पिसिआरभन्दा पहिले आँखाको जाँच गराउनु छ ।

Loading...