नेपाली साहित्यको सम्पूर्ण पत्रिका

जब वाङ्देल र पिकासोको भेट भयो…

त्यो दिन अचानक वाङ्देलले नयाँ कुरा सुनाए, भने- ”मैले पेरिसमा पिकासोलाइ भेटेँ ।” यो हाम्रालागि अवाक् पार्ने बयान थियो ।

तीर्थ निराैला

मानव चोला नश्वर हुन्छ, एकदिन मरेर जान्छ । चाहे त्यो महान् प्रतिभाशालीको चोला होस् वा सर्वसाधारणको । यद्यपि मृत्युको रूप भने फरक-फरकको हुन्छ । एउटाको मृत्यु गह्रुङ्गो हुन्छ भने अर्कोको हलुङ्गो । साधारण मान्छेको मृत्यु हुँदा उसको सम्झना, उसको परिवारभित्रमा मात्र सीमित रहन पुग्छ भने प्रतिभाको भौतिक शरीर नष्ट हुँदा पनि प्रतिभा कहिल्यै मर्दैन । ऊ विश्वका मानव समुदायभित्र सम्झनाका बिम्ब बनेर छाइरहन्छ । र, आफ्ना कृतिहरूमा युगयुगसम्म बाँचिरहन्छ । आजका दिनमा भौतिक शरीर नभए पनि सिर्जना र रचनामा बाँचिरहेका एक स्रष्टा हुन कलाकार, साहित्यकार लैनसिंह बाङ्देल । यो पंक्ति उनकै सेरोफेरोमा केन्द्रित छ ।

पश्चात्य प्रभावको अमूर्तवाद नेपाली कलाक्षेत्रमा भित्र्याउने कलाकार एवं साहित्यकार लैनसिंह बाङ्देलको भौतिक शरीर आज हाम्रीमाझ छैन तर पनि रचना र सिर्जनाहरूमा उनी हामी माझमा अद्यापि जीवितै छन् । दार्जीलिङमा १९८० मा जन्मेका बाङ्देलसँग नजिक हुनेहरुसँग बाङ्देल सम्झनाका मीठा अनुभूतिहरु भएजस्तै मसँग पनि उनीसँगका थुप्रै धतलाग्दा घटनाहरू छन् । तीमध्ये उनको जीवनको एउटा धतलाग्दो कथानक पोको मेरो मानसपटलमा अझै अमिट बनेर छाइरहेको छ । बाङ्देल र उनको सिर्जनात्मक इतिहास आज कलाकारका निम्ति मात्र नभएर सबैका लागि प्रेरणाको स्रोत हुनसक्छ ।

वाङ्देल चित्र बाङ्देलले नेपाली कलामा पूर्ण आधुनिकताको उत्खनन गर्दै शैलीगत ज्योति र चेतना जगाउने काम गरेका थिए । पेरिसको बसाइपश्चात् नेपाली कला पृष्ठभूमिमा भएको उनको परिवर्तनकामी प्रवेशले नेपाली कलाक्षेत्र अग्रगमनतर्फ उन्मुख भई नौलो कलामोडमा समाहित हुन पुगेको देखिन्छ । बाङ्देलले भारत, फ्रान्स, जर्मनी लगायतका मुलुकहरूमा आएको कला जागरणको अनुभव र उपलब्धिलाई नेपालमा प्रवेश गराएदेखि नेपाली कलाक्षेत्र पूर्ण रूपमा आधुनिकतातर्फ होमिएको इतिहास छ । बाङ्देलको स्कुले जीवन दार्जिलिङ्गमै बिते पनि सरकारी छात्रवृत्तिमा उनले कलकत्ताबाट कलामा ६ वर्षे अध्ययन पूरा गरेका थिए । यसपछि कलकत्ताबाट पेरिस पुगेका उनले त्यहाँको सङ्घर्षशील जीवनसँगै फ्रान्सको सरकारी कला विद्यालय ‘इकोल सुपरियर डे वोर्झाट’मा अध्ययन गरे । कलासँगै साहित्यमा पनि उत्तिकै सक्रिय रहेका बाङ्देल वि.स. २०१८/१९ सालमा नेपाल आएका हुन् ।

