नेपाली साहित्यको सम्पूर्ण पत्रिका

गुच्चेबाजका पृथ्वीजस्ता गुच्चाहरू

मलाई थाहा छैन, शृंखला तीन

चर्चित खेलाडीका अजीवोगरिब स्वभाव हुन्छन् । मेरो स्वभाव पनि कुनै समय अजीवोगरिब थियो । हो , म पनि चर्चित गुच्चेबाज थिएँ ।
“मैले गुच्चामा जति अभ्यास र साधना गरेँ, त्यति क्रिकेटमा गरेको भए ! सन्दीपजस्तै बन्न नसके पनि देशको टीममा त म पनि हुन्थे हुलाँ ।”, गुच्चालाई लिएर यो र यस्ता कुरो पटक पटक आउँछन् मेरो मगजमा । यो एक स्वरकल्पनाबाहेक केही होइन । म अहिले जे छु, त्यहीमात्र म हुँ । मलाई थाहा छ । तर खै किन मान्छे कल्पनामा बढी संवेदशील र गतिशील बनिदिन्छ ? मलाई थाहा छैन ।

प्रेमीले विछोडिएकी प्रेमिकाको नाममा हात काट्सक्छ । कसैमा समाज सेवाको भूत सवार हुन्छ ।

मान्छे लत बिना बाँच्न सक्दैन । मैले कुलत बिना भनेको होइन । तर मान्छे केही न केही लत बोकेरै बाँचेको हुन्छ । लत सबै कुलत हुँदैनन् । कसैले बोलिरहनुपर्ने हुनसक्छ । कसैलाई घर छोडेर एकदिन पनि बाहिर बस्नु परेमा बिमार निक्लन सक्छ । प्रेमीले विछोडिएकी प्रेमिकाको नाममा हात काट्सक्छ । कसैमा समाज सेवाको भूत सवार हुन्छ । कोही पुस्तकभन्दा टाढा बस्नै नसक्ने पनि हुन्छ । हो, लत अनेक हुन्छन् । तल्तल अनेक हुन्छन् । र, सबैमा हुन्छन् । मलाई पनि गुच्चाको लत थियो । मेरा दामले जोकोहीलाई गुच्चाको लत थियो । गाउँलाई गुच्चाको लत थियो ।

सान्दर्भिक पोस्ट

डेब्यूको पहिलो साल नै मैले जोरसँग साँच्चैको गुच्चा खेलेँ । कति हारेँ, कति जितेँ । दोस्रो सिजनबाट त म गुच्चाको म्यारोडोना नै भएर निस्किएँ । गुच्चा खेल्ने जक्सनहरू थिए । तावा गाउँको चौतारी । भट्टराईको होली । लिङ्देन गाउँको आँगन । र टीकारामको घर । म गुच्चाको म्यारेडोना भएर निक्लिएपछि मेरै घरअघिको तीन बाटो पनि रणसंग्राम बन्यो । अहिले त चारबाटो बनिसकेको छ । इँटा भट्टादेखि लिएर लोक्ताम गाउँ, भुतेनी खेलादेखि लिएर न्यौपाने चोकसम्मका गुच्चेहरू मसँग भिड्न आउन थाले । हो, म गुच्चाको लागि सेलिब्रेटी नै बनेको थिएँ । नत्र मसँग गुच्चा खेल्नकै लागि भनेर गुच्चा खेल्न त्यतिका केटाहरू किन पो भेला हुन्थ्यो ।

म अहिले अँध्यारो छु । फेरि कालो चाहिँ हैन नि ! कालोले प्रकाशलाई परावर्तन गर्दैन । विज्ञानले के भन्छ ? थाहा छैन, तर विज्ञान शिक्षकका अनुसार प्रकाशलाई परावर्तन नगर्ने वस्तु देख्न सकिदैन । जस्तो कि कालो छिद्र । तर म कमसेकम ऐनामा देखिन्छु । हो, म कालो होइन, मेरो छाला अँध्यारोचाहिँ छ । कालो विचार बोक्नेहरू नै कालो रङलाई खै किन कुरूपता मान्छन् ? मलाई थाहा छैन ।

कृष्ण ढुङ्गेल

सानोमा म कृष्णजस्तै थिएँ रे ! नाम जस्तै । तर कृष्णजस्तो अँध्यारोचाहिँ थिइनँ रे ! म अँध्यारो हुन थालेको पनि गुच्चा खेल्न थालेपछि नै हो रे ! हिउँद भनेको गुच्चाको मात्र होइन, धूलोको पनि सिजन हो । फेरि गुच्चालाई धूलेखेल भन्दा पनि हुन्छ । यो धरातलसँग जोडिएको हुन्छ । पिक पनि त धरातलमै हुन्छ । पुस र माघका झापाको जाडो तपाईँलाई पक्कै थाहा छ । चैत र वैशाखको गर्मी पनि थाहा भइहाल्छ । र गुच्चाको सिजनले यो दुवै सिजन भेट्छ ।

