नेपाली साहित्यको सम्पूर्ण पत्रिका

ढाडे निउरो

बाहिर झमझम पानी परिरहेको छ । आफूलाई भने के गरौँ र कसो गरौँ भा’को छ । बाहिर निस्कन पनि नमिल्ने, फेरि आफूलाई ट्वांरट्वांरेले समातेको छ । बाहिर गा’को बेला आइहाल्यो भने कसको घरमा जानू ? नचिनेकाकोमा गयो भने त मार्लान् नि ! नेपाल जस्तो हो र ? पसलतिर व्यवस्था भइहाल्छ भनेर जाउँ भने पनि कोरोना धिपतिको आदेशले ट्वाइलेट भएका पसलहरू पनि बन्दमा परेका छन् ।

‘के भएर ट्वांरट्वांरेले समात्यो त ?’ भनेर न सोध्नुहोला नि ! मुखै खोल्न भा छैन। घरमात्रै होइन, छरछिमेक नै उठेर आउलान् भन्ने कत्रो त्रास छ आफूलाई । अरू कसैलाई नभन्नु ल ! तपाईँलाई मात्रै खुसुक्क भन्छु । गृह मन्त्रीलाई थाहाभयो भने त खाद्य संस्थान नै बन्द हुन बेर लाग्दैन !

कुरा के भने, हिजो निउरो र भात खाइयो । आज बिहानैदेखि हो ट्वांरट्वांरेले समातेको । छरछिमेकले थाहा पाए भने ‘हामीलाई नदिएर खाको, खुच्चिङ’ भनी हाल्छन् । क्या फसाद ? बिहानै यसो समाचारतिर नजर दौडाएको त ‘स्याङ्जामा निउरो खाएर तीन बच्चा चिलिम’ भन्ने देख्नेबित्तिकै ह्वाल्ल मुखैबाट आउलाजस्तो भयो ।

सान्दर्भिक पोस्ट

भानु

योबेलै निउरोमय छ । वर्षात् सुरू हुनेबित्तिकै निउरो टुसाउँछ । पूरै क्यानाडामात्रै नभएर उत्तर अमेरिका नै निउरोमय भएको छ । कतै जानु पर्दैन । यसो मुहार पुस्तिकामा बूढी औंला दौडाउन पर्छ । काँ काँ निउरो पाइयो ? कस कसले निउरो खायो ? सबै थाहा हुन्छ । क्यानाडाको पूर्वी भेगमा बस्ने एकजना मित्रले ‘साँझ पनि निउरो, बिहान पनि निउरो, अझ नपुगेर दिउँसोको स्यान्डबिचमा पनि निउरो राखेर खाको’ भनेर मुहार पुस्तिकामा राखेको देखेपछि पेट कटक्कै काटेको थियो । पोहोर साल टोरोन्टो घुम्न गाको बेलामा एकजना साथीले सधैँ पाइने ठाउँबाट तुरुन्तै निउरो टिपेर ल्याई खुवाउनु भयो। निउरो चिनेको मान्छेले टिपेर ल्याएको निउरो खाँदा मीठै हुँदो रहेछ। तर के गर्ने खाइसकेपछि आफ्नो त आँतै कुँडिएर आयो।

डा. कुसुमाकर शर्मा

सानो छँदा गाउँघरको खोल्सो, खोलेसो, जंगलको सेपिलो ठाउँमा निउरो पाइन्थ्यो। टिपेर घरमा ल्यायो, आमाले ‘यो ‘उनिऊ’ किन ल्याइस् ?’ भनेर फालिदिनु हुन्थ्यो। दुई चारपटक आमासँगै खोलेसोतिर गएर टिपेपछि बल्ल निउरो चिन्ने भएको थिएँ । एकदिन त्यस्तै निउरो टिपेर ल्याएँ। आमाले पकाउनु भयो। सबैले खायौँ। भोलिपल्ट सबै बच्चाहरूलाई ट्वांरट्वांरेले समात्यो। पछि था’भो, त्यो त तीते निउरो रहेछ । खानै नहुने। त्यहाँदेखि कान समातेँ। अहिले पनि कसैले निउरो भन्यो भने मेरा कान ठाडा हुन्छन् र पेट गुँडुल्किएर आउँछ।

श्रीमतीजीले ‘हामी बसेको ठाउँका नेपालीहरूकै कुनै एउटा समूह मानवनिर्मित नगरका खोल्सा-खोल्सीतिरबाट निउरो टिपेर ल्याई खाए रे !’ भन्ने बताएपछि मेरो पेटमा गोला बर्सिन थालिहाल्यो  । अब भने आफ्नो शंका निवारण गर्ने उपाय सोच्न थालेँ । भाग्दै गरेको भूतको लगौंटी समात्ने उद्देश्यले दिव्यदृष्टि पाएका गूगल बाजेको शरणमा परेँ । थाहा भयो, हाम्रो गाउँघरतिर पाइने डंउडे निउरोलाई क्यानाडामा ‘फिडलहेड फर्न’ भन्दा रहेछन् । डंउडे भनेको पात नफैलिँदै घुम्रिएको निउरोको लामो टुसा हो ।  गूगल बाजेका अनुसार फिडेलहेड भनेको डंउडे मात्रै हो र खाने पनि यही डंउडे मात्रै हो । गूगल बाजेको भनाइ र हामी नेपालीको खुवाइमा यहीनेर फरक परिहाल्यो । हामी त डंउडे छोडेर चारआली ढाकेको निउरोको पात खोज्छौँ । जे भए पनि क्यानाडामा पाइने निउरे खान मिल्छ भन्ने थाहा पाएपछि अलिकति मन हल्का भयो । तर गूगल बाजेको भनाइमा निउरो चिन्नुपर्छ। नत्र कुनै कुनै निउरोले त क्यान्सरसम्म पनि लगाइदिन्छ भने पछि फेरि मन लुत्रुक्क भयो ।

