नेपाली साहित्यको सम्पूर्ण पत्रिका

स्केचका बादशाह

पारिपारि हिमालहरूको हिमाल । जसको सौन्दर्य पिएर वारिवारि मातिरहेका पहाडहरू । अझै वारि डाँडाको फेदीमा बसेर सुँक्कसुँक्क रोइरहेको फेवाताल । जसलाई छोडेर हरसाँझ उसको प्रेमी अन्तकतै जान्छ तर हरबिहान आँखाबाट खसेको उसको आँसुलाई मायालु हातले पुछिदिन आउँछ । र, प्रेमिकासित छेवैमा लुगा फुकालेर सँगै नुहाउन थाल्छ । तर त्यो स्वार्थी प्रेमीलाई सधै नजिकबाट देखिरहेको छट्टु घाम पनि कम्ताको बदमास छ ? हतपत लुकाइदिन्छ उसका लुगाहरू । यसरी प्रेमिका फेवातालसित घामको साथ रहुन्जेल प्रेमी माछापुच्छ्रेलाई अँगालो मार्न बाध्य बनाइरहन्छ ।

माछापुच्छ्रे र फेवातालको प्रेमकथा नजिकैबाट देख्दादेख्दै हुर्केका
कृष्ण जवानीमा कृष्णजस्तै भएछन् । एउटासित मोह-माया बसेर नपुग्ने ।

इच्छाहरूका गोपिनीहरू यिनका पनि कम अनौठो-अनौठो छ ? खासमा बसेको हो यिनलाई राधासित प्यार । जो यिनको आँखामा सानैदेखि चित्र भएर आएकी थिइन् । तर कृष्णको प्यासी मनले के मान्न सक्थ्यो, राधालाई छाडेर अरू-अरूसित प्रेम बस्दै गयो कृष्णको ।

यो सारंश कथा हो, पोखरा ८, बगालेटोलका कृष्ण मरासिनीको । चित्र यिनको सानैदेखिको शौख । तर चित्र कोर्न सिक्दासिक्दै बीचैमा छाडेर खेल्न थाले टेबुल टेनिस । जब टेनिस बललाई मोहम्मद अलिको मुक्का बनाएर दह्रो सर्ट प्रहार गर्थे उनले, विपक्षीलाई हत्तपत्त डिफेन्स गर्न गाह्रै पर्थ्यो । यसरी धेरै प्रतिस्पर्धीहरूलाई ढलाएर, कुनै बखत गण्डकी अंचलभरिकै टेनिसका एक्लो हिरो थिए कृष्ण । छत्तीसदेखि छयालीससम्म १० वर्ष उनी यसरी टेनिसमै समर्पित भए ।

जब बिस्तारै टेनिस-एडिक्टले छोड्दै गयो कृष्णलाई, हान्निए रंगमञ्चको स्टेजमा । दर्शकहरूको वाहवाही लुटे ।
अन्ठाउन्न/उन्साठीसम्म रंगमञ्चका कलाकार भएर अभिनय गरिरहे । यसैबीचमा फेरि अर्का नशाले छोयो यिनलाई, गए – गुरु मनोरञ्जन जोशीको गुरुकुलमा । (विरजू महाराजका शिष्य) पाँच वर्ष कत्थक नृत्य सिकेर, चौथो वर्षको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पनि फ्रेममा हालेर भित्तामा राख्न भ्याइहाले । फेरि यत्तिकैमा सबकुछ छोडेर, वन तालिम केन्द्रको अधिकृत भएर पाँच वर्ष बिताइदिए ।

•••
अठार सय भन्दा धेरै मुहार स्केच ।

अठार सय भन्दा धेरै चित्र स्केच गर्नु चानचुने कुरा होइन, त्यो पनि पछिल्लो ४/५ वर्ष भित्रमा । जसका लागि ठूलो तपस्या, अडिग इच्छाशक्ति, समयको लगानी र अर्गानिक इनर्जी नभई सम्भव छैन । तर कृष्णले रिटायर्ड लाइफमा स्केचको सगरमाथा बारम्बार आरोहण गरेर आफू भित्रको दक्षता देखाएका छन् । कीर्तिमान राखेका छन् । भविष्यमा जो कसैलाई उनको कीर्तिमान तोड्न फलामको चिउरा चपाउनुजस्तै हुनेछ । भ्याउँदासम्म उनी अचेल दैनिक एउटा न एउटा मुहारचित्र कोर्छन् । र, आफ्नो फेसबुक पेजमा “बसिबियाँलो” नाम दिएर चित्रहरू अपलोड गरिरहन्छन् । उनको स्केचमा देशका प्रसिद्ध साहित्यकारहरूदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूदेखि, प्रतिभावान्/उदीयमान प्रतिभाहरू स्केचमा सजिने सौभाग्य पाएका छन् । भन्छन्, “फेसबुकमा राखेका चित्रहरू नि:शुल्क हुन् । यो मेरो आफ्नो खुशीले बनाउँछु । कसैदेखि प्रभावित भएँ भने म उनको चित्र स्केच गरिहाल्छु । अर्डर गर्यो भने शुल्क लिन्छु । कहिलेकाहीँ नि:शुल्क त कहिलेकाहीँ न्यून शुल्क लिन्छु । मेरा सम्पत्ति तिनै चित्रहरू हुन् ।”

पेन्सिल/चारकोललाई माध्यम बनाएर चित्र कोर्ने कृष्णले त्यसो त तैलरंग र जलरंगबाट पनि चित्र बनाउने प्रयास गरे । २०७२ सालमा प्रकृति र मुहारचित्र समावेशगरी दुई पटक पोखरामा एकल चित्र प्रदर्शनी गरिसकेका कृष्ण, त्यसपछि भने आफ्ना चित्रहरू पेन्सिलबाटै कोर्दै आइरहेका छन् । उनी आफूलाई पेन्सिल आर्ट नै सुट भएको बताउँछन् । अहिलेसम्म कसैसँग आर्टको प्रशिक्षण नलिएको बताउने कृष्ण मरासिनीले यद्यपि, आफ्नो आइडियल भने पोखराका वरिष्ठ चित्रकार गुरु यादवचन्द्र भुर्तेललाई मान्छन् । केही बुझ्नुछ भने उनीसँग सुझाव लिन्छन् । त्यसो त सामाजिक काममा पनि सक्रिय रहेका कृष्ण, सिध्दार्थ क्लबको पूर्व अध्यक्ष र हाल सल्लाहकार पनि हुन् ।

Loading...