नेपाली साहित्यको सम्पूर्ण पत्रिका

वाराणसीमा बिरानो बनेको प्रेमचन्दको घर

भारतीय साहित्यमा आधुनिक कथाकहानीको शैली भित्र्याउने श्रेय प्रेमचन्दलाई दिइन्छ । प्रेमचन्द अहिले पनि उत्तिकै प्रासंगिक छन् है भन्ने जनाउन वा सम्झाउन बेलाबेलामा उनको जन्मजयन्ती मनाइन्छ । तर उनी जन्मिएको र हुर्किएको वाराणसीस्थित उनको घर भने उपेक्षित छ ।

केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको सरकारी रेडियो आकाशवाणीमा ‘मन की बात’ कार्यक्रमको सिलसिलामा प्रेमचन्दलाई सम्झिएका थिए । उनले आफू जवान छँदा प्रेमचन्दका कथाले द्रवित हुने गरेको र दुई वटा कथा त उनलाई कण्ठस्थ नै रहेको भनी बताएका थिए ।

बनारसको लमहीमा जन्मिएका प्रेमचन्दलाई मोदीले किन सम्झिए त ? किनभने लमही उनकै संसदीय निर्वाचन क्षेत्रको एउटा गाउँ हो ।

केही वर्षअघि उत्तर प्रदेश पावर कर्पोरेसनले प्रेमचन्दको पुरानो घरको बिजुली काटिदिएपछि यो घर अचानक चर्चामा आएको थियो । बिजुली एक सातासम्म काटिएको थियो । कथाकार प्रेमचन्दको १३९ औँ जन्मजयन्ती वरपरका केही साहित्यप्रेमी तथा गाउँका मानिसहरू भेला भएर मनाउँदा यहाँको बिजुली काटिएको थियो र मैनबत्ती बालेर कार्यक्रम सम्पन्न गरिएको थियो ।

जब लालटिन र मैनबत्ती बालेर प्रेमचन्दको जन्मजयन्ती मनाइएको खबर छापियो, त्यसपछि भने बल्ल काटिएको बिजुली बल्न थालेको थियो ।

यहाँ प्रेमचन्दका दुई वटा घर छन् । उनका दुई घरमध्ये एउटा पैतृक घर छ र अर्को संग्रहालय बनाइएको छ । तस्बिरमा उनका कथासिर्जना देखिएको तस्बिर उनको संग्रहालय बनाइएको घर हो भने अर्को उनको अर्को घर हो । संग्रहालयको व्यवस्थापन उत्तर प्रदेश राज्यको संस्कृति विभागले गर्ने गरेको छ । अर्को घर भने खालीखाली नै छ । प्रेमचन्दका आफन्त र नातेदार यहाँ कोही पनि नबस्ने हुनाले यो यत्तिकै रहेको स्थानीयको भनाइ छ ।

जब रेडियोमा प्रधानमन्त्री मोदीले कथावाचन गरे, त्यसपछि वाराणसी प्रशासनले ती महान् लेखकका परिवारका कुनै न कुनै सदस्यबारे जानकारी जुटाउने प्रयास गरिरहेको छ तर असफल भएको छ । मोदीले रेडियो कार्यक्रम ‘मन की बात’मा उनका कथाकहानीले आफूलाई निकै प्रभावित तुल्याएको बताएका थिए । उनले भनेका थिए, ‘मुन्सी प्रेमचन्दका कथाहरू आज पनि उत्तिकै प्रासंगिक छन् । उनका कथाले समाजको वास्तविक चित्रण गर्ने गर्छ । सरल मानवीय भावनालाई प्रकट गरिरहेको हुन्छ ।’

उनले सो कार्यक्रममा ‘नशा’ कथाको प्रसंग गढ्दै भने, ‘यसलाई पढ्दा म आफूलाई पुराना दिनका घटनालाई सम्झन्छु । के सम्झन्छु भने त्यो बेला ज्यादै गरिबी थियो । यसले हामीलाई खराब संगतिबाट जोगिन पाठ पढाउँछ । अर्को ‘ईदगाह’ कथाले पनि मलाई भित्रैसम्म छोएको थियो ।’

प्रेमचन्दका तीन सन्तान थिए, अमृत राय र श्रीपत राय र छोरी कमला । उनीहरू इलाहावादमा बस्थे । सूत्रका अनुसार दुवै छोराले कहिले पनि आफ्ना बुबा जन्मिएको ठाउँमा पाइला टेकेनन् ।

प्रेमचन्दको वास्तविक नाउँ धनपत राय श्रीवास्तव हो । हुन त श्रीवास्तवहरू व्यापारीमध्येमा गनिन्छन् तर उनलाई सधैँ पैसाको समस्याले गाँजिरह्यो । उनको जीवनभर पारिवारिक झैँझगडा भइरह्यो । यही कारण उनको पैतृक सम्पत्तितर्फ कसैले पनि चासो दिएनन् ।

प्रेमचन्दको जन्म ३१ जुलाई १८८० मा लमहीमा भएको थियो । उनको निधन भने ८ अक्टोबर १९३६ मा वाराणसीमा भयो । उनको पैतृक घरमै निधनपछि यो घरलाई रेखदेख गर्ने कोही भएनन् ।

सूत्रका अनुसार प्रेमचन्दको पैतृक घरलाई अहिले हेर्दा चिटिक्कको बनाइएको छ । सन् २०१५ मा उत्तर प्रदेशको संस्कृति मन्त्रालयले यसलाई रंगरोगन गराएको हो । यसको पछाडि पनि एउटा कारण थियो । त्यो बेला दक्षिण भारतस्थित बेंगलुरूमा हिन्दी भाषा पढाउने शिक्षक विनय कुमार यादवले तत्कालीन मुख्यमन्त्री अखिलेश यादवसँग भेटी प्रेमचन्दको चिनोलाई सुरक्षित राख्न गरेको अनुरोधपछि यो घरलाई संरक्षण गर्ने र संग्रहालय बनाउने अभियान शुरू भएको थियो ।

प्रेमचन्दका प्रशंसकहरूले लमहीमा प्रेमचन्दको एउटा ठूलो मूर्ति बनाउनुपर्ने माग राखिरहेका छन् ।

चर्चित हिन्दी लेखिका बन्दना मिश्राले भनिन्, ‘मुन्सी प्रेमचन्दको घरलाई संग्रहालय त बनाइयो नै साथै अर्को एउटा घरमा पनि उनका सम्पूर्ण सिर्जनाको पुस्तकालय निर्माण गरिनुपर्छ । हिन्दी साहित्य र विद्वानहरूका लागि एउटा शोध केन्द्र पनि यहाँ खोलिनुपर्छ । किनभने प्रेमचन्दका सिर्जना आज पनि उत्ति नै प्रासंगिक छन् ।

डिडब्ल्युको आलेख

Loading...