अरूहरू सिजनको अन्त्यपछि आफूसँग भएका गुच्चाहरू सिसीहरूमा भरेर सुरक्षित राख्थे, जसरी हिउँदमा सालभरिको लागि भकारी भरिन्थ्यो । तर मैले त्यसो कहिल्यै गरिनँ । मलाई अर्को सिजनको चिन्ता थिएन । सायद चर्चित त सक्षम खेलाडीहरू यस्तै हुँदा हुन् ! मैले प्रायः गुच्चाहरू सिजनका अन्तिम भएपछि बेचेर सक्थेँ । नबिकेका के कति बाँढेर सक्थेँ, करेसामा माटोसँग प्रेम साट्थे । अक्सर अफसिजनमा खाद्यवस्तु (विशेष तरिकारी तथा फलफूल) महँगो हुन्छ, तर गुच्चा सस्तो हुन्थ्यो । भविष्य सोच्नेले किनेर राख्थेँ । तर मलाई भविष्यको चिन्ता थिएन । अर्काे सिजनमा एक रुपियाँको किन्ने न हो, त्यसपछि त बेच्ने मात्र त हो ! फेरि तिहारपछाडि आउने सिजनमा एक दुई रुपियाँको के दुःख र ?

अहिले सम्झन्छु, पक्कै पृथ्वीजस्तै गुच्चाहरूसँग नजिक भएपछि हुनुपर्छ, मैले पृथ्वीलाई पनि गुच्चाझैँ गोलो बनाएर बुझ्न थालेको । मैले नौवटा ग्रहको पहिलो प्रयोग पनि गुच्चासँगै त गरेको हो नि ! अनि गुच्चाहरूकै सौर्यमण्डल बनाएको पनि गुच्चाले नै हो । एकदिन फुटबलमा कमिला हिँड्दै गरेको दृष्यमा घोत्लिएपछि बुझेको हुँ, फराकिलो भूगोल भएपछि बनोटले असर पार्दैन रहेछ । पक्कै मान्छे पृथ्वीको लागि कमिलो फुटबलको लागि भन्दा पनि सोनो अंश हो । सानो अंश ठूलोमा मिसिएपछि विलय हुन्छ । तर म गुच्चाभन्दा धेरै ठूलो भएर पनि, गुच्चामा विलाई जाँदै थिएँ । गुच्चा पृथ्वीजस्तो थियो । म कमिलाजस्तो भएको थिएँ । खै किन भौतिक आयतनभन्दा संवेदनाका आयतनहरू बृहत् हुन्छन् ? मलाई थाहा छैन ।

त्यो समय, स्वस्थानीले तेत्तीस कोटी देवता भनिरहँदा मेरा लागि एक बढी थिए । त्यो थियो गुच्चा । कति गुच्चाको भित्री भागमा केही रङ भरिएको हुन्थ्यो । ती पिच्चुभन्दा ठूला हुन्थे । ढोमभन्दा अलि साना । साँच्चै ती पृथ्वी नै प्रतित हुन्छ । गुच्चा र पृथ्वी एउटा कुरामा उस्तै पनि हुन्छ । खै कति कुरामा फरक छन् ? मलाई थाहा छैन ।

थाहा नहुँदा नहुँदै पनि धेरै कुरा अनुमान लाउन सकिँदो रहेछ । यति बुझ्न मलाई पृथ्वीजस्ता गुच्चाहरूको इतिहास कोट्याउनु पर्याे ।

तपाईँले कहिल्यै हिसाब गर्नुभएको छ ? पृथ्वीले मान्छेको कति पुस्ता भोगिसक्यो ? देखिसक्यो ? छोड्दिनुहोस् । मलाई पनि थाहा छैन । र, मलाई यो पनि थाहा छैन कि गुच्चाले मजस्तो कति पुस्ता भोगिसक्यो । तर थाहा नहुँदा नहुँदै पनि धेरै कुरा अनुमान लाउन सकिँदो रहेछ । यति बुझ्न मलाई पृथ्वीजस्ता गुच्चाहरूको इतिहास कोट्याउनु पर्याे ।

आजभन्दा तीन सय वर्षअघिका मान्छेले पृथ्वीको प्रयोग कसरी गरेका थिए ? अहिलेकाले कसरी गरेका छन् ? फरक छ । पुस्तासँगै पृथ्वीको प्रयोगमा फरक छ । ठीक त्यस्तै गुच्चाको उपयोग पनि पुस्तापछि फरक छ । अहिलेको कलिलो पुस्ता, मेरो पुस्ताले जस्तो खेल्दैन गुच्चा । बरू स्कूलमा एक दुई सिकाउन प्रयोग हुन्छन् । अहिले त मोवाइल र ल्यापटपबाहिर खेल नै के पो हुन्छन् र ? तर यतिचाहिँ हो, गुच्चाको आयु मान्छेको भन्दा लामो छ । पृथ्वीको आयु गुच्चाको भन्दा धेरै लामो छ । तर खै किन मलाई यो सब बुझेर पनि गुच्चा र पृथ्वी उस्तै लाग्छ ? मलाई थाहा छैन ।

Loading...