सान्दर्भिक पोस्ट
लैनसिंह वाङ्देल

पेरिसको कला संघर्षको दौरान स्याण्डविचका भरमा र चिसो छिँडीमा गुजारा चलाउँदै हिँडेर प्रसिद्धि कमाएका बाङ्देलको रासोबासो त्यस समयको काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद ‘आर्ट काउन्सिल’मा हुने गर्दथ्यो । काउन्सिल उनकै सक्रियतामा स्थापना भएको संस्था हो । उनलाई प्रायः म त्यहीँ भेट्ने गर्थें । त्यसताका म ‘न्यु आर्ट सर्कल’ (बाङ्देलका पछिल्ला पुस्ताका प्रशिक्षार्थीहरु नरेश सैंजु, नगेन्द्र पौड्याल, हरि खड्का, दिवंगत कलाकार शान्त राई, टार्जन साङ्पाङ्, जीवन राजोपाध्याय लगायतका कलाकार आबद्ध रहेको एउटा कलासंस्था) का साथीहरुसँग भेट गर्न र काउन्सिलमा कहिलेकाहीँ सम्पन्न हुने कला प्रदर्शनीहरु हेर्न बरोबर जाने गर्दथे । प्रायः त्यहीँ मेरो उनीसँग भेट हुने गर्दथ्यो । भेटमा विश्वका कलाकार र कला विकासको कुरादेखि लिएर आफू फ्रान्स बस्दाका आफ्ना संघर्षका कुराहरु सुनाउँथे उनी । उनका विगतका प्रत्येक कथाभित्रका व्यथा, कलासंघर्ष र सफलताका उत्साहप्रद गन्थनले हामी सबै कलाकारलाई प्रेरणा जगाउँथ्यो । त्यसैले मेरो मन र शरीर जुनै अवस्था र समयमा पनि आर्ट काउन्सिलमा जान आतुर हुन्थ्यो । खासमा, त्यसताका म अलि फुच्चे नै थिएँ र कला, सिक्ने बुझ्ने हुटहुटी औडाहा थियो । त्यो समय २०४७–४८ हुनुपर्छ । म बरोबर काउन्सिल गइरहन्थेँ ।

एक दिन दुई बजे नै म आर्ट काउन्सिल पुगेको थिएँ । त्यस दिन काउन्सिलमा एक जना नवोदित कलाकार मित्रको कला प्रदर्शनी हुने कार्यक्रम थियो । कार्यक्रममा मलाई पनि आमन्त्रण गरिएको थियो । उद्घाटन कार्यक्रम पाँच बजे थियो । काठमाडौँमा प्रायः कला प्रदर्शनीहरु अफिस टाइम पछाडि नै हुने गर्छन् । किनकि राम्ररी ‘कक्टेल पाटी’ त्यतिबेलैदेखि राम्ररी जम्ने गर्दछ । मसँग समय प्रशस्तै थियो । संयोगवश पाँच बजेसम्म कुर्नु पर्दा मलाई ‘बोर’को अनुभूति भने भएन । किनभने त्यस अवसरमा बाङ्देल गुरु हातमा किताबको ठेली बोकेर आइपुगिसकेका थिए । सबैलाई थाहा छ, बाङ्देल कलाका साधक मात्र होइन, चर्चित साहित्यकार पनि हुन् । उनले ”मुलुक बाहिर”, ”माइतघर”, ”लङ्गडाको साथी”, ”रेम्ब्राण्ड” जस्ता थुप्रै साहित्यिक रचनाहरु लगायत खोजमूलक सामग्रीहरू पस्किसकेका छन् । उनका रचनाहरू विश्वविद्यालयको पाठ्यसामाग्रीका रूपमा पनि सजिएका छन् । अर्थात्, उनले समाजलाई थुप्रै रचनाहरु दिएर नेपाली साहित्यको भण्डारलाई सुशोभित बनाएका छन् ।

वाङ्देल चित्रउनी प्रदर्शनी हलमा आएपछि पनि उद्घाटन हुने समय बाँकी नै थियो । अब समय बिताउनु थियो, म लगायत केही साथीहरूलाई । उनी पनि तम्सिए गफ गर्न । सुन्न हामी तयार छँदै थियौँ । त्यस दिन उनले कलासंस्थाको विकासका कुराहरु मात्र गरेनन्, आफ्नो नौलो विगत पनि सुनाए । उनको भारतमा सत्यजित रे सँगको मित्रतासँगै फ्रान्समा प्रसिद्ध सोभियत फिल्म निर्देशक फुदोभकिन र फिल्म निर्माता जारेन्वासँगको मित्रताको प्रसङ्ग सुनिएकै थियो । त्यसदिन भने अन्दाज नै गर्न नसकिने कुरा पनि सुनियो । त्यो थियो, विश्वका कलाकारहरुको ढुकढुकी महान् आधुनिक कलाकार पिकासोसँगको उनको भेट सन्दर्भ !