अब कसलाई सोध्नु, निउरोको बारेमा ? घोरिदै थिएँ । मेरा अनन्य मित्र नै कृषि विशेषज्ञ भएको याद आयो । उनलाई सोध्ने निधो गरेँ । मैले घुमाएर ‘कृषि विशेषज्ञ भएकोले तपाईँलाई निउरोको बारेमा सोध्न लागेको’ भन्ने कुरा न सक्दै जवाफ दिई हाले ‘तरकारीका बारेमा कुरै नगरौँ ।’

म अकमक्क परेँ । रामपुर क्याम्पस हुँदै कता-कताबाट चुकन्दरमा विद्यावारिधि गरेका हुन् । मतिर फर्केर निन्याउरो अनुहार लगाउँदै भने ‘मैले चुकन्दरमा विद्यावारिधि गरेँ । काम पनि त्यसमै गर्छु । निउरो खाको छु, तर धेरै थाहा छैन ।’

मैले टाउको कन्याउन थालेँ। उनले अप्ठेरो मान्दै आफ्नो दुखेसो पोखे, “मैले कृषि पढेर कृषकलाई खाली सुझाव मात्रै दिएँ । तर काम त कृषकका हातले मात्र गरे।  अहिले मलाई घरमा ‘लौ कृषि पढेकाले करेसाबारीमा साग तरकारी फलाउनुपर्यो’ भन्छन् । केही सागसब्जी करेसाबारीमा लगायो भने उम्रिनेबित्तिकै फुलिहाल्छ । त्यही भएर घरमा किनेकै तरकारी चल्छ ।” उनको पीर अझै बढाउन मन लागेन ।

अरू केही उपाय पत्ता लागिहाल्छ कि भनेर छिमेकी वातावरणविद्लाई खोजेँ । फोनबाटै कान फुट्नेगरी फलाकेँ, “पृथ्वीमा दस हजारभन्दा बढी जातका उनिउ छन् । निउरो पनि यही उनिउ जातभित्र पर्छ । निउरोले पनि उनिउजस्तै वातावरणमै प्रभाव पार्ने कार्बनडाइअक्साइड ग्यास सोसेर लिन्छ । त्यसैले निउरे टिप्नु हुँदैन ।”

लौ, परेन बित्याँस ! कस्ता कुरा गर्या होलान् ? उनको घरमा पनि निउरोको भान्सा त हुनेगरेको छ । अब सबैले खाने निउरे टिप्न पाइँदैन भन्यो भने त टोलछिमेक नै उठेर आउलान् नि ! यी वातावरणविद्बाट पार लाग्ला जस्तो नठानेर यसो मनमीटर घुमाएको केही सुझे पो !

बरू आफू बसेको ठाउँमा निउरो पाइने खोल्सा-खोल्सी त नगर विकास योजनाभित्रका क्षेत्रहरू हुन भन्ने कता-कताबाट सुइँको आयो । यही सम्झेर अर्कै सहरमा बस्ने सहर योजनाकार मित्रलाई मनको बह पोखेँ । साथी अलि सन्की छन् । झन्की हाले, “मेरो काम कता घर बनाउन सकिन्छ भनेर सोच्दै हिँड्ने हो । कहाँ निउरो उम्रिन्छ भनेर हेर्ने हो र ?”

कानले सुनेको यो खुराकबाण बनेर सिधै पेटमा पुग्यो । सगरमा चिर्को परेको जस्तो चिर्को पर्यो पेटमा ।

मैले इत्यादि कुराहरूको उल्टो र सुल्टो तर्क गर्दागर्दै साथीहरूको लहलहैमा लागेर हिजै श्रीमतीजीले तालतलाउको छेउछाउतिरबाट निउरो खोजेर ल्याइछन् । भनिन्, “म त निउरो खोज्दा-खोज्दा थाकेकी छु । बाउछोरा मिलेर निउरो पकाउनु ।”

परेन फसाद ! बाउछोराले दुईवटा तर्क लगायौँ; पहिलो, तरकारी जति भुट्यो त्यति मीठो । दोश्रो, अण्डालाई जति उमाल्यो उति कडा । हामीले निउरो भुट्ने निर्णय गर्यौँ । निउरो त जति भुट्दै गयौँ उति कडा हुँदै गयो । छोराले भन्यो, “यो त ढाडे निउरो रै’छ । झन् कडा हुँदै आयो ।”

त्यही ढाडे निउरोले होला कि भन्छु, ट्वांरट्वांरेले समातेको ।

जय निउरो ! जय भान्सा !!

Loading...