नेपाली साहित्यको सम्पूर्ण पत्रिका

फ्लोयडहरूका भूत र राजनीति

रेमिका थापा

म जर्ज फ्लोयडहरूका लाश हुँ
हाडखोर, खरानी, हंस, आत्मा र फ्लोयडहरूकै भूत प्रेत हुँ
हेर्न चाह्यौ भने,
तिम्रो सेता दरबारको अग्लो सिँढीमा लत्रेका फ्लोयडहरूका गर्दन हुँ
तिम्रो धुरीमा चढ्दै गरेका राता प्लेकार्डहरू हुँ
विचार गर्न चाह्यौ भने
तिम्रा हरिया घाँसका समतल आँगनमा भेला भएका
संसारकै सबभन्दा ठूला प्रश्नहरू हुँ
तिम्रा चिम्नीबाट निस्कन लागेको संसारकै पिरा धुँवा हुँ
म यस शताव्दीका सबभन्दा नमीठा अनुभव हुँ
म इतिहासकै सबभन्दा तीता आँसु हुँ
करूणा र त्रास हुँ, कुरुप त्रासदि हुँ
तिमी डराएर पनि नडराए जस्तो स्वाङ पार्दैछौ भने
छक्क परौला कि म चारतिर सल्कदै आउने आगोको दन्कदो ज्वाला हुँ
तिम्रा करिडरमा उज्याइएका बन्दुकहरूका अघिल्तिर नडराई उभिने
संसारकै बहादुर नारा र जुलुस हुँ, प्रतिवाद हुँ
तिमी मलाई तिम्रा खिड्कीका कुनाबाट चिहाउँदैछौ भने
तिम्रा दाह्राहरू, तोप र ट्याङ्कहरू मतिर फर्काएर आरामले बसेका छौ भने
बुझिलेऊ, म संसारकै डरलाग्दो विस्फोटक हुँ
अथवा तिमी मलाई हेर्नै चाहन्नौ भने पनि के गर्छौ र
म त तिम्रै टेबलको फूलदानमा दबिएको गहनाउने सिनोहरू हुँ
तिम्रै हिंसाका डामले डढेका र पोलेका घाउ र पिपहरू हुँ
म त तिम्रो गोजीमा भएको रुमालबाट सर्दै आउने संक्रमणहरू हुँ
तिम्रो बटनहोलमा सिउरेको रातो गुलाबमा चढिसकेको तरल जीवाणु हुँ
तिमी तिम्रा कसाई औपचारिकताहरू थुकेर एकचोटि बाहिर निस्क
र मसँग बात गर !
मात्र एकचोटि मसँग बात गर !
तर तिम्रा अफिसका मसिना कारिन्दाहरू भन्छन्,
ठूला देशमा फ्लोयडहरूसँग यस्ता घटना अनगिन्ती भै नै रहन्छन् जसका रेकर्ड राखिएका हुँदैनन्
तर हाम्रा लोकतन्त्र भने ल एन्ड अडरमा भने पक्का छ !
आज त ऊ पार्टीको वार्षिक उत्सवमा व्यस्त छ तर अपसोच फ्लोयडहरू पार्टीका कार्यकारी क्याडर हुँदैनन्
भोलि आर्थिक व्यापारिक आणविक सम्झौताका डेलिगेसनहरू छन्,
पर्सीदेखि लगातार सप्ताह दिनसम्म ऊ तेस्रो विश्वको भ्रमणमा हुनेछ,
ती देशहरूका राजधानीमा आयोजित
आन्तरिक उपनिवेशीकरण, किनारीकरण, शान्ति, सद्भावना, भाइचारा, अल्पसङ्ख्यक सुरक्षा
मानव अधिकार र लोकतान्त्रिक मूल्य आदि विषयका सेमिनारहरूमा ‘की नोट स्पीच’ राख्नेछ,
तर भनिएको छ, ती जम्मै विषयहरूमा फ्लोयडहरूका मुद्दा मेल खाँदैनन्
एसियाका आधा दर्जन युनिवर्सिटीहरूमा
नस्लभेद, रङभेद, इन्स्टिचुसनल माइन्डसेट र पुलिसी प्रक्रियाले
उत्पन्न गरेका हिंसाका विरोधमा सम्पन्न प्रतिवाद सभामा प्रमुख अतिथिको सम्बोधन राख्नेछ
चौथो मुलुकमा प्राकृतिक आपदा, गरिबी, भोखमरी र भ्रष्टाचारबारे बोल्दै
राहत प्याकेजहरूको घोषणा गर्नेछ,
तर भनिन्छ यी जम्मै विषयसँग पनि जर्ज फ्लोयडहरूका सन्दर्भ मेल खाँदैन
बरू के सोमालिया आदि मसिना ठाउँमा पड्केका बन्दुक र बारुदका चित्कारले फ्लोयडहरूका स्वर ढाक्न मिल्दैन र ?
बरू के एनकाउन्टर र अरू प्रोपोगान्डाका भूत्याहा आतङ्कले फ्लोयडहरूका भूत खेद्न सकिन्न र ??

तिम्रा अरू सिल्की कारिन्दाहरू थप्छन्,
फर्केपछि, लोकतन्त्रका अरु कति काम छन् ?
सीमा विवाद,सेना, युद्ध, हतियार, गोला, बम, परमाणु खेती आदि
निरीक्षणको कार्यक्रममा व्यस्तै हुनेछ,
इराक, लिबिया, अफगानिस्तान, सिरिया, नाइजेरिया इत्यादि
अनि अरू तेस्रो र चौथो मुलुकका समस्याहरू त छँदै छन्
ती जम्मै हुनु भनिएका कार्यक्रमका सूचीमा पनि फ्लोयडहरूका नाम लेखिएका छैनन्
त्यसपछि त क्रिसमस, नयाँ साल, फार्म हाउस, रिफ्रेसमेन्ट पार्टी
अनि लगत्तै आइपुग्छ चुनाउ !
यो राजनैतिक सिजन हो क्या,
महाशय, के तपाईँहरू अर्को साल अफसिजन पारेर आउनोस्, हुन्न ?

सान्दर्भिक पोस्ट

सास फेर्न गाह्रो भो

आऊ हामी, आगो फुल्ने रुख बनौं!

जात

Loading...