१५ औं शताब्दिदेखि नै क्रमिक रूपमा विकास हुँदै आएको आधुनिक कलाको उन्नत अवस्था भनेको उन्नाइसौं शताब्दी हो । यसै शताब्दीदेखि आधुनिक कला विश्वमान्य ढाँचामा रूपान्तरित हुन पुगेको हो । मूलतः त्यस ताकाका कलाकारको परिश्रम र योगदानले समृद्धि ल्याएको कलाशैलीमा नै आज विश्वका सम्पूर्ण कलाकार काम गर्दै आएका छन् । उन्नाइसौँ शतकका ती धेरै महान् कलाकारमध्ये धेरै चर्चित बन्न सफल भएका पिकासो जसले जीवन छँदै नाम, काम र दाम कमाए, यस्ता महान् प्रतिभाको सन्दर्भ सुन्ने मौका मिल्नु साधारण कुरा थिएन हाम्रा लागि । पिकासो ‘क्युविज्म’ अर्थात् घनवादका जन्मदाता हुन् । घनवाद साहित्यक्षेत्रमा पनि विचरण रहेको वाद हो । नास्तिक विचारधाराका पिकासोले फ्रान्सबाट आफ्ना साथी कलाकार जर्ज ब्राकसँग मिलेर यो सिद्धान्तलाई सतहमा ल्याएका हुन् । उनले एक ठाउँमा आफ्नो चित्रशैलीको गुदीका सन्दर्भमा भनेका छन्, ‘कुरूपतामा नै सुन्दरता पाइन्छ ।’

पिकासो

हामी कुरो सुन्न आतुर थियौं । कौतुहलपूर्ण मन चुल्बुलिँदै गर्दा कानहरु ठाडा ठाडा भएर आए, यी गुरुले कतिखेर फ्रान्सको अतितको गाँठो खुस्काउँछन् भनेर । मन व्यग्र थियो, थाम्न सकिएन र मैले नै प्रश्न गरेँ, ‘तपाईंले भेट्दा कस्तो देखिन्थे पिकासो ?’

एकछिन घोरिएर उनले सपाट उत्तर दिए, ‘मैले फ्रान्सको स्टुडियोमा उनलाई देख्दा लगभग असी वर्षको थिए होलान् । तालु खुइलिएका उनी बनाउँदै गरेको भीमकाय चित्रको अगाडि उभिएका थिए । उनको अनुहार थेप्चो किसिमको थियो ।’
पिकासोको थुप्रै तस्बीरहरु त देखेको छु मैले । उनले पिकासोको बारेमा गरेको वर्णनलाई मैले देख्दै आएको तस्बिरसँग तादात्म्य गर्दा मिलेको पाएँ । यतिले मात्र मलाई पुगेन । पुनः प्रश्न गरेँ, ‘तपाईं उनीसँग बोल्नु भएन सर ?’

एउटा आज्ञाकारी विधार्थीलाई पाठ बुझाएझैँ ङिच्च हाँस्दै भन्नुभयो, ‘हामी त उनको साना विद्यार्थीजस्तै त थियौँ । उनलाई भेट्न केही समयको मात्र मौका पाएका थियौँ । छोटो समयमा के बोल्न पाउनू ! उनलाई हेर्दैमा समय बितेछ पत्तै भएन ।’

यसरी मिठो कुरो चलिरहँदा आर्ट काउन्सिलको प्रदर्शनी हल खचाखच भरिइसकेछ । उद्घाटनको समय शुरु भएछ क्यार ! बाङ्देललाई प्रदर्शनी दीर्घातर्फ लैजान मान्छेहरु आइपुगे र लगे । म भने बाङ्देलको आनन्दित गफमा नै डुबुल्की मारिरहेँ । र, सोच्दै थिएँ, बाङ्देलको स्थानमा मेरो उपस्थिति रहेको भए ? आहा ! कलामा नै सम्पूर्ण जीवन आहुति दिएका ती महङ्गा बूढा पिकासोको शरीर आज संसारमा छैन तर पनि तिनी इतिहासका पानामा छन् । ‘क्युबिज्म’ र कलाकारका प्रेरणामा अझै जीवित छन् । तिनी मात्र होइन, आज भौतिक शरीर नभएका बाङ्देल पनि हामी माझ सिर्जना र रचनामा जीवितै छन् । प्रतिभाहरु कहिल्यै मर्दैनन्, त्यसैले त उनीहरुको नाम अगाडि स्वर्गीय जोडिन्न ।

(लेखक तीर्थ निरौला कलाकार एवं कला समीक्षकका रूपमा परिचित छन्।)

Loading...