नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मनोजको प्रकृतिपूजा

मनोज योञ्जन तामाङ

प्रकृतिसँग रम्न रूचाउने कलाकार मनोज योञ्जन तामाङले कलाकारिता क्षेत्रमा पाइला सारेको दुई दशक पूरा भइसकेको छ । उनी आफूलाई स्वच्छन्दतावादी कलाकार ठान्छन् ।

त्यसो त सबै जसो कलाकारहरू प्रायः प्रकृतिका पूजक र प्राकृतिक सौन्दर्यमा भुल्ने स्वभावकै हुन्छन् । उनी पनि यसभन्दा भिन्न भने छैनन् । खासगरी फरक फरक ठाउँ घुम्दै स्थानीयपनलाई कलामा उतार्ने उनको खुबी छ ।

दृश्यचित्र (ल्यान्डस्केप)मा काम गर्न उनी खुबै रूचाउँछन् । यसो गर्दा प्रकृतिसँग अझ नजिकिने अवसर पाइने उनको भनाइ छ । रङहरूमा दिनप्रतिदिन मिठास र निखार ल्याउन पनि दृश्यचित्रमा काम गर्नुपर्ने उनलाई लाग्छ ।

सुन्दर पर्यटकीय नगरी पोखराको बासिन्दा भएकाले पनि हिमाल, ताल तलैयाहरूसँग सामीप्य बढेकाले हुनसक्छ, दृष्यहरूलाई कलामा उतार्न (ल्याण्डस्केप गर्न) नै उनको बढ्ता झुकाव हुने गर्छ ।

पोखरा कार्यथलो भए पनि राजधानी काठमाडौँ लगायत अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूमा भाग लिन बेलाबेलामा उनी विदेश गइरहन्छन् । उनी भन्छन्, ”कला नै मेरा लागि सबथोक हो र जीवनभर कलाकर्ममै रमिरहने मेरो इच्छा छ।”

कलाक्षेत्रमै लागेर थोरबहुत नाम र दाम कमाएका मनोजका लागि सबैभन्दा गर्विलो क्षण चाहिँ कलाकारको पहिचान बनाउन सकेकामा नै छ । बेला-बेलामा विभिन्न पुरस्कार र सम्मान थापिरहँदा उनी आफ्नो छनोटप्रति सन्तुष्टि व्यक्त गर्छन्।

हाल कुची समूहसँग आबध्द रहेका उनी ठाउँका ठाउँ दृश्यचित्र बनाउने अभियानमा समेत सरिक छन् । पछिल्लो समय कुची समूहले दृष्यचित्रहरूलाई अझ बढी लोकप्रिय बनाउन ”अन दि स्पोट” कामहरू गर्दै आएरहेको छ।

आउनुहोस्, आज उनै सहृदयी कलाकार मनोज योञ्जन तामाङका केही उम्दा सिर्जनाहरू अवलोकन गरौँः

प्रतिक्रिया
Loading...